गौचरमा रहेको १४ नम्बर बाहिनीस्थित सैनिक स्रोतका अनुसार, विमानस्थलभित्र पनि ‘अराजकता फैलाउने’ सूचना मंगलबार (भदौ २४ गते) बिहानै काठमाडौँ विमानस्थललाई प्राप्त भइसकेको थियो । तर केही सैनिक र सरकारी अधिकारीहरूको सामूहिक जुक्ति, तत्कालीन रणनीति, सतर्कता र चालले विमानस्थललाई जोगायो ।
What you should know
काठमाडौँ — भ्रष्टाचारविरुद्ध जेन–जीले भदौ २३ मा आयोजना गरेको शान्तिपूर्ण आन्दोलन चर्किँदा नयाँ बानेश्वर सडकमा रगत बग्यो । राज्यले गरेको कडा दमन र त्यसको परिणामस्वरूप कम्तीमा २१ जना युवाले संसद् भवनवरिपरि त्यसै दिन ज्यान गुमाएपछि आन्दोलनको स्वरूप भोलिपल्ट आँधीझैँ फैलियो ।
भदौ २४ गते बिहानैदेखि अन्धाधुन्ध निजी घरदेखि सार्वजनिक सम्पत्तिमा तोडफोडको गर्जन सुनियो । सहरको श्वासै रोकियो । सडकभरि प्रदर्शनकारी आकाशमा कालो धूवाँ, देश एकैपटक स्तब्ध बन्यो । प्रधानमन्त्रीको राजीनामा, मन्त्रीहरूको त्राहिमाम् । पुल्चोकबाट सैनिक हेलिकोप्टरले मन्त्रीहरू र बालुवाटारबाट केपी ओलीलाई उद्धार गरेर महाराजगन्जस्थित भैरवनाथ गण (पुरानो) र शिवपुरीमा रहेको स्टाफ कलेजमा ‘लुकायो’ ।
भदौ २४ गते बिहानैदेखि अन्धाधुन्ध निजी घरदेखि सार्वजनिक सम्पत्तिमा तोडफोडको गर्जन सुनियो । सहरको श्वासै रोकियो । सडकभरि प्रदर्शनकारी, आकाशमा कालो धूवाँ, देश एकै पटक स्तब्ध बन्यो । प्रधानमन्त्रीको राजीनामा, मन्त्रीहरूको त्राहिमाम् । पुल्चोकबाट सैनिक हेलिकोप्टरले मन्त्रीहरू र बालुवाटारबाट केपी ओलीलाई उद्धार गरेर महाराजगन्जस्थित भैरवनाथ गण (पुरानो) र शिवपुरीमा रहेको स्टाफ कलेजमा ‘लुकायो’ ।प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले जारी गरेका कर्फ्यु कागजमै खुम्चिए । वास्तविकतामा देश प्रदर्शनकारीले कब्जामा लिए । सर्वसाधारणमा त्रासदी फैलिरहेका बेला मन्त्री/प्रधानमन्त्री उद्धार गर्न उडेका सैनिक हेलिकोप्टरले प्रदर्शनकारीको निशानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्यो ।
अझ विमानस्थललाई लक्षित हुने गरी सामाजिक सञ्जाल प्लेटफर्म ‘डिस्कर्ड’मार्फत काठमाडौँ विमानस्थलको रनवे ध्वस्त पार्ने र विमान जलाउने, बम पड्काउनु पर्ने जस्ता उत्तेजक अभिव्यक्तिहरू फैलिए । गौचरमा रहेको १४ नम्बर बाहिनीस्थित सैनिक स्रोतका अनुसार विमानस्थलभित्र पनि ‘अराजकता फैलाउने’ सूचना बिहानै काठमाडौँ विमानस्थललाई प्राप्त भइसकेको थियो । तर केही सैनिक र सरकारी अधिकारीहरूको सामूहिक जुक्ति, तत्कालीन रणनीति, सतर्कता र चालले विमानस्थललाई जोगायो ।
आन्दोलनको दोस्रो दिन साढे ११ विमानस्थलमा दिउँसोको दोस्रो सिफ्टका कर्मचारी आउने बेला थियो । तिलगंगामा आन्दोलनकारीले सडकमा आगो बालेर अवरोध गरेको पहिलो खबर विमानस्थलमा पुग्यो । दिउँसोका कर्मचारी,एयर ट्राफिक कन्ट्रोलर,पाइलट,वायुसेवाका कर्मचारीहरूलाई मूलबाटो छल्दै बागमती कोरिडोर वा शाखा सडक भएर विमानस्थलमा बोलाइयो ।
तर तिलगंगाको आगो कोटेश्वर,तीनकुनेतिर पनि फैलियो । अर्थात् काठमाडौँ विमानस्थल प्रवेश गर्ने यात्रु,पाइलट,वायुसेवाका कर्मचारीलाई अवरोध उत्पन्न सुरु भयो । त्यसबेला दिल्ली,श्रीलंका,दुबई,बंगलादेश जानुपर्ने यात्रुहरू केही विमानस्थलमा पसिसकेका थिए । केही पस्दै थिए । ‘१ बजेतिर कोटेश्वरदेखि दक्षिण क्षेत्रको आकाशमा कालो धुँवा देखियो,’ त्यसबेला विमानस्थलबाट माहोल नियालिरहेका महाप्रबन्धक हंशराज पाण्डेले भने,‘इमाडोल, हात्तिवनमाथि देखिएको कालो धुवाँले जहाजको अवतरण गर्ने बाटोलाई छेक्यो ।’अनि विमानस्थलले जहाजको सुरक्षाका लागि एउटा निर्णय लियो,‘पूर्व र पश्चिमबाट काठमाडौँ आउँदै गरेका साना जहाज र एटीआर विमानलाई उत्तरतर्फ(बौद्ध) बाट अवतरण गराउने । ‘धन्न हावाको गति पनि सामान्य भइदिएकाले उत्तरतर्फको विन्दुबाट जहाज अवतरण गराउन सकियो,’ विमानस्थलका महाप्रबन्धक पाण्डेले भने,‘नजिकै आइसकेका आन्तरिक जहाजलाई उत्तरतर्फबाट अवतरण गरायौँ । तर ७ वटा ठूला जेट विमानलाई सिमरामाथिको आकाशमै एकपछि अर्को गर्दै होल्डमा राख्यौँ । किनकि धूवाँले काठमाडौंमा जहाज अवतरण गराउन नसकिने भइदियो ।’
उडानमार्गका विभिन्न ठाउँमा धुवाँ देखिएकाले काठमाडौँ विमानस्थलले ‘जहाजको सुरक्षा’ कारण देखाउँदै नोटाम जारी गर्दै साढे २ बजेदेखि विमानस्थल सुरक्षा समितिले सबै खाले उडान/अवतरण बन्द गर्ने निर्णय लियो । महाप्रबन्धक पाण्डे अध्यक्ष रहेको समितिले यो निर्णय गर्दा विमानस्थल प्रमुखको कार्यकक्षमा सुरक्षा समितिका पदाधिकारीहरू १४ नम्बर बाहिनीपति सहायक रथि मनोज थापा, विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर,अध्यागमन प्रमुख नरहरि थापा र नेपाल एयरलाइन्सका चिफ स्टेसन म्यानेजर होमप्रसाद पराजुली सुरक्षा अवस्था अवलोकन गरिरहेका थिए । त्यसदिन भन्सार प्रमुख आउन सकेनन् ।
काठमाडौँ विमानस्थल बन्द भएपछि त्यसबेला ल्हासाबाट आएको हिमालय एयरलाइन्सको एयरबसले काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेर पोखरामा आपत्कालीन अवतरण गर्यो । महाप्रबन्धक पाण्डेका अनुसार,दिल्लीबाट आएको एयर इन्डिया दिल्ली नै फर्कियो । इन्डिगोको दिल्लीबाट आएको जहाज लखनउ डाइभर्ट भयो । श्रीलंकन एयरको जहाज कोलम्बो नै फर्कियो । दिल्लीबाट आएको इन्डिगोको अर्को जहाज दिल्ली नै फर्कियो । दुबईबाट आएको फ्लाई दुबई श्रीलंका फर्किएको थियो । त्यसैगरी नेपालगन्ज र राजविराजबाट काठमाडौँ आउँदै गरेका बुद्ध एयरका जहाज नेपालगन्ज र विराटनगर डाइभर्ट भए ।
