चितवन निकुञ्जका ऐतिहासिक तालहरूमा पानी नहुँदा चरा हराउँदै गएका छन्, संरक्षणमा ढिलाइ भए भविष्यमा यी स्थल हराउने खतरा छ ।
What you should know
चितवन — चितवन राष्ट्रिय निकुञ्जको चर्चा गर्दा जंगली जनावर मात्र होइन, यहाँका ताल र घोलहरुको कथा पनि सधैं जोडिन्छ।
विशेषगरी देवी तालको भव्यता र नन्दभाउजू तालको ख्याति सुन्नेबित्तिकै जिज्ञासा जन्माउँछ। प्रश्नहरू प्रायः एउटै हुन्छन्– 'निकुञ्जभित्रका तालमा कति चरा भेटिन्छन् होला ?'
जाडो छल्न हिमाल नाघेर आउने पानीमा आश्रित थुप्रै चरा निकुञ्ज हुँदै बग्ने नारायणी, राप्ती र रिउ किनारमा झुम्मिएका हुन्छन् । निकुञ्जभित्रैका यी तालमा कति होलान् त त्यस्ता चरा ?
मनेश लिम्बू नेचर गाइडका साथै चरा संरक्षणकर्मी पनि हुन् । मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका उनै लिम्बूको नेतृत्वमा १३ जनाको टोली बिहीबार बिहान बसाइँ सरेर आउने पानीमा आश्रित चरा गन्न मेघौलीबाट राप्ती तरेर निकुञ्जको पश्चिम भेग छिर्यो । सुरुमै उनीहरु केहीबेर रोकिए बाराही जंगल लजपारिको राप्तीको भँगालोमा । त्यहाँ चखेवा चरा लगायतका जीवजनावर थिए ।
गणकहरुको टोली केहीबेरमै पुग्यो नन्दभाउजू ताल । यहाँ हिमाल नजिकबाट आएको एउटा धोबिनी चरा भेटियो । तर हिमाल पार गरेर आउने पानीमा आश्रित अन्य चरा कतै थिएनन् । चरा मात्रै होइन तालमा पानी नै थिएन भन्दा पनि हुन्छ । कहीँकतै ओसिलो जमिन थियो । दक्षिणी कुनामा अलिकति लेदोजस्तो चिस्यान । नभए पानीको बुँद होइन झरेका पातहरु असरल्ल थिए ।
त्यसपछि टोली भिम्ले पोस्ट आएर पूर्व मोडियो बुढी राप्ती घोलमा चरा हेर्न । घोलमा गर्मीयाममा सधैं कम्तीमा एउटा गैंडा पौडी खेलेर बस्थ्यो । यो बेला गैंडा होइन मगर गोही र एउटा सानो जलेवा भेटियो । पानी भए पनि यहाँ पानीमा आश्रित चरा खासै देखिएनन् । त्यसपछि टोली मोडिएर पश्चिम लाग्यो । रिउ तरेर अलि पर पुगेपछि आउँछ, मुण्डा ताल । यो तालमा पनि पानी थियो तर चरा फाट्टफुट्ट ।
तालमा गडेको रुखको सुकेको हाँगोमा बसेर घाम ताप्दै गरेको लामो सुइरो ठुँड भएको डार्टर भनिने पानीचरा एउटा देखियो । गणना टोलीले गन्न थाल्दै गर्दा डार्टरले आफ्ना बन्द पखेटा फैलायो । डार्टर अगाडि एसियन ओपन बिल भनिने घुँगीफोर गरुडले पानीमा आहारा खोज्दै गरेको भेटियो । ‘यो ताल पनि उता खोलाबाट बालुवा आएर पुरिन थाल्यो,’ टोली नेता संरक्षणकर्मी लिम्बू चिन्तित देखिए ।
त्यसपछि टोली सिंगे घोलमा पुग्यो । यहाँ पानी कम थियो तर चराका प्रजाति र संख्या अन्यत्रभन्दा धेरै फेला पर्दा गणकहरु उत्साहित भए । सुकेर बीचबाट भाँचिएको रुखमा काकाकुल चील बसेका थियो । ‘यसले सर्प खान्छ । यो बेला अरु सर्प शीतनिद्रामा जान्छन् तर पानी सर्प, राजगोमन र अजिंगर पाहार ताप्छन् । यो काकाकुल घाम ताप्न आउने पानी सर्प ढुकेर बसेको हो,’ लिम्बूले भने ।
‘ग्रे हेडेड फिस इगल’ अर्थात् माछा खाने चील तालमाथि फन्को मारिरहेको थियो । बसाइँ सरेर आउने चरादेखि पानीमा आश्रित रैथाने चरा पनि यहाँ भेटिए । त्यसपछि टोली सिधै पश्चिम लाग्यो र टेम्पल घोल पुगेर रोकियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) डण्डा बजारबाट दक्षिणमा छ, अमलटारी । यहाँदेखि दक्षिण नारायणी तरेपछि आउँछ बन्द भएको निकुञ्जभित्रको होटल टेम्पल टाइगरको भग्नावशेष ।
हो यही होटल आडमा छ, टेम्पल घोल । नारायणीको एउटा भँगालो आएर बनेको घोलमा विभिन्न प्रजातिका पानी चराहरुको बथान देखियो । आहारा ढुकिरहेका बकुल्ला, घुँगीफोर गरुडदेखि उड्दै घरी यता घरी यता गर्दै गरेका आगन्तुक चरा यहाँ फेला परे । सबै चराको विवरण टिपेपछि गणना टोली पूर्व मोडियो र निकुञ्जको चुरे छेउमा रहेको देवीताल पुग्यो ।
देवीताल पुग्नै लाग्दा सिमलको रुखको फेदमा घाम ताप्दै बसेको विषालुमध्येको ठूलो सर्प राजगोमन अर्थात् किङ कोब्रा र लगत्तै गौरीगाईको झुन्ड देख्दा निकै उत्साहित टोली ताल पुगेपछि भने चिन्तित भयो । विशाल देवीताललाई झार र ढड्डीघारीले लगभग पुरिसकेछ ।
ताल वरपर कुनै जीव जनावर र पन्छीको चहलपहल थिएन । तालको पूर्वी भेगमा हलक्क बढेको ढड्डी थियो । पश्चिम भेगमा झारैझार । दक्षिणतर्फ एउटा कुनामा थोरै पानी टल्केको देखिन्थ्यो । देवीतालको अस्तित्व त्यही थोरै पानीले मात्रै धानेको थियो । निकुञ्जभित्रको विशाल तालमा गनिने देवीताल 'जीवन-मरण'को दोसाँधमा पुगेको देख्दा संरक्षणकर्मीहरु निकै चिन्तित भए ।
‘देवीतालमा काकाकुल, डाटर र खोले हुटिट्याउँ गरी तीनवटा चरा मात्रै देखिए,’ टोली नेता लिम्बूले सुनाए । देवीतालको निराशाजनक नतिजासँगै टोलीले बिहीबारको गणना टुंग्यायो ।
देवीताल र नन्दभाउजू तालको अवस्था दुखदायी भए पनि सबैभन्दा राम्रो टेम्पल घोल र त्यसपछि सिंगेघोल भएको लिम्बूले बताए । टोलीले टेम्पल घोलमा नादुन हाँस ३२ वटा देखेको थियो ।
नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरी बसाइँ सरेर आउने चराहरु बगेको ताजा पानीमा रोकिने हुँदा जमेको तालमा कम पाइने बताउँछन् । ‘पानीभित्र पौडेर खानेकुरा खोज्न नसकेपछि तालमा चराहरु बस्दैनन्,’ उनले भने । तालहरु गेग्रान थुप्रिने र झार र ढड्डीले ढाकिन लागेपछि चराहरु बस्न छाडेको उनको भनाइ छ । तालहरुमा पानीको निकास केही न केही हुनैपर्ने उनले बताए ।
‘नदी र खोला किनारमा जति चेरा भेटिन्छन्, तालमा कमै हुन्छन् तर डुबुल्की हाँस आउनुपर्ने हो ती पनि त्यत्ति आएका छैनन्,’ चौधरी निराश सुनिए । खोला र नदी छेउका तालहरुमा पहिला चरा बस्ने गरेको तर अहिले कम हुँदै गएको उनको अनुभव छ । ताल सफा गर्दा पनि चरा झनै आउनै छाडेको उदाहरण पनि छन् । बरण्डाभार जंगलको २० हजारी ताल सफा गरेपछि चरा आउनै छाडे भन्छन् उनी ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त निकुञ्जभित्रका महत्वपूर्ण तालहरुमा अहिले झारले ढाकिने र चुरेबाट झर्ने गेग्रान र नदी र खोलाले ल्याउने बालुवा थुप्रिने समस्या बढेको बताए । देवीताल जस्तो महत्वपूर्ण सिमसार १० प्रतिशत मात्रै बचेको अनुमान पन्तको छ । तर पुराना ताल मर्मत र व्यवस्थापनका लागि बजेट भने नभएको उनले गुनासो गरे ।
‘देवीतालको जुन अवस्था छ, त्यसको सुधारका लागि कम्तिमा ४०/५० लाख रुपैयाँ खर्च हुन्छ । तर हामीसँग बजेट छैन । अन्य निकायसँग समन्वय गरेर व्यवस्थापन गर्ने योजना बनाइरहेका छौं,’ पन्तले भने ।
यी ताल, घोल र सिमसार बसाइँ सरेर आउने र रैथाने चराका बासस्थल मात्रै होइनन् निकुञ्जका अन्य ठूलासाना सबैखाले जीवजनावरका पनि जीवनका आधार हुन् । तर यो आधार बिग्रँदै भत्कँदै छ । संरक्षणको पहल आज पनि आवश्यक छ, नभए भविष्यमा यी ताल र घोल केवल कथा र फोटोमै सीमित हुनेछन् ।
