हिजोआज नारायणगढ यति व्यस्त र होहल्लाले भरिएको छ कि नजिकै बोलेको सुन्न पनि कानलाई चनाखो राख्नुपर्छ । रामुले आफ्ना बाबु कटुवाल हुँदाताकको समय सम्झिँदै भने, ‘बाले एउटा चोकमा उभिएर कराएको खबर चारैतिर सुनिन्थ्यो ।’
चितवन — भरतपुर नगरपञ्चायतको श्यामश्वेत दृश्यदेखि भरतपुर महानगरपालिकाको चकमक उज्यालोसम्मका सबै दृश्य सम्झनामा छन्, रामु परियारसँग ।
२०२२ सालमा तनहुँको मनपाङबाट उनका बाबु निर्मल वैधकोटी (परियार) अवसरको खोजीमा यता आएका थिए । तत्कालीन नारायणगढ गाउँपञ्चायतमा कटुवाल बनेर उनले धेरैलाई धेरै खबर सुनाए । यिनै निर्मलका कान्छा छोरा रामु अहिले बदलिँदो सहरको साक्षी भएका छन् ।
तत्कालीन नगरपञ्चायतले नै वृक्षारोपण गरेको नगर वनमा २०४७ सालमा वन हेरालुको जागिर खाएका थिए रामुले । तीन वर्षपछि उनले जागिर बदले । भरतपुर महानगरपालिका-३ को कार्यालय नारायणगढ बजारकै व्यस्त पुल्चोकदेखि लगभग डेढ किलो मिटर तल पश्चिममा छ । अहिले यही अफिसमा चार वर्षदेखि कार्यालय सहयोगीको भूमिकामा छन्, ५५ वर्षीय रामु । उनी घर आडैको वडा कार्यालयमा सरुवा भएर आउनुभन्दाअघि उनी भरतपुर नगर कार्यपालिका कार्यालयमा थिए ।
उनी कार्यालयमा आएका पत्र दर्ता गर्छन्, चलानी नम्बर राख्छन्, फाँटबाट आउने निर्देशन पूरा गर्छन् । तर यही काम गर्दागर्दै उनले तीव्र गतिमा फेरिएको यो सहरको बदलिँदो आयामलाई नियालेका छन् । कुन चोक कसरी फेरियो, सहर कुन भागतिर कसरी फैलियो र कुन गुल्जार चोक हेर्दाहेर्दै सुनासान बन्न थाल्यो सबै हिसाब उनले राखेका छन् ।
पुल्चोकको पश्चिम नदी किनारको बाटो छेवैमा छ शताब्दी पुग्न लागेको एउटा पुरानो चौतारो । यो चौतारोमा कुनै समय कति धेरै पैदलयात्रु र भरिया सुसाउँथे भन्ने सम्झनादेखि अहिलेको व्यस्त पुल्चोक वरपर कति घर थिए भन्नेसम्मका सम्झना उनीसँग छन् । ‘मैले जान्दासम्म पनि त्यहाँ जम्मा ६ घरहरु थिए । दुईवटा टायलले छाएका र अरु खरको छाना भएका,’ उनी पुराना दिन सम्झिन्छन् ।
ती ६ मध्ये एउटा घर रामुको थियो । खरले छाएको अनि सालको फलेकले बारेको । २०२७ सालमा यही घरमा जन्मेमा रामुले यही चौतारो र नारायणी नदीको संगता बाल्यकाल बिताए । नारायणीको कञ्चन पानी गाग्रीमा उभाएर ल्याएर खाए । उनले सुनाए, ‘बर्खामा नदीकै पानी खान्थ्यौं । गाग्रीको मुखमा सुतीको कपडा राखेर धमिलो पानी छान्थ्यौं । छानेको पानीमा फिटकिरी राखेर शुद्ध पारिन्थ्यो ।’ तर पानी पिउने यही नारायणी नदी उनले हेर्दा हेर्दैअर्कै भयो । उनले सुनाए, ‘अहिले त बर्खाको भेलको धमिलो नारायणीको के कुरा हिउँदमा पनि पिउन योग्य पानी हुँदैन । अहिले त नारायणीको पानीमा मान्छेले हात खुट्टासमेत हम्मेसी धुँदैनन् ।’
हिजोआज नारायणगढ यति व्यस्त र होहल्लाले भरिएको छ कि नजिकै बोलेको सुन्न पनि कानलाई चनाखो राख्नुपर्छ । रामुले आफ्ना बाबु कटुवाल हुँदाताकको समय सम्झिँदै भने, ‘बाले एक चोकमा उभिएर कराएको खबर चारैतिर सुनिन्थ्यो ।’ उनका बाले त्यतिबेला बेलचोक, सहिद चोक, लीला चोक, पुतली बजार, जहाँ अलिक झुरुप्प घर थिए त्यहाँ मात्रै बेस्सरी चिच्याउँथे । ‘अहिले त होहल्ला मात्रै छ,’ रामु भन्छन् ।
नारायणीमा पुल नभएकाले ठूला डुंगाबाट ओहोरदोहोर गर्नुपर्थ्यो । रामु पनि ३०/३५ जना मान्छे बोक्ने त्यही डुंगाबाट चढेर कहिलेकाहीँ नारायणी तर्थे । वडाको कर्मचारी भएकाले बाबुले एकफेर डुंगाको कर उठाउने काम गरेको घुर्मैलो सम्झना पनि रामुसँग छ । उनका अनुसार त्यतिबेला तत्कालीन गाउँ पञ्चायतले एउटा डुंगाबाट २०/२५ पैसा कर उठाउँथ्यो ।
२०४२ सालमा नारायणी नदीमा पुल बन्नुभन्दा अघि त्यसभन्दा एक किलोमिटर पूर्व लीला चोकमा चहलपहल हुन्थ्यो । यात्रुहरु लीला चोकबाटै डुंगा चढेर नदीपारि जानेआउने गर्थे । नारायणी नदीमा भैंसी आहाल बसाउन लगेको बेलाको एउटा सम्झना रामुको मनमा ताजै छ । तिथिमिती त उनको सम्झनामा छैन तर त्यस दिन उनले नदी किनारबाटै नारायणी नदीमा डुंगा ढलपल ढलपल गर्दै दुर्घटनामा परेको देखे । रामुका अनुसार त्यतिबेला नारायणी नदीमा पुल बन्न पिल्लर बनाउने काम भइरहेको थियो ।
बन्दीपुर र अन्य पहाडी जिल्लाबाट बसाइँ सर्नेहरुका कारण यो सहरको रौनक फेरिन थालेको थियो । रामुले कसरी हेर्दाहेर्दै पुल्चोक बजार क्षेत्रमा परिणत भयो भनेर सुनाए । सुरुमा त ससाना घर मात्रै थिए । बन्दीपुरबाट आएका साहुहरुले इँटाको गारो भएको घर बनाएको उनले देखेका छन् । बजार बढ्दै जाँदा विस्तारै माटोको जडानले इँटाको गारो, काठका लामा र मोटा चौकस राखेर तला बनाइने ‘कडी पाते’ छत भएका घर बन्न थाले । उनले २०५० सालपछि मात्रै सहरमा कंक्रिटका घर थपिने क्रम बढ्न सुरु भएको र जग्गा किनबेच मौलाउन थालेको बताउँदै भने, ‘त्यसपछि त नारायणगढ छिटोछिटो फेरिन थाल्यो ।’
४० को दशकसम्म मोटरगाडीभन्दा धेरै साइकल र मान्छेले नै पाइडल चलाएर मान्छे बोक्ने तीन पाङ्ग्रे रिक्साको ताँती देखिने सहरमा बिस्तारै साइकल र रिक्साको संख्या घट्दै गए । गाडी, अटो रिक्सा र मोटरसाइकलको संख्या थपिए । बदँलिदो यो दृश्यको साक्षी रामुले यहाँ अरु धेरै परिवर्तनलाई नजिकबाट देखेका छन् । जस्तो कि, कुनै समय ठेउवा भन्ने आकासे निलो रङका चरा उनी नारायणीका छेउछाउमा खुबै देख्थे । मकैबारीमा सुँगाको हुल देख्थे अनि लाटोकोसेरोको बथान देख्न कुनै साइत कुर्नु पर्दैनथ्यो । तर अहिले त यस्तो सम्झनाका कुरा पनि मान्छेलाई पत्याउन मुस्किल पर्छ । उनले भने, ‘यहाँ मान्छे त बढे तर चरा हराए ।’
२०१३ सालमा बस्ती विकास कार्यक्रम सुरु भएपछि बदलिन थालेको नारायणगढ आसापसको क्षेत्र २०७४ पछि झनै तीव्र स्वरुपमा बदलिएको छ । स–साना बाटा फराकिला भएका छन् अनि कालोपत्रे सडक गाउँगाउँसम्मै फैलिएको छ । 
तीव्र रुपमा सहरीकरण भएपछि नारायणगढ आसपासका खानेपानीका स्रोत सुक्दै गएको पनि उनले देखेका छन् । रामुका बाबुले २०४२ सालमा नारायणी छेवैको घरमा बसाइँ सरेपछि २४ फिट पाइप गाडेर धारा हालेका थिए । तर ६ वर्ष भयो त्यो धारा सुक्न थालेको । अहिले सरकारी धाराबाट पानी त आउँछ तर चरा हराएको, पानी सुक्न थालेको र नारायणी नदीको पानी मैलिन थालेको देख्दा उनको मनमा ख्याल आउँछ, यो विकास हो कि मान्छेको मनपरी ?
बदलिएका धेरै कुराले उनको मन चस्स बनाउँछ । तर एउटा कुरामा भने उनी सन्तोकको अनुभव गर्छन् । जस्तो कि पहिले पहिले उनी प्रत्येक पाइलामा छुवाछुतको नमिठो अनुभव गर्थे । उनले सुनाए, ‘कसैको घर जाँदा हामीलाई जात मिलेर भनेर पिँढीमा उक्लन छेक बार लाउँथे । भाडा छोए पखाल्नुपर्ने, होटलमा चिया खाए पनि गिलास माझेर अलक्क सुक्ने गरेर राख्नुपर्ने ।’ तर भेदभावको यो चरम स्वरुपमा भने अहिले बदलिएको ठान्छन् उनी ।
समयक्रममा नारायणगढले काँचुली फेर्यो । यहाँका मान्छे बदलिए । रामुकै जीवनमा पनि घामछाया चलि नै रह्यो । स्नातक उत्तीर्ण जेठो छोरा र १० कक्षा पढेका कान्छो छोरा नगर सेवाको जागिरमा प्रवेश गरेकामा रामुलाई सन्तोक छ । तर यो सहर जति छिटोछिटो बदलियो त्यही गतिमा आफ्नो जीवनका दुःख र संघर्ष बदलिन नसकेको चिन्ता भने उनीसँग छ । उनले कुराकानीको बिट मार्दै भने, ‘बजार त कहाँबाट कहाँ पुग्यो । तर हाम्रो हालत उही कान्लामुनिको भ्यागुतो कान्लैमुनि भनेझैं ताल छ ।’
