अन्तर्राष्ट्रिय रिङमा नेपालको नाम चम्काइरहेका रवीन्द्र ढाँट

२०७६ सालको एक दिन भारतीय नागरिकता दिलाउने र भारतकै नाममा खेल्नुपर्ने प्रस्ताव लिएर एकजना कोच उनीकहाँ पुगेका थिए, रवीन्द्रले त्यो प्रस्ताव ठाडै अस्वीकार गरे ।

श्रावण २५, २०८२

वसन्तप्रताप सिंह

Rabindra Dhant, who is shining the name of Nepal in the international ring

What you should know

बझाङ — 'म्याट्रिक्स फाइट नाइट'को चर्चा साता दिनयता नेपालीहरूबीच चुलिएको छ । फाइटर रवीन्द्र ढाँटको असाधारण प्रदर्शनपछि एकाएक चर्चाको शिखरमा छन् । राष्ट्रिय मात्रै नभएर र अन्तर्राष्ट्रिय मञ्चमा पनि उनको खेलको प्रशंसा चलिरहेको छ । 

नेपालबाट अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्टस् (एमएमए) च्याम्पियन बन्ने पहिलो खेलाडी बनेका रवीन्द्रलाई बधाई दिनेको ओइरो अझै थामिएको छैन । राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको बधाई खान भ्याइनभ्याइ भइरहेका बेला उनलाई बझाङका धेरै पालिकाहरुले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणासमेत गरेका छन् । 

साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई हराउँदै रवीन्द्र म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्यापियन बनेका हुन् । रवीन्द्रले यसअघिका अविजित च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका थिए । तेस्रो राउन्डमा रवीन्द्रले गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए ।

Rabindra Dhant, who is shining the name of Nepal in the international ringशक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो' उपनामले परिचित कोरेनलाई रवीन्द्रले भकुर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले उनलाई 'बझाङी बाघ' को संज्ञा दिइरहेका छन् । 

यही दृश्य बझाङको बित्थडचिर गाउँपालिकामा रहेका उनका बुवा हरे ढाँट र आमा थेपडीदेवीले पनि छिमेकी युवकहरूको मोबाइलमा हेरिरहेका थिए । प्रतिस्पर्धीले रवीन्द्रलाई रिङमा लडाउँदा र मुक्का बर्साउँदा थेपडी चिच्याउँदै रुन्थिन् । रवीन्द्र कोरेनमाथि हाबी हुँदा बुवा हरे छिमेकीसँगै ताली बजाउँथे । ‘राति ३ बजेसम्म पनि मुटु ढकढक गरिरह्यो,' बुवा हरेले कान्तिपुरसँग भने, ‘उसले खेल जितिसकेपछि खुसीले झन् निदाउनै सकेनौं ।'

भोलिपल्ट बिहानैदेखि छोराले देशको नाम राखेको भन्दै उनलाई फोन आउन थाल्यो । जयपृथ्वी राजमार्ग नजिकै पर्ने उनको घरमा कतिपय नचिनेका मान्छे भेट्न र बधाई दिन आउने क्रम अहिले पनि चलिरहेको छ । हरे भन्छन्, ‘सबैले छोराले राम्रो गर्‍यो भनिरहेका छन् । हाम्रो पनि नाम राख्यो । देशकै नाम चलायो । धेरै खुसी लागेको छ ।' 

दिल्लीमा जुरेको अवसर

शून्यबाट उठेर सफलताको चुचुरो छुने रवीन्द्रको कहानी भने कुनै फिल्मको कथा भन्दा कम छैन । बझाङको गोठमा हुर्किएका उनी अहिले अन्तर्राष्ट्रिय रिङमा नेपालको नाम चम्काउँदैछन् । जो आजभन्दा १० वर्ष पहिला भारतको पिथौरागढमा मजदुरी गर्दै थिए । 

न्यून आयस्ता भएको परिवारका ५७ वर्षीय हरे ढाँटका तीन छोरा र दुई छोरी छन् । रवीन्द्र माइला हुन् । सानै उमेरदेखि वर्षको ६ महिना खेतीपाती र ६ महिना भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्दै गुजारा चलाउँदै आएका जेठो चन्द्र बुहारीसँगै बैंगलुरुमा छन् । बुबा हरेले रवीन्द्रबाट पनि त्यही अपेक्षा गरे र २०७० मा एसएलसी दिनेबित्तिकै आफूसँगै लिएर पिथौरागढ पुगे, पल्लिदारी (मजदुरी) गर्न । 

