९० को दशकदेखि वर्तमान नेपालसम्मकै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनकी साक्षी थिइन् मीना आचार्य
What you should know
काठमाडौँ — अर्थविद्, लैंगिक समानताकी योद्धा, अभियन्ता जस्ता बहुविशेषणले चिनिएकी मीना आचार्यको निधन भएको छ । ९० को दशकदेखि वर्तमान नेपालसम्मकै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा साक्षी रहेकी उनले बिहीबार साँझ मध्यबानेश्वरस्थित निवासमा अन्तिम सास फेरेकी हुन् ।
मीनाले राष्ट्र बैंकमा अनुसन्धान अधिकृत, आर्थिक सल्लाहकार, प्रमुख आर्थिक सल्लाहकार र वित्त विभाग प्रमुख भएर जीवनको उर्वर २५ वर्ष बिताएकी थिइन् । त्यसपछि उनी विश्व बैंक, युएनडीपी, एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा परामर्शदाता भइन् । नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्य भएर समाज र अर्थतन्त्रसँग जोडिएका महत्वपूर्ण निर्णयमा भूमिका निर्वाह गरिन् । उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकी विज्ञ सल्लाहकारसमेत थिइन् ।
मीनाले चार दशकअघि नै आमाको नामबाट नागरिकता लिने अधिकार, स्थानीय नीति निर्माणमा महिलाको भूमिका र लैंगिक उत्तरदायित्वयुक्त बजेट जस्ता विषय उठाएकी थिइन् । यसबाट उनी नेपालमा अग्रपंक्तिकी ‘फेमिनिष्ट’ अर्थशास्त्रीका रुपमा चिनिएकी थिइन् । उनले आफ्नो सरोकारका विषयमा अनुसन्धान र अनुभवलाई पुस्तक, अनुसन्धान रिपोर्ट र नीति दस्तावेजमा उल्लेख गरेकी छन् ।
राजनीतिक नेता र पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीनाको अर्को परिचय हो । उनी वैशाख १९९४ मा काठमाडौंमा जन्मिएकी थिइन् । नेपाल प्रजा परिषद्का संस्थापक टंकप्रसाद राणाकालमा जेल पर्दा मीना तीन वर्षकी मात्रै थिइन् । उनी हजुरबुवा टीकाप्रसादसँग बनारसमा तीन वर्ष बसिन् । त्यसपछि नेपाल फर्किएर काठमाडौंमा पढाइ थालिन् ।
पद्मकन्या क्याम्पसबाट आईए गरिन्, भारतको दिल्ली विश्वविद्यालयबाट बीए अनर्स, तत्कालीन सोभियत संघको मस्को युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्समा एमएस र अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनबाट विकास अध्ययनमा विद्यावारिधि गरिन् । मीनाले रुसी नागरिकसँग विवाह गरेकी थिइन् । तर उनले नेपाली नागरिकता नै कायम गरिन् । श्रीमान् नेपाल बस्न नमानेपछि घरमा थाहा नदिई पारपाचुके गरिन् ।
राजनीतिशास्त्रकी प्राध्यापक सुचेता प्याकुरेल मीनाबारे चार दशकअघिदेखि नै सुन्दै आएको बताउँछिन् । ‘म कलेज पढ्दै गरेको समयमा वुमन इन डेभलमेण्टको अवधारण आएको थियो । नेपालमा महिलाको अवस्थामाथि केन्द्रित विभिन्न छलफल र अध्ययन हुन थालेका थिए, जसले महिलाको सामाजिक, आर्थिक र पारिवारिक अवस्थालाई समेट्थे । तिनमा हुने टिकाटिप्पणी र बहसमा म उहाँलाई सुन्थेँ,’ उनी भन्छिन् ।
नेपालकै पुरानो ‘थिंक ट्यांक’ ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) को स्थापना समयमै मीनाले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सुचेताले भनिन्, ‘आईआईडीएसको नयाँ भवन निर्माण हुँदा कोठा र मिटिङ हलहरू पुरुषका नाममा राखिदा उहालाई कतै समावेश नगरिनु त्यो समयको महिलावादी आन्दोलनमाथिको हेपाइ हो ।’
अधिकारकर्मी भारती सिलवालले आफ्नो पहलमा ‘डा. मिना आचार्य लाइब्रेरी अफ इन्टरसेक्सनल स्टडिज’ स्थापना गरिएको सुनाइन् । पुस्तकालयले महिला तथा अल्पसंख्यक समुदायलाई लक्ष्य गरेको छ । ‘लाइब्रेरीका लागि उहाले पनि पुस्तकहरू प्रदान गर्नुभयो,’ उनले भनिन् । भारतीको भनाइमा आचार्य हक्की, परिपक्व र दृढ व्यक्तित्वकी महिला हुन् । मीनाको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ गत वर्ष प्रकाशन भएको थियो ।
८८ वर्षीया मीना उच्च रक्तचापका कारण दुई महिनादेखि थला परेकी थिइन् । भाइ भीमदत्तका अनुसार पछिल्लो समय अस्पतालबाट फिर्ता ल्याएर उनलाई घरमै उपचार गराइँदै थियो । उनको शुक्रबार अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित समाचार
