९० को दशकदेखि वर्तमान नेपालसम्मको अभूतपूर्व राजनीतिक–सामाजिक परिवर्तनको साक्षी हुन्–मीना आचार्य
काठमाडौँ — अर्थशास्त्री मीना आचार्य हुर्किएको समय बेग्लै थियो । त्यो ब्ल्याक एन्ड ह्वाइट समयतिर बेलाबेला चियाउँछिन् मीना र देख्छिन्– पिता टंकप्रसाद आचार्य, जो राणा शासनको अन्त्य खातिर जेल परेका थिए । उनी थिए– कुख्यात गोलघरको पिँजडामा ।
९० को दशकदेखि आजसम्मको नेपालको अभूतपूर्व राजनीतिक तथा सामाजिक परिवर्तन नियालिरहेकी छिन् मीना । राजनीतिक परिवारमा हुर्केकी मीनाले बाल्यकालमै देखिन्– राजनीतिक गोलचक्करमा परेपछि परिवारले बेहोर्नुपरेको सास्ती र आमा रेवन्तकुमारीको संघर्ष । त्यो पुरानो समयको वृत्तान्त उनले आफ्नो आत्मकथा– ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ मा लेखेकी छन् ।
त्यो समयको राजनीतिक चहलपहल, उथलपुथलदेखि सामाजिक चेतनासम्मको इतिवृत्तान्त बुझाउँछ उनको आत्मकथाले । मीनाको आत्मकथाबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लेखेकी छन्, ‘एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको संघर्ष–गाथाबाट धेरै कुरा सिक्न सकिन्छ ।’
नेपालको विकास अर्थतन्त्र, लैंगिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबीलगायतका विविध विषयमा काम गरिसकेकी छन् मीनाले । विविध परिचय छ उनको– अर्थविज्ञ, महिला अधिकारकर्मी, अभियन्ता आदि ।
काठमाडौं धोबीखोलामा ८८ वर्षअघि मीना आचार्यको जन्म भएको थियो । पिता टंकप्रसाद नेपालको पहिलो संगठित राजनीतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष थिए । राजनीतिका कारण टंकप्रसाद आचार्य जेल पर्दा मीना ३ वर्षकी मात्रै थिइन् । श्रीमान् जेल परेपछि रेवन्तकुमारीले मीनालाई जनकपुर बस्ने हजुरबुबा टीकाप्रसाद आचार्यकहाँ पठाइन् ।
हजुरबुबा मीनालाई लिएर बनारसतिर लागे, मीना हजुरबासँग ३ वर्षजति बनारसमै बसिन् । छोरा जेल परेपछि हजुरबुबाले मीनालाई नै ‘छोरा’ माने र त्यहीअनुसारको पहिरन लगाइदिए । बनारसको केटी मात्रै पढ्ने स्कुलमा पाइन्ट लगाएकाले केटा ठानेर आफूलाई भर्ना नलिएको सुनाउँदा मीना हिँडिआएको पुरानो समयको पदचाप सम्झेर मग्न थिइन् । यो उमेरमा पनि मीना लेखपढमा सक्रिय छिन्, केही न केही लेखिरहन्छिन् ।
पद्मकन्या क्याम्पसबाट आईए पास गरेपछि उनले भारतको युनिभर्सिटी अफ दिल्लीबाट अर्थशास्त्रमा बीए अनर्स, सोभियत संघको मस्को युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्समा एमएस र संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट विकास अध्ययनमा विद्यावारिधि गरिन् । बुबा राजनीतिमा लागेकाले बाल्यकालमा बुबाको सामीप्यताबाट टाढा रहेकी मीना यो स्थानसम्म पुग्नुको श्रेय आमालाई दिन्छिन् ।
उनले राष्ट्र बैंक तथा नेपालको विकास, अर्थतन्त्र, लैंगिक सम्बन्ध, वैदेशिक सहयोग, श्रम बजार, राजनीति, गरिबी र योजनाजस्ता विषयमा अनुसन्धानकर्ताका रूपमा काम गरिन् । उनले विश्व बैंक, यूएनडीपी, एसियाली विकास बैंकजस्ता संस्थामा परामर्शदाता भएर काम गरिन् । नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्य भएर पनि काम गरिन् ।
जीवनको उर्वर समय अर्थात् २५ वर्ष राष्ट्र बैंकमा बिताइन्– अनुसन्धान अधिकृत, आर्थिक सल्लाहकार, प्रमुख आर्थिक सल्लाहकार र वित्त विभाग प्रमुख भएर । राष्ट्र बैंकमा उनले काम थाल्दा बैंकिङ क्षेत्रमै महिला अफिसर थिएनन् ।
राष्ट्र बैंकबाट बिदा लिएर अमेरिकामा विकास अध्ययनमा विद्यावारिधि गर्न गइन् । उता पढेर आउँदा यताको राजनीतिक माहोल (बहुदलपछि) का कारण समावेशिताका कुरा उठेर डेपुटी गभर्नरमा राजनीतिक नियुक्ति भएर अरू नै आए । योग्यताका आधारमा भइदिएको भए गभर्नरसम्म पुग्ने उनको दाबी छ । राजनीतिक नियुक्ति हुन थालेकाले बैंकको जागिर नै छोडेको उनी बताउँछिन् ।
उनका अनुसार, महिलाले घर सम्हालेकाले पुरुष निर्धक्क भएर आफ्नो काममा लाग्न पाएका हुन् । भन्छिन्, ‘महिलाले आफ्नो किसिमले आर्थिक उपार्जनमा सहयोग पुर्याएका छन् । कृषिमा होस् या साना पसल राखेर आ–आफ्नै तवरबाट काम गरिरहेका छन् ।’ सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा धेरै योगदान भएको उनी बताउँछिन् । त्यसैले महिलाले आफूले कमाएको पैसा ‘मेरो’ भन्न सक्नुपर्छ भन्ने उनलाई लाग्छ ।
मीनाले राजनीतिक अनुसन्धानमा कृति तथा लेख लेखिन् । नारी स्वतन्त्रता र छोरीलाई सम्पत्तिको हकको जोडदार अभियन्ता पनि हुन् उनी, जो आजसम्मै स्वतन्त्रता र समानताको निरन्तर यात्रामा छिन् । मीना सोच्छिन्– प्रत्येक मानिस आफ्नो उत्तरदायित्वबाट भाग्नु हुँदैन ।
सानैदेखि हक्की स्वभावकी मीना त्यतिबेला पनि साथीभाइ जम्मा गरेर साइकलमा डुल्थिन्, पौडी खेल्न जान्थिन् । सन् १९९७ सालतिर नेपाली समाजमा छोरी मान्छेको महिनावारी अगाडि नै विवाह गरिदिने चलन थियो । आमा रेवन्तकुमारीलाई त्यसको पर्वाह थिएन र उनले जेलमा रहेका श्रीमान्लाई चिठी पठाइन्– छोरीलाई पढाउनुपर्छ, अहिले विवाह गरिदिनु हुँदैन । मीना ठूलै संघर्ष गरेर रुस पढ्न गइन् ।
रुसमा पढ्दापढ्दै प्रेम र विवाह भयो । नेपाली नागरिकता नगुमोस् भनेर नेपालमै फर्कने अठोट गरिन् । विवाहपछि श्रीमान्सहित नेपालमा बुबाआमासँग संयुक्त परिवारमा बसिन् । श्रीमान्ले नेपाल बस्न असमर्थता व्यक्त गरेपछि घरमा थाहा नदिई पारपाचुके गरिन् ।
केटाकेटीको लालनपालन तथा व्यक्तित्व निर्माणमा आमाको विशेष भूमिका हुने उनी बताउँछिन् । त्यो समयमा बुबा जेल परेपछि पारिवारिक भार उनकी आमा रेवन्तकुमारीमा पर्यो । आमाले त्यो समयमा पनि छोरीहरू अंग्रेजीमा निपुण होऊन् भनेर किताबहरू किनेर ल्याइदिने गरेको मीना सम्झिन्छिन् । आमाले कहिल्यै ‘छोरी हौ, घरको काम गर्न जान्नुपर्छ’ भनेको याद उनलाई छैन । आमाबाटै सिकिन् उनले– पढाइले नै पहिचान दिन्छ र आत्मनिर्भर बनाउँछ ।
पुरुष जतिसुकै शिक्षित भए पनि पित्तृसत्तात्मक सोचले जरा गाढिरहने उनको अनुभवले बताउँछ । स्कुल पढ्दा केटा विद्यार्थीभन्दा नेपालीमा उनको नम्बर बढी आएपछि शिक्षकले ‘केटी भएर पनि धेरै नम्बर ल्याई’ भनेर केटा विद्यार्थीलाई गाली गरेका थिए । राम्रो नेपाली पढाउने भए पनि शिक्षकमा पितृसत्तात्मक सोच हाबी भएको महसुस उनले त्यतिबेला गरिन् ।
त्यसो त राजनीतिक रूपमा खुबै प्रगतिशील देखिएका नेताहरू पनि पूर्ण रूपमा पित्तृसत्तात्मक सोचबाट मुक्त हुन नसकेको उनले बताइन् । विवाहबारे बुबा टंकप्रसादभन्दा आमा रेवन्तकुमारी प्रगतिशील देखिएको उनको भनाइ छ । शिक्षा हासिल गरेका महिलाले जीवनमा केही न केही प्रगतिका पाइला चालेकै हुन्छन् भन्ने उनलाई लाग्छ ।
मीनाको बुझाइ छ– आफ्नो क्षेत्रमा अब्बल हुन महिलाले रुचिको विषय छानेर अघि बढ्नुपर्छ । भन्छिन्, ‘सामाजिक परिपाटी र पुरानो चालचलनका कारण महिला पछाडि परेका हुन् । परिवर्तन आफैंबाट हुनुपर्छ ।’