काठमाडौँ विमानस्थलले हेलिकोप्टरका लागि पार्किङ अभाव भएकाले भक्तपुरको नलिञ्चोकमा गत वर्षदेखि हेलिपोर्ट बनाएको छ । जेन–जीको आन्दोलन भइरहँदा त्यहाँ ५ वटा निजी वायुसेवा कम्पनीका हेलिकोप्टर राखिएका थिए । भोलिपल्ट काठमाडौँ उपत्यकाभित्र जेन–जीको आन्दोलनमा प्रदर्शनकारीले दंगा मच्चाएपछि निजी क्षेत्रले आफ्ना जहाजलाई जोगाइदिन हारगुहार गर्न थाले । त्यहाँबाट ५ वटा हेलिकोप्टरलाई गौचरमा ल्याउनु पर्ने भयो ।
काठमाडौँ विमानस्थलले अनुमति दियो । तर त्यहाँ पाइलट थिएनन् । सर्वत्र सडकमा आन्दोलन भएकाले वायुसेवा कम्पनीले पाइलट पठाउन सकेनन् । १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका हेलिकोप्टर जोगाउनु पर्ने भएपछि काठमाडौँ विमानस्थलमा रहेका अरू कम्पनीका पाइलट खोजेर भक्तपुर नलिञ्चोकका लागि एउटा हेलिकोप्टर चार्टर गरियो । त्यसमा पाइलटहरू गएर नलिञ्चोकका हेलिकोप्टरलाई उडाएर गौचरमा ल्याइयो ।
धावनमार्गमा जहाज उडान अवतरण गराउन नसकिने भइरहेका बेला भक्तपुरतर्फ उडेका हेलिकोप्टरबाट नेताहरू भागेको हल्ला सडक र सामाजिक सञ्जालमा फैलाइयो । यता सेनाका तीनवटा हेलिकोप्टरले भैंसेपाटी मन्त्री क्वार्टरबाट मन्त्रीहरू र बालुवाटारबाट प्रधानमन्त्रीलाई त्यसै समयको आसपास उद्धार गरेका थिए । सेनाको दक्षिणपश्चिमतर्फ उडेका हेलिकोप्टरले नेतालाई चन्द्रागिरिमा लुकाएको अर्को अफवाह फैलियो ।
‘खासमा त्यसबेला निजी हेलिकोप्टरलाई नलिञ्चोकबाट काठमाडौँ विमानस्थल खाली ल्याइएको थियो । सेनाको हेलिकोप्टरले मन्त्री र प्रधानमन्त्रीको उद्धार र महाराजगन्जबाट प्रहरी वृत्तमा अड्किएका प्रहरीको उद्धार गरेको थियो तर नेता भगाएको हल्लाले विमानस्थलको गोल्डेन गेट (मूलद्वार) मा आन्दोलनकारी उत्रिए,’ महाप्रबन्धक पाण्डेले भने ।
उनका अनुसार,त्यसबेला गौशाला,तिनुकने,भीमसेनगोलाबाट आएका प्रदर्शनकारीले मूल गेटमा अवरोध गरे । भित्रै आउन थुप्रै प्रयत्न गरे । उनीहरूले सबैभन्दा पहिला अहिले दीपक मल्होत्राले बनाएको आईएमएस भवनको बाहिर निस्किने गेटमा आगो बाले । उनीहरूको ‘नेताहरू विदेश भाग्दैछन्’ भन्ने हल्लाले विमानस्थल वरपर भीड बढ्दै गयो ।
प्रदर्शनकारी धमाधम गोल्डेनमा भेला हुँदै भित्र पस्न बल प्रयोग गर्न थाले । नाराबाजी हुन थाल्यो । ‘उनीहरूको एकमात्र भनाइ थियो भीभीआईपीमा नेताहरू बसेका छन् । राति विदेश भाग्दैछन्,’ महाप्रबन्धक पाण्डेले कान्तिपुरसँग भने, ‘त्यहाँ खटिएका कर्णेलले दूरदृष्टि राखेर चलाखीपूर्ण तरिकाले ह्यान्डल गर्दै गए ।’ महाप्रबन्धकको कार्यकक्षमा भेला भएका सुरक्षा अधिकारीहरूसहित सबै सीसीटीभीबाट बाहिर सडकको दृश्य ‘मनिटर’ गरिरहे । सहरमा प्रहरी चौकी र ट्राफिक बिटमा आगजनी भइसकेकाले काठमाडौँ विमानस्थलमा पनि त्यसको मनोवैज्ञानिक असर प्रहरीलाई परिसकेको थियो ।
यसैबीच १२ नम्बर बाहिनी प्रमुख मनोज थापाले कालीबक्स गणका गणपति वीरेन्द्र पुनको कमान्डमा पहिलो सुरक्षा घेरा गोल्डेन गेटमा हाले । त्यो घेरालाई मद्दत पुर्याउन त्यसपछि दोस्रो र तेस्रो सैनिक घेरा विमानस्थल जोगाउन तयार भए । त्यहाँ अर्का लेफ्टिनेन्ट कर्नेल मोहनध्वज कार्की पनि खटिए । ‘दुई जना करसा'पले प्रदर्शनकारीलाई फकाउँदै,अल्झाउँदै भित्र पस्न दिएनन् । उहाँहरुले सभ्य मर्यादित भाषामा आन्दोलनकारीलाई घण्टौँसम्म त्यहाँ अल्झाइरहनु भयो’, बाहिनीस्थित सैनिक स्रोतले कान्तिपुरलाई भन्यो,‘तर आन्दोलनकारीले जसरी पनि विमानस्थलभित्र पस्न पाउनुपर्ने अडान लिइरहे । गोल्डेन गेटमा पनि आगो बाले ।’
सिमरामा आइसकेका ७ वटा अन्तर्राष्ट्रियतर्फका जहाज काठमाडौं आउन सकेनन् । तर यताबाट ती जहाजमा उड्नुपर्ने कम्तीमा १ हजार यात्रु ११ बजेदेखि विमानस्थलमा थिए । बेलुकी ४ बजेसम्म बन्द विमानस्थल थियो । यात्रुहरू ४ बजेपछि उड्न पाइने आशामा थिए । तर काठमाडौंको परिस्थिति भयावह भइसकेको थियो । सिंहदरबार,सर्वोच्च अदालतलगायत देशभर १ सय ६० भन्दा बढी कार्यालयमा आगजनी भइसकेको रिपोर्ट सुरक्षा निकायले पाइसकेको थियो । जहाज नआउने भएपछि ती अलपत्र परे । यात्रुलाई बाहिर निकाल्न विमानस्थलले सकेन । यात्रुहरू लगेज बोकेर पैदलै जान पनि सम्भव थिएन । महाप्रबन्धक पाण्डेले अचानक आगो लगाइहाले नियन्त्रणमा लिन एउटा दमकललाई आन्तरिक टर्मिनल नजिकै ‘स्ट्यान्ड–बाई’ राखे ।
मंगलबार ४ बजेपछि पनि माहोल शान्त नहुने भएपछि काठमाडौं विमानस्थलको सुरक्षा समितिले बुधबार बिहान १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने दोस्रो निर्णय लियो । यो निर्णय गर्दासम्म विमानस्थलभित्र बाहिरका कफीसप,क्याफे,होटल धमाधम बन्द भइसकेका थिए । फेरि बेलुकी साढे ७ बजे नेताहरू एउटा नेपाली निजी वायुसेवाको उडानमा दुबई भाग्दैछन् भन्ने हल्ला दोहोरियो ।
प्रदर्शनकारी धमाधम गोल्डेनमा भेला हुँदै भित्र पस्न बल प्रयोग गर्न थाले । नाराबाजी हुन थाल्यो । ‘उनीहरूको एकमात्र भनाई थियो भीभीआईपीमा नेताहरू बसेका छन् । राति विदेश भाग्दैछन्,’महाप्रबन्धक पाण्डेले कान्तिपुरसँग भने,‘त्यहाँ खटिएका कर्णेलले दूरदृष्टि राखेर चलाखीपूर्ण तरिकाले ह्यान्डल गर्दै गए ।’ त्यसपछि आन्दोलनकारीहरूले सबै भीडलाई होइन सय जनालाई भित्र पसेर हेर्न दिन भने । सेनाले चार जनाबाट उनीहरुसँग वार्ता थाल्यो । ‘बाहिनीपति मनोज थापा र विमानस्थलका महाप्रबन्धकले चार जनालाई सेनाको स्कर्टिङमा भित्र भीभीआईपी देखाउन सकिने निर्णय गरे,’ बैठकमा सहभागी एक अधिकारीले भने,‘तर उनीहरूले सय जना नै जान पाउनुपर्ने अडान राखे । प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि चलिरहेकै थियो । पछि उनीहरूले ४ होइन १० जनालाई भित्र हेर्न पठाउने कुरामा सहमति दिए ।’
