नेपालमा कथा खोज्दै ‘डाकिनी’ निर्देशक

बौद्ध धर्मका अग्रणी गुरु खिन्सेका फिल्म अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाइएका छन्, तिनले निकै चर्चा कमाएका छन् 

असार २०, २०८२

समर्पण श्री

'Dakini' director looking for stories in Nepal

काठमाडौँ — ‘अन्तर्राष्ट्रियस्तरमा सुनिनुपर्ने थुप्रै मौलिक कथा छन् नेपालमा,’ दुई वर्षअघि काठमाडौंमा आयोजित ‘मास्टरक्लास’ मा निर्देशक खिन्से नोर्बु रिम्पोछेले भनेका थिए । त्यतिबेला नेपालको भूगोलभित्र खिचिएको उनको फिल्म ‘डाकिनी’ नेपाली दर्शकमाझ भर्खरै पुगेको थियो । ‘लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मस्टाच’ अर्थात् ‘डाकिनी’ मा मुग्ध दर्शकका निम्ति उनका कुरा साँच्चै मनप्रिय थिए । 

खिन्से यतिबेला ती मौलिक कथामा दृश्यको रङ पोतिरहेका छन् । सुटुक्क नेपाली टिम र कलाकारसँग उनी आफ्नो नयाँ फिल्म ‘बहुरुपिया’ मा काम गरिरहेका छन् । काठमाडौंको बौद्धमा कुराकानी गर्ने क्रममा उनले खुलाए, ‘अहिले म धेरै नेपाली युवासँग काम गरिरहेको छु । यो अनुभव निकै रमाइलो छ । ती युवा असाध्यै सिर्जनात्मक, व्यावसायिक र सक्षम छन् ।’ ‘बहुरुपिया’ को कथाबारे उनले यति मात्रै भने, ‘म सारांश दिनमा त्यति अब्बल छैन । सारांश दिनु पनि एउटा कला हो, होइन र ?’

एउटा स्वीकारोक्तिसहित उनले परिचित मुस्कान पोखे र कथासार सुनाए, ‘फिल्म एक यस्तो बहुरुपियाको कथा हो, जो भगवान् बनेर नाच्छ, अभिनय गर्छ । तर अबको दुनियाँमा उसले बाँच्न संघर्ष गर्नुपर्छ, जहाँ उसको प्रस्तुतिको मूल्य कसैले दिँदैन ।’

'Dakini' director looking for stories in Nepalसहरका भूगोलमा फिल्म खिचिरहँदा उनी अरू कथा पनि नियालिरहेका छन् । ‘नेपालमा यति धेरै कथा छन् कि म कहाँबाट सुरु गरुँ भनेर अलमलमा पर्छु,’ इतिहास, स्मृति र पौराणिक समयमा विचरण गर्दै खिन्से गम्छन्, ‘पौराणिक कथा त खोतल्नै पर्दैन । खासमा नेपालको दैनिक जीवनमै गहिरा कथा लुकेका छन् ।’ ती महत्त्वपूर्ण कथाहरू विश्वलाई देखाउन आवश्यक रहेको औंल्याउँछन् उनी । लाग्दो हो, नेपालको जीवनशैली र जनजीविकाका कुरासँग भुटानमा जन्मेका रिम्पोछे कसरी परिचित छन् ? १३ वर्षको उमेरमा उनी पहिलो पटक नेपाल ओर्लिएका थिए । त्यसपछि त्यो क्रम दोहोरिरह्यो । त्यसकारण उनी नेपाली समाजको निःसंकोच प्रशंसा गर्छन्, ‘वाह !’ अनि थप सिलसिला जोड्छन्, ‘नेपालीहरू साँच्चिकै सहनशील छन् । मलाई यस्तो लाग्छ कि पूरा संसार नै ध्वस्त भए पनि नेपाल आफ्नो बाटो चलिरहन्छ ।’ 

धेरै पटक नेपाल आउँदा नेपालीहरू लोडसेडिङसँग जुधिरहेको क्षण उनलाई सम्झना छ । ठमेलका सडकमा हिँडिरहँदा उनी जेनेरेटरका कर्कश आवाज सुन्थे । ‘तर मानिस त्यसमा पनि आत्तिएनन् । जीवन चलाउन र चल्न सिके । जटिलतासँग यसरी जुध्न सक्नु निकै विशेष कुरा हो । यस शैलीको म एकदमै सम्मान गर्छु,’ १३ औं शताब्दीदेखिका कला परम्परा उधिन्दै उनले दाबी जसरी सुनाए, ‘यो त नेपालीको वंशाणुगत संरचनामै छ ।’ 

नेपालका कला र मौलिकताबारे उनका केही चिन्ता पनि छन् । भन्छन्, ‘गुगल, विकिपिडिया, सोसल मिडिया जस्ता प्लाटफर्महरूको वृद्धिसँगै हामीले बाहिरी सामग्री धेरै खपत गर्न थालेका छौं । यस्तो खालको सामग्रीले हामीभित्रको मौलिकता कमजोर हुन सक्छ ।’

नेपाली समाज र परम्परालाई नजिकबाट नियालिरहेका खिन्से नेपाली सिनेमाबारे भने आफू उतिधेरै जानकार नभएको बताउँछन् । तर पछिल्लो समय आफूले यहाँका चलचित्र अभ्यासबारे बुझ्न थालेको सुनाउँछन् । 

'Dakini' director looking for stories in Nepalतस्बिरहरू : सुर्याम्स उप्रेती

बौद्ध धर्मका अग्रणी गुरु खिन्से आफूलाई न गुरु मान्छन् न फिल्ममेकर नै । तैपनि उनका फिल्म विश्वभर छरिएका छन् । सन् १९९९ मा पहिलो फिल्म ‘द कप’ विश्व प्रसिद्ध फिल्म महोत्सव क्यान्समा देखाइएको थियो  । यो फिल्म भारतस्थित तिब्बती शरणार्थी शिविरमा रहेको बाल भिक्षुमा केन्द्रित थियो । त्यसपछि उनले ‘ट्राभलर्स’, ‘म्याजिसियन’, ‘भारा’ जस्ता अन्तर्राष्ट्रियस्तरका फिल्म बनाए । उनले बनाएको फिल्म ‘हिमा हिमा : सिङ मि अ सङ ह्वाइल आई वेट’ भने सन् २०१६ मा टोरन्टो र लोकार्नो जस्ता ख्याति प्राप्त अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा देखाइएको थियो । फिल्ममात्र होइन, बौद्ध दर्शनबारे उनले लेखेको चर्चित पुस्तक ‘ह्वाट मेक्स यू नट अ बुद्धिस्ट’ को ख्याति पनि उत्तिकै छ । उनका आधा दर्जन पुस्तक प्रकाशित छन् । 

पहिलो फिल्म ‘द कप’ मा खिन्सेले नन–एक्टरसँग काम गरेका थिए । सुन्दर सहकार्यको प्रतिफलले होला, पर्दामा उनीहरूको कला जीवन्त देखिएको थियो । ‘तपाईंका सुरुवाती फिल्महरूमा व्यावसायिक कलाकार थिएनन् । साधारण मानिस नै कलाकार थिए । तपाईंलाई नन–एक्टरहरूसँग काम गर्न बढी सहज लाग्थ्यो ?’ यस प्रश्नमा उनले भने, ‘सुरुमा त मसँग व्यावसायिक कलाकारहरू थिएनन्, जो उपलब्ध थिए, उनीहरूसँगै काम गरें । अहिले मसँग प्रशिक्षित र अनुभवी कलाकारहरूको एक उत्कृष्ट टोली छ । सायद यो पहिलो पटक हो, जहाँ स्क्रिनमा देखिएका अधिकांश पात्र व्यावसायिक छन् ।’

खिन्से आफ्नो टिमलाई पूर्ण नियन्त्रण गर्दैनन् । उनीहरूलाई सिर्जनात्मक स्वतन्त्रता दिन्छन् । उनी आफ्नो टिममाथि विश्वास गर्छन् । ‘कलाकारहरू सक्षम छन्, क्यामरा टिम उत्कृष्ट छ, अनि समग्र टिम नै दक्ष छ भने म तिनीहरूलाई नियन्त्रण गर्दिनँ । नियन्त्रण गरें भने बाधा भइन्छ । म उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छु ।’ 

'Dakini' director looking for stories in Nepalखिन्सेको फिल्म निर्माणमा आफ्नै शैली छ । उनी फिल्म बुझाउनका लागि मेकरले साझा भाषा खोज्नुपर्नेमा विश्वास गर्छन् । किनकि दर्शक फरक–फरक पृष्ठभूमिका हुन्छन् । ‘मैले जस्तो सोचें, त्यस्तै भनियो भने त तपाईंले बुझ्न सक्नु हुन्न । निर्देशकले भन्न खोजेको कुरा र दर्शकले बुझ्ने कुरा बीचको सन्तुलनमा बसेर कथा वाचन गर्नुपर्छ,’ उनी भन्छन्, ‘दर्शकलाई सन्तुष्ट पार्नका लागि फिल्म बनाउन सजिलो छ । तपाईंलाई जस्तो चाहिएको हो, म दिन सक्छु । तपाईंको लक्ष्य केवल पैसा हो भने त्यो सही हुन सक्छ । तर मेरा लागि कथावाचन त्योभन्दा माथि जानुपर्छ ।’ ‘आरआरआर’ जस्ता स्क्रिप्टलाई ‘सुन्दर तरिकाले लेखिएको खराब स्क्रिप्ट’ मान्छन् उनी । जहाँ एक जनाले हजार जनाको ज्यान लिन्छ । ‘त्यो रमाइलो लाग्छ, तर सत्य कहाँ छ ?’ उनी मन्द हाँसोसाथ प्रश्न गर्छन् । 

आफ्ना अघिल्ला फिल्महरूमा खिन्सेका आत्मस्वीकृति छन्, ‘दर्शकबारे खासै नसोचेर, केवल आफूभित्रको कुरा देखाउने गरी फिल्म बनाएँ ।’ उनकै अनुभवमा धेरैले फिल्म बुझेनन्, कति त फिल्म हेर्दाहेदै निदाए । ‘मेरो एउटा फिल्म ३८ वटा फेस्टिभलले अस्वीकार गरे । सायद पहिलो सिन नै हेरेर होला, जुन लामो, स्थिर वाइड शट थियो । मेरा लागि त्यो दृश्य रोचक थियो, तर धेरैका लागि सहन गाह्रो,’ उनी सुनाउँछन् ।

'Dakini' director looking for stories in Nepalबौद्ध धर्मका अग्रणी गुरु भए पनि खिन्सेका फिल्ममा बुद्धका कथा खासै अटाएका छैनन् । उनलाई गहिरिएर हेर्ने दर्शकलाई लाग्छ पनि, ‘बुद्धबारे फिल्म नबनाई किन सांसारिक फिल्म बनाइरहेछन् !’ खिन्से यस जिज्ञासाको जवाफमा केही खुलासा गर्छन् । उनले २० वर्षअघि नै बुद्धको जीवनमाथि फिल्मको स्क्रिप्ट तयार पारेका रहेछन् । तर अहिलेसम्म किन थाती रह्यो त ? ‘मेरो प्रमुख उद्देश्य नै बुद्धको जीवनमाथि फिल्म बनाउनु हो । तर यो अन्य फिल्मजस्तो छैन । ठूलो बजेट अनि कठिन कथा,’ उनी प्रस्ट्याउँछन्, ‘बुद्धलाई धेरैले माया गर्छन् । मानिसहरूको अपेक्षा पनि उच्च हुन्छ । त्यो बनाउन सजिलो छैन ।’ अब एआईको समय छ । प्रविधिमा उनले कठिन मानेका कुरा बिस्तारै सहज बन्दै गएका छन् । ‘अब त म सजिलै २ हजार वर्षअघिको कपिलवस्तु सिर्जना गर्न सक्छु । सायद अब त्यो सम्भव होला,’ उनी आशावादी सुनिन्छन् ।

'Dakini' director looking for stories in Nepalखिन्सेसँग अरू केही महत्त्वाकांक्षी योजना पनि छन् । जस्तो कि काठमाडौंमा उनी एउटा शान्त थलो निर्माण गरिरहेका छन्, जहाँ बसेर चित्रप्रेमीहरूले रहरका रङ भरून् । कला, संगीत, फिल्मका उद्यानहरूमा हराऊन् । अन्तर्राष्ट्रिय फिल्म निर्माता, स्क्रिप्ट लेखक र क्यामराम्यान आएर कक्षाहरू लिऊन् । ‘लिच्छवि हाउस’ नामको परियोजना कोभिडकालीन समयमा प्रभावित भयो । अब भने यो रोकिने छैन । उनको ठम्याइमा यो परियोजना एक वर्षभित्र सम्पन्न हुनेछ । ‘त्यहाँ युवालाई चिन्तन गर्ने, सिर्जनात्मक हुने, संस्कृतिलाई जोगाउने र भविष्यमा अन्वेषण गर्ने सुविधा मिलोस् भन्ने चाहेको छु,’ प्रसन्न भावमा उनी भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully