पण्डित राखेर विधिपूर्वक पूजा गरेपछि चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तको सल्लाहमा छावाको नाम ‘विनम्रकली’ राखिएको हो। तीर्थमानकलीको तेस्रो सन्तानका रूपमा विनम्रकली जेठ ३० गते जन्मिएको हो।
चितवन — सौराहा आडको खोरसोर हात्ती प्रजनन केन्द्रमा मंगलबार नयाँ जन्मिएको छावा (हात्तीको बच्चा)को न्वारनको तयारी भइरहेको थियो। छावा जन्मिएको १२औँ दिनमा हुने न्वारन खोरसोरका लागि नयाँ होइन। लगभग तीन महिनाअघि चैत २० गते पनि खोरसोरमा छावाको न्वारन गरिएको थियो।
तर मंगलबार अलि फरक पोथी छावाको न्वारन हुँदै थियो। खोरसोरमा ‘कली’ अर्थात् पोथी छावा नजन्मिएको लामो समय भएको थियो।
‘साढे तीन वर्षपछि बल्ल खोरसोरमा पोथी छावा जन्मियो। यो बीचमा लगातार तीन–चार वटा भाले छावा जन्मिँदा भाले नै जन्मन्छ कि जस्तो लागेका थियौँ। तर पोथी जन्मिँदा खुसी लाग्यो,' खोरसोर हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले भने। पण्डित राखेर विधिपूर्वक पूजा गरेपछि चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तको सल्लाहमा छावाको नाम ‘विनम्रकली’ राखिएको हो।
तीर्थमानकलीको तेस्रो सन्तानका रूपमा विनम्रकली जेठ ३० गते जन्मिएको हो। यसअघि तीर्थमानकलीबाट एक भाले रामसारगज र एक पोथी सिमसारकली जन्मिएका छन्। हात्तीको नाममा भाले भए ‘गज’ या ‘प्रसाद’ र पोथी भए ‘कली’ या ‘माला’ जोड्ने चलन छ। पोथी हात्ती प्रायः १० वर्षको भएपछि गर्भवती हुने केन्द्र प्रमुख चौधरीले बताउँछन्। गर्भाधान भएको २२ महिनापछि छावा जन्मिन्छ।
छावा जन्मेपछि विधिपूर्वक न्वारन गर्ने परम्परा पूरानै हो। पहिले पहिले हात्तीको छावा जन्मिँदा न्वारन खोरसोरमा भए पनि नाम दरबारबाटै तय हुने गर्थ्यो। २०६२/६३ को जनआन्दोलनपछि त्यो क्रम टुटेको हो। २०६३ सालको जेठ ११ मा जन्मिएको छावालाई दरबारबाट होइन, निकुञ्जका अधिकारीबाटै ‘लोकतन्त्रकली’ नाम दिइएको थियो। लामो समयपछि खोरसोरमा पोथी छावा जन्मिँदा निकुञ्ज प्रमुख पन्त पनि हर्षित देखिएका थिए।
‘तीन–साढे तीन वर्षयता पोथी बच्चा पहिलो पटक जन्मिएको हो। केन्द्रका लागि पोथी भए राम्रो हुन्छ। किनभने यहीँबाट हात्ती उत्पादन गरेर प्रयोगमा ल्याउने हो। भाले मात्रै भए प्रजननका लागि त्यति उपयुक्त हुँदैन,' प्रमुख संरक्षण अधिकृत पन्तले भने। निकुञ्जका तथा अन्य निजी तवरमा पालेका पोथी हात्तीहरू जङ्गली भाले हात्तीबाट गर्भवती हुने गरेका छन्।
चितवन निकुञ्जमा डुल्ने जङ्गली भाले हात्तीहरू ‘रोनाल्डो,' ‘ध्रुवे,' ‘गोविन्दे’बाट यहाँका पोथी हात्तीहरूमा गर्भाधान हुँदै आएको छ। घरमा पालेका भाले हात्तीबाट गर्भाधान भएर बच्चा जन्मिएको खासै नभएको प्रजनन केन्द्र प्रमुख चौधरीको भनाइ छ। त्यसैले पोथी छावा जन्मनु राम्रो भएको उनले बताएका छन्। पछिल्लो समय लगातार जसो भाले छावा जन्मनु सोचनीय विषय भएको निकुञ्ज प्रमुख पन्तको भनाइ छ।
‘खै किन यस्तो भइरहेको छ? यसको अध्ययन हुनु जरुरी देखिन्छ। कतै जलवायु परिवर्तनको असरले गर्दा हात्तीमा भाले–पोथी बच्चाको अनुपात पहिलाको भन्दा फरक आएको त होइन? यो अनुमानको विषय हो। यसमा अध्ययन आवश्यक छ,' पन्तले भने। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहने गरेर खोरसोरमा विसं २०४४ मा हात्ती प्रजनन केन्द्र स्थापना गरिएको हो। त्यसयता हालसम्म ६७ वटा बच्चा जन्मिएको केन्द्र प्रमुख चौधरीले जानकारी दिए।
निकुञ्जका सरकारी हात्ती गस्ती लगायत संरक्षण प्रयोजनमा प्रयोग गरिन्छन्। चितवनसहित बाहिर पनि यहाँबाट हात्ती पठाउने गरिएको छ। चितवन निकुञ्जमा मात्रै हाल ५७ वटा हात्ती रहेको र तीमध्ये ३१ वटा भाले र २६ वटा पोथी रहेको चौधरीले बताए। पोथीभन्दा भाले हात्ती धेरै हुँदै गएका बेलामा केन्द्रमा पोथी हात्ती जन्मँदा सबै खुसी भएको उनले बताएका छन्।
