स्कुल पढ्दाताका नै अस्मिता राम्रो गाउँथिन्, एक रियालिटी शोमा विश्वासका साथ अडिसन दिइन् । तर नतिजा सोचेजस्तो आएन, उनलाई भाउन्न छुट्यो– ‘मेरो गायनको बा–आमाले पनि झूटो प्रशंसा गरेका हुन् त !’ छोरीको आँखामा आँसु देखेपछि आमा मेनुकादेवीले ढाडस दिइन्, ‘तिमी सक्छौ तर अभ्यास गर्न अझै पुगेको छैन होला ।’
काठमाडौँ — लज्जावती झारजस्तै लजाउँछौखै कसरी यो सिउँदो सजाउँछौअल्लि वर आउ...अल्लि वर आउ माया, बस मेरै छेउजुगै जाने पिरती लाउला, बैना रुमाल देऊ
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
जान नदेऊ मलाई अब टाढा
माया यो होस् अझै, अझै गाढा
टाढा भए पनि मेरो माया गाढा छ नि
फूल होइन, प्रिय, काँडैमा नि रमाउँला नि
आकाशको तारा, यो धर्ती सारा, तिम्रै लागि
नजिक छैनौ, छाड्ने त हैनौ, बाटोमै ?
पछिल्लो समय चर्चित रहेकी गायिका अस्मिता अधिकारीका केही लोकप्रिय गीत हुन् यी । उनी यतिबेला आफैंले गाएका गीतका पंक्तिहरूबाट आफ्नी आमालाई सम्झिन्छिन् । चार महिना बित्यो, गायक महेश काफ्लेसँग अस्मिताको विवाह भएको । जीवनको नयाँ सुरुवात गरिरहेकी अस्मितासँग नयाँ परिवार छ, नयाँ जीवनसाथी छन् । तर हरेक बिहान उठ्दा सामुन्नेमा मुस्कुराइरहने आमा यतिबेला आफूसँग छैनन् । ‘बिहेपछि सबैभन्दा भावुक ममी सम्झेर हुन्थें । फोन गर्दा रुन मन लागिहाल्थ्यो, म रोएपछि ममीका पनि आँखा भिज्थे,’ अस्मिता आमा सम्झिन्छिन् ।
हुन त आमा मेनुकादेवी अधिकारीसँग अस्मिता भेटिरहन्छिन् । कतै कार्यक्रममा जाँदा आमालाई साथै लिएर पनि हिँड्छिन् । तर पनि सधैं सँगै नहुनुको पीडाले आँखा छपक्कै ढाक्दो रहेछ । ‘जीवनमा कहिल्यै अभाव हुन नदिने ममीकै अभाव बिहेपछि हुँदो रहेछ,’ अस्मिता साथीहरूसँग आफ्ना अनुभूति साट्छिन् । भर्खरै बिहे भएका उनका साथीहरूको अनुभव पनि त्यस्तै हुँदो रहेछ । ‘अहिले लाग्छ मैले जस्तै ममीले पनि त आफ्नो बिहेपछि आमाको कति याद गर्नुभयो होला, उहाँलाई कति गाह्रो भयो होला,’ अस्मिता महसुस गर्न खोज्छिन् ।
हिजो आमालाई पोख्ने भावनाहरू अहिले महेशसँग पोख्छिन् । आमासँग छुटेर आउँदाका दुखाइबारे पोखिन्छिन् । आफूले मान्दै आइरहेको घर एक्कासि माइतीघर बन्दा पनि भावुक बन्दिरहिछन्, अस्मिता । ‘त्यो कुरा मलाई बिहेलगत्तै महसुस भयो, अनि नरमाइलो अनुभूत पनि,’ उनी त्यो क्षण सुनाउँछिन् । बिहे गरेर छोरी गइसकेपछि आमाको मनमा पनि त विरह चल्दो हो ! त्यो विरहलाई उनी छोरीकै गीत सुनेर मेटाउँछिन् । कोठाको सोफामा बसेर अस्मिताका गीत र भिडियोहरू हेर्छिन् । अब त छोरीको मात्र हैन, ज्वाइँ महेशको पनि गीत सुनेर फुरुङ्ग पर्छिन् । घरमा आएका पाहुनालाई पनि बोलाइ–बोलाइ हेराउँछिन् । ‘यो त अहिले ममीको दैनिकी जस्तै भएको छ,’ अस्मिता खुसी भावमा भन्छिन् ।
आमा मेनुकादेवीलाई छोरीको गायिकीमाथि ठूलो प्रेम छ । उनको पहिचानमाथि गर्व छ । चिन्नेहरूले उनलाई अस्मिताकी आमा भनेर चिन्छन् । छोरीका कारण पाएको परिचयमाथि उस्तै खुसी छ । सायद त्यो खुसी उनलाई छोरीको आगमन भएको दिनदेखि नै थियो । अस्मिता आफू जन्मेको क्षणबारे थाहा पाउँदाका रमाइलो प्रसंगतर्फ लाग्छिन् । काठमाडौं शिक्षण अस्पतालमा उनी २९ वर्षअघि वैशाख १ मा जन्मिइन् । जन्मँदा शिशुको रुवाइ उनका मामालाई सांगीतिक गुञ्जन जस्तो लागेछ, उनले भविष्यवाणी गरिदिए, ‘हाम्री भान्जी ठूली भएपछि सिङ्गर हुन्छिन् ।’
अन्ततः मामाको भविष्यवाणी पूरा भयो । त्यतिबेला अस्मिता नेपाल आइडल सिजन–२ को फाइनलमा प्रवेश गरेकी थिइन् । आयोजकले फाइनलमा पुगेकालाई उनीहरूको घर र गाउँ भिजिट गराउने कार्यक्रम राखेका थिए । जजहरूसँग अस्मिता झापास्थित आफ्नो गाउँ र मामाघर पुगिन् । मामाको अगाडि गर्वले उभिँदै भनिन्, ‘हजुरले गरेको भविष्यवाणी पूरा भयो । तपाईंकी भान्जी साँच्चै सिङ्गर भइन् ।’ त्यो भावनात्मक क्षणमा मामाको आँखामा देखिएको खुसी अस्मिता अहिले पनि सम्झिरहन्छिन् । मामाले भविष्यवाणी गरे पनि छोरीको गायकीलाई पहिचान भने आमाले नै गरेकी थिइन् ।
अस्मिता नर्सरीमा पढ्थिन् । उनीहरू दमकमा फुपूको घरमा बस्थे त्यतिबेला । बिहान–बेलुका भजनकीर्तन हुन्थ्यो । अस्मिता ध्यानमग्न सुन्थिन् । सुनेर आफू पनि गुन्गुनाउँथिन् । अस्मितालाई आफ्नै आवाज राम्रो लाग्न थाल्यो । एकदिन छोरीले गाइरहेको आमा मेनुकादेवीले सुनिन् । ‘फेरि गाउ त गाउ,’ आमा खुसी हुँदै अस्मितालाई दोहोर्याउन लगाइन् । त्यो चामत्कारिक आवाजले आमालाई निकै सन्तुष्टि दियो । ‘त्यसपछि त मान्छेहरूको अगाडि आफैं गाउन लगाउनुभयो,’ अस्मिता सम्झिन्छिन् । स्कुल पढ्दा शिक्षकहरूले पनि उनको आवाजलाई नोटिस गर्न थालेका थिए । त्यसकारण राष्ट्रिय गान गाउँदा पनि अस्मितलाई अगाडि बोलाउँथे । बिस्तारै उनको आवाजलाई स्कुल, घर र वरपरकाले तारिफ गर्न थाले । कक्षा ५ मा पुग्दा उनले आमालाई सुनाइसकेकी थिइन्, ‘पछि गएर म सिङ्गरै बन्छु ।’
अस्मिताका दाइ अशोकले आईटीमा मास्टर्स गरेका छन् । उनले बीएस्सी नर्सिङ । दुई सन्तानकी आमालाई अहिले छोराछोरीको प्रगति देखेर सबैभन्दा आनन्द लाग्छ । मेनुकादेवी बेलाबेला पुराना कुराहरू सम्भिन्छिन् । एकदिन उनले आफ्नो पहिलो प्रसव पीडाबारे छोराछोरीलाई सुनाएकी थिइन् । मेनुकादेवीलाई प्रसव पीडाले च्याप्यो । झापाको बाह्रघरेमा न स्वास्थ्य सुविधा थियो । त्यहाँबाट दमक आउन गाडी पनि थिएन । गोरुगाडामा चढाएर दमकको हस्पिटल लगेको दृश्य मेनुकादेवीको सम्झनामा अहिले पनि ताजा छन् । ती किन ताजा छन् भने जीवनको सबैभन्दा पीडादायक क्षण थियो त्यो । बच्चा त जन्मिए तर होस खुलेन । निकैबेरसम्म नखुलेपछि सबैले माया मार्दै भने, ‘उसको होस आउँदैन ।’
मेनुकादेवी यो कुरा न मान्न तयार थिइन्, न सहन । सबैले आशा मारेको बच्चालाई केवल आमाले मात्र आशा गरिरहेकी थिइन् । अचानक बच्चाको होस आयो । मेनुकादेवीले जीवनका सबै पीडा एकाएक भुलिदिइन् । अस्मिता ती कुराहरू उधिन्दै भन्छिन्, ‘ममी अहिले पनि यो कुरा सुनाउँदै भन्नुहुन्छ– मैले सानो दुःखले जन्माई हुर्काएको छैन यसलाई ।’ त्यसकारण मेनुकादेवीले दाइलाई सानाभन्दा साना कुरामा पनि धेरै ‘केयर’ गर्थिन् । अस्मिता जन्माउँदा भने मेनुकादेवीले उतिसाह्रो सास्ती भोग्नुपरेन । त्यतिबेला बा र आमा झापाबाट काठमाडौं आएका थिए । अहिले पनि आमा सुकेधाराको बाटो हिँड्दा छोराछोरीलाई औंलाले इसारा गर्छिन्, ‘ऊ त्यहाँनिर हाम्रो होटल थियो ।’ बा–आमाले होटल गरिरहेको बेला छोरी जन्मेकी थिइन् । अस्मिता नयाँ वर्षमा जन्मेको भएर आमाले जहिल्यै नयाँ वर्षमा दुई जोर नयाँ कपडा किनिदिन्थिन् ।
मेनुकादेवी भने भोजपुरमा जन्मिइन् । २१ वर्षको उमेरमा उनको झापाका उमेश अधिकारीसँग बिहे भएको थियो । मेनुकादेवीका बा सानैमा बितेका थिए । आमाले दुःख गरेर हुर्काएको कुरा पनि उनी आफ्ना सन्तानलाई सुनाउँथिन् । बिहे भएर घर आएपछि कहिल्यै नगरेका कामहरू आइलागे, व्यवहार आइलागे । यो कुरा पनि उनी आफ्ना छोराछोरीलाई सुनाउँथिन् ।
अस्मिताका बा उमेशले झन्डै २५ वर्ष खाडी मुलुकमा बिताए । यतिका लामो समय खाडी मुलुकमा बिताउनु उनको रहर थिएन । उनको रहर त सन्तानलाई राम्रो स्कुल पढाउनुमा थियो । उनीहरूको रहरलाई पूरा गरिदिनु थियो । त्यसैका लागि उनी वैदेशिक रोजगारीमा लामो समय रहे । यता अस्मिताले प्रायः समय आमासँगै बिताइन् । अहिले आएर बुझ्दा अस्मितालाई लाग्छ, आमा निकै बलियो थिइन् । गाउँबाट दमक आउँदा आमाका साथीहरू कम थिएनन् । ‘हरेक दुःखसुखमा साथ चाहिन्छ भनेर ममी साथीहरू बनाउनुहुन्थ्यो,’ अस्मिता सम्झिन्छिन् ।
बाको अनुपस्थितिमा आमा एक्लैले गरेका संघर्ष अस्मिता अहिले अनुभूत गर्छिन् । अभावका दिनहरू थिए, तर आमाले सन्तानलाई कहिल्यै अभाव हुन दिइनन् । कुनै बेला मलिन देखिन्थिन् मेनुकादेवी । अस्मिता टाढैबाट आमाको अनुहारभित्र लुकेको पीडा महसुस गर्न खोज्थिन् । ‘कतिपय बेला बाबाको पैसा आउन ३/४ महिना लाग्थ्यो । त्यस्तो बेला स्कुलमा ‘फि’ तिर्न ढिलाइ हुन्थ्यो । कहिले खानेकुराको अभाव हुन्थ्यो । तर ममी सरसापट गरेर भए पनि सबै कुराको व्यवस्था गर्नुहुन्थ्यो,’ अस्मिता सम्झिन्छिन् । मेनुकादेवी जहिल्यै आफ्ना सन्तानलाई भन्थिन्, ‘हामीले जुन दुःख भोग्यौं, त्यो तिमीहरूले कहिल्यै भोग्नु नपरोस् ।’
अस्मिता सानोमा अत्यन्तै कम बोल्थिन् । सबैले ज्ञानी भन्थे । ‘अरूले ज्ञानी भनेपछि आफूलाई ज्ञानी बन्नुपर्ने भार हुँदो रहेछ,’ उनी सुनाउँछिन्, ‘त्यसकारण कति जिज्ञासाहरू उतिबेला सोध्नै नपाई हराए, कति इच्छाहरू मारिए ।’ कम बोल्ने भएकाले उनलाई धेरैले भन्थे, ‘तिमी किन बोल्दैनौ ।’ राति सुत्ने बेलामा उनी आमालाई यही प्रश्न सोध्थिन्, ‘ममी, मलाई किन धेरैले यस्तै भन्छन् ।’ आमा उनको जिज्ञासाको जवाफ दिन्थिन्, ‘जब तिमी आफ्नो कुरा मजाले सोध्न सक्छौ, आँखामा आँखा हेरेर बोल्न सक्छौ । अनि तिमीलाई कसैले पनि यस्तो भन्ने छैन ।’ त्यो बेला आमाले स्नेहका साथ सम्झाएको यो कुरालाई अस्मिताले सधैंभरि आत्मसात् गरिन् । जीवनका यात्राहरूमा आमाको यो वाणी उनका लागि धेरै प्रभावकारी भयो ।
अस्मितालाई ८/९ कक्षा पढ्दा आफ्नो गायकीमाथि थप आत्मविश्वास जाग्यो । त्यतिबेला आमाका दुःख देखेर उनी ढाडस दिँदै भन्थिन्, ‘आजको दिन जे जस्तो भयो, भोलिका दिन तपाईंहरूले दुःख पाउनु हुन्न ।’ कक्षा ९ देखि अस्मिताको परिवार फेरि काठमाडौं आयो । आमाले सन्तानलाई काठमाडौं ल्याउनुको कारण थियो छोरीको भविष्य । ‘बाबा–ममीलाई मेरो प्रतिभासँग विश्वास थियो । झापामा संगीत सिक्नका लागि राम्रा ठाउँहरू थिएनन् । त्यसकारण पनि काठमाडौं ल्याउनुभयो,’ अस्मिता सम्झन्छिन् । बा दसैंमा एक पटक घर आएका थिए । त्यतिबेला छोरीको गीत सुनेर उनको आँखा भरिएको थियो । त्यतिबेला नै छोरी सांगीतिक क्षेत्रमा चम्किएको कल्पना उनले गरेका थिए । तर, यो क्षेत्र अस्मिताले जति सजिलो ठानेकी थिइन्, उत्तिकै अप्ठ्यारो पनि रहेछ ।
स्कुल पढिरहँदा उनी आत्मविश्वासका साथ एउटा रियालिटी शोमा अडिसनका लागि पुगेकी थिइन् । सोचेकी थिइन्– सजिलै छनोट हुन्छु । तर परिणाम अप्रत्याशित आयो । रियालिटी शोका लागि अस्वीकार गरिएकाहरूको सूचीमा आफ्नो नाम देखिन् । उनलाई भाउन्न छुट्यो । आफ्नो गायन कलालाई प्रशंसा गर्नेहरू सम्झिइन् । बा–आमाको आत्मविश्वास सम्झिइन् । ‘के त्यो सबै झूट थियो ?,’ उनले आफैंमाथि प्रश्न गरिन् । उत्साह हराएको अनुहारमा आँसु पोख्दै उनी घर पुगिन् । छोरीको आँखामा आँसु देखेपछि आमाले भनिन्, ‘तिमी सक्छौ तर अभ्यास गर्न अझै पुगेको छैन होला । गर, समय छ ।’ केही दिन गलेको उत्साह फेरि फक्रियो । अस्मिताले आफ्नो अभ्यास छाडिनन् । ‘त्यतिबेला मैले सुधार्नुपर्ने कुरा धेरै रहेछ । उमेर पनि सानो थियो, कन्फिडेन्ट पनि कम । हामीले जुन स्केलमा अरूका गीत सुनिरहेका हुन्छौं, त्यही स्केलमा गाउनुपर्छ भन्ने हुन्न रहेछ । आफ्नो गायकी पनि देखाउनुपर्ने रहेछ । म त्यसैमा चुकेछु,’ अस्मिताले आत्मसमीक्षा गरिन् ।
विभिन्न रियालिटी शोमा भाग लिने क्रम बढ्दै गयो । तर सफलता हात परिरहेको थिएन । बीएस्सी नर्सिङ गरिरहेकी अस्मितालाई एकदिन आमाले भनिन्, ‘नर्सिङबाट त विदेश जान पाइन्छ, यसमा पनि ध्यान देऊ ।’ अस्मिताले आमालाई पुनः आत्मविश्वासका साथ भनिन्, ‘नर्सिङका लागि त एउटा देश पुगिएला, तर गायक भएर त धेरै देश पुगिन्छ नि ।’ आमाले त्यतिबेला आशीर्वाद दिँदै भनेकी थिइन्, ‘तिमीले बोलेको सबै पूरा होस् ।’
सांगीतिक करिअरका लागि संघर्ष जारी थियो । त्यही क्रममा उनी नेपाल आइडल–२ को अडिसनमा पुगिन् । पहिलो पटक जाँदा साथमा आमा मेनुकादेवी पनि थिइन् । आमाले भनेकी थिइन्, ‘यसपालि तिमी छनोट हुन्छौ ।’ पहिलो पटकको अडिसनमा उनी छनोटमा परिनन् । तर पनि जजहरूले अनौठो कुरा गरेका थिए, ‘तिमी एकदम राम्रो सिङ्गर हुन्छौ । तिम्रो टोन पनि राम्रो भइरहेको छ । तिमी म्युजिक इन्डस्ट्रीभित्र आउँदा एकदम राम्रो हुन्छ ।’ यति भनेर पनि छनोट नगरेको देख्दा उनीहरू दंग परे । आमाले विस्मात् मान्दै भनिन्, ‘यहाँ पैसाको चलखेल हुन्छ कि क्या हो !’
यद्यपि, दोस्रो दिन भने उनी छनोटमा परिन् । त्यसपछि त नेपाल आइडलमा अस्मिता चम्किन थालिन् । उनको गायकीको प्रशंसक दिनानुदिन बढ्न थाले । उनी नेपाल आइडलको फाइनलमा पुगिन्, थर्ड रनरअप भइन् । त्यसपछि अस्मिताले जीवनमा पछाडि फर्कनुपरेको छैन । पहिलो गीत ‘तिम्रो मायाले बाँधेर राख’ नै लोकप्रिय भयो । त्यो गीत चलेको कुरा उनले पछिमात्र थाहा पाइन् । ‘त्यतिबेला म हजुरबा बितेर झापा गएकी थिएँ, फर्केर आउँदा मात्र थाहा पाएँ, गीत हिट भएको छ ।’ त्यसपछि त अस्मिताका हरेक गीतहरू एकपछि अर्को हिट बन्दै गए ।
अस्मिताका लागि अहिले विदेश पानीपँधेरो जस्तै छ । विभिन्न देशहरूमा उनी आफ्नो आवाज लिएर पुगिरहेकी हुन्छिन् । आमा अस्मिताले उतिबेला भनेका कुरा सम्झिन्छिन्, ‘तिमीले त आफ्नो भविष्य अगाडि नै देखेकी रहिछौ ।’ आगामी अगस्टदेखि अक्टोबरसम्म महेश र अस्मिता अमेरिकाको यात्रामा निस्कँदै छन् । यसरी यात्राहरूमा गइरहँदा अस्मितालाई एउटा ठूलो चाहना छ । सुनाउँछिन्, ‘हाम्रै कारणले ममी कहिल्यै कतै घुम्न जान पाउनुभएको छैन । त्यसरी विदेश जाँदा उहाँलाई पनि लिएर जान मन छ ।’ अस्मिता त्यो दिनको प्रतीक्षा गरिरहेकी छन् ।
