हामी केही प्रश्न सोध्न सडकमा उत्रिएका थियौँ । मलाई लाग्थ्यो, आफ्नो देशमा प्रश्न गर्दा गोली खाइँदैन । तर, बानेश्वर चोकभन्दा केही अगाडि संसद भवन नजिकै पुग्दा अचानक मेरो देब्रे खुट्टामा गोली लाग्यो ।
What you should know
काठमाडौँ — भदौ २३ गते (जेन-जी आन्दाेलन) को त्यो रातो दिन र नयाँ बानेश्वरको सडकमा रगतले लतपतिएको त्यो सेतो जुत्ता सायदै कसैले बिर्सेका होलान् । सामाजिक सञ्जालका भित्तादेखि पत्रपत्रिकाका फ्रन्टपेजसम्म 'भाइरल' भएको उक्त जुत्ताको एउटा तस्बिरले देशको मन बिथोलिदिएको थियो ।
धेरैले सोधे, 'यो जुत्ता कसको हो ? म आज यो मञ्चबाट भन्दैछु– रगतले लतपतिएको त्यो जुत्ता मेरो हो र त्यो रगत मेरो शरीरको हो ।
म दैलेखको एउटा सामान्य गाउँमा हुर्किएँ । मेरो घर कर्णाली प्रदेशको दैलेख नारायण नगरपालिका–८ मा पर्छ । पहाडी भूगोल भए पनि तराईसँग जोडिएको छ हाम्रो ठाउँ । गाउँमै मेरो बाल्यकाल बित्यो । अहिले मेरो घरमा बा-आमा, दाइ-भाउजू, श्रीमती र १९ महिनाको एउटा छोरा छन् । मेरो कथा एउटा जुत्ताको मात्र होइन, यो मेरो पुस्ताले भोगिरहेको कुशासन, बेरोजगारी र राज्यको लाचारीको कथा हो ।
मलाई सानैदेखि पढाइमाभन्दा बढी रुचि 'आर्मी' हुनेमा थियो । सेनामा भर्ती भएर देशको सेवा गर्ने र परिवार पाल्ने सपना थियो । बुबाको इच्छा भने म सामान्य चिकित्सक (हेल्थ असिस्टेन्ट–एचए) बनोस् भन्ने थियो । बुबाको खुसीका लागि म दैलेखको स्कुल सकेर नेपालगन्ज झरेँ । आर्थिक अवस्था त्यति राम्रो थिएन । तैपनि २०७३ सालमा जेनतेन एचए पढेर सिध्याएँ ।
पढाइका बीचमा मैले इन्डियन आर्मीमा पनि प्रयास गरेँ तर असफल भएँ । त्यतिवेला मलाई ठूलो झड्का लाग्यो । पढाइमा खासै ध्यान थिएन । पहिलो वर्ष चारवटा र दोस्रो वर्ष तीनवटा विषय लागेको थियो । जब आर्मी हुने ढोका बन्द भयो, मैले महसुस गरेँ कि अब मेरो अन्तिम विकल्प पढाइ हो । मैले अन्तिम वर्षमा पुगेपछि एकैचोटि १४ वटा विषयको परीक्षा दिएर पास गरेँ । मेरो परिवारको आशा म नै थिएँ । कान्छो छोरो भएकाले पनि सबैले मबाट आशा गरेका थिए ।
२०७४ सालमा म ठूलो सपना बोकेर पहिलोपटक काठमाडौं आएँ । लोकसेवाको तयारी गरेँ । नाम निस्किएन । त्यसपछि स्वास्थ्य सेवामा समायोजनका कुरा आए । तीन वर्षसम्म स्वास्थ्य सेवातर्फ लोकसेवाको विज्ञापन नै खुलेन । यसबीचमा केही परियोजनामा जागिर खाएँ । त्यसपछि दुई वर्ष कोभिडले खाइदियो । जुन स्पिडमा म केही गर्छु भनेर दौडिन खोजेको थिएँ, राज्यको कमजोरीले मेरो जीवनको पाँच वर्ष त्यत्तिकै खेर गयो । म अन्योलमा परेँ । मेरो बाटो नै अवरुद्ध भयो ।
केही समय दैलेख कारागारमा करारमा काम गरेँ तर त्यहाँ पनि स्थायी कर्मचारी आएपछि मलाई निकालियो । त्यसपछि मलाई लाग्यो, यो देशमा बस्नुको अब कुनै अर्थ छैन । मैले विदेश जाने निर्णय गरेँ ।
त्यतिवेला रूस र युक्रेनको युद्ध चलिरहेको थियो । मलाई फेरि आर्मी हुने पुरानो इच्छा जाग्यो । मैले युट्युब र सामाजिक सञ्जालमा त्यसबारे धेरै रिसर्च गरेँ । कति नेपालीहरू त्यहाँ मरेका वा बन्धक बनेका पनि सुनेँ, तैपनि मेरो परिस्थितिले मलाई त्यहाँ जान बाध्य बनायो । घरमा कसैलाई थाहा नदिई म 'स्टुडेन्ट भिसा' मा १० लाख रुपैयाँ बुझाएर रूस पुगेँ । जबकि यो कुरा कन्सल्टेन्सीलाई पनि थाहा थिएन म रसियामा आर्मी हुन जाँदैछु भनेर । तीन महिनामा म रसिया पुगेँ ।
रूस पुगेको पाँच दिनभित्रै म भर्ती केन्द्रमा पुगेँ र आर्मीमा भर्ना भएँ । जम्मा सात दिनको तालिमपछि मलाई रूस–युक्रेनको बोर्डरमा पठाइयो । त्यहाँ मैले गोली चलाउन, बंकर अट्याक गर्न र ग्रेनेडबाट बच्न सिकेँ । हामी तीन सयजनाको टोली १८ घण्टा लामो यात्रा गरेर युक्रेनको धेरै भित्रसम्म पुग्यौँ ।
त्यहाँको करिब १८ महिना मेरो जीवनको सबैभन्दा भयानक समय थियो । आँखा अगाडि साथीहरू मरेको देखेँ । टाउको माथिबाट मिसाइलहरू सुइँ–सुइँ उडेको देखिन्थ्यो । कतिपय साथीहरूले ह्वाट्सएपमा म्यासेज गर्थे, 'म फ्रन्टलाइनमा जाँदैछु, फर्किएर आएँ भने ठीकै छ, नत्र घरमा खबर गरिदिनू ।’ ३० जनाको टोली फ्रन्टलाइनमा जाँदा १०–१५ दिनपछि ५–१० जना मात्र फर्किन्थे । धेरै नेपाली मरेका छन् । मेरा साथीहरू पनि ।
१८ महिनासम्म प्रत्येक दिन र रात मैले मृत्युलाई नजिकबाट नियालेँ । तर, अचम्मको कुरा, संसारकै ठूलो युद्धभूमिमा १८ महिना बस्दा पनि मेरो एउटा नङसम्म पनि झरेन, मलाई एउटा सानो खोट पनि लागेन ।
म युद्धमै हुँदा नेपालमा मेरो छोरा जन्मिएको थियो । छोराको अनुहार देखेपछि मलाई जतिसक्दो चाँडो घर फर्कन मन लाग्यो । १८ महिनापछि सम्मानका साथ रूसबाट नेपाल फर्किएँ । नेपाल आएपछि म केही समय दैलेख बसेँ तर फेरि बेरोजगार । नेपालमा केही नहुने भएपछि फेरि कहाँ जाने भन्ने चिन्ता छाउन थाल्यो । मेरा केही साथीहरू कतार पुलिस हुनुभएको थियो । त्यसपछि म कतार पुलिसमा जान काठमाडौं आएँ ।
काठमाडौंमा 'डकुमेन्ट' मिलाउँदै गर्दा टिकटकमा जेन–जी आन्दोलनका भिडियोहरू देखेँ । पहिले त कुरा बुझिनँ तर पछि हेर्दै जाँदा लाग्यो कि यो त मेरै पुस्ताको लडाइँ हो । मलाई कसले आन्दोलनमा बोलाएको हो, को अगुवा हो, केही थाहा थिएन । तर, मलाई यति थाहा थियो कि हाम्रो अघिल्लो पुस्ताले बोलेन, त्यसैले हामीले यो कुशासन र भ्रष्टाचार विरुद्ध बोल्नैपर्छ । मेरो छोरा र आउने जेनेरेसनले यो देशमा बस्ने वातावरण पाओस् भनेर म भदौ २३ गते माइतीघर पुगेँ ।
त्यस दिन बिहान म नयाँ बानेश्वरबाट मेरो सालो विप्लव थापासँग माइतीघर पुगेँ । माइतीघरबाट हामी ठूलो समूहमा बानेश्वरतिर लाग्यौँ । हामी केही प्रश्न सोध्न सडकमा उत्रिएका थियौँ । मलाई लाग्थ्यो, आफ्नो देशमा प्रश्न गर्दा गोली खाइँदैन । तर, बानेश्वर चोकभन्दा केही अगाडि संसद भवन नजिकै पुग्दा अचानक मेरो देब्रे खुट्टामा गोली लाग्यो ।
गोली लाग्ने बित्तिकै म भुइँमा ढलेँ । त्यो दुई–तीन सेकेन्डको समयमा मैले आफ्नो खुट्टा हेरेँ, त्यो क्षतविक्षत भइसकेको थियो । ऐया भनेर ढलेको थिएँ । त्यतिवेलै मलाई खतरै गोली लागेको छ भनेर थाहा पाइसकेको थिएँ । खुट्टामा गोली लाग्नासाथ फुलेको देखेको थिएँ । मेरो खुट्टा लत्रिएका थिएँ ।
मैले उद्धार छिटो पाएँ । मेरो जुत्ता रगतले भरिएको थियो । मलाई एम्बुलेन्समा हाल्ने क्रममा साथीहरूले त्यो रगत मुछिएको सेतो जुत्ता खोलेर त्यहीँ फाल्दिए । त्यो जुत्ता मैले केही समयअघि मात्रै नेपालगन्जको एउटा पसल चलिरहेको सेलबाट १५ सय रुपैयाँमा किनेको थिएँ । मलाई त्यो जुत्ता साह्रै मन परेको थियो तर त्यही जुत्ता पछि आन्दोलनको प्रतीक बन्यो ।
मलाई नेसनल ट्रमा सेन्टर लगियो । त्यहाँको अवस्था झन् भयानक थियो । कोसैलाई कहाँ गोली लागेको छ, कोही कहाँ, बेडहरू सबै भरिएका थिए । मेरो १२ घण्टा लामो अप्रेसन भयो र झण्डै २४–२६ घण्टापछि होसमा आएँ ।
होसमा आउँदा आइसियूमा सिस्टरले मलाई प्रधानमन्त्री (सुशीला कार्की)को वक्तव्य सुनाउनुभयो । उहाँले यसलाई 'आम हत्या' भन्नुभएको थियो र दोषीलाई कारबाहीको माग गर्नुभएको थियो । त्यो सुन्दा मेरो शरीर जिरिङ्ग भयो । हामीलाई ठूलो आशा थियो कि अब केही परिवर्तन हुन्छ तर अहिलेको सरकारले त्यो अपेक्षा पूरा गर्न सकेन । ७६ जना साथीहरूले ज्यान गुमाए, २६ सयभन्दा बढी घाइते भए । म रूसको त्यत्रो युद्धबाट सकुशल फर्किएको मान्छे, आफ्नै देशमा एउटा प्रश्न सोध्दा राज्यको गोली खाएर घाइते हुनुपर्यो ।
त्यो जुत्ताको कथाचाहिँ म रसियाबाट आएपछि नेपालगन्ज गएको थिएँ, त्यहाँ जुत्ताको सेल लागेको रहेछ । जुत्ता एकदम राम्रो लाग्यो । दुई जोर किनेँ । अहिले भाइरल भइरहेको सेतो जुत्ता एकदमै मन परेको थियो ।
यो कथा किन त भन्ने प्रश्न आउँछ । हामी जलाउन आन्दोलनमा हिँडेको होइन । सरकारसँग मनमा लागेका प्रश्न र गूनासा लिएर सडकमा उत्रिएका थियौँ । त्यसको जवाफ सरकारले गोली हानेर दियो । सरकारलाई प्रश्न गर्दा हामी मर्नुपर्ने हो ?
मैले यो कथा सहानुभूति पाउन सुनाएको होइन । म कहिल्यै यस्तो स्टेजमा चढेर बोलेको पनि थिइनँ । म त केवल यो भन्न चाहन्छु कि हामीलाई यो देशमा बस्ने वातावरण बनाइदिनुस् । हामीलाई स्थिर सरकार र रोजगारी दिनुस् । हामीलाई फेरि विदेश जान र युद्ध लड्न बाध्य नबनाउनुस् ।
अहिले ७६ जनाको परिवारमा जो मरे, तिनको पीडा तिनलाई मात्र थाहा छ । यदि हामी आज सचेत भएनौँ र फेरि उही पुराना र असफल शक्तिलाई चुन्यौँ भने १० वर्षपछिको अर्को आन्दोलनमा मर्नेमा तपाईंको परिवारको कोही न कोही सदस्य हुन सक्छ । त्यसैले भोट हाल्ने वेला सोच्नुस्, सक्षम व्यक्ति छान्नुस् । मेरो रगतले भिजेको जुत्ताले सोधिरहेको प्रश्नको जवाफ हामीले नै खोज्नुपर्छ ।
-जेन-जी आन्दाेलनका घाइते बाेहाेराले कान्तिपुर कन्क्लेभ-२०२६ दिएकाे मन्तव्यमा आधारित
