इलामको माइझुवा घर भई कालपोखरीमा व्यावसायिक रुपमै चौंरी र कुकुर पाल्दै आएका पञ्चबीर राईले पालेको भोटे प्रजातिको एउटै कुकुरको मूल्य ग्राहकले आठ लाख रुपैयाँसम्म पुर्याएका छन् ।
What you should know
इलाम — इलामको सन्दकपुर–४ कालपोखरीमा भव्य चौंरी गोठनजिकै कुकुरका लागि छुट्टै ब्लक बनाइएको छ ।
ब्लकमा लस्करै बाँधिएका १४ वटा भोटे प्रजातिका कुकुरको समूहमा कालो रंगको अनुहार र पेटमा फुस्रो भएको अजङ्गको कुकुर छ । चर्को आवाजमा भुक्ने हेर्दा भालु जस्तै देखिने आकर्षक उक्त कुकुरको मूल्य ग्राहकले आठ लाख रुपैयाँ पुर्याएका छन् ।
इलामको माइझुवा घर भइ कालपोखरीमा व्यवसायिक रुपमै चौरी र कुकुर पाल्दै आएका पञ्चबीर राईले पालेको ‘सेक्या’ नामको यो भोटे कुकुरको मूल्य ग्राहकले आठ लाख रुपैयाँसम्म पुर्याएका छन् । पछिल्लो पटक काठमाडौं र पोखराबाट आएका साजन बस्नेत र विजय पौडेलको समूहले यो कुकुर किन्ने इच्छा राख्दै आठ लाख रुपैयाँ मोलेका हुन् । यद्यपि राईले यो कुकुर बेचेनन् ।
लोप हुन लागेको भोटे प्रजातिको कुकुर हाल इलाम र पाँचथरको उच्च पहाडमा पालिने गरेको छ । ‘सबैभन्दा ठूलो र आकर्षक यही हो, त्यसैले ग्राहकले दिएको पैसा भन्दा मूल्यवान छ,’ राईले भने । भोटे कुकुरको नस्ल सुधार र संरक्षण गर्ने बेला आएकोले यो कुकुरले इलाम, पाँचथरका माउ कुकुरबाट सुधारिएका छाउरा जन्माउन उपयुक्त भएको राईले बताए ।
राईको गोठमा योसँगै ‘भालु’ नामको एकसहित अरु २ वटा भाले र ११ वटा छाउरी गरी १४ वटा भोटे प्रजातिका कुकुर छन् । उनले यी कुकुर व्यवसायिक रुपमा छाउरा, छाउरी उत्पादन गरेर बिक्री गर्ने उद्देश्यले पालेका हुन् । पाँचथरको याङवरक गाउँपालिका–१ पानीभित्ताबाट आठ वर्षअघि माउसँगै किनेर ल्याइएको 'सेक्या' अहिले बयस्क भइसकेको छ । त्यसकारण पनि यो कुकर सबै हिसाबले मजबुत रहेको राईले बताए । यो सिजनमा ११ मध्ये तीन माउ कुकुरले जन्माएका १० वटा छाउरा, छाउरी बिक्रि भइसकेको राईले बताए । ‘डेढ महिनापछि थप चार माउ ब्याउँछन् । चार महिनापछि फेरि छाउरा, छाउरी बेच्ने बेला हुन्छ,’ उनले भने ।

उनको गोठमा जन्मिएका भोटे कुकुरका छाउरा, छाउरी शरीरको बनावट आकार र रंग हेरेर मूल्य तय गरिन्छ । कसैले कुकुर नब्याउँदै छाउरा बुक गरेर जाने गरेको पनि उनले सुनाए । ‘सबैभन्दा ठूलो र आकर्षक बनावट भएको छाउरो एक लाखसम्म र सबैभन्दा सानो (ज्यान नपरेको) छाउरी कम्तीमा २० हजार रुपैयाँमा बिक्री हुन्छ, ग्राहकले मन पराए त मागे भन्दा धेरै पनि दिन्छन्,’ राईले भने, ‘माग धेरै नै भएकाले जन्मनु अगावै बुक भइसक्छन् ।’
कालपोखरी क्षेत्रमा पर्यटकको चहलपहल भइरहन्छ । यही बाटो भएर भारतको दार्जिलिङ र इलामको पशुपतिनगर तर्फबाट आएका पर्यटक सन्दकपुर हुँदै उच्च पहाडी र हिमाली क्षेत्रको भ्रमणमा जान्छन् । विभिन्न ठाँउबाट आएका ग्राहकले यहाँ उत्पादन भएका कुकुर किनेर लैजाने गरेका छन् । राईले पालेको ‘सेक्या’ नामको कुकुर सबैको रोजाइमा पर्ने गरेको स्थानीय वडाध्यक्ष डिबी गुरुङ बताँउछन् । ‘यो कुकुर किन्न चासो राख्ने दैनिक ८/१० जना हुन्छन् । तर उहाँले बेच्न चाहनुभएको छैन,’ गुरुङले भने ।
राईले व्यवसायिक कुकुरपालन गर्न ‘सन्दकपुर कालपोखरी भोटे कुकुर फार्म हाउस’ नामको फर्म दर्ता गराएका छन् । उनले सन्दकपुर गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति इलाममा यो फर्म दर्ता गरेका छन् । आफुले पालेका कुकुरलाई आँटा सँगै दुध, मोही र छुर्पीको रस खुवाइने गर्छन् ।
इलाम र पाँचथरका उच्च पहाडी क्षेत्रका पशुधन र गोठको सुरक्षाका लागि भोटे प्रजातिको कुकुर पाल्ने चलन छ । धेरैले सौखका लागि पनि यस्तो कुकुर पाल्ने गर्छन् । आज्ञापालक यो कुकुर अरु भन्दा आकर्षक हुने स्थानीय बताउँछन् ।
यहाँका गोठमा इलाम र पाँचथरसँगै भारतको सिक्किम र दार्जिलिङसम्मबाट माउ कुकुर ल्याइन्छ । यसरी ल्याइएका माउ कुकुरलाई निश्चित समय गोठमै राखेर गर्भाधारण गराइन्छ । यसरी सम्भोग गराएर प्रजनन् गराए बापत माउका धनीले भाले कुकुरका धनीलाई एउटा छाउरो फिर्ता गर्ने चलन छ । तर राईको गोठमा बाहिरबाट लगेका कुकुरलाई सम्भोग गर्न दिइदैन । ‘आफैंले व्यवासायिक रुपमा कुकुर पालेकाले ठूलो समूहमा बाहिरका कुकुर टिक्न नसक्ने भएकाले सम्भोगका लागि नल्याउन सुझाउने गरेको छु,’ उनले भने ।
