रसिक त विगत भए। तर, वर्तमानले सधैँ छोरा सम्झिरहोस् लाग्छ रसिकका बाआमालाई। देशको अवस्था परिवर्तनका लागि लडेको छोरा मानिसहरूको स्मृतिमा बाँचिरहोस् लाग्छ उनीहरूलाई।
काठमाडौँ — ‘केही साताअघिमात्र बाबुको अस्ट्रेलियाको भिसा आयो,’ सुनेर खुसी हुनुपर्ने कुरा रचना खतिवडा भक्कानिँदै सुनाइरहेकी छन्। भिसाको प्रतीक्षा गरिरहेका रसिक पत्र आई पुग्दासम्म थिएनन्। बा पुरुषोत्तम खतिवडाले सधैँझैँ सखारै नुहाईवरी बैठक कोठामा प्रवेश गरे। माल्यार्पण गरिएको छोराको फोटो नजिक बलिरहेको दियोमा तेल थपे। अनि हातले गह पुछ्दै सुनाए, ‘बाबु, तिम्रो त भिसा लाग्यो।’
यदि रसिक हुन्थे भने सायद केही वर्षका लागि अस्ट्रेलिया जान्थे। बाआमाको मायाले फर्किने वाचासहित। तर यसरी गए, फर्किने वाचा त आफैँसँग पनि गर्न भ्याएनन्। ‘ऊ कहिल्यै नफर्किने गरी गयो,’ रचना भित्रभित्रै निमोठिन्छिन्।
टेकुस्थित घरभित्र बैठक कक्ष छ। दराजका वरिपरि उनका बाल्यकालीन तस्बिरहरू मुस्कुराइरहेका छन्। तस्बिरमा रसिकको परिवार असाध्यै खुसी छ। समयले यसरी कोल्टे फेर्यो कि तिनै सपरिवार खुसी भएको तस्बिर हेर्दै रसिकका बा, आमा र दिदी रोइरहेका छन्। तस्बिर हेरिरहँदा रचनालाई लाग्छ, छोरा सजीव छ, जो टुप्लुक्क बाहिर आउँछ र ‘नरुनुस् मामु’ भन्दै आँसु पुछिदिन्छ।
रसिकका बा मनलाई चित्त बुझाउने बाटो खोज्छन्। बिहान-बिहान छोराको तस्बिरमा हेर्दै स्नेहजडित गाली गर्छन्, ‘तँ आफूचाहिँ सम्मान पाउन हामीलाई छाडेर गएको?’
गत भदौ २३ गते भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनका क्रममा रसिकको छाती गोलीले छेड्यो। उनी कहिल्यै नउठ्ने गरी ढले। रसिकझैँ राज्यको गोलीबाट ४२ जनाले ज्यान गुमाए। दुई दिनमा ७६ जनाको मृत्यु भयो।
रसिक ढलेको दुई महिना पुग्न लाग्यो, परिवार शोकबाट तङ्ग्रिन सकेको छैन। तर आमा रचना छोराको न्यायका निम्ति पनि गलेकी छैनन्। उनी कहिले सडकमा निस्किन्छिन् त कहिले बालुवाटार जान्छिन्। बालुवाटार त रचना चार–पाँच पटक नै पुगिसकिन्। आफूलाई सम्हाल्न खोज्दा पनि कसैले भनेको कुरा तीर झैँ कानमा ठोकिन्छ, ‘विचरा ! त्यत्रो बलिदान दिए। ती बच्चाहरूले न्याय पाएनन्।’ त्यसपछि भित्रभित्रै पोल्छ। रचनाले त्यही आक्रोश एक पटक बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई पोखिन्। कार्की बोलिरहेको बेला रचनाको सुन्ने धैर्य टुट्यो। उनले आवेगमा औँला ठड्याउँदै प्रधानमन्त्रीलाई भनिन्, ‘हजुर त देशको आमा हुनुहुन्छ। म पनि एउटी आमा हो। आमाले न्याय गर्नुहुन्छ भनेर आएकी। खै, न्याय दिनुभएको?’ कार्कीले रचनालाई सम्हाल्दै आश्वासन दिइन्, ‘नानी, म बिस्तारै गर्छु। मौका दिनुहोस्।’
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारसँग ठूलो गुनासो त छैन रसिक परिवारको। राष्ट्रिय सम्मानसहित सन्तानको अन्त्येष्टि गर्नुपर्ने माग राखेर उनीहरू त्रिवि शिक्षण अस्पताल गेटमा धर्ना बसे। नवौँ दिनमा सरकारले माग पूरा गर्यो। ‘अरू मागहरू बिस्तारै पूरा भइरहेका छन्। आशा पनि छ। तर मूल कुरा, हाम्रा कलिला सन्तान निमोठ्ने हत्याराहरू पक्राउ गरिएन,’ बा पुरुषोत्तम भन्छन्।
केही पार्टीका जिम्मेवार नेताहरूले बोलेका शब्दहरूले पनि उनीहरूलाई घोच्दो रहेछ। ‘हाम्रा छोरा देशको अवस्था परिवर्तनका लागि लड्दा गोली लागेर मरेको हो। चोर्न जाँदा होइन, कति असंवेदनशील भएर केही मान्छेहरूले छोराहरूको बलिदानीलाई मजाक मानिरहेका छन्,’ आमा रचना भन्छिन्।
होटल म्यानेजमेन्ट पढेका २३ वर्षका रसिकले सानीमा स्नेहा केसीको रेस्टुरेन्टमा आफ्नो सिप निखारिरहेका थिए। विभिन्न देशका पर्यटकसँग उनको आत्मीयता थियो। फ्रान्सका पर्यटकले त फ्रान्सको निम्तो नै दिएका थिए। रसिक घरमा भन्थे, ‘म मामुलाई छाडेर कहाँ विदेश जानु?’ दिदी रसिला अस्ट्रेलियामा थिइन्। बा पुरुषोत्तम टेलिकमको जागिरका सिलसिलामा धादिङ थिए। आमाको भर थिए रसिक। फुर्सदमा दिनभरि आमासँग बिताउँथे। टिकटक बनाउँथे। दिउँसो दुई बजे आमालाई चिया बनाएर दिन्थे।
आन्दोलनको दिन रसिक ११ बजे खाना खाँदाखाँदै चुठेर निस्किएका थिए। ‘ऊ हतारमा थियो। दुई गाँस खाँदा खाँदै फोन आयो। फोन गरेर भित्र आएपछि भन्यो– मामु, म आन्दोलनमा जान्छु,’ रचना त्यो कहालीलाग्दो दिनतर्फ फर्किन्छिन्। आमाले नजाऊ भन्दाभन्दै पनि रसिकले फकाए, ‘एकै छिन जान्छु। गएपछि छेउछेउमा जान्छु। बीचमा जाँदिनँ। तपाईँलाई दुई बजे ठ्याक्कै चिया पकाउने बेला आइपुग्छु।’
छोरा गएपछि फर्किने बाटो हेर्दाहेर्दै रचनाको घडीमा दुई बज्यो। ‘जतिखेर आउँछु भनेर जान्थ्यो, त्यतिखेर ठ्याक्कै आइपुग्थ्यो। तर त्यो दिन ऊ आइपुगेन,’ रचना सुनाउँछिन्।
पाँच बज्नुअघिसम्म पनि छोराकै बाटो हेरिरहेकी थिइन्। परबाट रसिकका दुई साथी आए। उनीहरूले रचनालाई छोराको ज्याकेट र मोबाइल दिँदै भने, ‘आन्टी, रसिकले क्याफेमा छाडेको थियो। हामीले घर देखेका थियौँ। त्यही भएर ल्याइदिएको।’ रचनाको मनमा चिसो पस्यो। उनलाई के थाहा थियो भने जस्तो अवस्थामा पनि रसिकको हातबाट मोबाइल टुट्दैन। उनले हतासिँदै पटक–पटक सोधिन्, ‘रसिक खै त?’ उनीहरूले विश्वास दिलाउँदै गए, ‘आउँछ आन्टी।’
त्यसपछि रचनालाई उदासीले छोप्यो। छटपटी भइरह्यो। भित्र कतै गाह्रो भएको अनुभूत भयो। ऐनामा अनुहार हेर्दै, पूरै रातो भएको देखिन्। ‘मलाई किन यस्तो गाह्रो भएको?’ आफैँलाई सोधिन्।
यतिन्जेल बानेश्वरमा भएको आन्दोलनबारे रचना बेखबर थिइन्। छोरालाई फोन गरौँ, मोबाइल घरमै आएको थियो। छटपटाइरहेको बखत छोरी रसिलाले अस्ट्रेलियाबाट फोन गरिन्, ‘ममी, भाइ आयो?’ ‘छैन’ भन्ने जनाउँदा पनि रसिलाको फोन पटक–पटक आइरह्यो। ८ बजे फोन गरेर रसिलाले मधुरो स्वरमा आमालाई भनिन्, ‘ममी, तपाईँ खाना खानु।’ रचना रसिक आउँछ अनि खान्छु भनेर पर्खिरहेकी थिइन्।
त्यही बेला रसिलाले आमालाई भनिन्, ‘तपाईँलाई एउटा भिडियो पठाउँछु, नआत्तिनु।’ नआत्तिनु भनेपछि रचना झन् आत्तिन थालिन्। ‘भिडियोमा रसिकलाई डाक्टरहरूले सीपीआर दिएका थिए। भिडियो हेरेपछि हंसले ठाउँ छोड्यो। घरमा एक्लै छु। कहाँ जाऊँ, के गरौँ? कसलाई भनौँ? म यसै दौडिएँ। दौडिएर तल पुगेँ। खुट्टामा जुत्ता छैन। ढोका बन्द छैन। फेरि फर्केर जुत्ता लगाएँ। इन्ड्राइभ गर्न खोज्दा सहरमा कर्फ्यु लागिसकेछ। म सबै कुराबाट बेखबर रहेँ,’ रचना सुनाउँछिन्।
कराउँदै चिच्याउँदै उनले एउटा पठाओ रोकिन्। पठाओले ट्रमा सेन्टर लिएर गयो। ट्रमामा खुट्टै टेक्न नसक्ने मान्छेको भीड देखेर उनी बाइकबाटै हाम फालिन्। गेटमा लड्दा उनलाई अभियन्ता रुपेश ठाकुरले उठाए। भित्र जान प्रहरीहरूलाई आग्रह गरिन्, तर जान दिइएन। ट्रमामा छोरा नभेटेपछि बानेश्वरको एभरेस्ट अस्पताल पुगिन्। त्यहाँ पनि नभेटेपछि त्रिवि शिक्षण अस्पताल पुगिन्।
त्रिवि शिक्षण अस्पताल पुग्दा उनी अचेत भइन्। अस्पताल आउनासाथ हुत्तिएर बाहिर निस्किन्। गेटमा प्रहरीहरू थिए। प्रहरी देख्नासाथ उनले रुँदै चिच्याइन्, ‘मेरो बाबुलाई किन गोली हानेको? माया लागेन?’ गेटभित्र पुग्दासम्म उनी यति विचलित थिइन् कि डाक्टर र नर्सहरूले उनलाई घेरे। उनी त्यहीँ ढलिन्। बेडमा सलामी दिइरहेको थियो। ‘मेरो बाबु नखोज्दिने’ भन्दै रचना पुनः याचनाका साथ चिच्याइन्। उनलाई सान्त्वना हैन, सिरिन्ज दिन खोजियो। अस्पतालका धेरै जना आएर उनलाई बलपूर्वक समातेर सुई दिन थाले। रचनासँग अस्पताल पुगेका रुपेश ठाकुरले स्वास्थ्यकर्मीलाई सम्झाए, ‘उहाँको छोराको सद्माले होसमा आउनुभएन भने तपाईँहरू जिम्मेवार हुनुहुन्छ।’
त्यसपछि उनीहरू पछि हटे। केहीबेरमा रचनाका देवर आइपुगे। देवर र रुपेश रसिक खोज्न हिँडे। फर्केर आउँदा रचनाले देवरले आँसु पुछेको देखिन्। उनको श्वास रोकिएझैँ भयो। त्यसपछि परिवारका अरू सदस्यहरू पनि अस्पतालमा आइपुगे। छोरा गुमाएको महसुस भइसकेको रचनालाई। तर पनि आमाको मन अन्तिम प्रहरसम्म आशा राख्छ। त्यो आशालाई जीवित राखिन्।
कोही उनको अगाडि रोयो भने याचनाका साथ भन्थिन्, ‘प्लिज, मेरो अगाडि कोही नरोइदिनुस्। उसलाई केही भएकै छैन। औषधि उपचार भइरहेको छ।’
त्यो दिन रसिकको अत्तोपत्तो भएन। रातको १२ बजे अस्पतालबाट घर पुगिन्। बिहान ८ बजे उनले आँखा झिमिक्कै नगरी कटाइन्, त्यसपछि अस्पताल गइन्। बिहान १० बजे भाइ र ज्वाइँसँग शव गृहमा गइन्। भित्र कलिला अनुहारहरू चिर निद्रामा थिए। परिवर्तनका लागि लडेर ढलेकाहरूको लाइनमा उनी आफ्नो छोरा खोजिरहेकी थिइन्। एक जनाले भने, ‘तपाईँहरूको बाबुको दुईतिर ट्याटु छ?’ नभन्दै ढलिरहेको ट्याटुवाला शरीर देखेपछि रचनाको शिरमा पहाड बज्रिएजस्तो भयो।
रसिकका दुई हातमा बा र आमाको ट्याटु थियो भने छातीमा प्रिय कुकुरको नाम। रचना रसिकको खुट्टा समाउँदै रुँदै अचेत भइन्।
त्यसपछिका दिन उनलाई जम्मै याद छैन। कहिले चेत र अचेतको शृङ्खला धेरै दिनसम्म दोहोरिइरह्यो।
एउटी आमा यो कहालीलाग्दो पीडा डेढ महिनापछि भद्रभूत भएर सुनाइरहेकी छन्। बोल्दाबोल्दै पटक–पटक ऐँठन पर्छ। ओठ सुक्छ। शरीर काँप्छ। तर पनि उनी बोल्न रोकिन्नन्। ‘यी कुरा त मैले भन्नुपर्छ। यसमा बाबुको न्यायको सवाल छ,’ रचना भन्छिन्।
अहिले पनि रचना र पुरुषोत्तमलाई छोरा घरभित्रै छ भन्ने भान रहिरहन्छ। रसिक घर आउँदा भर्याङमा रहेका कुकुरलाई बोलाउँथ्यो। त्यही आवाज अहिले उनीहरूको कानमा गुन्जिरहन्छ। ‘ऊ बाहिर कुकुरलाई ‘हो’ भन्दै बोलाउँथ्यो। अस्ति मैले त्यही आवाज सुनेँ। अरूलाई भनेँ– तपाईँहरूले सुन्नुभयो? तर मैले बाहेक कसले सुन्नु?’ रचना बहकिन्छिन्। ‘उसको हिँडाइ कानमा ठोकिरहन्छ। अनि लाग्दैन बाबु टाढा गयो भनेर।’
कहिले रचना किचनमा काम गरिरहेकी हुन्छिन्। ‘मामु’ भन्ने आवाज सुन्छिन्। हजुर भन्दै रसिकको कोठातर्फ जान्छिन्। कोठा रित्तो हुन्छ।
रसिक त विगत भए। तर, वर्तमानले सधैँ छोरा सम्झिरहोस् लाग्छ रसिकका बाआमालाई। देशको अवस्था परिवर्तनका लागि लडेको छोरा मानिसहरूको स्मृतिमा बाँचिरहोस् लाग्छ उनीहरूलाई। छोराको सम्मानका लागि पनि जारी छ उनीहरूको लडाइँ। सहिदका नाममा उनका अक्षर कदापि नमेटिने गरी कोरिएको हेर्न चाहन्छन् उनीहरू। राजपत्रको सूचीमा सहिदको नाम र आफ्नो छोरा अटाउनका लागि पनि रचनाले पटक–पटक दबाब दिइरहेकी छन्।
