चितवनमा कुनैबेला वर्षमा १४ जनासम्मलाई बाघले मार्थ्यो, अहिले यो संख्या हृवात्तै घटे पनि बाघका कारण ज्यान गुमाउनेका परिवारको पीडा कम छैन
What you should know
काठमाडौँ — गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरले १३ जनाको ज्यान लियो । ती मध्ये बाघको आक्रमणबाट ज्यान गुमाउने मध्यवर्तीका पदमबहादुर राना मगर एक्ला हुन् ।
खैरहनी नगरपालिका–१३ कुमरोज सिम्रनी गाउँका पदमबहादुरको गोठमा भैंसीका दुई पाडी छन् । सिम्रनीको सुकुम्बासी बस्तीका बासिन्दा पदम साना पाडी सस्तोमा किनेर हुर्केपछि अलि बढी मूल्यमा बेचेर आर्जन गर्ने योजनामा थिए । पाडीलाई घाँस लिन उनी दिनहुँ बिहान जंगल जान्थे ।
निकुञ्ज छेउको कुमरोज मध्यवर्ती सामुदायिक वनको नजिकै छ पदमबहादुरको घर । नजिकैको वनबाट ल्याएको घाँस खुवाएर हुर्काउँदा कम लागतमै पाडी पाल्न सकिने उनको आँकलन थियो । घाँस लिन अरु दिनझै असार २७ गते सबेरै उनी वन पसे । तर सँगै गएका दुई जना महिला फर्के पनि पदमबहादुरको शव जंगलमा भेटियो । घाँस काटेर भारी हाल्न ठिक्क परेका पदमलाई बाघले आक्रमण गरेर ज्यानै लियो । पदमबहादुरका दुई छोरी र एक छोरा गरी तीन सन्तान हुन् ।
छोरा खमबिर राना मगर वैदेशिक रोजगारीमा मलेसिया गएका बेलामा उतै बिते । पदमबहादुरकी बुहारी लक्ष्मी राना मगर भन्छिन्, ‘पहिला हाम्रो चितवन पिठुवामा पसल थियो । घाटा हुँदै गएपछि बेचेर नेपालगञ्ज लाग्यौं । तर न अहिले सम्पत्ति छ, न घरका बाउछोरा नै ।’
पिठुवामा र नेपालगञ्जमा पनि आफ्नो नाममा जग्गा थियो । व्यवहार मिलाउन पिठुवाको जग्गा बेचेर उनीहरु नेपालगञ्ज लागे । ऋणमुक्त नभएपछि कमाउन भन्दै बुवा पदम भारत र छोरा खमबिर मलेसिया गएका थिए । तर मलेसियामा त्यस्तो घटना भएपछि उनीहरुले नेपालगञ्जको पनि जग्गा बेचेर ऋण तिर्नुपर्यो । त्यसपछि उनीहरु फेरि चितवन फर्केर सिम्रनीमा बस्न सुरु गरे । सिम्रनीकी बासिन्दा खैरहनी–१३ का वडासदस्य मनमाया तामाङ गाउँका दुई सयभन्दा बढी घरधुरीसँग पदमबहादुरको परिवारको जस्तै लालपुर्जा छैन । त्यसैले उनीहरु आर्जनका लागि बाख्रा, पाडा पाल्ने गर्छन् ।
पदमबहादुरले पिठुवा बस्दा दुध पनि बिक्री गर्थे । त्यसैले उनले एउटा गाई पनि पालेका थिए । तर सोचेजस्तो आम्दानी नभएपछि उनलाई पाडी पाल्दा अलि राम्रो होला कि भन्ने लाग्यो । उमेर ७० नाघे पनि उनी मेहनत गर्थे । तर प्रतिफल भोग्न नपाउँदै बाघका कारणले उनको जीवन समाप्त भयो । सासू दिलमायासहित बसेकी लक्ष्मीका पनि दुई सन्तान छन् । उनको छोरा २२ र छोरी १८ वर्षका भए । ‘हाम्रो समस्या थपिँदै गयो । १२ पढेपछि छोरो काम गर्न विदेश गयो । छोरीले १२ पढ्दै छ । घर वनको आडमा छ । वनबाटै दाउरा घास गर्ने हो,’ लक्ष्मीले भनिन्, ‘खेतमा घाँस काटौं आफ्नो जमिन छैन । जंगल नगई उपाय लाग्दैन ।’
यो घटनापछि डरैडरले स्थानीय जंगल जान छाडेका छन् । अहिले परालको भरमा छन् पदमबहादुरको गोठका पाडी । पराल महँगो पर्ने भयो । हरियो घाँस जस्तो पोषिलो पनि हुँदैन । त्यसैले पाडी पाल्ने कि बेच्ने भन्ने दोधारमा छिन् लक्ष्मी । बाघको आक्रमणमा परेर स्थानीयको ज्यानै जाने घटना उच्च तहमा पुगेर उल्लेख्य रुपमा घटेको पनि छ । तर एकाध नै भए पनि बाघका कारण ज्यान गुमाउने जो छन् उनीहरुका परिवारको व्यथा गहिरो भएको लक्ष्मीको छटपटीले देखाउँछ ।
घट्दै बाघ आक्रमणका घटना
कुमरोज गाउँ बाघबाट हुने मानवीय क्षतिले कुनै बेला निकै अत्तालिएको थियो । सरकारले २०७९ साउन १३ मा विश्व बाघ दिवसको दिन पारेर नेपालमा रहेका बाघको संख्या सार्वजनिक गर्यो । देशभर ३५५ र चितवनमा मात्रै देशकै सबैभन्दा धेरै १२८ बाघ रहेको घोषणा भएको थियो ।
२०७८ मंसिरदेखि फागुनसम्म भएको बाघ गणनाको नतिजा त्यसदिन सार्वजनिक भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा चितवनमा बाघले मान्छेको ज्यान लिने घटना अत्याधिक भएका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको विवरण अनुसार ०७८/७९ मा बाघको आक्रमणबाट मध्यवर्ती क्षेत्रका १४ जनाको ज्यान गएको थियो । यद्यपि उक्त आर्थिक वर्षभित्र निकुञ्जले बाघले ज्यान लिएका मध्ये ११ जनाका परिवारलाई मात्रै राहत रकम वितरण गर्न भ्याएको थियो । उक्त आर्थिक वर्षमा कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मात्रै बाघले ६ जनालाई आक्रमणमा गरेको थियो । आक्रमणमा परेकामध्ये चार जनाको निधननै भएको थियो ।
गत आर्थिक वर्ष ०८१/८२ मा वन्यजन्तु आक्रमणमा परेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १३ जनाको मृत्यु भएको निकुञ्जको सूचना अधिकारी संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । जसमध्ये बाघको आक्रमणबाट मृत्यु हुने एक जना मात्रै कुमरोजका पदमबहादुर राना मगर हुन् । बाघले आक्रमण गर्दा अन्य एक जनाको पनि निधन भएको थियो ।
पूर्वी नवलपरासी तमासपुरमा बाघलाई पासोमा पारेर मार्ने योजनासहित जंगल गएका व्यक्तिलाई नै बाघले आक्रमण गरेर ज्यान लिएको खुलेपछि निकुञ्जले ती व्यक्तिलाई १३ जनाको सूचिभित्र राखेको छैन । कुनैबेला त्रासको विषय बनेको बाघ आक्रमणको घटना पछिल्लो समय शून्य नै हुन गाह्रो भए पनि कम हुँदै गएको तथ्याङ्कले देखाउँछ । तर बाघ बढेसँगै आक्रमण पनि बढ्ने चिन्ता उब्जिएको थियो । ‘बाघको संख्या बढ्दैमा बाघले गर्ने घटना बढ्छन् भन्ने हुँदैन । बाघको संख्या बढ्दा बाघ पुरानो बासस्थल क्षेत्रमा मात्रै सिमित नभएर नयाँ वनमा पनि सर्दै जाने र त्यस्तो क्षेत्रमा स्थानीयले सावधानी अपनाउन नसक्दा घटना हुने खतरा रहन्छ,’ बाघ, चितुवा र मानव सम्बन्धबारे विद्यावारिधि गरेका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले भने । बाघबारेमा सावधानी अपनाउने र समस्या ल्याउन सक्ने बाघलाई बेलैमा नियन्त्रणमा लिने गर्दा आक्रमणको घटना कम गर्न सकिने घटनाक्रमहरुले देखाएको उनले बताए ।
बाघ र मान्छे जम्काभेट हुने क्षेत्र पहिचान गरी त्यसको राम्रो व्यवस्थान हुनुपर्ने उनले बताए । जंगलमा बाघ बढ्दैछन् तुलनात्मक रुपमा कम भए पनि स्थानीय घाँस दाउरा गर्न साग, निउरो टिप्न जंगल जान्छन् । यस्तो अवस्थामा स्थानीयले प्रयोग गर्ने वन क्षेत्र तय गरेर त्यहाँ बाघबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने ढंगबाट व्यवस्थापन गर्नु पर्ने र बाघले प्रयोग गर्ने वन सीमाभित्र स्थानीय जान नहुने वातावरण बनाउन लामिछानेको सुझाव छ । बाघले सामान्य रुपमा मान्छेलाई आक्रमण गर्दैन । अचानक जम्काभेट भएमा र अशक्त भएर सिकार गर्न नसक्ने बेलामा मात्रै आक्रमण गर्ने लामिछाने बताउँछन् । त्यसैले बाघ पाइने जंगल क्षेत्रमा अपनाउनु पर्ने सावधानीका बारे स्थानीयलाई नै सजग बनाउनुपर्छ । यसका साथै जंगलमा सिकार गर्न नसक्ने भएर विस्थापित भइ समस्या ल्याउन सक्ने बाघ पत्ता लगाएर नियन्त्रणमा लिने तत्परता निकुञ्ज प्रशासनले गर्नुपर्ने हुन्छ । ‘एउटै बाघले पनि धेरै जनालाई मारेको उदाहरण छ । त्यस्ता बाघ बेलैमा समाए घटना हुँदैनन्,’ उनले भने ।
लामिछानेको अध्ययनले मानवलाई आक्रमण गरेर समस्या ल्याउने बाघ पाँच प्रतिशत हाराहारीमा हुने देखाएको छ । बाघलगायत जंगली जनावरको आक्रमणबाट बच्नका लागि मुख्यतः उनीहरुको आनीबानीसँग परिचित भएर त्यही अनुरुपको व्यवहार अपनाउनु पर्ने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त बताउँछन् । ‘वनमा कसरी जाने, उपयुक्त समय र तरिका के हो भन्ने जानकारी भयो भने पनि घटना नहुने सम्भावना रहन्छ,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने । उनले समस्या ल्याउन सक्ने बाघलाई निगरानी गर्न क्यामेरा राख्ने गरिएको बताए । ‘यसका साथै निकुञ्ज क्षेत्रभित्र बासस्थल व्यवस्थापनको काम पनि भएको छ । सबैको प्रभावले हो समस्या घटाउने,’ उनले भने ।
वन्यजन्तु विज्ञ लामिछाने वन्यजन्तु आक्रमणका घटना कहिले हृवात्तै बढ्ने र कहिले कम हुने अनि फेरि समस्या बल्झिने खालको देखिने गरेको बताउँछन् । ‘धेरै घटना हुँदा चर्चा बढी हुन्छ, सचेतना पनि बढ्छ । तर बिस्तारै बिर्सन थाले समस्या दोहरिन सक्छ,’ उनले भने ।
उद्धारपछि व्यवस्थापनमा समस्या
चितवन राष्ट्रिय निकुञ्जको टोलीले साउन ६ गते मंगलबार दिउँसो पश्चिम चितवनको मेघौली क्षेत्रबाट एउटा बाघ नियन्त्रणमा लियो । गाउँ नजिक आइपुगे पनि सो बाघले कुनै घटना गराएको थिएन । बाघ आफै फर्केला भन्ने सोचले निकुञ्जको टोलीले निगरानी गरिरहेको थियो । तर दुई/तीन दिनसम्म पनि नफर्केपछि नियन्त्रणमा लिनु पर्यो । कुनै घटना नगराए पनि गाउँ आडमा बाघ देखिएपछि नियन्त्रणमा लिनुपर्ने अवस्था बढ्दै गएको प्रमुख संरक्षण अधिकृत पन्त बताउँछन् । तर नियन्त्रणमा लिएको बाघ राख्न समस्या हुँदै आएको छ ।
बाघ राख्ने खोरकै अभाव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष दुई वटा बाघको उद्धार गरेको थियो । ‘तीमध्ये एउटा यहीकै खोरमा राख्यौं । ठाउँ नभएका कारण अर्को एउटालाई पर्सा निकुञ्जको खोरमा पठाउनुपर्यो,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने ।
चितवनका खोरहरुमा अहिले सात वटा बाघ छन् । सौराहाको खोरमा दुई वटा र कसराको खोरमा तीन बाघ रहेको उनले जानकारी दिए । देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई वटा बाघ छन् । ‘५/६ वर्षअघि समाएका बाघ पनि खोरमा छन्,’ थापा मगरले भने ।
यसरी उद्धार भएका बाघको व्यवस्थापन विषयलाई लिएर निकुञ्जका अधिकारीहरु सन्तुष्ट देखिदैनन् । ‘बाघलाई भौकै राख्न भएन खुवाउन त खुवाइरहेका छौं । तर भुक्तानी गर्न नै समस्या आउन थालेको छ,’ उनले भने । नियन्त्रणमा लिएका बाघलाई पर्यटनमा उपयोग गर्ने अवधारणा अनुसार देवनगरमा उद्धार केन्द्र बने पनि पर्याप्त उपयोग हुन नसकेको उनले बताए । ‘यस्ता जनावर चिडियाखानाको स्वरुपमा राख्दा ठिक हुन्छ,’ प्रमुख संरक्षण अधिकृत पन्तले भने । उद्धार गरिएका जनावरलाई राख्न मापदण्ड बनाउनुपर्ने आवश्यकता पन्तले देखेका छन् । ‘खोर जस्तो नभएर अलि फराकिलो क्षेत्रमा बाघलगायतका उद्धार गरिएका जनावरलाई राखे पर्यटनलाई पनि टेवा पुग्न सक्छ । जनावरले पनि अलि राम्रो वातावरण पाउने थिए,’ पन्तले भने । बाघ संरक्षणमा विगतका प्रयासको समिक्षा गर्दै योजना बनाउन सबै जुटे मानवीय क्षति रोक्दै संरक्षणमा सफलता हासिल गर्न गाह्रो नभएको पन्त बताउँछन् ।
