१ वर्षकी जर्मन सेफर्ड काली र ८ वर्षकी गोल्डेन रिट्रिभर मिक्स कान्छी लिएर घुम्न निस्कने राजीवको यात्रा रोमाञ्चक मात्रै छैन, फरक शैलीको पनि छ।
What you should know
काठमाडौँ — सिन्धुपाल्चोक घर भएका राजीव लामा घुम्न मन लागेका बेला फुत्त निस्किहाल्छन्। तर उनीसँग कान्छी र काली अक्सर छुट्दैनन्। राजीवसँग घुम्न निस्कने कान्छी र काली कोही नभएर उनले पालेका पोथी कुकुरहरू हुन्।
१ वर्षकी जर्मन सेफर्ड काली र ८ वर्षकी गोल्डेन रिट्रिभर मिक्स कान्छी लिएर घुम्न निस्कने राजीवको यात्रा रोमाञ्चक मात्रै छैन, फरक शैलीको पनि छ। गत असोजमा राजीब काली र कान्छी लिएर तिलिचोसम्मको यात्रा सकेर फर्किए ।
प्रश्न थियो, ‘कुकुरहरू कसरी यहाँसम्म ट्रेकिङ गरेर आइपुगे?अक्सर घुमन्तेहरू आफूले घुमेका ठाउँका नयाँ–नयाँ तस्वीर र भिडियो सामाजिक सञ्जालमार्फत सेयर गर्छन्। राजीव पनि त्यसै गर्छन्। तर उनका यात्राका तस्वीर र भिडियो अरूभन्दा फरक देखिन्छन्, किनकि त्यसमा कान्छी र कालीको रोमाञ्चक यात्रा पनि समेटिएको हुन्छ। कान्छीले राजीवसँगै पाँचपोखरी, कालिन्चोक, सैलुङ, लुम्बिनी, जनकपुर हुँदै दार्जिलिङ र सिक्किमसम्म घुमिसकेकी छन्।
गत असोजमा उनी काली र कान्छी लिएर ४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो ताल पुगे। यात्रामा राजीव मात्रै रमाएनन्, काली र कान्छी पनि उत्तिकै रमाए। उनले निलो देखिने तालअघि काली र कान्छीसँगै उभिएर फोटो र भिडियो खिचे अनि सामाजिक सञ्जालमा सेयर पनि गरे। सहयात्री काली र कान्छीले पोखरीको चिसो पानीमा खेले, डाँडाकाँडा कुदे अनि उफ्रिँदै खुसी साटे। घुम्न निस्केका बेला राजीवले एउटा प्रश्नको बारम्बार सामना गरे। त्यस्तै प्रश्न उनले सामाजिक सञ्जालमार्फत पनि पाइरहेका थिए। प्रश्न थियो, ‘कुकुरहरू कसरी यहाँसम्म ट्रेकिङ गरेर आइपुगे?’
राजीवले कान्छीलाई बच्चैदेखि पालेका हुन्। कालीचाहिँ गिफ्टमा पाएका हुन्। आफूलाई ‘एनिमल लभर’ भन्न रुचाउने राजीवको कुकुरसँगको साइनो पुरानै छ। पेशाले निर्माण व्यवसायी रहेका राजीवले आफू सानैदेखि कुकुरहरूलाई प्रेम गर्न थालेको सुनाए। कुकुरसँगको उनको यात्रा भने कोरोनाकालपछि सुरु भएको रहेछ। उनले सुनाए, ‘सुरु–सुरुमा कुकुरसँगको यात्राको भिडियो टिकटकमा हाल्थेँ। अहिले फेसबुक र युट्युबमा पनि हाल्छु।’
कुकुरसँगको यात्रा विस्तारै जीवनशैलीकै हिस्सा बनिसकेको राजीवले सुनाए। उनले भने, ‘म उनीहरूबिनै रमाउन छाडिसकेँ। त्यही भएर जहाँ जान्छु, सँगै लान्छु। हरेक दिन उनीहरूसँग खेल्छु।’
कुकुरसँग लामो यात्रा र ट्रेकिङ गर्नु सजिलो काम होइन। उकालो–ओरालो, साँघुरा बाटा, चिसो–गर्मी अनि बाटोका अन्य कुकुरको डर। राजीवका निम्ति यस्ता सबै अप्ठ्यारासँग जुध्नु सामान्य विषय भइसकेको छ। उनले सुनाए, ‘यात्राका बेला मान्छेसँग डर हुँदैन, तर बाटोका कुकुरबाट चाहिँ धेरै सतर्क हुनुपर्छ।’
यात्राका क्रममा होटलमा बस्दा भने उनले हरेकपल्ट सास्ती भोग्नुपर्छ, किनकि धेरैजसो होटल सञ्चालक होटलमा कुकुर छिर्नै दिँदैनन्। कतिपयले सुरुमा आनाकानी गर्छन् तर सम्झाएपछि मान्छन्। कति भने कुकुरप्रति घृणा जताउँदै आफ्ना कुरामा अडिग रहन्छन्। उनले केही होटलमा त कुकुर राखेको अलग्गै शुल्क पनि तिरेका छन्। कतै भने कुकुरले केही बिगार गरे क्षतिपूर्ति तिर्छु भन्ने सर्तमा बास मागेका छन्। सबै होटलवाला यस्ता पनि छैनन्। कोहीले भने मायालाग्दा कुकुर देखेर निःशुल्क खानासमेत दिन्छन्, राम्रो बस्ने ठाउँ मिलाइदिन्छन्।
यस्ता अप्ठ्याराहरूका बाबजुद पनि उनले आफ्नो यात्रा कहिल्यै रोकेका छैनन्। कुकुरसँग यात्रा गर्नुका आफ्नै रोचक अनुभव पनि उनले सँगालेका छन्। यात्राका दौरान काली र कान्छी अपरिचितलाई अगाडिका दुई खुट्टा उचालेर नमस्ते गर्छन्। यात्रीहरू खुसीले पुलकित हुन्छन्। नयाँ ठाउँमा पुग्दा कुकुरहरू पनि रोमाञ्चक अनुभूति गरेझैँ लडीबुडी गर्छन्। यो सबै देख्दा उनलाई औधी खुसी मिल्छ। कतैकतै त मायालाग्दा कुकुरहरू देखेर मानिसहरू फोटो खिचाउन खोज्छन्।
काली र कान्छी तालिमप्राप्त कुकुर भएकाले उनीहरूलाई अनुशासनमा राख्न राजीवलाई त्यति अप्ठ्यारो छैन। राजीव आफैंले पनि दुवैलाई यात्राका केही सामान्य नियम सिकाएका छन्, जस्तो कि फ्रिज खोल्नु, फोहोर डस्टबिनमा हाल्नु। उनले सुनाए, ‘कुकुरलाई तालिम दिने कुरा पनि भिडियो हेरेर सिकेको हुँ।’ राजीवका अनुसार कालीभन्दा कान्छी त झन् धेरै कुरा बुझ्ने खालकी छ। उनले दुवै कुकुरहरूले जम्पिङ, नमस्ते जस्ता सामान्य काम सजिलै गर्ने र आदेश तत्काल मान्ने स्वभाव भएको बताए।
यात्राको तयारी गर्नु सजिलो काम होइन। झन् राजीवका निम्ति त आफ्नो मात्रै तयारीले पुग्दैन। उनी आफ्नो र कुकुरहरूको सरसामानको तयारी पनि योजनाबद्ध हिसाबले गर्छन्। उनले यात्राका क्रममा आफ्नो भन्दा कुकुरको सामान बढी बोक्नुपर्ने बताए। भने, ‘खाने प्लेट, प्राथमिक उपचार सामग्री, जीवनजल, सुकुटी सबै व्यवस्था गर्नुपर्छ, किनकि होटलहरूमा आफैंले बोकेको प्लेटमा कुकुरलाई खुवाउनुपर्छ।’
यो यात्राका क्रममा काली र कान्छीका धेरै स्वभाव र उनीहरूका स–साना खुसीहरू राजीवले बुझेका छन्। उनले चिसो हिमाली क्षेत्रमा दौडिनु काली र कान्छीको रोजाइ भएको बताए। हरियाली डाँडाकाँडा देख्दा काली र कान्छी दुवै उत्साहित हुने कुरा सुनाए।
यात्राहरू सधैं रोमाञ्चक मात्रै हुँदैनन्, हैरानीपूर्ण पनि हुन्छन्। राजीवले पाँचपोखरीबाट फर्किँदा कान्छी थकित भएको अनि चिसोले गर्दा उसका आँखा सुन्निएको र खुट्टामा घाउ भएको सुनाए। उनले ट्रेकिङका दौरान कान्छी र काली उकालो सजिलै चढ्ने तर निरन्तर ओरालो यात्रामा भने धेरै थाक्ने गरेको बताए। तराईको गर्मीभन्दा पहाडी क्षेत्रको यात्रामा उनीहरू धेरै रमाउने गरेको पनि सुनाए।
राजीवलाई कहिलेकाहीँ लाग्छ, कुकुरसँगै सधैं घुमन्ते भएर घुमिरहुँ। तर सधैं यस्तो गर्न सम्भव पनि छैन। उनले सुनाए, ‘कुकुर लिएर घुम्न जानु सहज छैन। यसका आफ्नै चुनौती छन्। नेपालमा कुकुरसँगै घुम्न सक्ने वातावरण अझै बनिसकेको छैन। अनि पर्यटकीय क्षेत्र पनि कुकुरमैत्री छैनन्।’ तर उनी यतिमै निराश छैनन्। उनले कुकुरसँगको सानिध्यपूर्ण सम्बन्ध र यात्राको बेग्लै मज्जा हुने बुझाउँदै भने, ‘आत्मीयता बसेपछि त छोड्न सकिँदैन, किनकि उनीहरू हाम्रो भाषा बुझ्छन् अनि आफ्नै भाषामा माया दर्शाउँछन्।’