रवीन्द्रले त्यहाँ बुवा, दाइ र अन्य आफन्तले जस्तै ढुंगा फोड्नेदेखि सिमेन्टका बोरा गाडीमा लोड-अनलोड गर्ने, भारी बोक्ने, बिजुलीका पोल गाड्ने, घाँस काट्ने र खेतबारीको काम गरे । करिब दुई वर्ष काम गर्दा पनि सोचेजस्तो कमाइ नभएपछि २०७३ सालमा परिवारले उनलाई दिल्ली पठायो । रवीन्द्र सहपाठी र दाइ नाता पर्ने हरिस ढाँटसँग भारतको राजधानीतिर लागे । 

प्लाइउड बनाउने कम्पनीमा हेल्परको काम गरिरहेका रवीन्द्रलाई त्यहाँ यस्तो अवसर जुर्दै थियो, जुन उनको सानैदेखिको रहर थियो । गाउँमा र पिथौरागढमा हुँदा उनले त्यो कुरा परिवारलाई भन्ने वातावरण नै थिएन । दु:ख गरेर कमाउने र परिवारको जीविका सहज बनाउनुपर्ने पारिवारिक दबाबमा थिए उनी । दिल्लीमा काम गर्न गएपछि उनी केही स्वतन्त्र त भए तर कमाउन गएको छोरा 'बिग्रियो' भन्ने सन्देश घरसम्म नपुगोस् भनेर गोप्य रूपमा मार्सल आर्ट सिक्न थाले । 

‘मेरै साथ लागेर दिल्ली गएको हो । हामी दुई वर्ष एउटै कोठामा बस्यौं,' हरिसले भने, ‘घरमा भनिदिन्छ कि भनेर गेम सिकेको कुरा मलाई पनि लुकाएको रहेछ । नौ महिनापछि मात्रै मैले थाहा पाएँ ।' दिल्लीको इन्दिरा गान्धी अन्तर्राराष्ट्रिय खेलकुद स्टेडियममा भएको एउटा प्रतिस्पर्धामा उनी सहभागी हुने बेलामा मात्रै आफूले थाहा पाएको हरिस बताउँछन् । ‘ढुंगा फुटाउँदा होस् कि भारी उठाउँदा, ऊ त्यसलाई कामभन्दा पनि व्यायामको रुपमा लिन्थ्यो,' कक्षा एकदेखिका सहपाठी रहेका हरिसले भने, ‘लुकीलुकी भए पनि गेम सिक्यो । आखिर सपना पूरा गरेरै छाड्यो ।'

Rabindra Dhant, who is shining the name of Nepal in the international ring

भारतमा भएका १५ वटा एमेच्योर प्रतिस्पर्धामा १५ वटैमा जितेका रवीन्द्रले अहिलेसम्म चीन, रसिया, नेपाल, भारत र थाइल्यान्डमा गरी १० वटा व्यावसायिक खेल खेलिसकेका छन् । जसमा उनले ९ वटा प्रतिस्पर्धा जितेका छन् । 

रवीन्द्रको क्षमतालाई नजिकबाट चिनेका भारतका कोचहरु उनलाई भारतको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी गराउन चाहन्थे । तर रवीन्द्रलाई आफ्नै देशको झन्डा ओडेर रिङमा प्रवेश गर्ने हुटहुटी थियो । 

२०७६ सालको एक दिन भारतीय नागरिकता दिलाउने र भारतको नाममा खेल्नुपर्ने प्रस्ताव लिएर एकजना कोच उनीकहाँ पुगे । त्यो प्रस्ताव रवीन्द्रले ठाडै अस्वीकार गरे । ‘केही काम पाएँ भने देशको झन्डा बोकेर खेल्छु, नभए  खाडी मुलुकतिर गएर काम गर्छु भनेर त्यसको केही दिनमै दिल्ली छाडेर काठमाडौं आएँ,' रवीन्द्र काठमाडौंमा संघर्ष गर्दाका दिन सम्झिँदै भन्छन्, ‘सौभाग्यले यहाँ दिविज दाइसँग भेट भयो । उहाँका कारणले नै मैले यो उपलब्धि हासिल गर्न सकेको छु ।' काठमाडौंमा मिक्स्ड मार्सल आर्ट सिकाउने ठाउँ खोज्दै गर्दा दिविजसँग भेट भएको र उनले नै आफ्नो सबै खर्च बेहोरिरहेको रवीन्द्रले सुनाए । 

अब यूएफसीको सपना

विश्व च्याम्पियन हुने सपनाको लहडमा रवीन्द्रले पढाइ, परिवारका चाहना र आफ्नै उमेरजन्य रहर बेवास्ता गरिरहे । अब उनको लक्ष्य अर्को बनेको छ- मिक्स्ड मार्सल आर्टको विश्व प्रसिद्ध प्रतियोगिता यूएफसी (अल्टिमेट फाइटिङ च्याम्पिएनसिप) ।

Rabindra Dhant, who is shining the name of Nepal in the international ringहेर्दै मुटु काँप्ने गरी कुटाकुट गरेको देख्दा आमाबुवाको मन कतिसम्म आत्तिन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । ‘लडाइँ गरेको देख्दा मुटु चुँडिएला जस्तो हुन्छ । अब जितिहालिस्, कहिले छोड्छस्, छिटो छोड् भन्नुहुन्छ,' आमाबुवाले गर्ने चिन्ताबारे उनी सुनाउँछन्,' जितेकोमा खुसी त हुनुहुन्छ । तर भित्रै मनदेखि केही पो हुने हो कि भनेर डराइरहनुहुन्छ ।' 

परिवारको गुनासो पन्छाउन उनले आफूभन्दा साना दुई बहिनी र एक भाइलाई पढाउँछु भनेर काठमाडौं ल्याएका छन् । आफ्नो खेलको तयारीदेखि कोठा भाडा र भाइबहिनीको पढाइ खर्च जुटाउने तनावका बीच एक दिन यूएफसी खेलेरै छाड्ने उनको दृढ संकल्प छ । 

उनको सकल्पका सारथी बनेका छन्, दिविज पिया लामा । मिक्स्ड मार्सल आर्ट प्रशिक्षक रहेका लामाले उनलाई तालिम मात्रै दिइरहेका छैनन्, आफूले सञ्चालन गरेको जिम हाउसबाट भएको आम्दानी उनकै खेलको तयारीमा खर्च गरिरहेका छन् । ‘एउटा गेम तयारी गर्दा सातदेखि आठ लाखसम्म खर्च आउँछ,' लामाले भने, ‘चार-पाँच वर्षदेखि त्यो सबै मैले नै बेहोरिरहेको छु ।' रवीन्द्रले देशको नाम विश्वमा चिनाउन सक्छन् भन्ने लागेरै आफूले त्यसो गरिरहेको उनी बताउँछन् । ‘म आफै पनि एमएमएको खेलाडी हुँ । रवीन्द्रमा जुन मेहनत गर्ने क्षमता र दृढ संकल्प छ । त्यो अत्यन्तै दुर्लभ छ,' लामाले भने । सरकारका तर्फबाट राष्ट्रिय प्रतिभाको विकासमा कुनै सहयोग नपाएको र पाउने आशा पनि नरहेको उनको भनाइ छ ।

उसो त रवीन्द्रले पनि सरकारबाट कुनै अपेक्षा गरेका छैनन् । यद्यपि सरकारले तालिम, आवासजस्ता कुरामा सहयोग गरिदिए आफ्ना सहयोगी लामालाई सहज हुन्थ्यो कि भन्ने लागेको उनले बताए । ‘फेरि सरकारले सहयोग गरे मलाई अनावश्यक पोलिटिकल प्रेसर पो गर्ने हुन् कि भन्ने पनि लाग्छ,' रवीन्द्र गम्भीर बन्दै भन्छन्, ‘मैले जुन स्तरको मेहनत र संघर्षपछि यो सफलता पाएँ, त्यो अब संस्थागत गर्न सरकार लागिदिए राम्रो हुन्थ्यो ।'

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully