जर्ज वासिङ्टन युनिभर्सिटीमा अध्यापन गर्ने फोटोग्राफर च्यान चावका निम्ति क्यामरा केवल उपकरण होइन, मानिसको गहिरो भावनासम्म पुग्ने पुल हो । उनी श्रमिकका कथाबाट विश्व अन्तरसम्बन्ध देखाउने तयारीमा छन् ।
What you should know
काठमाडौँ — संसारभरका मानिसलाई चिन्ने र बुझ्ने माध्यम के हो ? पहिलोपटक नेपाल आइपुगेका फोटोग्राफर च्यान चावसँग एउटै जवाफ छ- फोटोग्राफी । हुन पनि च्यानको फोटोग्राफी यात्राको सुरुवातको कडी मान्छे चिन्नु नै थियो । मान्छे भेट्न, कुराकानी गर्न मन पराउने उनका लागि क्यामरा केवल उपकरण होइन, मानिसको गहिरो भावनासम्म पुग्ने पुल हो ।
अन्तर्राष्ट्रिय फोटोग्राफर च्यान आफ्नो विद्यार्थीकालमा एक म्यागेजिनमा 'फ्रिलान्स' गर्थे । एक दिन काम विशेषले उनी वृद्धाश्रम पुगे । मानिसहरुसँग कसरी कुरा गर्ने भनेर अन्योलमा थिए । तर वृद्धाश्रमका मानिससँग कुराकानी गर्न उनलाई फोटोग्राफीले नै मद्दत गर्यो । ‘फोटोकै माध्यमबाट मानिसहरु मसँग पोखिए,’ उनलाई यस्तो महसुस भयो ।
त्यही क्षणदेखि च्यानले यसलाई केवल पेसा होइन संवेदना अभिव्यक्त गर्ने एउटा गहिरो माध्यमका रुपमा लिए ।
उनै च्यान अहिले नेपाल आइपुगेका छन् ।
धेरै अघिबाटै नेपाल आउन चाहेका च्यान आउन सकिरहेका थिएनन् वा आउने मेसो मिलाउन सकेका थिएनन् । यसपटक भने उनलाई कामैले नेपाल डोर्यायो । कारण, उनको नयाँ प्रोजेक्ट, ‘ग्लोबल वर्कफोर्स’को सुरुवात उनले नेपालबाट गर्ने निधो गरे ।
के हो च्यानको ग्लोबल वर्कफोर्स प्रोजेक्ट ?
‘संसार सानो गाउँ हो, सबै अन्तरसम्बन्धित छ भनेर सबैले भन्छन् । तर यसलाई मानिसहरुले व्याख्या गर्ने तरिका मलाई मनपर्दैन । ग्लोबल वर्कफोर्स प्रोजेक्टको माध्यमबाट यही अन्तरसम्बन्धलाई भिन्न तरिकाले बुझाउन कोसिस गर्दै छु’, च्यानले आफ्नो प्रोजेक्टबारे सुनाए ।
च्यान संसारभरका प्रवासी श्रमिकका कथाबाट विश्व अन्तरसम्बन्ध देखाउने तयारीमा छन् ।
श्रम, धार्मिक विश्वास, आप्रवासनजस्ता पक्षहरूले विश्वका मानिसलाई गहिरो रूपमा बाँध्ने च्यानको विश्वास छ । र तिनै विषयमा रुचि बढ्दै गएको बताउने च्यान भन्छन्, ‘विश्वको हरेक कुनाका मानिसहरु श्रमका लागि बसाइँसराइ गरिरहेका छन् । नेपालजस्तो सानो देशबाट पनि यति धेरै मानिस काम गर्न बाहिर जान्छन् । यही कुरा रोचक लाग्यो । त्यसैले नेपालबाटै किन सुरुवात नगर्ने भन्ने लाग्यो र नेपाल आइपुगेँ ।’
यही सिलसिलामा च्यानको अबको यात्रा फिलिपिन्समा हुनेछ ।
०००
सन् १९६६ मा बर्माको कालेम्यो (हालको म्यानमार) मा जन्मिएका च्यान सन् १९७८ मा आफ्नो परिवारसँगै संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका थिए । बसाइँसराइले पनि उनको संसारलाई हेर्ने र बुझ्ने तरिकामा भिन्नता ल्याएको उनले महसुस गरेका छन् । भन्छन्, ‘प्रत्येक व्यक्तिको दृष्टिकोणले नै उसको विश्व दृष्टिकोण निर्माण गर्छ । बर्माबाट अमेरिका पुग्नुले मेरो दृष्टिकोण माझ्न मद्दत गरेको छ ।’
युनिभर्सिटी अफ मेरिल्यान्ड, कलेज पार्कमा अध्ययन सकेका च्यान हाल जर्ज वासिङ्टन युनिभर्सिटीमा अध्यापन गर्छन् । तर च्यानलाई प्राविधिक पाटो सिकाउन, पढाउन खासै रुचिकर लाग्दैन । ‘म विद्यार्थीलाई फोटोग्राफीको अनुभव सुनाउँछु, फोटोग्राफीबाट सन्देश कसरी दिने सिकाउँछु । फोटोग्राफीमा आँखा, छालाको टोन, मुस्कान, उदासी सबै देखिन्छ, ती बुझ्न सिकाउँछु,’ च्यान भन्छन्, ‘युवाहरूले अभिव्यक्ति भन्नासाथ सीमित सोच राख्छन् । तर म चाहन्छु उनीहरू आफ्नो सोच फराकिलो बनाउन् । संवादका माध्यमहरु बुझून् । प्राविधिक पक्ष पनि सिकाउँछु, तर त्यो त्यति महत्वपूर्ण लाग्दैन ।’
च्यानको फोटोग्राफीलाई राष्ट्रिय स्तरका प्रतिष्ठित सङ्ग्रहालयहरूले समेटिएका छन् । वाशिङ्टन डीसीको नेसनल ग्यालरी अफ आर्ट र हर्शहर्न म्युजियम एन्ड स्क्ल्प्चर गार्डेन, एलए काउन्टी म्युजियम अफ आर्ट, न्युयोर्कको हिृवट्नी म्युजियम अफ अमेरिकन आर्ट र सान फ्रान्सिस्को म्युजियम अफ मोडर्न आर्टमा च्यानका फोटोग्राफ संगृहीत छन् ।
च्यानको फोटोग्राफीको शैली पनि रोचक किसिमको छ । उनी आफ्नो फोटोग्राफीमा निकै औपचारिक हुने गरेको बताउँछन् । आफ्नो फोटोग्राफीको शैली सरल भए पनि गहिरो सन्देश दिने उनको भनाइ छ । च्यानले सामान्यतया तिघ्राभन्दा माथिको भागको फोटो खिच्छन् । उनले खिचेका फोटोमा मानिसका हाउभाउ, भावभंगिमा र संवेदनाको अनेकन तह सबै प्रस्ट हुन्छ ।
'मानिसको हाउभाउ त युनिभर्सल भाषा हो । म कुनै व्यक्तिको तस्बिर खिच्छु भने, त्यो जहाँ देखाउँदा पनि मानिसहरुले बुझून् । मसँग यदि आमा–छोरीको तस्बिर छ भने, त्यो तस्बिर हेर्ने अर्की आमाछोरीले वा संसारको जुनसुकै कुनाका आमाछोरीले त्यससँग आफूलाई जोड्न सकून् भन्ने लाग्छ,’ च्यान भन्छन्, ‘त्यसैले म मानिसहरूको फोटोग्राफी गर्न मन पराउँछु । म सामान्यतया मानिसलाई नजिकबाट खिच्छु । तिघ्रादेखि टाउकोसम्म । त्यो दुरीमा अनुहार पनि प्रस्ट देखिन्छ र उनीहरूको हात र शरीरले के भन्न खोजिरहेको छ भन्ने पनि बुझिन्छ ।
कुराकानीका क्रममा हामीले च्यानसँग फोटो खिच्ने प्रस्ताव राख्यौं । हामीले हँसिलो अनुहार लगाएर फोटो खिच्दै गर्दा च्यानले एउटा रोचक प्रसंग सम्झिए ।
उनले डच महिला कैदीलाई एक दिन फोटो खिच्ने प्रस्ताव गरेका रहेछन् । ती महिलाले फोटो खिच्ने स्वीकृति दिइन् । क्यामरा अघि देखिएपछि उनी पनि हँसिलो अनुहार बनाएर उभिइन् । तर फोटोकै लागि मात्र कोही हाँसोस् भन्ने च्यान चाहँदैनथे । उनले कैदी महिलालाई नहाँस्न अनुरोध गरे । उनको अनुरोध सुनेर ती महिला रिसाइन् पनि । ‘तपाईं कैदीहरु दुःखी भएको देखाउन चाहनुहुन्छ ?’ उनले दुखेसो पनि व्यक्त गरिन् । पछि च्यानले सम्झाए, ‘तपाईंले कस्तो अनुभव गरिरहनुभएको छ, म त्यस्तै देखाउन चाहन्छु ।’
ती महिलाले च्यानकै अनुसार फोटो खिचाइन् । र फोटो देखेपछि भने आफ्नो संवेदना प्रस्ट देखिएकोमा उनी वास्तवमै खुसी भइन् ।
च्यानले हालसम्म चारवटा किताब प्रकाशित गरेका छन् । उनको पछिल्लो प्रकाशित किताब ‘टु प्लेसेस अन अर्थ’ हो । के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंको जीवनभन्दा बिल्कुलै फरक यथार्थमा बाँचिरहेका मानिसहरूको जीवन कस्तो होला ? च्यानको फोटोग्राफी किताब ‘टु प्लेसेस अन अर्थ’ले यस्तै झलक दिने उनी बताउँछन् । साइप्रसमा रहेका यूएन शान्ति सैनिक र पेरुमा रहेका महिला कैदीहरूका कथा किताबमा पाइन्छ ।
सन् २००० को सुरुवातदेखि पाँच वर्षसम्म उनले खिचेका ५४ रंगीन तस्विरहरु किताबमा समेटिएका छन् । दुई फरक यथार्थबीचको दुरी घटाउने च्यानको प्रयास किताबमा छ । जसले परिस्थितिको भिन्नताबीच पनि मानवता ‘युनिभर्सल’ हुने कुरा दर्शाइएको च्यान बताउँछन् ।
च्यानको काम आफ्ना विषयहरूलाई सम्मानपूर्वक र गरिमापूर्वक प्रस्तुत गर्ने विशेषताका लागि परिचित छ । टु प्लेसेस अन अर्थमा उनले साइप्रसको १ सय ११ माइल लामो 'बफर जोन’ मा तैनाथ बहुराष्ट्रिय सैनिकहरूको जीवन र पेरुको सान्ता मोनिका महिला कारागारमा सजाय भोगिरहेका विभिन्न मुलुकका महिलाहरूको जीवनलाई सँगसँगै प्रस्तुत गरेका छन् ।
उनी भन्छन्, ‘चाहे युद्ध होस् वा जेल, उनीहरूको कथा व्यक्तिगत छनोट र वैश्विक संरचनाले दिएको आकारको उपज हो । यहीँबाट हामी कति गहिरो रूपमा आपसमा जडित छौं भन्ने देखाउन सकिन्छ ।’
किताबकै प्रसंग आइरहँदा हामीले उनको हालैको एक प्रोजेक्टको बारेमा पनि सोधेका थियौं । प्रोजेक्टमा काम गर्दाको खुसी उनको अनुहारमै छल्कियो । वास्तवमा आफ्नो कामकै मार्फत अन्य मानिसमा परेको सकारात्मक प्रभावले उनमा पनि उर्जा थपेको थियो ।
वाशिंगटन डिसीको नेसनल पोट्रेट ग्यालेरीकी डिरेक्टरका छोरा क्यान्सरका बिरामी थिए । उनको ‘चिल्ड्रेन्स हस्पिटल’मा उपचार भएको थियो । छोरा निको भएपछि उनले अस्पतालका लागि ठूलो योगदान दिने व्यक्तिहरूका लागि केही विशेष गर्न चाहिन् । त्यहाँ लगभग १ सय ५० व्यक्ति र संस्था थिए जसले अस्पतालमा १ मिलियन डलरभन्दा बढी दान गरेका थिए । सामान्यतया यस्ता व्यक्तिलाई कुनै महँगो वस्तु जस्तै: फूलदानी आदि दिइन्थ्यो, ती निर्देशकलाई कलाकृति दिने मन थियो । यही कारण उनी च्यानसँग जोडिइन् ।
च्यानले चिल्ड्रेन्स हस्पिटलका लागि रिफ्लेक्सन नामक पोर्टफोलियो तयार पारे जुन अत्यन्तै विशेष बन्यो । अस्पताललाई ठूलो सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिनका लागि उनले कला सिर्जनालाई उपहार बनाइदिए ।‘त्यो बेलामा मेरो पनि सानो बच्चा थियो, त्यसैले अस्पतालको सेवा, बालबालिकाको स्वास्थ्य भन्ने कुरा मसँग भावनात्मक रुपमा जोडियो,’ उनी सम्झन्छन् ।
यो प्रोजेक्टबाट उनले पैसा कमाएनन् । तर भावनात्मक रूपमा यो उनको सबैभन्दा सन्तोषजनक र विशेष प्रोजेक्ट बन्यो ।
साधारण जीवन बाँच्न चाहने चान धेरै थरी सामान किनिराख्न, नयाँनयाँ ग्याजेट फेरिराख्न रुचि राख्दैनन् । बरु मानिसहरुको अनुहारमा प्रकट हुने अनेक भावहरु पछ्याउन र फोटोमार्फत तिनको अर्थ खोतल्न रुचि राख्छन् । त्यही भएर त उनी भन्छन्, 'क्यामरा केवल उपकरण होइन, मानिसको गहिरो भावनासम्म पुग्ने पुल हो ।'