सेनाले १० जनालाई स्कर्टिङ गर्दै विमानस्थलमा ल्यायो । अरू गोल्डेनगेटमै नाराबाजीमा अल्झिरहे । त्यसबेला अझ मिनी ट्रकमा नाराबाजी गर्दै आन्दोलनकारी गौशालातर्फबाट थपिएका थिए । ती दश आन्दोलनकारीलाई सेनाले विमानस्थल टर्मिनल भवनको मुखमै रहेको भीआईपी/भीभीआईपी खाली कक्ष,चेकइन काउन्टर देखायो । तर उनीहरू त्यतिले सन्तुष्ट भएनन् । भित्र पस्न थाले । भित्र अलपत्र यात्रुहरू भुइँमा केही झोला सिरानी बनाएर पल्टिरहेका थिए । ‘१० मध्ये ९ जना प्रदर्शनकारी उग्रै आएका थिए । तीमध्ये एक जना अलि पाको आन्दोलनकारी अलि बुझकी रहेछ,’ त्यसबेला त्यहाँ रहेका विमानस्थलका एक अधिकारीले भने,‘उसले यात्रुहरू अलपत्र परेको देखेपछि ल साथीहरू फर्किओ । नेताहरू रहेनछन् यहाँ भनेपछि बल्लतल्ल कन्भिन्स भएर बाहिर फर्किए ।’
त्यसबेला पार्किङवेमा नेपाल वायुसेवाका दुईटा वाइडबडी र हिमालय एयरलाइन्सका दुइटा न्यारोबडी जहाज पार्किङवेमा थिए । आन्तरिकतर्फ बुद्धका दुइटा एटीआर बाहिर थिए । अरू सबै जहाज आन्तरिक विमानस्थलको पार्किङवेमा थिए । ती आन्दोलनकारीले पार्किङवेमा जान धेरै प्रयास गरेका थिए । जे पनि हुन सक्थ्यो । उनीहरू उग्र थिए । ‘तर,कर्णेल पुनले अब यो घेराभन्दा भित्र जान्छौ भने मलाई सिध्याएर जाऊ भनेर कडा स्वरमा चेतावनी दिएपछि उनीहरू हच्किएका थिए,’ महाप्रबन्धक पाण्डेले भने ।
ती १० जनालाई सैनिक र प्रहरीले गोल्डेन गेटमा स्कर्टिङ गर्दै फर्काए । उनीहरूले भीडलाई ‘ल साथीहरू भित्र नेताहरू रहेनछन् । भीआईपी कोठा खाली छ’ भनेपछि साढे ७ बजे मात्रै विमानस्थलको मूल गेटको भीड गौशाला र तीनकुनेतर्फ तितरबितर भएको विमानस्थलको सीसीटीभीमा रेकर्ड देखिन्छ ।
वास्तवमा त्यो दिन विमानस्थलमा कुनै नेता थिएनन् । बरु नेपालगन्ज जानुपर्ने ६० जना भारतीय पर्यटक आन्तरिक टर्मिनलमा रोकिएका थिए । जो भारतबाट काठमाडौं आई मनसरोवरको यात्राका लागि नेपालगन्ज जाँदै थिए । यता अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै १ हजार यात्रु अलपत्र थिए । जसमा अधिकांश भारतीय यात्रु थिए । काठमाडौंमा आन्दोलनको आगो बलेको खबर संसारभर फैलिइसकेको थियो ।
भारतीय यात्रुहरूलाई काठमाडौंस्थित दूतावासले विमानस्थलबाहिर ननिस्किन भनेको स्रोतले बतायो । ‘दूतावासका तीन जना कर्मचारी उनीहरूको सुरक्षामा खटाइए’,स्रोतले भन्यो,‘केही त्यही थिए । केही फोनबाट अपडेट लिइरहेका थिए । बेलुकी उनीहरूले खानाको प्याकेट ल्याएर डोमेस्टिक र अन्तर्राष्ट्रिय टर्मिनलमा भारतीय र अरू मुलुकका यात्रुलाई पनि विवरण गरेका थिए । एयरपोर्टमा कफीसप बन्द भइसकेकाले खाना/खाजा किनेर पाइने अवस्था थिएन । खानेपानी पनि सकिसककेको थियो । बाहिरबाट जारको पानी ल्याउन सकिने अवस्था थिएन ।’
काठमाडौं विमानस्थलले १ हजार ६० हाराहारी यात्रुहरुका लागि भित्र र बाहिरका क्याफे र होटल खोल्न मंगलबार बेलुकी फोनै गरेर भन्यो । तर स्टाफहरू दिउँसैदेखि डेरा फर्किसकेका थिए । विमानस्थल फर्किन सकिने अवस्था थिएन ।
सोमबार सुरु भएको जेन–जीको आन्दोलनपछि भोलिपल्ट कर्फ्यु निषेधाज्ञाले हवाई यातायात प्रभावित भइसकेको थियो । सोमबार अन्तिम उडान थाईले बैंकक गरेको थियो । त्यसदिन कोटेश्वरतर्फ आगो र धुवाँको मुस्लो भएकाले काठमाडौं विमानस्थलले थाईलाई उत्तरतर्फको धावनमार्ग हुँदै उडाएको थियो । नियमित यात्रु बोकेर उडेको थाईमा पनि नेता भागे भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाइयो । थाईले बैंककबाट विज्ञप्ति निकालेर हल्लाको खण्डन गर्यो । यता हिमालय एयरलाइन्सलाई पनि नेता भगाएको आरोप लागेपछि विज्ञप्ति निकालेर खण्डन गर्नुपर्यो ।
मंगलबार दिउँसोदेखि बन्द भएको विमानस्थल बुधबार दिउँसोसम्म बन्द थियो । बुधबार सेनाले निगरानी बढाएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौंसहित सबै विमानस्थल खुला गर्ने निर्णय गरे । सेनालाई टिकट देखाएर हिँड्ने यात्रुलाई सहजीकरण गर्न भनियो । बुधबार बेलुकी ८ बजे दिल्लीबाट एयर इन्डियाको जहाज काठमाडौंमा अवतरण भयो । पोखरामा अड्किएको हिमालयको जहाज,हङकङमा रोकिएको निगमको न्यरोबडीसहित त्यसरात १० वटा जहाज काठमाडौंमा अवतरण भए । त्यस बेलुकी आन्तरिक उडान भने सञ्चालन हुन सकेनन् ।
जेन–जीको आन्दोलनका कारण ३० घण्टा काठमाडौं विमानस्थल बन्द भयो । अरुबेला बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने विमानस्थल बिहीबार बिहान ४ बजेसम्म खुल्यो । आन्तरिकतर्फ मंगलबार रोकिएका ६० भारतीय यात्रु दुई रात आन्तरिक विमानस्थलमै रोकिएर तेस्रो दिनको बिहान बिहीबार मात्रै उडेका थिए ।
‘एउटा पनि गोली,अश्रुग्यास प्रहार नगरी हामीले विमानस्थलभित्र रहेका यात्रु,पसल,कार्यालय,जहाज,आयल निगमको डिपो, सेन्ट्री पोस्टलगायतका थुप्रै जनताको सम्पत्ति जोगायौँ,’ बाहिनीका एक सैनिक अधिकारीले कान्तिपुरसँग भने, ‘त्यतिमात्रै होइन प्रहरीले एउटा लट्ठी पनि हान्नु परेन । देश जलेका बेला हामीले भने जुक्तिपूर्ण तरिकाले विमानस्थल जोगायौँ । विमानस्थलभित्र भएका सबै कार्यालय प्रमुखले राम्रो समन्वय गरिदिएकाले यो सब सम्भव भयो ।’
