रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंका १० निर्वाचन क्षेत्रसहित भक्तपुर र ललितपुरलक्षित निर्वाचन कार्यक्रम गरेका छन् ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौं उपत्यकाकेन्द्रित चुनावी अभियान ‘रोड शो’ सञ्चालन गरेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंका १० निर्वाचन क्षेत्रसहित भक्तपुर र ललितपुर लक्षित निर्वाचन कार्यक्रम भएका हुन् ।
रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा ‘घण्टी अभियान’ सुरु गरेको हो । शनिबार बिहान ६ः३० बजे पशुपतिनाथ मन्दिरबाट सुरु भएको उक्त अभियान चावहिल, जोरपाटी, सुन्दरीजल हुँदै साँखु पुगेको थियो । काठमाडौं–२ बाट सुरु भएको चुनावी कार्यक्रम क्षेत्र नं. ३ हुँदै मुख्य सडक तथा चोकहरूमा र्यालीसहित पुगेको थियो । काठमाडौं–३ को जोरपाटीमा ठूलो संख्यामा समर्थक रास्वपाका लामिछाने र शाहलाई पर्खेर बसेका थिए ।
मतदातालाई अभिवादन गर्दै उनीहरू सुन्दरीजल हुँदै साँखु निस्केका थिए । साँखुबाट मूलपानी, पेप्सीकोला, सानो ठिमी पुगेको थियो । त्यसपछि दुवाकोट पुगेर व्यासी, च्यामासिङ, जगाती हुँदै सूर्यविनायकबाट गुन्डुसम्म पुगेको थियो । उक्त ‘रोड शो’ नयाँ ठिमी, जडीबुटी, ग्वार्को, लुभु, बाँडेगाउँ, चापागाउँ हुँदै बुङमती र खोकनासम्म पुगेको थियो । खोकनाबाट सातदोबाटो, लगनखेल हुँदै जावलाखेल, थापाथली हुँदै कालीमाटीमा पुगेको थियो । कालीमाटीबाट बल्खु, कीर्तिपुर, सतुंगल, चन्द्रागिरि, बाँडभन्ज्याङ हुँदै सीतापाइला पुगेको थियो । सीतापाइलाबाट स्वयम्भू, बालाजु, माछापोखरी, शेषमती, फुटुङ हुँदै झोरसम्म पुगेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानलाई तीव्रता दिादै घरदैलो कार्यक्रम सक्रिय पारेका छन् । कांग्रेसका सभापति गगनकुमार थापाले शनिबार मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गरेका छन् ।त्यसपछि टोखा, बूढानीलकण्ठ, कपन, सुकेधारा, विशालनगर, बालुवाटार हुँदै मैतीदेवी पुगेको थियो । त्यसपछि ठमेल, न्युरोड, हात्तीसार, पुतलीसडक, माइतीघर, नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर पुगेको थियो । त्यहाँबाट ‘रोड शो’ लैनचौर, सामाखुशी, गोंगबु, नयाँ बसपार्क हुँदै बेलुका पार्टी कार्यालय घण्टीघर पुगेर टुंगिएको थियो । उनीहरूले काठमाडौं मात्र नभई ललितपुर र भक्तपुरका मुख्य सहरमा पनि चुनावी ‘रोड शो’ गरेका थिए । भक्तपुर–२ मा पुगेर उनीहरूले मतदातालाई आफूतिर आकर्षित गर्ने कोसिस गरेका थिए ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले शनिबार सम्बोधनका कुनै पनि कार्यक्रम नभएको र उपत्यकाका महत्त्वपूर्ण स्थानमा ‘रोड शो’ मात्र भएको बताइन् । काठमाडौंका १० निर्वाचन क्षेत्र, भक्तपुर र ललितपुरका उम्मेदवार र मतदातालाई हौसला बढाउन ‘रोड शो’ सञ्चालन गरिएको उनले बताइन् । रास्वपाका तर्फबाट काठमाडौं–१ मा रञ्जु न्यौपानेसहित १० नं. क्षेत्रसम्म क्रमशः सुनील केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रदीप विष्ट उम्मेदवार छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले काठमाडौंको ६, ७ र ८ नम्बर क्षेत्रमा जित हात पारेको थियो । यस पटक यी क्षेत्रसहित अन्य क्षेत्रमा पनि जित्ने रणनीतिका साथ रास्वपाले चुनावी अभियान सुरु गरेको हो । ललितपुरका ३ वटा निर्वाचन क्षेत्रमा भने तोसिमा कार्की, जगदीश खरेल र बुद्धरत्न महर्जन उम्मेदवार छन् । रास्वपाले अघिल्लो पटक ललितपुर–३ मा मात्र जित हात पारेको थियो । २१ फागुनका लागि तोकिएको निर्वाचनको प्रचारप्रसार अन्तिमतिर पुग्दै गर्दा रास्वपाले शनिबार आफ्नो शक्ति प्रदर्शनका लागि ‘रोड शो’ गरेको देखिन्छ । बालेन्द्र आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा फर्कने भएकाले शनिबार रास्वपाले बृहत् ‘रोड शो’ गरेको हो ।
झापा–५ मा ओलीको घरदैलो
एमाले अध्यक्ष केपी शर्मा ओलीले यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रम सक्रिय पारेका छन् । अघिल्लो शनिबार झापा पुगेका ओली यतिबेला निरन्तर भेटघाट, छलफल र चुनावी सभामा व्यस्त छन् । उनको सचिवालयका अनुसार एक साता अवधिमा शनिबारसम्म उनले आधा दर्जनभन्दा बढी चुनावी सभा तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाए । वडा नं. ४ अन्तर्गत पर्ने कञ्चनजंघा टोल, ताराबारी डिपु र आदर्श मंगल टोलमा पुगेर उनले स्थानीय कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरे । घरदैलोका क्रममा विकास, स्थायित्व र सुशासनका विषयमा आफ्ना योजनाहरू प्रस्तुत गर्दै आगामी निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरे ।
त्यसपछि ९ नम्बर वडाका विभिन्न स्थानका चिया पसलदेखि ग्रामथान, अर्नाखाडी प्रणामी मन्दिर परिसरमा भेटघाट र कोणसभालाई सम्बोधन गर्दै ओलीले स्थानीय जनताको चासो र सुझाव सुन्ने प्रयास गरे । दिउँसो २ बजे वडा–२ का देवीथान, बेलडाँगी र झोलुंगे पुल आसपासका बस्ती पुगेका ओलीले मतदातासँग झन्डै ५० मिनेट बिताए ।
स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले विगतमा सम्पन्न भएका विकास आयोजनाका बारेमा चर्चा गर्नुका साथै आगामी योजनाबारे जानकारी गराएका थिए । त्यसैगरी उनी वडा–८ स्थित ज्येष्ठ नागरिक सभाहल, बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरे । साँझ वडा–६ मा पुगेर कार्यकर्ता तथा मतदातासँग समसामयिक राजनीतिक विषय, राष्ट्रिय मुद्दा तथा विकाससम्बन्धी आफ्ना दृष्टिकोण प्रस्तुत गरे ।
चार जिल्लाका चुनावी सभामा गगन
कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गरेका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगन्जमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन् ।
शनिबार साँझ रौतहटमा थापाले एमालेसँग मिलेर सरकार बनाउनु नै कांग्रेसको गल्ती भएको बताए । कांग्रेस क्षेत्र नं. ४ द्वारा बृन्दावन नगरपालिकाको हर्दियामा शनिबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले ३२ सिटे माओवादीलाई प्रधानमन्त्री चाहिएको, २२ सिटे रास्वपालाई गृहमन्त्री चाहिएको भन्दै त्यसबेला धेरै त्रुटि भएको बताए । ‘कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेका छन्, कसैले फुर्ती नलगाए हुन्छ’, उनले भने, ‘अब फेरि पनि त्यस्ता गल्ती दोहोरिन दिनु हुन्न । विगतमा जे भयो अब म त्यतातिर जान चाहन्नँ, अबको पाँच वर्ष काम गरेर देखाउने हो ।’
सभापति थापाले जेन–जी आन्दोलनको भावना बुझ्नुपर्ने बताए । उनले मधेशमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र दलित बस्तीको अवस्था दयनीय भएकाले आफ्नो सरकार बनेपछि यी सबै कुरा प्राथमिकतामा पर्ने बताए । थापाले आइतबार काठमाडौं उपत्यकामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।
कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ चुनावी सभा गर्ने
कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । यहाँ कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ ।
दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर–२ मा कांग्रेसका उम्मेदवार कविर राणा छन् । कविर शर्मालाई उम्मेदवार बनाएको कांग्रेसले काठमाडौं–२ को पेप्सीकोला टाउन प्लानिङमा हुने सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन् । प्रमोदहरि गुरागाइँ उम्मेदवार रहेको काठमाडौं–७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तालिका छ ।
दिउँसो ३ः३० बजे काठमाडौं–५ र ६ को संयुक्त चुनावी सभा सामाखुसी चोकमा हुनेछ । काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं–६ मा जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन् ।
संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । दिउँसो ४ बजे काठमाडौं–४ को बालुवाखानीमा सभापति थापाले सम्बोधन गर्ने भएका छन् जहाँ कांग्रेसबाट सचिन तिमल्सेना उम्मेदवार छन् ।
आवेगमा होइन, सोचविचार गरेर मतदान गरौं : कांग्रेस उपसभापति शर्मा
अछाम– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अछाम आएर विगतको राजनीतिक अस्थिरता र विकासको आवश्यकताबारे जोड दिएका छन् । शर्माले शनिबार अछामका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गरेका हुन् । उनले अछाम–१ र अछाम–२ मा आयोजित चुनावी सभामार्फत पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गर्दै विकास, सुशासन र स्थायित्वको एजेन्डा अघि सारे । अछाम–१ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर उम्मेदवार छन् भने अछाम–२ मा जिल्ला सभापति पुष्पबहादुर शाह मैदानमा छन् ।
‘अछाम आउँदा १२ वर्षअगाडि फेरी चढेर आएको थिएँ । ३४ वर्षमा ३० वटा सरकार बन्नु बेठीक भयो । कर्मचारीले काम गर्न पाएनन्,’ मतदातालाई संयमित हुन आग्रह गर्दै उनले भने, ‘मतदान गर्न जानुअघि सोचविचार गरौं, संयमित बनौं । देखाइदिनलाई आवेगमा, रिसमा मतदान गर्नु हुँदैन । राजनीतिमा पालो हुँदैन, प्रतिस्पर्धा हुन्छ ।’
उनले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन र प्रदर्शनको प्रसंग जोड्दै ‘आँधी आयो भने पनि हामी सम्हाल्न सक्छौं’ भन्ने विश्वास व्यक्त गरे । ‘०६४ सालमा नयाँलाई हेरिसकेको हो, माओवादीलाई हेरेर जनताले दुःख पाए,’ उनले थपे, ‘प्रश्न पुष्प शाहले जित्छ कि जित्दैन भन्ने होइन, देशले जित्ने कि नजित्ने भन्ने हो ।’
उनले बडीमालिका, रामारोशन, खप्तड र सुदूरपश्चिमलाई अगाडि बढाउने संकल्पसाथ अघि बढ्नुपर्ने धारणा राखे । ‘कांग्रेस पहिलो शक्तिका रूपमा आउँदै छ । जहाँ गयो त्यतै कांग्रेसको लहर छ,’ उनले भने । प्रधानमन्त्रीका उम्मेदवार बहसका लागि तयार रहेको उल्लेख गर्दै शर्माले थपे, ‘हात हल्लाएर बहसबाट भागेर देश बन्दैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार जहाँ, जतिबेला पनि बहस गर्न तयार हुनुहुन्छ । विपक्षलाई गाली गरेर मात्र होइन, १० वर्षमा गर्न सक्ने कामको संकल्प लिएर अघि बढ्नुपर्छ ।’
