सडक बालबालिकाकी आमा बनेकी कमला

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ कटुजेस्वारामा जन्मिएकी कमला पराजुलीले बाबुआमा गुमाएका, घर छाडेका वा आफन्तबाट निष्कासित ४६ जना बालबालिकालाई स्याहारिरहेकी छिन्।

पुस १४, २०८२

प्रतीक्षा काफ्ले

Kamala, a mother of street children

What you should know

स्याङ्जा — साधारण देखिने एक युवती कसरी असाधारण काम गर्न सक्छिन् भन्ने उदाहरण बनेकी छिन् कमला आमा।

कालो वर्ण, मेकअपविहीन अनुहार र सामान्य बोलीचाली हेर्दा उनी साधारण देखिन्छिन्। उनका कर्म, साहस र ममताको गहिराइ बुझ्न जो–कसैका लागि सहज छैन।

२०६५ सालतिरको कुरा हो। सहर ओहोरदोहोर गर्ने क्रममा सडक पेटीमा लुगा नलगाएका, भोकै र असहाय बालबालिका देख्दा उमेरले मात्र २३ वर्ष पुगेकी कमला पराजुलीको मन असह्य भयो। उनीहरूको अवस्था बुझ्ने चाहनाले नै उनलाई सहाराविहीन बालबालिकाको सहारा बन्न प्रेरित गर्‍यो।

विवाह गरेर आफ्नै सन्तान जन्माउने सोच कमलाको मनमा कहिल्यै आएन। सडकमा भेटिएका ती बालबालिकाले उनको सोच नै परिवर्तन गरिदिए। उनले महसुस गरिन्—विवाह नगरी कर्मले पनि आमा बन्न सकिन्छ। अन्ततः उनी सहाराविहीन बालबालिकाकी आमा बनिन् र आज सबैले उनलाई ‘कमला आमा’ भनेर चिन्छन्।Kamala, a mother of street children

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ कटुजेस्वारामा जन्मिएकी कमला हाल ४६ जना बालबालिकाकी स्याहारिरहेकी छिन्। ‘आमा बन्न नौ महिना गर्भ बोक्नै पर्दैन,’ उनी भन्छिन्, ‘माया, ममता र जिम्मेवारीले पनि आमा बन्न सकिन्छ।’ सानोदेखि ठूलो उमेरसम्मका छोराछोरी उनीसँगै छन्। आमाको भूमिकामा उनीहरूको स्याहार–सुसारमै उनको दिनचर्या बित्छ। 

कमलाले ‘अमोर सेवा नेपाल’ नामक बालगृह स्थापना गरी गरिब, असहाय, सडक तथा सहाराविहीन बालबालिकाको संरक्षण गर्दै आएकी छन्। बालगृहमा तीन जना कर्मचारी रहे पनि बिहान उठेदेखि सरसफाइ, खाना खुवाउने, विद्यालय पठाउने, नुहाइधुवाइ, कपाल कोर्ने, लुगा लगाइदिने जस्ता अधिकांश काम कमला स्वयंले गर्छिन्।

बालबालिकासँगै खाने, सँगै सुत्ने र बिदाको दिन घुम्न लैजाने जिम्मेवारी पनि उनी आफैंले सम्हाल्छिन्। कमलाले बाबुआमा गुमाएका, घर छाडेका वा आफन्तबाट निष्कासित बालबालिकालाई संरक्षण दिँदै आएकी छिन्।

उनकै पहलमा २०६८ सालमा बालगृह सञ्चालनमा आएको हो। हाल २३ छोरी र २३ छोरा गरी ४६ बालबालिकाको अभिभावकीय जिम्मेवारी उनी स्वयंले सम्हालिरहेकी छन्। सडकमा बेसहारा बालबालिका देख्दा मन दुःख्ने गरेको बताउँदै उनी भन्छिन्, ‘देखेजतिका सबै बालबालिका घरमा ल्याएर पाल्न सकिनँ। तर सडकमा अलपत्र परेको देख्दा मन सम्हाल्नै गाह्रो हुन्थ्यो। जिल्लामा बालबालिकाको संरक्षण गर्ने कुनै संस्था थिएन, त्यसैले आँट गरें।’ संस्था सञ्चालनमा आएपछि उनले रुकुम र रोल्पाका द्वन्द्वपीडित बालबालिकालाई समेत संरक्षणमा ल्याएकी थिइन्।

१५ आना जग्गामा करिब एक सय जना बालबालिका अट्ने क्षमताका दुई वटा बालगृह भवन निर्माण गरिएको छ। उक्त जग्गा कमलाका बुवा दण्डपाणि पराजुलीले निःशुल्क उपलब्ध गराएका हुन्। सडक र खानेपानीको अभाव रहेको कटुजेस्वारामा कमलाले आफ्नै पहलमा ती सुविधा सुनिश्चित गरेकी छिन्।

जग्गादाता पराजुलीका अनुसार बाबुआमाविहीन बालबालिकाको संरक्षण राज्यको दायित्व भए पनि छोरीले गरेको कार्य अत्यन्तै महान् छ। बाबुआमा तथा आफन्तले विवाहका प्रस्ताव बारम्बार गरे पनि उनी समाजसेवामै समर्पित रहिन्। ‘विवाह गरेर घरजम गर्नुभन्दा समाजसेवामा जुट्दा नै बढी आनन्द लाग्छ,’ उनी भन्छिन्।Kamala, a mother of street children

संस्था दर्तादेखि भवन निर्माणसम्म अनेक अवरोध झेलेको अनुभव सुनाउँदै कमला भन्छिन्, ‘दिनदिनै जिल्ला प्रशासन धाउनुपर्थ्यो। भवन निर्माणको बजेट रोकिएको थियो। बालबालिकाकै क्षेत्रमा काम गर्ने केही संस्था र व्यक्तिले समेत अवरोध गरे।’ जिल्लाभन्दा केन्द्रस्तरको सहयोगमा संस्था सञ्चालन गर्न सफल भएको उनले सुनाइन् । अहिले बालगृह मुठ्ठीदानको भरमा सञ्चालन हुँदै आएको उनी बताउँछिन्। 

बाबुआमा नभएका बालबालिकाहरू बालगृहमा बस्न पाउँदा खुसी देखिन्छन्। ४ दिदीबहिनीमध्ये जेठी सन्तानका रूपमा रापाकोटमा जन्मिएकी एक बालिका अहिले स्नातक तहमा अध्ययनरत छिन्। ‘भोक लाग्दा खान, निद्रा लाग्दा सुत्न र पढ्न पाएकी छु,’ उनले भनिन्, ‘अब म पनि कमला आमासँगै समाजसेवामा सक्रिय हुन चाहन्छु।’ १७ वर्षीया अर्की बालिकाले आफू कसरी बालगृहमा आएँ भन्ने थाहा नभए पनि यहाँ आएपछि जीवन नै फेरिएको सुनाइन् ।  

जिल्लामा एक मात्र बालगृह भए पनि स्थानीय तह तथा अन्य संघसंस्थाको ध्यान पर्याप्त नपुगेको कमलाको गुनासो छ। फेदीखोला गाउँपालिकाले भने हरेक वर्ष केही रकम छुट्टाउँदै आएको छ। फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘जिल्लाभरका बालबालिकाका लागि सबै स्थानीय तहले केही न केही योगदान गरे संस्था सञ्चालन सहज हुने थियो।’ हाल बालगृह सञ्चालनमा आर्थिक समस्या देखिएको कमला बताउँछिन्। ‘मुठ्ठीदानबाट चलेको संस्था हो,’ उनी भन्छिन्, ‘यतिबेला सहयोगी हातको खाँचो छ।’

समाजसेवामा पुर्‍याएको योगदानका लागि कमलाले सामाजिक गुठी सेवा अवार्ड, रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार, गण्डकी प्रदेश सरकारबाट सामाजिक सेवा पुरस्कार, डा. तरुण पौडेल चिकित्सक संघ पुरस्कार, गण्डकी आइकोन अवार्डलगायत विभिन्न सम्मान पाएकी छिन्।

प्रतीक्षा

Link copied successfully