निकुञ्जमा पर्यटक डुलाइरहेका आदिवासी युवती

विदेशी हुन् या स्वदेशी, कसैले पनि अहिलेसम्म आफूहरुको क्षमताका बारेमा शंका नगरेको उनीहरू सुनाउँछन् ।

भाद्र १६, २०८२

रमेशकुमार पौडेल

Tribal girl waving tourists in the park

What you should know

चितवन — चितवन राष्ट्रिय निकुञ्ज आडमै घर भएका कारण सुदीक्षा कुमाललाई सुरुसुरुमा लाग्थ्यो, जंगली जनावरले मान्छेलाई दु:ख मात्रै दिन्छन् । किनकि गाउँ आएका गैंडा, जंगली हात्ती, मृग बँदेलले खेती खाइदिन्थे । बाघ लगायतका जनावरले पशु चौपाया मार्थे । 

जंगली जनावरको आक्रमणमा परेर गाउँले घाइते हुन्थे । गाउँमा आक्रमणका कारण ज्यान गुमाउनेहरु पनि छन् । तर छेउमै बस्ने भएपछि जंगलप्रति रुचि जाग्दै पनि गयो । 

कक्षा १२ पछि उनी पढ्न विदेश जाने योजना बनाए पनि भिसा नलाग्दा गाउँमै बसेर पढ्ने निधोमा पुगिन् । घरनजिकै बाराही जंगल लज खुलेको थियो । स्तरीय पर्यटक रिसोर्ट बाराहीमा देशविदेशका पर्यटक आउँथे । सुदीक्षाका बाबा सुदीप र आमा जानकी खेती किसानीमै रमाइरहेका थिए । सुदीक्षा अलि नौलो काम गर्न चाहन्थिन् । नातामा दिदी पर्ने ठूली आमाकी छोरी मिना ट्रेकिङ गाइड थिइन् । 

‘नवलपुर घर भएकी मिना दिदी काठमाडौं गएर तालिम लिइन् । उनी हिमाल र पहाडतिर ट्रेकिङ जाने पर्यटकलाई गाइड गर्न थालेकी थिइन् । मलाई पनि गाइड बन्नुपर्छ कि भन्ने त्यो बेलादेखि लागेको थियो,’ सुदीक्षाले सुनाइन् । यो कुरा उनले बाबा सुदीपलाई भनिन् । उनका साथीहरु सौराहामा नेचर गाइड थिए । आफ्नो परिवारका कोही पनि पर्यटन पेसामा नभएका सुदीप छोरीको चाहना पूरा गर्न तयार भए ।

सुदीक्षाले नेचर गाइडको तालिम लिन पाउने भइन् । तालिममै उनले थाहा पाइन्, नेचर गाइडको जिम्मेवारी र यो पेसासँग जोडिएका जोखिम । तालिम पूरा भएपछि सन् २०२२ नोभेम्बरबाट उनले काम सुरु गरिन् । घरनजिकैको बाराही जंगल लजले नै उनलाई नेचर गाइडमा राख्यो । पर्यटक लिएर उनी जंगल डुल्न थालिन् ।

काम सुरु गरेको एक वर्ष पुग्दै थियो, गैंडाका माउबच्चासँग अचानक जम्का भेट भयो । झाडीजस्तो ठाउँमा पर्यटकलाई उनीहरु चरा देखाउँदै थिइन् । जंगल हिँड्दा पर्यटकसँग कम्तीमा दुईजना नेचर गाइड अनिवार्य हुनुपर्छ । चरा हेर्दै गर्दा एक्कासि माउ र बच्चा गैंडा देखिएपछि खुसी हुनुको साटो पर्यटकलाई जोगाउने दायित्व आयो । सुदीक्षाले पर्यटकलाई सम्हालिन् । उनीसँगै भएका अर्का पुरुष गाइडले जसोतसो गैंडालाई धपाए । 

तीन वर्षको दौरानमा यस्तो दुईपटक भएको उनले सुनाइन् । ‘यसो हेर्दा ओहो जोखिम पो रहेछ भन्ने हुन्छ । तर हामीमा त्यो सीप पनि छ जसले गर्दा जोखिम भए पनि सुरक्षित रुपमा पर्यटक र आफूलाई जंगलबाट बाहिर निकाल्न सकेका हुन्छौं । जंगल भनेकै यस्तै रोमाञ्चकताले भरिएको ठाउँ हो । जहाँ हर दिन नयाँ परिघटना हुन्छ । हर दिन सप्राइज्ड भइन्छ,’ सुदीक्षाको अनुभव छ ।

०००

जिल्लाको पश्चिम भेगमा पर्ने मेघौली चितवन निकुञ्ज छेउको रहेको पर्यटकीय क्षेत्र हो । मेघौली आडकै जंगलमा निकुञ्ज स्थापना हुनुभन्दा पहिल्यै ६० वर्षअघि देशकै पहिलो जंगल लज टाइगर टप्स होटल खुलेको थियो । हाल भरतपुर महानगरपालिका–२८ मा पर्ने मेघौली जितपुर गाउँमा आदिवासी कुमाल समुदायको बसोबास छ । यहीँकी सुदीक्षाजस्तै प्रभाव कुमालले पनि निकुञ्जमा पर्यटक डुलाउने नेचर गाइड पेसा अँगालेकी छन् ।

‘छिमेककै दिदी सुदीक्षालाई देखेर म यही पेसामा लागेँ,’ प्रभाले भनिन् । बाराही जंगल लजमा नै प्रभाले पनि काम थालेकी छन् । उनी एक वर्षदेखि यो पेसामा छिन् । 

आमा भीममायालाई उनले आफ्नो रहर सुनाइन् । आमाबाट कुनै छेकबार थिएन । उनले बाबा सोमबहादुरलाई पनि सुदीक्षाझैं नेचर गाइड बन्ने योजना रहेको बताइन् । सोमबहादुर खुसी हुँदै तालिम लिन पठाए । अहिले प्रभा पर्यटक डुलाउने भएको देख्दा परिवार दंग छ । ‘हुन त यहाँ निकै पुरानो टाइगर टप्स होटल थियो, पछि बन्द भयो । अहिले पनि अरु राम्रा होटल मेघौलीमा छन् । तर मेरो र सुदीक्षाको परिवार जस्तै पर्यटनमा नलागेर खेती किसानी गर्नेहरु धेरै छन् । आफ्नो सन्तान पर्यटनमा लाग्दा किसान अभिभावक खुसी हुने नै भए,’ प्रभाले भनिन् । 

मेघौली क्षेत्रका नेचर गाइडहरुको संस्था घटगाई मेघौली नेचर गाइड संघका अध्यक्ष मनेशकुमार लिम्बूले संस्थामा १ सय १४ जना सदस्य रहेको बताए । तर यो पूरै घटगाई मेघौलीमा जम्मा पाँच जना मात्रै नेचर गाइड महिला छन् । सुदीक्षाले काम सुरु गरेको बेलादेखि नै बाराही जंगल लजमा एलिना चौधरी कार्यरत छिन् । एलिनाले ‘नेचुरलिस्ट अफ दि इयर अवार्ड–२०२४ पनि पाएकी छन् । 

Tribal girl waving tourists in the park

भारतको टफ टाइगरले उच्च स्तरका रिसोर्टमा कार्यरत नेचर गाइडलाई यो अवार्ड दिँदै आएको छ । ‘थौरै नै छन् तर नेचर गाइड महिला काममा निपुण छन् भन्ने कुरा यस्ता अवार्ड प्राप्त गर्नुले नै देखाउँछ,’ घटगाई मेघौली नेचर गाइड संघका अध्यक्ष लिम्बूले भने । बाराहीमा एलिना, सुदीक्षा र प्रभासँगै सकिना चौधरीले पनि नेचर गाइडको काम गर्छिन् । 

प्रभा र सुदीक्षा मेघौली जितपुरकै भए पनि एलिना नवलपरासीका हुन् । एलिनाका बुबा डीबी चौधरी पुराना नेचर गाइड हुन् । एलिनाले बाबाकै पदचाप पछ्याइन् । सकिना पनि मेघौलीको नभएर चितवनको पूर्वी भेग कठार बडगाउँकी हुन् । १२ कक्षा पछि होटल म्यानेजमेन्टसम्बन्धी १८ महिने कोर्स डीएचएम (डिप्लोमा इन होटल म्यानेजमेन्ट) गरेपछि उनी इन्टर्नसिपका लागि बाराही जंगल लज गएकी थिइन् । बाराहीमा बस्दा नै उनी एलिना र सुदीक्षाको कामबाट प्रभावित भइन् । त्यसपछि उनलाई पनि नेचर गाइडको तालिम लिन रहर लाग्यो । तालिम पूरा भएपछि एक वर्षदेखि उनी बाराहीमै नेचर गाइड पेसामा छिन् । 

मेघौलीको अर्को स्तरीय पर्यटकीय होटल हो, मेघौली सेराई ताज सफारी । जसमा नेचर गाइड छन्, स्वस्तिका महतो । स्वस्तिका पनि एलिना र सुदीक्षाबाटै प्रभावित भएर नेचर गाइड बनेकी हुन् । भरतपुर महानगरपालिका–२२ पटिहानीकी स्वस्तिका बाराही जंगल लजमै फुट एन्ड बेभरेज सर्भिसमा कार्यरत थिइन् । सोही होटलमा दुईजना युवतीले नेचर गाइड पेसा अँगालेको देखेकी उनले क्षेत्र परिवर्तन गरिन् र नेचर गाइड तालिम लिइन् । तालिम सकेर ताज सफारीमा काम गर्दै आएकी छन् । यसरी महिलाबाटै प्रभावित भएर थप महिला यो पेसामा लागेका छन् ।

वन्यजन्तु पर्यटनका लागि देशकै पहिलो गन्तव्य चितवनमा नेचर गाइडहरु धेरै नै छन् । तर यो पेसामा महिला साह्रै न्यून छन् । चितवन नेचर गाइड एसोसियनका अध्यक्ष अनिल गुरुङका अनुसार सौराहा आसपासमा सेवा दिने ४ सय ६४ जना तालिम प्राप्त नेचर गाइड छन् । तर महिला १०/१२ जना पनि नभएको अध्यक्ष गुरुङ बताउँछन् ।

चितवनरिमा सौराहा र मेघौलीमा गरेर जम्मा १६/१७ जना मात्रै नेचर गाइड महिला छन् । कुनै बेला विदेश जाने योजनामा रहेकी सुदीक्षा अहिले गाउँमै बसेर विदेशी पर्यटक डुलाइरहेकी छन् । यो पेसाबाट आम्दानी राम्रो हुने उनले सुनाइन् । 'विदेशी हुन् या स्वदेशी कसैले पनि अहिलेसम्म आफूहरुको क्षमताका बारेमा आशंका गरेका छैनन्,' उनले भनिन् । आदिवासी समुदायका छोरीहरुले यो पेसाबाट आर्जन गर्नुका साथै पर्यटकलाई विश्वशनीय जानकारी दिँदै आफ्नो गाउँ ठाउँलाई देश दुनियाँमा चिनाइरहेका छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully