‘जनवादी क्रान्ति’ गर्न ४१ वर्षअघि बैंक पसेका ‘सिपाही’हरू

२०४१ साल असार ३२ मा बैंक कब्जा गरेर चार वटा झोलामा चार जनाले सुन र नगद बोकेर हिँडेको घटना कुनै 'मनी हाइस्ट'मा आधारित फिल्मी कहानीभन्दा कम छैन ।

असार ३२, २०८२

रमेशकुमार पौडेल

The 'soldiers' who entered the bank 41 years ago to carry out the 'people's revolution'

चितवन — आजभन्दा ठीक ४१ वर्षअघि गुल्मी पुर्तिघाटमा बैंक कब्जा गरेर  सुन र नगद झोलामा पोको पारेर लगिएको थियो । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायती शासनकालमा भएको सो घटना राजनीतिक उद्देश्यले प्रेरित थियो । त्यसैले नेपाली राजनीतिमा चासो राख्ने प्रायःले सुनेको र खासगरी वामपन्थी राजनीतिभित्र तरंग ल्याएको सो घटना गुल्मीमा भए पनि त्यसको तयारी चितवनमा भएको थियो ।

कम्युनिस्टहरूले परिकल्पना गरेको शासन प्रणाली ‘नौलो जनवादी व्यवस्था’ ल्याउन क्रान्ति गर्नका लागि बैंक कब्जा गरेर पैसा लैजाने क्रम तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष अर्थात् उनीहरूको भाषामा ‘जनयुद्ध’ सुरु गरेपछि सामान्यजस्तै बन्यो । तर माओवादी जन्मनुभन्दा पहिल्यै र उनीहरूले सशस्त्र संघर्ष सुरु गर्नुभन्दा नौ वर्षअगाडि नै नेपालमा बैंक कब्जा गरेर ‘नौलो जनवादी क्रान्ति’का लागि पैसा र सुन जम्मा गरिएको थियो ।

२०४१ सालको असार ३२ गते आइतबार मसान्तका दिन बैंक कब्जा गरेर चार वटा झोलामा चार जनाले सुन र नगद बोकेर हिँडे । तीमध्ये अमर विश्वकर्माले बोकेको सुन राखेको झोला पार्टीको सम्पर्कमा पुग्यो । अरू झोला के भए? र यो घटनापछि पार्टीले के गर्‍यो ? त्यो बेलाको चर्चित घटना ‘पुर्तिघाट बैंक कब्जा’का बारेमा उनै अमर विश्वकर्मासँग एक दिन लामो कुराकानी भएको थियो ।

‘क्रान्तिको विकास गर्न, देशमा प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस पारेर भोका-नांगा जनताको राज्य व्यवस्था स्थापना गर्न, कम्युनिस्ट पार्टीको नेतृत्वमा आर्थिक संकलन गर्नु पर्दछ’ भन्ने विचार पार्टीको बनेको थियो । त्यसका लागि के गर्ने भन्ने बारेमा २०४० सालमै पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो । त्यो निर्णयलाई कार्यान्वयन गर्न अम्बरबहादुर विश्वकर्मा पनि मैदानमा उत्रने भए । त्यसका लागि नक्कली प्रहरीको एउटा टोली नै तयार भयो । नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्वको सात सदस्यीय टोलीमा मिसिएर सिपाही बनेका अमर अगाडि लागे । नक्कली प्रहरीको योजना असफल भएर सक्कली प्रहरी आए ज्यानै जान सक्थ्यो । त्यसैले योजना निकै तयारी र गोप्य रूपमा अगाडि बढेको थियो भन्छन् अमर। 

‘नेपालमा नौलो जनवादी क्रान्ति गर्न जनमुक्ति सेना चाहिन्छ, जनमुक्ति सेना बनाउनका लागि तालिम र हतियार पनि चाहिन्छ । र त्यो कुरा व्यवस्थापन गर्नका लागि पैसा चाहिन्छ’ भनेर नै उनीहरू आर्थिक जोहो गर्न उत्रेका थिए । त्यसैले त्यो चानचुने ‘एक्सन’ थिएन । सबै कुरा बुझेरे गर्नु पर्थ्यो । त्यसैले एक्सनमा जानुभन्दा पहिला तालिम दिइयो । चितवन लेबरनगरका बासिन्दा हुन् अमर । वि.सं. २०१७ सालमा गुल्मीमा जन्मेका अमरका बाबुआमा २०२३ सालमा चितवन झरेर लेबरनगर आएर बसे । २०४१ सालमा उनी २४ वर्षका लक्का जवान थिए । पार्टीको पूर्णकालीन कार्यकर्ता (होलटाइमर) भएर घरदेखि पर पर्वत जिल्लामा संगठन गर्दै थिए। पार्टीले विशेष योजनाका लागि भन्दै २०४१ सालको असारमा उनलाई चितवन तान्यो ।

The 'soldiers' who entered the bank 41 years ago to carry out the 'people's revolution'

चितवन आएर उनी घर पश्चिम चितवन होइन दक्षिण माडी लागे । माडीबाट पनि दक्षिण मगुई खोला हुँदै रातारात टोली सोमेश्वर पहाडको अनकन्टार जंगलमा पुग्यो र त्यही बस्यो । त्यहाँ १० दिन तालिम भयो । ‘पार्टीका लागि ठूलो मात्रामा पैसा जुटाउन जनतासँग चन्दा माग्ने कुरा थिएन । अनि बैंक कब्जा गर्ने भन्ने योजना बनेको रहेछ’ अमरले भने । वि.सं. २०४१ सालको असार मसान्तमा गुल्मी पुर्तिघाटमा रहेको नेपाल राष्ट्रिय वाणिज्य बैंक ‘लुटिएको’ थियो । हो, यसमा सामेल थिए अमर । ‘जनयुद्ध गर्न’ पार्टीले आर्थिक स्रोत जुटाउने योजना अनुसार काम भएका कारण यसलाई ‘कुनै सामान्य घटना, काण्ड वा लुटपाट नभनौं’ भन्ने उनले विशेष आग्रह गरे । कुराकानी अगाडि बढ्दा यो ‘पुर्तिघाट मनी एक्सन’ हो भनेर उनले पटक–पटक दोहोर्‍याए ।

‘आर्थिक संघर्ष पो हो नि यो त !’ उनको मत थियो । रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन पार्टीले यो काम गरेको थियो । ‘बैंक कब्जा गरेर सुन पैसा ल्याउने निधो भएपछि पार्टीले कुन बैंकमा जाने, कसरी जाने, के भनेर जाने भन्ने विषयमा लामो र सूक्ष्म अनुसन्धान गरेको रहेछ’ अमरले भने । पुर्तिघाटमा प्रहरी चौकी थियो तर चौकीमा हतियार नभएको जानकारी आएको थियो । बैंकको गार्डले पनि बन्दुक नबोक्ने, आर्थिक वर्षको अन्तिम दिन असार मसान्तमा अन्य कारोबार गर्न सर्वसाधारण खासै नआउने र पैसा पनि बढी संकलन हुने आधारमा दिन र बैंक छनोट भएछ । विशेष प्रहरीमा भ्रष्टाचारको उजुरी परेको छ भनेर छानबिन गर्न आएको प्रहरी टोली बनेर बैंक पस्ने पटकथा तयार भयो । र यो कथाको आधारमा एक्सनमा जाने टोलीले नाटकमा जसरी माडीको अनकन्टार जंगलमा प्रशिक्षण लियो । नेता रूपलालले नै प्रशिक्षण दिए  ।

पार्टीको भविष्यसँग जोडिएको ठूलो योजना थियो । त्यसैले यसमा शतप्रतिशत सफलताको विकल्प छैन भनियो । तालिम पूरा भएर बाटो लाग्ने दिन सबैले यही कुरामा होमा हो मिलाए । तर अमरको मनमा अर्कै कुरा खेलिरहेको थियो । उनले भने, ‘शतप्रतिशत सफल भइन्छ नै भन्ने त नहोला? परिस्थिति उल्टो पनि हुन सक्छ । त्यस्तो अवस्था आए के गर्ने ?’ उनका कुरा सुनेर अन्य सहभागीले ‘कस्तो शंकास्पदलाई ल्याइएछ !’ भने । उनको जिज्ञासालाई मिहीन रूपमा बुझेर समाधान गर्नेतर्फ लागिएनछ ।

उनलाई ‘यो योजना सफल बनाउन पार्टी लागेको छ’ भनेर थमथमाउँदै बैंकको धनसम्पत्ति ल्याउने झोला थमाइयो । चारवटा झोला बोकेर अमर टोलीसँगै गुल्मी लागे । पार्टीले ठाने जस्तो परिस्थिति कहाँ बन्थ्यो र ? टोलीले बैंकबाट बोकेर बाहिर निकालेका सुन, पैसाले भरिएका सबै झोलाहरू फर्केर पार्टीमा आएनन् । उनै अमरले बोकेको एउटा झोला बरु पार्टीमा पुग्यो । त्यो बेला प्रहरीले लगाउने खैरो पोसाक लगाएर, दर्जा अनुसारको दर्ज्यानी चिह्न, टोपी र नक्कली पेस्तोल पनि भिरेर सातजना बैंक पसे । कम्मरमा खुकुरी भिरेका गार्डले इन्स्पेक्टर बनेका फणीन्द्र आचार्यलाई सलाम ठोके । गार्ड मात्रै हैन, आडमा रहेको चौकीका हवल्दार पनि दौडँदै आएर सलाम गरे । सक्कली प्रहरी मज्जाले झुक्किएको देखेपछि उनीहरूलाई लाग्यो योजना पक्का बनेछ ।

The 'soldiers' who entered the bank 41 years ago to carry out the 'people's revolution'अमर विश्वकर्मा 

बैंकभित्र म्यानेजरसँग भेट भएपछि ‘के कति कारणले आउनुभयो ?’ भनेर टोलीलाई सोधे । आचार्यले ‘तपाईंको बैंकमा आर्थिक हिनामिना भएको भन्ने रिपोर्ट विशेष प्रहरीमा पुगेका कारणले छानबिन गर्न पठाएर आएका हौं’ भन्ने जवाफ दिएको अमरले बताए । त्यो सुनेपछि म्यानेजरले आतिथ्यता प्रकट गरे, 'चिसो तातो के ल्याऊँ ?'  आचार्यले झर्किँदै केही चाहिँदैन भने । बैंकमा पुगेको सात जनाको टोलीमा इन्स्पेक्टर आचार्य थिए भने सई बनेका थिए तारापति पौडेल, अनि हवल्दारको भूमिकामा थिए सुदर्शन प्रधान । सिपाहीमा अमरसहित धनीराम चौधरी, पदम क्षेत्री र रोमबहादुर बस्नेत गरेर चार जना थिए ।

आचार्यसहित चार जनाले नक्कली हतियार कम्मरमा भिरेका पनि थिए । एउटा सक्कली पेस्तोल थियो तर झोलामा राखिएको थियो । सक्कली हतियार झोलाको पिँधमा परेछ । यी सबै व्यवस्थापनको कारणले होला, बैंकका कर्मचारीले प्रहरी नै आएको विश्वास गरे । टोलीले दिने आदेश कर्मचारीले पालना गर्न थाले । फणीन्द्रले क्यासियर बोलाउन म्यानेजरलाई अह्राए ।

क्यासियर आएपछि म्यानेजरले नै उनलाई खातापाता देखाउन भने । क्यासियरले खातापाता देखाउँदै थिए, आचार्यले नगद र सुन देखाउ भने । क्यासियरले पनि सहजै देखाए । त्यसबेलासम्म सुरक्षा गार्ड एउटा कोठामा र म्यानेजरसहित अन्य कर्मचारी अर्को कोठामा थुन्ने काम भइसकेको थियो । नगद र जिन्सी राखेको सेफ खोलेर देखाएपछि क्यासियरलाई पनि सेफ बन्द गर्न नदिई कर्मचारीसँगै कोठामा लगेर थुनेको अमरले बताए । त्यसपछि बैंकको खुलै रहेको सेफको नगद र जिन्सी अमरले झोलामा भर्न थाले । त्यही बेला कसोकसो फुत्केर क्यासियर सेफ भएको कोठामा आए । टोलीका सदस्यले उनलाई गलहत्याउँदै पहिलेकै कोठामा लगेर थुने । सायद यो गल्ती भयो कि भन्छन् अमर । आफूले देखेको कोठाको हालत म्यानेजरसहित अन्य कर्मचारीलाई क्यासियरले वर्णन गर्ने मौका पाए । जम्मा १५ मिनेटमा सबै काम फत्ते गर्ने योजना थियो । तर त्यहाँ डेढ घण्टा लाग्यो ।

जे होस्, लगेका चारवटै झोलामा बैंकको नगद र सुन भरेर उनीहरू बाहिर निस्कन सफल भने भए । निस्कने बेलामा इन्स्पेक्टर बनेका आचार्यले बैंक म्यानेजरसँग ‘हामी गयौं, एक हप्तापछि विशेष प्रहरी विभाग सिंहदरबार आउनू’ भनेको अमरले सम्झिरहेका छन् । काठमाडौं आउने आदेश दिएपछि पनि बैंकमा कर्मचारीलाई कोठामै थुनेर टोली अगाडि लागेको थियो । तर बैंकका कर्मचारीले कुरो गडबड छ भन्ने मेसो पक्कै पाइसकेका थिए । इन्स्पेक्टर बनेका आचार्य अगाडि–अगाडि र सबैभन्दा पछाडि छन् अमर । अमरसहित चार जनाले बैंकबाट झिकेको नगद र सुन राखेको झोला एक-एकवटा बोकेका छन् । पुर्तिघाट बजार आडको खोल्सामा झोलुंगे पुल थियो । पुल तरेपछि बायाँ ओरालो झर्नु पर्ने थियो । तर आचार्यले सिधै लगे । अर्को गडबड यहाँ थपियो ।

बाटो भुलेको मेसो भएपछि आचार्यले फर्कन आदेश गरे । अरू फर्किए पनि सुदर्शन र पदम फर्केनन् भन्छन् अमर । फर्किएका पाँच जनामध्ये रोमबहादुर झोला बोकेर ठाडो उकालो फटाफट दौडिएको अमरले देखे । तीनजना अरू पनि पुल पारी पुगिसकेका थिए । पुलको बीचमा परे अम र। ‘ठोक्-ठोक्, नछाड्-नछाड्’ अमरले सुने, बैंकतिरबाट हुल बाँधेर आएका मान्छेको आवाज । जे नहोस् भन्ने कामना थियो र होला भन्ने शंका थियो, त्यही भयो । अर्थात्, विशेष प्रहरीबाट नभई नगद सुन लिनकै लागि मान्छे प्रहरीले नाटक गरेर आएका छन् भन्ने भेउ पाएपछि त्यहाँ प्रतिकार सुरु भएछ । तर अमर फुत्केर उकालो लागे । फणीन्द्रले नक्कली भए पनि पेस्तोल सोझाएका थिए । मान्छेहरू डराउने नै भए । यसरी उम्कन सजिलो भएछ । एउटा त सक्कली पेस्तोल उनीहरूसँग पनि थियो तर कुन झोलाको पिँधमा पर्‍यो, सम्झने र झिक्ने मेसो आएन । त्यहाँ धनीराम ढुंगामा अल्झिएर लडेको र फणीन्द्र लगायत रोकिएको अमरलाई थाहा थियो ।

अमर भने नरोकिइ अगाडि बढे । उनीहरू बैंकबाट निस्कँदा दिउँसोको साढे चार बजेको थियो। मान्छेहरू प्रतिकारका लागि दौडादौड गर्न लागेका कारण कतै अलमलिनु उचित हुँदैन थियो । तर लुक्दै छेकिँदै अमर हिँडिरहे । उनले फणीन्द्रसहित तीनजनाको केही मेसो पाएनन् । एक ठाउँमा बाँसको झ्याङ देखेर त्यही लुके । साँझ सात बज्दा पनि उज्यालो हुने असारको समय थियो । यस्तो बेला खुला ठाउँमा हिँड्नुभन्दा रात नछिप्पिएसम्म बाँसधारीमा लुक्नु नै उपयुक्त हुन अमरले ठाने । उनी लुकेको ठाउँभन्दा केहीमाथि हल्ला खल्ला भएको अमरले सुने । अमरहरूलाई नै खोज्दै आएको टोली रहेछ त्यो । तर झ्याङतिर नआई उनीहरू फर्के ।

उनीहरू आउने छैनन् भन्ने पक्का भएपछि अमरले झोला खोलेर हेरे । त्यसमा लाहा छाप लगाएर राखिएको सुनका गहना थिए । उनले पार्टीको अभियानलाई सहयोग गर्न जसरी भए पनि यो झोला जोगाउने प्रण त्यतिबेला गरे । रात गाढा हुँदै गयो । झ्याउँकिरी र भ्यागुता कराउन थाले । अनि लुकेको ठाउँबाट अमर निस्किए । हिँड्दै गर्दा धान भर्खर रोपिएको खेतमा उनी पुगे । ‘को हो?’ अचानक आएको यो आवाजले अमर झसङ्ग भए । तर सम्हालिँदै उनले बाटो भुलेँ, रात पर्‍यो, लौन बास बस्ने ठाउँ कहाँ छ भनेर सोधे । त्यो मान्छे धान खेतमा पानी हाल्न आएको रहेछ । उसबाट खतरा नहुने देखियो । उसले बास बस्ने ठाउँ पनि देखाइदियो । उनी सेतीवेणी बजार ताकेर फटाफट हिँडे । तर उताबाट राँको बालेर एक हुल मान्छे आएको देखे, जसले दिउँसोको घटनाको चर्को स्वरमा कुरा गरिरहेका थिए। अमरले उनीहरूबाट ठूलो खतरा देखे ।

अमरले दायाँ हेरे- तल कताकता कालीगण्डकी नदी सुस्केरामा बगेको सुनिन्छ । बायाँ हेरे, त्यतातिर खरबारीको पाखो छ । आकाशमा जून अलिअलि लागेको हुँदा उनले ठम्म्याइरहेका थिए । खरबारीतिर उकालो लाग्नुपर्ने भएका कारण ढिला हुने र त्यता हिँड्दा राँको बालेर आएका मान्छेले देख्ने सम्भावना प्रबल थियो । त्यसैले उनले आँट गरेर दायाँतिर हाम फाले । गुटमुटिँदै उनी तीनवटा कान्ला तल गएर रोकिए । राँको बोकेर आउनेहरू कटे । अब मूल बाटो हिँड्न हुँदैन भन्दै उनी ठाडो उकालो खर र झार समाउँदै पाखापाखै हिँडे । चकमन्न रातमा असिन पनि भएर हिँडेका उनी जब अलि समथर मकैबारी भएको ठाउँमा पुगे, त्यही बेला उनको सात्तोपुत्लो उड्यो । सोच्दै नसोचेको कुरा- उनलाई कसैले गर्ल्याम्म अँगालो हाल्यो । अमरले ठाने, ‘लौ, पक्राउ परियो।’

तर फेरि सोच्दै नसोचेको भयो- त्यसरी अंगालो हाल्न आउने बैंकका कर्मचारी, प्रहरी, या खोज्दै हिँडेकाहरू नभई दिउँसो छुट्टिएका उनकै साथी रोमबहादुर बस्नेत रहेछन् । रोमबहादुर धरधरी रुन थाले । र फणीन्द्रसहित तीनजना उति बेलै पुल नजिकै पक्राउ परेको जानकारी दिए । उनीहरूलाई बेस्सरी कुटेको र एकजना साथी धनीराम त मर्‍यो कि भन्ने नमिठो शंका पनि रोमबहादुरले व्यक्त गरे । बैंकबाट निकालेको नगद र गहना राखिएको चार झोलामध्ये एक धनीरामले बोकेको थियो । यसरी टोलीमा छुटेका फणीन्द्र, तारापति र धनीराम पक्राउ मात्रै परेनन्, पैसा राखिएको एउटा झोला पनि सक्कली प्रहरी र बैंकको हात लाग्यो। फणीन्द्रसहितका तीनजनाको खबर अमरले पाए । बैंक छिरेको टोलीले नगद र गहना मात्रै निकाल्ने र पर गएर कुरेर बसेका अर्को भरिया टोलीलाई सबै झोला जिम्मा लगाउने योजना पार्टीले बनाएको थियो । रोमबहादुरले झोला त्यो टोलीलाई बुझाइसकेका थिए । तर अमरले भरिया टोली भेट्ने सम्भावना रहेन । सुदर्शन र पदमसँग पनि एउटा झोला थियो ।

पदमले बोकेको झोला के भयो होला ? यो सोच्दै सोच्दै अमर र रोम बाटो लागे । लुक्दै छेकिँदै उनीहरू साउने संक्रान्तिको बिहान सात बजे पार्टीको सेल्टर स्याङ्जा जोगिमारा गाउँका केशर उपनाम भएका प्रेम क्षेत्रीको घरमा पुगे । अमरले सुन भएको झोला त्यही जिम्मा लगाए । बैंकमा असार मसान्तमा भएको लुटपाट राष्ट्रिय चर्चाको विषय बनेको थियो । इतिहास विषयका चितवनका प्राध्यापक डा. राजेन्द्रप्रसाद रेग्मी आफ्नो पुस्तक नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा पुस्तकमा लेख्छन्- ‘बैंकबाट नगद र गरगहना गरी २३ लाख रुपैयाँ बराबरको धनमाल हराएको तत्कालीन अवस्थामा राज्य नियन्त्रित पत्रिकाहरूले छापेका थिए।’ चारवटा झोलामा राखिएको धनमालमध्ये अमरले बोकेको सुनको झोला मात्रै पार्टीमा पुग्यो। एउटा झोला प्रहरीले बरामद गर्‍यो। बाँकी दुईवटा झोला के भए? यो बारेमा पनि राजेन्द्र रेग्मीको पुस्तकमा चर्चा छ।

टोलीबाट सुरुमै छुटिएका सुदर्शन र पदम क्षेत्रीमध्ये पदमले पैसा भएको झोला बोकेका थिए । भाग्ने क्रममा झोला कालीगण्डकी नदीमा फालेको भन्ने उनीहरूले दाबी गरेका छन् ।  त्यसैगरी रोमबहादुरले भरिया टोलीलाई बुझाएको झोला के भयो ? ‘अर्का प्रहरी जवान (नक्कली) रोमबहादुरले बोकेको झोला पूर्वयोजनाअनुसार सहयोगी टिमलाई बुझाएको तर सहयोगी टिम पनि ज्यान जोगाउन झोला राखेको डोको नै छाडेर भागेको भन्ने सहयोगी टिमका साथीहरूको भनाइ छ,’ रेग्मीको किताबमा उल्लेख छ । बैंकबाट चार झोला नगद र गहना बाहिरिए पनि आखिरमा पार्टीमा अमरले बोकेको झोला मात्रै पुग्यो । त्यो झोला पनि विभिन्न शंका–उपशंकासहित पार्टीका नेता रूपलालसमक्ष पुग्यो।

सुन रूपलाल आफैंले गलाएर बजारमा बेचे । जसबाट पार्टीलाई ४ लाख ९० हजार रुपैयाँ प्राप्त भएको अमरलाई सम्झना छ । यो रकमबाट पार्टीले यात्रुबस किनेर सञ्चालन गर्‍यो । तर बस राम्ररी चल्न सकेन । पैसा कमाइ भएन । यसरी नौलो जनवादी क्रान्तिको तयारी गर्न भनेर रकम जुटाउन गरिएको ‘पुर्तिघाट मनी एक्सन’ बैंकबाट निस्केदेखि नै अलमल–अलमलमा पर्दै उद्देश्यबाट विमुख भयो । रूपलालको सर्वहारावादी श्रमिक संगठनसँग पछि निर्मल लामा र पुष्पकमल दाहालको पार्टी एकीकरण भएर बहुदल आगमनपछि २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बन्यो । तर न दाहाल न रूपलाल त्यो एकता केन्द्रमा बसे । रूपलाल त पछि विश्व कम्युनिस्ट आन्दोलनको नै गम्भीरतापूर्वक विश्लेषण गरौं, पुरातन शैलीले कम्युनिस्ट आन्दोलन अगाडि जान सक्दैन भन्ने निष्कर्षमा पुगे । जसका कारण उनलाई पलायनवादी भन्न थालियो । उनी कम्युनिस्ट पार्टीमै अटाएनन् । केहीले उनी कांग्रेस प्रवेश गरे भनेर दुष्प्रचारसमेत गरे ।

पछि नेकपा माओवादी बनाएर वि.सं. २०५२ साल फागुन १ गतेदेखि पुष्पकमल दाहालले नेपालमा रूपलालले ४० को दशकमा सोचेको ‘नौलो जनवादी व्यवस्थाका लागि’ सशस्त्र संघर्ष सुरु गरे । त्यसपछि राजनीतिक उद्देश्यसँग जोडिएर बैंक लुटिनु सामान्य घटना हुन थाल्यो । चितवनमा कम्युनिस्ट पार्टीको सुरुवाती अवस्थामा जोडिएका, वि.सं. २०२८ सालमा पुष्पकमल दाहाललाई नेकपा पुष्पलाल समूहको सदस्यता दिएका रूपलाल चितवनमा पार्टी संगठनमा प्रखर भएर निस्केका थिए । जुगेडी, जुटपानी जस्ता स्थानीय संघर्ष गर्दै राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए । पुर्तीघाट घटनाले उनलाई थप चर्चामा ल्यायो । यद्यपि पार्टीभित्र अवस्था अर्कै थियो ।

पुष्पकमल दाहाल, निर्मल लामा, बाबुराम भट्टराईलगायतका नेतासँग पार्टी एकीकरण गरेर नेकपा एकताकेन्द्र बनाई त्यसको नेतृत्वमा पुग्नु सायद रूपलालको राजनीतिक जीवनको उत्कर्ष थियो । एकता केन्द्रमा फुट आएपछि उनी ओझेल पर्दै गए । राजदरबार हत्याकाण्ड भएकै दिन २०५८ साल जेठ १९ मा उनको निधन भयो । नेपालको राजनीतिमा रुपलाल विश्वकर्मा पुस्तकमा  राजेन्द्र रेग्मीले ४० को दशकमा रूपलाल कम्युनिस्ट पार्टीका तिलस्मी पात्रजस्तो रहेको लेखेका छन् ।

संगठनमा आबद्ध गरेका धेरैले जीवनको उत्तरार्धमा रूपलालको साथ छाडे । अमर विश्वकर्मा भने अहिले पनि रूपलालको योगदानलाई उजागर गर्न सक्रिय छन् । जसले पुर्तिघाट यात्रा सुरु गर्नुअघि ‘शतप्रतिशत सफल भइन्छ नै भन्ने त नहोला’ भन्ने जिज्ञासा राखेका थिए । यो प्रश्न गर्दा अमरलाई शंकाको नजरले हेर्ने साथीहरूले न झोला जोगाउन सके, न रूपलालको साथमा रहे । उति बेलाका नक्कली प्रहरी अमर वास्तवमा रूपलालका सच्चा सिपाही ठहरिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully