शिक्षामा जनता माविको सान

विद्यार्थीमा अनुशासन, नियमित कक्षा सञ्चालन, सिकाइ उपलब्धिको निरन्तर मूल्यांकन, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा, स्मार्टकक्षा, प्रविधिमैत्री शिक्षण पद्धति, अंग्रेजी माध्यममा अध्यापन र खेलकुद गतिविधिका कारण कटहरिया–५ स्थित जनता मावि विद्यार्थी–अभिभावकको रोजाइमा पर्दै।

माघ ८, २०८२

शिव पुरी

Janata Mavi's reputation in education

What you should know

रौतहट — कटहरिया नगरपालिका–५ स्थित जनता माध्यमिक विद्यालयमा ३ हजार ५ सय ६३ विद्यार्थी अध्ययनरत छन्। यति धेरै विद्यार्थी जिल्लाका अन्य विद्यालयमा छैनन्। अनुशासित र सिकाइमैत्री वातावरणका कारण धेरै विद्यार्थीको रोजाइमा जनता मावि परेको हो।

विद्यार्थीमा अनुशासन, नियमित कक्षा सञ्चालन, सिकाइ उपलब्धिको निरन्तर मूल्यांकन, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा, स्मार्टकक्षा, प्रविधिमैत्री शिक्षण पद्धति, अंग्रेजी माध्यममा अध्यापन र खेलकुद गतिविधिलाई विद्यार्थी र अभिभावकले रुचाएको प्रधानाध्यापक सचिन्द्र यादव बताउँछन् । ‘काठको भवनबाट सुरु गरेको विद्यालयमा अहिले भव्य पक्की घरभित्र अध्ययन–अध्यापन हुन्छ,’ उनी भन्छन्, ‘विद्यालय भर्ना, विद्यार्थी टिकाउ र गुणस्तरीय शिक्षा सेवाको पहुँचमा उल्लेख्य सुधार गरेका छौं ।’

तत्कालीन भषेडवा गाविस, हाल कटहरिया नगरपालिका–१ का समाजसेवी सत्यनारायण यादवको पहलमा २०१७ सालमा यो विद्यालय स्थापना भएको हो । गाउँका विद्यार्थी पठनपाठनका लागि झन्डै ९ किलोमिटरको दूरीमा रहेको धरहरी र ६ किलोमिटर टाढा बगही गाउँमा जानुपर्ने बाध्यता हटाउन यादवले विद्यालय खोल्न अग्रसरता लिएका थिए ।

पहिलो पटक एसएलसीमा सहभागी भएकै वर्ष २०३६ मा जनता माविका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यसपछि पनि विद्यालयले आफ्नो छवि डगमगाउन दिएको छैन । गत वर्ष भएको कक्षा ८ को परीक्षामा यस विद्यालयका सबै उत्तीर्ण भएका थिए । एसईईमा ८४.८६ प्रतिशत र कक्षा १२ मा ८२ प्रतिशत ‘ग्रेडेड’ भए । अर्थ मन्त्रालयमा उपसचिव रहेका गजेन्द्र यादव आफूले अध्ययन गरेको विद्यालयले प्रगति गरेका देख्दा खुसी लाग्ने गरेको बताए ।

विद्यालयका लागि स्थानीय कटहरिया–४ का धनेश्वरी देवीले १२ कट्ठा जग्गा दान गरेकी थिइन् । अहिले विद्यालय क्षेत्र २ बिघामा छ । विद्यालयको स्वामित्वमा भने ५० बिघा जमिन छ । विद्यालयमा ४२ शिक्षक र १२ कर्मचारी छन् । यस विद्यालयका लागि नगरपालिकाले छात्रवृत्ति शीर्षकमा हरेक वर्ष ३ लाख रुपैयाँ विनियोजन गर्दै आएको छ ।

विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन पनि प्रभावकारी रहेको शिक्षकहरू सुनाउँछन् । अहिले कक्षा ९ र १० मा कम्प्युटर शिक्षा सञ्चालनमा छ । विद्यालय भवन, ल्याब, सौन्दर्यकरण, परीक्षा नतिजामा उत्कृष्ट रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गौरका प्रमुख उपेन्द्र सिंहले जिल्लाको नमुना सामुदायिक विद्यालयमध्ये जनता माविले राम्रो प्रगति गरेको बताउँछन् । ‘भौतिक पूर्वाधार, शैक्षिक अवस्था, परीक्षा नतिजा, पढाइ, विद्यार्थीमा अनुशासन सबै दृष्टिले जनता मावि राम्रो छ,’ उनले भने ।

सामुदायिक विद्यालयमा २ हजार विद्यार्थी अध्ययनरत भए संघीय सरकारले भौतिक सहयोग गर्छ । त्यही कारण जनता माविमा संघबाट प्राप्त ३ करोड २५ लाख लगानीमा २ तले पक्की भवन निर्माण हुँदै छ । विद्यालयको चारैतिर सीसीक्यामेरा जडान गरिएको छ । यसले विद्यालयको सुरक्षा र विद्यार्थीको गतिविधि निगरानी गर्न मद्दत पुर्‍याएको छ ।

विद्यालयले खेलकुदलाई समेत प्राथमिकतामा राखेको छ । अहिले विद्यालयमा महिला तथा पुरुष क्रिकेट टिम तयार पारिएको छ । एक महिनाअघि बाराको सिम्रौनगढमा आयोजना गरिएको नगरस्तरीय क्रिकेट प्रतियोगितामा जनता माविले दोस्रो स्थान हासिल गरेको थियो । ‘विद्यालय हरेक क्षेत्रमा अब्बल बन्दै गएको छ,’ पुरुष टिमका क्याप्टेन निकेश यादवले भने ।

कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाशले शिक्षामा सबैको पहुँच बढाउन, गुणस्तरीय शिक्षा प्रदान गर्न आफूले सहजीकरण गर्दै आएको बताए । ‘म जनता माविलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा छु,’ उनले भने, ‘विद्यालयको पूर्वाधार विकास, शैक्षिक सामग्री व्यवस्थापन र प्रविधि विस्तारमा पालिकाले निरन्तर सहयोग गर्नेछ ।’ जनता माविको प्रगतिले अन्य विद्यालयलाई पनि गुणस्तरीय शिक्षातर्फ अग्रसर हुन प्रेरणा मिलेको उनको भनाइ छ ।

विद्यालयले शिक्षकलाई क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी, कार्यशालामा सहभागिता गराउँदै आएको छ। शिक्षण विधिलाई समयानुकूल परिमार्जन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुप्रसाद यादवले बताए । ‘विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय समुदायबीचको समन्वयले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ बनेको छ,’ उनले भने, ‘आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने, नैतिक शिक्षा र जीवनोपयोगी सीपमा जोड दिने योजना छ ।’

स्थानीय अभिभावक दिनेशराय यादव विद्यालयले छोटो समयमै उल्लेखनीय प्रगति गरेको बताउँछन् । ‘विद्यालयमा पढाइको स्तर सुधारिएको छ । विद्यार्थीको अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वासमा सकारात्मक परिवर्तन देखिएको छ,’ उनी भन्छन्, ‘विद्यालयको सफलताले जिल्ला, मधेश प्रदेश र देशमै सामुदायिक विद्यालय शिक्षामा नयाँ आशा र सम्भावना थपेको छ ।’ उनकी छोरी रञ्जु कक्षा ९ मा पढ्छिन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully