‘मेन बजारमा पहिले एक–दुईतले घर थिए । अहिले ८–९ तले बनिसके । पहिला एउटा बस अट्ने साँघुरो बाटो थियो, अहिले सडक हेर्नु त ! यो परिवर्तन होइन ?’
कास्की — बा–हजुरबा सारंगी लिएर गाउँगाउँ डुल्थे । सारंगीको धुनमा स्वर मिसाएर कहिले दुःख, कहिले जीवन गाथा बोल्थे । ‘गन्धर्व’को मूल पेसा नै गाउने–बजाउने थियो । पोखरा बाटुलेचौरका बेलमान गायकलाई सारंगी बोकेर हिँड्न पटक्कै मन थिएन । त्यसैले पनि उनले चार तारको सारंगी सिकेनन् । परदेश पस्ने निधो गरे ।
जागिरका लागि सिमाना कटेर भारतको मदरास हानिए । ३ वर्ष चौकीदारी गरेपछि त्यहाँ मन अडिएन । उनी पोखरा फर्किए । यो समय उमेर २५ आसपास दौडिरहेको थियो । ०५५ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाले कर्मचारी माग्यो । यसपछि उनी ‘कुचीकार’को नियुक्ति लिएर सेवामा पसे ।
पोखराको उत्तरी बेल्ट बाटुलेचौरमा गन्धर्व समुदायको बस्ती छ । त्यहीँबाट ५३ वर्षीय बेलमान झिसमिसेमै घर छोड्छन् । ६ किलोमिटर परको न्युरोड ओर्लन्छन् । यो दैनिकीले २७ वर्ष पूरा गरेको छ ।
पोखरेली नै भएकाले उनले जागिरे जीवनकालमा मात्र होइन, जन्मिएदेखि हिजो र आजसम्मको पोखराको परिवर्तन नजिकबाट नियालेका छन् । ‘मैले जागिर सुरु गर्दा त पोखरा सानो थियो,’ उनी सुनाउँछन्, ‘उठाएको फोहोर फाल्ने ठाउँ थिएन । हामीलाई लखेट्थे । अहिले त धेरै सुविधा भएको छ ।’
जागिरे जीवन थाल्दा १८ वडाको उपमहानगरपालिका रहेको पोखरा आज ३३ वडाको महानगरपालिका बनेको छ । लेखनाथ नगरपालिका र आसपासका सराङकोट, पुम्दी–भुम्दी, मौजा, चापाकोट, पुरञ्चौर, भदौरे तामागी, माझठाना, कालिका पोखराभित्र अटाउँथेनन् । यी सबै गाउँ–ठाउँ बोलीचालीमा पोखरा थिए, नक्सामा यिनीहरूको छुट्टै अस्तित्व थियो । पोखरा भूगोलको हिसाबले मात्र ठूलो बनेको छैन, सहरले पनि स्वरूप फेरेको छ । ‘पहिले त बजार क्षेत्रमै बाटो साँघुरो थियो । अहिले त फराकिलो बनेको छ,’ उनले सुनाए ।
२०३६ सालतिर पोखराको महेन्द्र पुल । तस्बिर : थोमस ज्याकोब
हिजो खोजेकै बेला गाडी पाइन्थेन । आजकल घरअगाडि बाटोमा हरियो रंगका ‘पोखरा नगर बस’ ओहोरदोहोर गरिरहन्छन् । बेलमानलाई सम्झना हुँदा पोखरामा थोरै मान्छे अटाउने ‘ढ्वाङ बस’ चल्थे । ६ किलोमिटर टाढा न्युरोड आउन त्यति बेला ४ रुपैयाँ गाडी भाडा लाग्थ्यो । अहिले ३५ रुपैयाँ लाग्छ । ‘खोजेको बेला गाडी पाइन्थेन । कहिले त हिँडेरै आउनुपर्थ्यो,’ उनले भने ।
कार्यालय आएपछि फोहोर संकलनको काम सुरु हुन्थ्यो । फोहोर संकलन गर्न तत्कालीन पोखरा उपमहानगरपालिकासँग ८ वटा ट्याक्टर थिए । तिनै ट्याक्टर पालैपालो बजारभर डुल्थे । त्यति बेला पोखराका टोल–टोलमा कन्टेनर राखिएको हुन्थ्यो । त्यही कन्टेनरमा जम्मा भएका फोहोर बेलमानसहित सफाइ कर्मचारीले ट्याक्टरमा हाल्थे । सिमेन्टका कन्टेनर उचालेर ट्याक्टरमा खन्याउन हम्मे हम्मे पर्थ्यो । फोहोरले ट्याक्टर भरिएपछि अर्को चिन्ता थपिन्थ्यो – कहाँ फाल्ने !
बेलमान भर्खर जागिरे भएर छिर्दा पोखरामा ल्यान्डफिल थिएन । खाली ठाउँ जहाँ भेटिन्थ्यो त्यही ल्यान्डफिल हुन्थ्यो । पृथ्वी चोकको सहारा क्लब, हरिचोक, शान्ति वन, मनिपाल अस्पताल छेउ सेती नदी किनारमा खाल्डो खनेर फोहोर फालिन्थ्यो । ‘कति ठाउँमा घर बनिसक्यो । खाली भएको ठाउँतिर हेर्ने हो भने अझै पनि फोहोर भेटिन्छ,’ उनले सुनाए, ‘अहिले त्यहाँ पहिला फोहोर फालिन्थ्यो भन्यो भने मान्छे हाँस्छ, पत्याउँछ कसैले ?’
पोखराको बाच्छेबडुवामा ०५८ सालदेखि ल्यान्डफिल निर्माण सुरु भयो । ०६१ सालमा निर्माण सकिएको ल्यान्डफिल त्यसको अर्को वर्ष सञ्चालनमा आयो । यसपछि भने बेलमानसहित कर्मचारीले राहतको सास फेर्न पाए । त्यति बेला पनि पोखरालाई फोहोर व्यवस्थापन निकै चुनौतीको विषय थियो जुन आज उप्रान्त छ । ‘मान्छे बाटोमै फोहोर फाल्थे । पानी पर्यो भने सबै बगाउँथ्यो,’ उनले सुनाए, ‘अहिले काम गर्नेलाई त धेरै सजिलो छ । कम्तीमा फोहोर फाल्ने ठाउँ त छ ।’
जागिरे जीवनको २५ वर्षमा बेलमान गल्ली र चोक डुलिरहँदा पोखराको रूप नपत्याउँदो बद्लियो । साँघुरो बाटो चक्ला बने । कुनै समय एक तले मात्र रहेका मुख्य बजारका प्रायः घर आज ‘गगनचुम्बी’ बनेका छन् । नालामुख, गणेश टोलतिर इँट्टाका घर थिए । ती पनि आजकल बर्सेनि मासिँदै छन् । ‘कति पर्यटक आउँथे त्यो घर हेर्न । त्यस्तो चिज बचाउन पर्ने होइन ? खोइ आज त हराउन थाले,’ उनले भने ।
आज सहरका सडक कालोपत्रेले ढाकिएका छन् । साँघुरो पोखराको भौगोलिक फैलावट लेखनाथ, आसपासका गाविस मिसिएर तनहुँ, स्याङ्जासम्म पुगेको छ । ‘पहिले र अहिलेको पोखरामा त आकाश जमिनको फरक छ । मेन बजारमा पहिले एक–दुई तले घर थिए । अहिले ८–९ तले बनिसके,’ उनी रोकिँदैनन्, ‘पहिला एउटा बस अट्ने साँघुरो बाटो थियो । अहिले सडक हेर्नु त ! यो परिवर्तन होइन ?’
आजकल पोखरा एउटा सहर मात्र होइन । यो प्रदेशको राजधानी हो जहाँ अनेक सपनासहित पस्नेको संख्या बर्सेनि उकालो लाग्दो छ । भूगोल बढ्दा र पोखराप्रतिको आकर्षणले यहाँको जनसंख्या पनि ६ लाख हाराहारी पुगिसकेको छ । आजकल पोखरालाई यहाँको सवारीको चाप धान्नै हम्मे हम्मे परेको छ ।
दुई वर्षअघि जोडिएका ट्राफिक लाइट अझै पूर्ण सञ्चालनमा छैनन् । पाँचमध्ये पृथ्वी चोक र सिर्जनाचोकमा ट्राफिक लाइटले सवारी चालकलाई निर्देश गर्छ । आज पोखरामा बलेका ट्राफिक लाइट देख्दा बेलमान साढे दुई दशकअघि फर्कन्छन् । पोखराको पृथ्वी चोक, महेन्द्र पुल र चिप्लेढुंगामा ०५६ साल तिरै ट्राफिक लाइट जोडिएको थियो । ‘त्यति बेला पनि २/३ महिना चल्यो क्यारे ! त्यति बेला बत्ती पनि आउँथेन,’ उनले थपे, ‘बत्ती नआउने अनि बिग्रिएपछि अब हुँदैन भनेर त्यो चलेन ।’ ती लाइटका पोल पनि ०६२/६३ को जनआन्दोलनमा तोडफोड भए ।
पर्यटकको आगमनले बैदाम (लेकसाइड) भरिभराउ नै हुन्थ्यो । फेवाताल किनारमा अहिलेजस्तो ठूला र धेरै संरचना थिएनन् । ताल छेउमा फुटट्रयाक अहिलेजस्तो व्यवस्थित थिएन । धुलाम्मे ट्र्याक थियो । अहिले ताल किनारसम्मै होटल–रेस्टुरेन्ट बनेका छन् । होटल–रेस्टुरेन्टको सुविधा नहुँदा पर्यटक क्याम्पिङ बस्थे । बच्चैदेखि देखेको फेवाताल अहिले साँघुरिएकोमा बेलमानलाई निकै चिन्ता छ । ‘हेर्नुस् त फेवातालको छेउमा सबै होटल–रेस्टुरेन्ट बनेका छन् । मलाई याद हुँदासम्म अहिले बाटो भएभन्दा तलतिर यति धेरै होटल थिएनन्,’ उनी भन्छन्, ‘ताल जोगाउने कुरा त त्यहीँको मान्छेले सोच्नुपर्ने हो । खोइ किन नसोचेको होला !’
आज बिरौटा, छोरेपाटन, बगर, लेखनाथ छुट्टै बजारको रूपमा विकास भएका छन् । बेलमानलाई याद हुँदादेखि पोखराको बजार भनेकै महेन्द्र पुल थियो । त्यहाँ पसल र फुटपाथमा व्यापार हुन्थ्यो । ‘हाम्रोतिर रासनको सामान पाइन्थ्यो । कपडा किन्न महेन्द्र पुल नै आउनुपर्थ्यो,’ उनले सुनाए ।
महेन्द्र पुलमाथि तेर्सापट्टिमा सिनेमा घर थिए । त्यहाँ दर्शकको खचाखच हुन्थ्यो । कल्पना, विन्ध्यवासिनी, दीपज्योति, पूर्णिमा, बाराही हल हिजोजस्तो रहेनन् । आजकल दर्शक चिप्लेढुंगाको क्यूएफएक्स र सभागृहको मिडटाउनमा भरिभराउ हुन्छन् । पुराना सिनेमा घरमा चलचित्र हेर्न कहिलेकसो पसेको उनलाई सम्झना छ । ‘टिकट पाउनै गाह्रो हुन्थ्यो । आजकल ती हल पनि बन्द भइसके । कुनै भत्किसक्यो,’ उनले भने ।
पोखराका सडक कस्तो थियो ? बेलमान सम्झन्छन्, ‘मुख्य बजार त पिच नै थियो । अहिलेजस्तो फराकिलो थिएन । हामी बाच्छेबडुवामा फोहोर फाल्न जाने बाटो कच्ची थिए । पानी पर्दा हिलै हिलो भएर दुःख पाइन्थ्यो ।’ बेलमानले पोखराले साढे दुई दशकमा मारेको फड्को सिंगो बजार डुलिरहँदा नजिकबाट नियालेका छन् । समयसँगै सहर बद्लियो । उनको दैनिकी उस्तै छ । पुरानो पोखरा सम्झँदै बाटुलेचौरबाट न्युरोडसम्म आउजाउ गर्न अझै ४ वर्ष बाँकी छ ।
