दृष्टिविहीन बुहारीको सहारा बनेकी सासू

बेसहारा अवस्थामा पुगेपछि गाउँ छिमेकीले उनीहरूको उद्धारका लागि पहल गरे । कोरोनाको महामारी चलेको समय २०७७ मा उनीहरूलाई नवजीवन परोपकार समाजले उद्धार गरेको थियो ।

कार्तिक ४, २०८२

आरती पौडेल

Mother-in-law becomes support for blind daughter-in-law

What you should know

काठमाडौँ — ताकेश्वर नगरपालिकामा रहेको नवजीवन परोपकार समाजको भवनअगाडि एउटै रंग र बुट्टा भरेको चोलो लगाएर गन्थन गर्दै एक वृद्धाले अधबैंसे महिलालाई डोहो‍र्‍याएर हिँडिरहेको देखिन्थिन् । वृद्धाले बेलाबेला अधबैंसे महिलालाई हातले कोट्याएर सान गरिरहेको पनि देखिन्थिन् । त्यो दृश्य निकै मर्मस्पर्शी थियो ।

उनीहरू एकैघरका सासू-बुहारी हुन् । धादिङ पीडाघारी घर भएकी अमृतकुमारी अधिकारी उमेरले ८७ वर्षकी भइन् । उनी नवजीवन परोपकार समाजमा विगत ६ वर्षदेखि बस्दै आइरहेकी छिन् । आश्रममा उनी मात्र बस्दिनन्, अमृतकी बुहारी यमकुमारी पनि सँगै बस्छिन् । 

अमृत र यमकुमारी कसरी यस वृद्धाश्रममा आइपुगे त ? उनीहरूका पीडा र वेदना ज्यादै दर्दनाक छन् ।

अमृत आफ्नो बिहेपछि निकै खुसी थिइन् । आफूले सोचेजस्तै माया गर्ने श्रीमान् पाएकी थिइन् । घर-परिवार पनि भनेजस्तै थियो । अमृतले २०१९ सालमा एक छोरालाई जन्म दिइन् । सबै जना खुसी नै थिए । उनका श्रीमान‍्ले हरेक सुख-दुःखमा साथ दिन्थे । उनले जसरी बिहेको यज्ञमा हरेक क्षण साथ दिने कसम खाएका थिए, त्यसरी नै वचनका पक्का उनी अमृतलाई माया,साथ र हौसला दिइरहेका थिए । उनी आफूलाई निकै भाग्यमानी ठान्थिन् । 

तर अमृतको खुसी धेरै दिन टिक्न सकेन । २०२१ सालमा उनका श्रीमान् कुनै रोग नलागी एक्कासि बिते । त्यसपछि अमृतलाई बज्रपात पर्‍यो । श्रीमान् गुमाउँदा उनी उमेरले जम्मा २३ वर्षकी थिइन् । वियोगमा छट्पटिएकी अमृत कसरी जिन्दगी कटाउने होला श्रीमानबिना भन्दै भक्कानिन्थिन् ।

उनी रोएको देखेर काखमा भएका उनका दुई वर्षका छोरा रुन्थे । बैंस छँदै सात जन्म सँगसँगै जिउने र मर्ने वाचा कसम खाएका श्रीमान् गुमाएकी उनको मनमा परेको चोट त कसरी हराउन सक्यो र ? तर पनि छोराको मुख हेरेर बस्न थालिन् । छोरो ठूलो भएपछि यसैले मेरो बुढेसकालमा पालनपोषण गर्ला भनेर मन बुझाउँथिन् । मेलापात, कुटो–कोदालो गरेर छोरालाई हुर्काइन् । छोराको बिहे गर्ने बेला भयो । अमृत आफैंले नुवाकोट घर भएकी यमकुमारी जो जन्मजात नै दृष्टिविहीन थिइन्, उनीसँग बिहे गरिदिइन् । छोरा-बुहारी निकै नै खुसी थिए ।

घरमा हराएको खुसी बिस्तारै आएको सोच्थिन् अमृत । केही समयपछि उनकी बुहारीले एक छोरा जन्माइन् । यतिबेला परिवार पूर्ण भएको थप महसुस गरेकी थिइन् अमृतले । दैवको आँखा नलागोस् भनी प्रार्थना गर्थिन् उनी । खेती किसानी काम गरेर घर चलाउँथे उनीहरू । धान, चामल बेचेर नै खान पुग्थ्यो उनीहरूको परिवारलाई । Mother-in-law becomes support for blind daughter-in-law

एक दिनको कुरा हो, अमृत घरमा केही दिनअगाडि जन्मेको नाति हेर्दै थिइन् । बारीको काम गरेर फर्किएका छोरा एक्कासि पेट दुख्यो भन्न थाले । गाउँघरमा पाउने जडीबुटीले पनि बिसेक भएन । अर्को दिन अस्पताल पुर्‍याएका छोराको अचानक मृत्युको खबर आयो । त्यो क्षण उनीमाथि दोस्रो ठूलो बज्रपात परेको समय थियो । केही वर्षअगाडि मात्र बिहे गरेकी यमकुमारी २६ वर्षकै उमेरमा एक्ली भएकी थिइन्, विधवा बनेकी थिइन् । अमृत जसलाई आफ्नो बुढेसकालको सहारा मान्थिन्, जसको मुख हेरेर पुराना चोटहरू भुली मन बुझाउँथिन् । उसैले बीच बाटोमा छोडेर गएको थियो । उनी अचेत अवस्थामा पुगिन् । छोराको मृत्यु स्वीकार्न नसकेकी उनी अहिले पनि घरिघरि बेहोस हुन्छिन् ।

दृष्टिविहीन बुहारी र केही दिनअगाडि मात्र जन्मिएका नाति हेर्ने जिम्मा अब अमृतको थाप्लोमा थियो । तर छोरा बितेको केही दिन नहुँदै नातिको पनि अचानक मृत्यु भयो । उनमा फेरि अर्को बज्रपात पर्‍यो । उनी विगत सम्झिँदै आँखाबाट झरिरेहेका आँसु पुछ्दै भन्छिन्,‘मैले श्रीमान् बितेर गएपछि छोरो हेरेर चित्त बुझाएँ । अब बुहारीले पनि यही नाति हेरेर चित्त बुझाउने होली भन्दै छोरा सम्झेर रुन्थेँ । हाम्रो सहारा अब यही हो भन्थेँ, त्यो पनि दैवले खोसेर लग्यो,’ उनले भनिन्, ‘मेरो जिन्दगीका पुराना दिन सम्झिँदा पीडा र आँसुबाहेक मन शान्त हुने ठाउँ नै केही थिएन जस्तो लाग्छ ।’

मन बुझाउने कुनै बाटो नभएपछि अमृत बनारस गएर बस्ने निधो गरेकी थिइन् । तर घरमा दृष्टिविहीन बुहारीलाई चटक्क छोडेर आफ्नो मन बुझाउन कहाँ जान सक्थिन् र उनी । अमृत दिन प्रतिदिन दुब्लाउँदै गएकी थिइन् । दिदीलाई परेको पीडा देखेर अमृतकी बैनी सरस्वतीले आफ्नो घरमा लैजाने निर्णय गरिन् । र, उनीहरू बैनीको घरमा बस्न गए । अमृतको घरजग्गा सबै बेचेर ७० हजार आएको थियो । उनको र बुहारीको उपचार गर्दा, खाने, लत्ताकपडा गर्दा त्यो पनि सक्किसकेको थियो । बैनीको घरमा २२ वर्ष बसेको सुनाउने अमृतकी बैनी पनि बितिन् । जसले सहारा दिएर आफ्नो घरमा बास दियो, उसको पनि मृत्यु भएपछि अमृतसँगै बुहारीमा पिर पर्न थाल्यो । बुढेसकालले छोएको अमृत काम गर्न सक्ने अवस्थामा थिइनन् । उनीहरू सहाराविहीन भएको महसुस गर्न थाले । 

बेसहारा अवस्थामा पुगेपछि गाउँ छिमेकीले उनीहरूको उद्धारका लागि पहल गरे । कोरोनाको महामारी चलेको समय २०७७ मा उनीहरूलाई नवजीवन परोपकार समाजले उद्धार गरेको थियो । अमृतले सुरुका दिनमा वृद्धाश्रम भन्ने कहिल्यै नसुनेको बताउँछिन् । 

उनी भन्छिन्,‘हामीजस्ता सहाराविहीन, वंश नै रित्तिएकाको पनि यस्तो सहारा पाउने  ठाउँ हुँदो रहेछ । पहिला केही थाहा थिएन ।’ उनी दुवै जना आश्रममा मिलेर बसेका छन् । आश्रममा उनकी बुहारीलाई सबैले कान्छी दिदी भनेर बोलाउँछन् । अमृत बुहारी नसक्ने भएको कारणले हरेक दिन उनको सहारा बनेकी छिन् । उनको छाया बनेर हरेक क्षण पछ्याइरहेकी हुन्छिन् । खाना खान लैजाने, उनलाई शौचालय लैजाने सबै अमृत गर्छिन् । 

आश्रममा बस्नेदेखि भेट्न आउने सबै जना अमृत र बुहारीको प्रेम, आफ्नोपन देखेर दंग पर्छन् । उनीहरू सासू-बुहारी नभई आमा-छोरी हुन् भनेर सबैले प्रशंसा गर्छन् ।  

कान्छी दिदीको माइती पनि सम्पन्नशाली छन् । उनलाई जति फकाएर माइत लैजान खोजे पनि उनी भने आफू नजाने अडान लिन्छिन् । उनलाई भेट्न समय समयमा दाजुभाइ पनि आइराख्छन् । कान्छी दिदी आमालाई एक्लै छोडेर कतै नजाने अडान लिएकी छन् । उनी भन्छिन्,‘जस्तोसुकै अप्ठ्यारोमा त आमाले मलाई साथ दिनुभयो । म दृष्टिविहीन थिएँ तर पनि मलाई विवाह गरेर बुहारीका रूपमा झिकाउनु भयो भने अहिले आमालाई बुढेसकाल लागेका बेला म चटक्क छोडेर माइती गएर कसरी बस्न सक्छु ? आमा छोडेर कतै जान्नँ ।’ 

यसरी नै अमृतका आफन्त र माइती पनि बारम्बार आफ्नोमा लैजाने प्रस्ताव राख्छन् तर उनी पनि बुहारी छोडेर कतै जान्न भन्छिन् । ‘कहिले मेरा माइती,आफन्तले लिन आउँछन् । कहिले बुहारीलाई लिन आउँछन् । तर हामी दुवै कतै जाँदैनौं । मैले बुहारी छोड्न सक्दिनँ, उनले मलाई छोड्न सक्दिनन्,’ उनले भनिन् । एकअर्काको सहारा बन्ने सोच राखेका उनीहरू आश्रममा पनि एकछिन छुट्दैनन् ।

अमृत वृद्धाश्रममा बुहारीको मुख हेरेर मन बुझाउँदै आएको बताउँछिन् । भनिन्,‘हाम्रो भाग्यमा जे लेखेको छ, त्यही हुने रहेछ । हुनेजति सबै भइसक्यो । यो भन्दा नराम्रो हुने ठाउँ नै छैन । भगवान् पुकारे पनि लेखेको नभइ छोड्ने रहेनछ । बुहारीलाई छोरी ठानेर उसैलाई हेर्दै मन बुझाएर बसेकी छु ।’

बुहारी सधैं निरोगी र सकुशल हुन् भनेर आफूले भगवान‍्सँग पुकार गर्ने गरेको अमृत सुनाउँछिन् । बुहारी पनि आफूले सासू आमाका लागि सधैं भगवान‍्लाई रक्षा गरिदेऊ भनी हरेक दिन प्रार्थना गर्ने गरेको बताउँछिन् । विगत जस्तोसुकै खराब किन नहोस्, भुलेजस्तो गरेर वर्तमानमा बाँच्नुपर्छ भन्ने धारणा राखेका अमृत र उनकी बुहारीले समाजलाई ममताको पाठ त सिकाइरहेका छन् । त्यसरी नै आफ्नो अन्तिम साससम्म पनि सँगै रहने, जस्तोसुकै परिस्थितिमा पनि एकअर्कालाई साथ र हौसला दिने बताउँछन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully