बौद्ध धर्मका अग्रणी गुरु खिन्सेका फिल्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाइएका छन्, तिनले निकै चर्चा कमाएका छन्
काठमाडौँ — ‘अन्तर्राष्ट्रियस्तरमा सुनिनुपर्ने थुप्रै मौलिक कथा छन् नेपालमा,’ दुई वर्षअघि काठमाडौंमा आयोजित ‘मास्टरक्लास’ मा निर्देशक खिन्से नोर्बु रिम्पोछेले भनेका थिए । त्यतिबेला नेपालको भूगोलभित्र खिचिएको उनको फिल्म ‘डाकिनी’ नेपाली दर्शकमाझ भर्खरै पुगेको थियो । ‘लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मस्टाच’ अर्थात् ‘डाकिनी’ मा मुग्ध दर्शकका निम्ति उनका कुरा साँच्चै मनप्रिय थिए ।
खिन्से यतिबेला ती मौलिक कथामा दृश्यको रङ पोतिरहेका छन् । सुटुक्क नेपाली टिम र कलाकारसँग उनी आफ्नो नयाँ फिल्म ‘बहुरुपिया’ मा काम गरिरहेका छन् । काठमाडौंको बौद्धमा कुराकानी गर्ने क्रममा उनले खुलाए, ‘अहिले म धेरै नेपाली युवासँग काम गरिरहेको छु । यो अनुभव निकै रमाइलो छ । ती युवा असाध्यै सिर्जनात्मक, व्यावसायिक र सक्षम छन् ।’ ‘बहुरुपिया’ को कथाबारे उनले यति मात्रै भने, ‘म सारांश दिनमा त्यति अब्बल छैन । सारांश दिनु पनि एउटा कला हो, होइन र ?’
एउटा स्वीकारोक्तिसहित उनले परिचित मुस्कान पोखे र कथासार सुनाए, ‘फिल्म एक यस्तो बहुरुपियाको कथा हो, जो भगवान् बनेर नाच्छ, अभिनय गर्छ । तर अबको दुनियाँमा उसले बाँच्न संघर्ष गर्नुपर्छ, जहाँ उसको प्रस्तुतिको मूल्य कसैले दिँदैन ।’
सहरका भूगोलमा फिल्म खिचिरहँदा उनी अरू कथा पनि नियालिरहेका छन् । ‘नेपालमा यति धेरै कथा छन् कि म कहाँबाट सुरु गरुँ भनेर अलमलमा पर्छु,’ इतिहास, स्मृति र पौराणिक समयमा विचरण गर्दै खिन्से गम्छन्, ‘पौराणिक कथा त खोतल्नै पर्दैन । खासमा नेपालको दैनिक जीवनमै गहिरा कथा लुकेका छन् ।’ ती महत्त्वपूर्ण कथाहरू विश्वलाई देखाउन आवश्यक रहेको औंल्याउँछन् उनी । लाग्दो हो, नेपालको जीवनशैली र जनजीविकाका कुरासँग भुटानमा जन्मेका रिम्पोछे कसरी परिचित छन् ? १३ वर्षको उमेरमा उनी पहिलो पटक नेपाल ओर्लिएका थिए । त्यसपछि त्यो क्रम दोहोरिरह्यो । त्यसकारण उनी नेपाली समाजको निःसंकोच प्रशंसा गर्छन्, ‘वाह !’ अनि थप सिलसिला जोड्छन्, ‘नेपालीहरू साँच्चिकै सहनशील छन् । मलाई यस्तो लाग्छ कि पूरा संसार नै ध्वस्त भए पनि नेपाल आफ्नो बाटो चलिरहन्छ ।’
धेरै पटक नेपाल आउँदा नेपालीहरू लोडसेडिङसँग जुधिरहेको क्षण उनलाई सम्झना छ । ठमेलका सडकमा हिँडिरहँदा उनी जेनेरेटरका कर्कश आवाज सुन्थे । ‘तर मानिस त्यसमा पनि आत्तिएनन् । जीवन चलाउन र चल्न सिके । जटिलतासँग यसरी जुध्न सक्नु निकै विशेष कुरा हो । यस शैलीको म एकदमै सम्मान गर्छु,’ १३ औं शताब्दीदेखिका कला परम्परा उधिन्दै उनले दाबी जसरी सुनाए, ‘यो त नेपालीको वंशाणुगत संरचनामै छ ।’
नेपालका कला र मौलिकताबारे उनका केही चिन्ता पनि छन् । भन्छन्, ‘गुगल, विकिपिडिया, सोसल मिडिया जस्ता प्लाटफर्महरूको वृद्धिसँगै हामीले बाहिरी सामग्री धेरै खपत गर्न थालेका छौं । यस्तो खालको सामग्रीले हामीभित्रको मौलिकता कमजोर हुन सक्छ ।’
नेपाली समाज र परम्परालाई नजिकबाट नियालिरहेका खिन्से नेपाली सिनेमाबारे भने आफू उतिधेरै जानकार नभएको बताउँछन् । तर पछिल्लो समय आफूले यहाँका चलचित्र अभ्यासबारे बुझ्न थालेको सुनाउँछन् ।
बौद्ध धर्मका अग्रणी गुरु खिन्से आफूलाई न गुरु मान्छन् न फिल्ममेकर नै । तैपनि उनका फिल्म विश्वभर छरिएका छन् । सन् १९९९ मा पहिलो फिल्म ‘द कप’ विश्व प्रसिद्ध फिल्म महोत्सव क्यान्समा देखाइएको थियो । यो फिल्म भारतस्थित तिब्बती शरणार्थी शिविरमा रहेको बाल भिक्षुमा केन्द्रित थियो । त्यसपछि उनले ‘ट्राभलर्स’, ‘म्याजिसियन’, ‘भारा’ जस्ता अन्तर्राष्ट्रियस्तरका फिल्म बनाए । उनले बनाएको फिल्म ‘हिमा हिमा : सिङ मि अ सङ ह्वाइल आई वेट’ भने सन् २०१६ मा टोरन्टो र लोकार्नो जस्ता ख्याति प्राप्त अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा देखाइएको थियो । फिल्ममात्र होइन, बौद्ध दर्शनबारे उनले लेखेको चर्चित पुस्तक ‘ह्वाट मेक्स यू नट अ बुद्धिस्ट’ को ख्याति पनि उत्तिकै छ । उनका आधा दर्जन पुस्तक प्रकाशित छन् ।
पहिलो फिल्म ‘द कप’ मा खिन्सेले नन–एक्टरसँग काम गरेका थिए । सुन्दर सहकार्यको प्रतिफलले होला, पर्दामा उनीहरूको कला जीवन्त देखिएको थियो । ‘तपाईंका सुरुवाती फिल्महरूमा व्यावसायिक कलाकार थिएनन् । साधारण मानिस नै कलाकार थिए । तपाईंलाई नन–एक्टरहरूसँग काम गर्न बढी सहज लाग्थ्यो ?’ यस प्रश्नमा उनले भने, ‘सुरुमा त मसँग व्यावसायिक कलाकारहरू थिएनन्, जो उपलब्ध थिए, उनीहरूसँगै काम गरें । अहिले मसँग प्रशिक्षित र अनुभवी कलाकारहरूको एक उत्कृष्ट टोली छ । सायद यो पहिलो पटक हो, जहाँ स्क्रिनमा देखिएका अधिकांश पात्र व्यावसायिक छन् ।’
खिन्से आफ्नो टिमलाई पूर्ण नियन्त्रण गर्दैनन् । उनीहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिन्छन् । उनी आफ्नो टिममाथि विश्वास गर्छन् । ‘कलाकारहरू सक्षम छन्, क्यामरा टिम उत्कृष्ट छ, अनि समग्र टिम नै दक्ष छ भने म तिनीहरूलाई नियन्त्रण गर्दिनँ । नियन्त्रण गरें भने बाधा भइन्छ । म उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छु ।’
खिन्सेको फिल्म निर्माणमा आफ्नै शैली छ । उनी फिल्म बुझाउनका लागि मेकरले साझा भाषा खोज्नुपर्नेमा विश्वास गर्छन् । किनकि दर्शक फरक–फरक पृष्ठभूमिका हुन्छन् । ‘मैले जस्तो सोचें, त्यस्तै भनियो भने त तपाईंले बुझ्न सक्नु हुन्न । निर्देशकले भन्न खोजेको कुरा र दर्शकले बुझ्ने कुरा बीचको सन्तुलनमा बसेर कथा वाचन गर्नुपर्छ,’ उनी भन्छन्, ‘दर्शकलाई सन्तुष्ट पार्नका लागि फिल्म बनाउन सजिलो छ । तपाईंलाई जस्तो चाहिएको हो, म दिन सक्छु । तपाईंको लक्ष्य केवल पैसा हो भने त्यो सही हुन सक्छ । तर मेरा लागि कथावाचन त्योभन्दा माथि जानुपर्छ ।’ ‘आरआरआर’ जस्ता स्क्रिप्टलाई ‘सुन्दर तरिकाले लेखिएको खराब स्क्रिप्ट’ मान्छन् उनी । जहाँ एक जनाले हजार जनाको ज्यान लिन्छ । ‘त्यो रमाइलो लाग्छ, तर सत्य कहाँ छ ?’ उनी मन्द हाँसोसाथ प्रश्न गर्छन् ।
आफ्ना अघिल्ला फिल्महरूमा खिन्सेका आत्मस्वीकृति छन्, ‘दर्शकबारे खासै नसोचेर, केवल आफूभित्रको कुरा देखाउने गरी फिल्म बनाएँ ।’ उनकै अनुभवमा धेरैले फिल्म बुझेनन्, कति त फिल्म हेर्दाहेदै निदाए । ‘मेरो एउटा फिल्म ३८ वटा फेस्टिभलले अस्वीकार गरे । सायद पहिलो सिन नै हेरेर होला, जुन लामो, स्थिर वाइड शट थियो । मेरा लागि त्यो दृश्य रोचक थियो, तर धेरैका लागि सहन गाह्रो,’ उनी सुनाउँछन् ।
बौद्ध धर्मका अग्रणी गुरु भए पनि खिन्सेका फिल्ममा बुद्धका कथा खासै अटाएका छैनन् । उनलाई गहिरिएर हेर्ने दर्शकलाई लाग्छ पनि, ‘बुद्धबारे फिल्म नबनाई किन सांसारिक फिल्म बनाइरहेछन् !’ खिन्से यस जिज्ञासाको जवाफमा केही खुलासा गर्छन् । उनले २० वर्षअघि नै बुद्धको जीवनमाथि फिल्मको स्क्रिप्ट तयार पारेका रहेछन् । तर अहिलेसम्म किन थाती रह्यो त ? ‘मेरो प्रमुख उद्देश्य नै बुद्धको जीवनमाथि फिल्म बनाउनु हो । तर यो अन्य फिल्मजस्तो छैन । ठूलो बजेट अनि कठिन कथा,’ उनी प्रस्ट्याउँछन्, ‘बुद्धलाई धेरैले माया गर्छन् । मानिसहरूको अपेक्षा पनि उच्च हुन्छ । त्यो बनाउन सजिलो छैन ।’ अब एआईको समय छ । प्रविधिमा उनले कठिन मानेका कुरा बिस्तारै सहज बन्दै गएका छन् । ‘अब त म सजिलै २ हजार वर्षअघिको कपिलवस्तु सिर्जना गर्न सक्छु । सायद अब त्यो सम्भव होला,’ उनी आशावादी सुनिन्छन् ।
खिन्सेसँग अरू केही महत्त्वाकांक्षी योजना पनि छन् । जस्तो कि काठमाडौंमा उनी एउटा शान्त थलो निर्माण गरिरहेका छन्, जहाँ बसेर चित्रप्रेमीहरूले रहरका रङ भरून् । कला, संगीत, फिल्मका उद्यानहरूमा हराऊन् । अन्तर्राष्ट्रिय फिल्म निर्माता, स्क्रिप्ट लेखक र क्यामराम्यान आएर कक्षाहरू लिऊन् । ‘लिच्छवि हाउस’ नामको परियोजना कोभिडकालीन समयमा प्रभावित भयो । अब भने यो रोकिने छैन । उनको ठम्याइमा यो परियोजना एक वर्षभित्र सम्पन्न हुनेछ । ‘त्यहाँ युवालाई चिन्तन गर्ने, सिर्जनात्मक हुने, संस्कृतिलाई जोगाउने र भविष्यमा अन्वेषण गर्ने सुविधा मिलोस् भन्ने चाहेको छु,’ प्रसन्न भावमा उनी भन्छन् ।
