'म एउटा पत्रिका बेच्ने साधारण मान्छे मात्र भएँ तर मेरो जीवनको कथा र अस्तित्व त धरानले लेखिदिएको जस्तो लाग्छ'
धरान — साढे तीन दशकमा देशमा केके बदलियो ? केके बदलिएन ? यो प्रश्नको उत्तर अनेक तरिकाले दिन सक्छन्, धरानका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठ । उनी कुनै दलका नेता होइनन्, कुनै अनुसन्धानकर्मी होइनन् तर पनि परिवर्तनका मसिना तिथिमिति र नेपाली समाजको बदलावका अनेक घटनाबारे जानकार छन् । नहुन् पनि किन, पछिल्ला ३६ वर्षयता उनी निरन्तर एउटै परिचयमा बाँचेका छन्, हकर ।
धरानमा जन्मेर पनि कृष्णभक्तले लाहुरे हुने सपना देखेनन् । किनकि २००८ सालमा जन्मिएका उनी ६ महिनामै कोक्रोबाट लडेका थिए । त्यतिबेलै उनको खुट्टा भाँचिएको थियो । समयमै उपचार नभएकाले यही घटनापछि उनको दुवै खुट्टाको सन्तुलन गुम्यो । कृषक बाबुका छोरा कृष्णले १० कक्षाभन्दा माथि पढ्ने अवसर पनि पाएनन् । अपांगताकै कारण बाबुसँगै खेतीपातीमा पनि उनी रम्न सकेनन् । रेल्वे गाउँबाट धरान झरेर उनी हकर भए । त्यसयताको बदलिएको नेपालका हरेक खबरका उनी पाठक त भए नै, चोकचोक घुम्दै पत्रिका बेच्ने भएकाले बदलिँदो धरानको साक्षी पनि भए ।
बोलीचालीमा उनले धरानको सबैभन्दा पुरानो हकरको परिचय पाएका छन् । तर यो पहिलोसँग उनको उनको लगाव भने छैन । बरु उनी हेर्दाहेर्दै पत्रिका कतिबेला आउँछ र देश दुनियाँको खबर थाहा पाइन्छ भनेर कुरिबस्ने धरानेहरु मोबाइलमा झुन्डिन थालेको दृश्यको साक्षी भए ।
एक समय त यस्तो थियो, कृष्णलाई पत्रिका बेच्न भ्याइनभ्याइ थियो । धरानको पुरानो बजार, छाता चोक, रत्नरोड उतिबेलाका धरानका मुख्य बजार थिए । त्यहाँ थिए, मैनाली पुस्तक पसल र अन्य किताब पसलको लाइन । त्यहाँ एकबिहानै अखबार पढ्न आउनेको भिड लाग्थ्यो । अहिले धरानको चमकधमक भानुचोकको गतिबाट थाहा हुन्छ ।
'तर त्यतिबेला त भानुचोक अहिलेजस्तो कहाँ हुनु,' उनले सुनाए, 'भानुचोक त्यतिबेला सुनसान थियो ।' २०४५ सालको विनाशकारी भूकम्पले धरानमा पुर्याएको क्षति र मृतकको सम्झनामा हङकङ र मकाउका आप्रवासी नेपालीले हङकङको घण्टाघरमा आधारित भएर करिब ५६ लाखमा खर्चेर २०४८ सालमा भानुचोकमा घण्टाघर ठड्याए । अनि त भानुचोक चम्किन थाल्यो । उनले सुनाए, 'कति छिटो समय बद्लिएजस्तो लाग्छ, पहिला सुनसान त्यो भानुचोकका गल्लीहरुमा अहिले भिडभाड छ ।'
कृष्णलाई स्पष्ट सम्झना छ, माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला र जनआन्दोलनताक अखबारको बिक्री उत्पात थियो । किनकि खबरका अरु माध्यम पनि थिएनन् । उनले सुनाए, 'आज के समाचार छ, कहाँ के भयो, हिरोहिरोइनले केके गर्दैछन्, कुन फिल्म लाग्दैछ, त्यसमा ककसले खेलेका छन् भन्नेसम्मका विषयमा मानिसमा कौतूहल थियो । त्यसलाई मेटाउने एउटै माध्यम पत्रिका थियो ।'
सुरुमा ११ वडा मात्र रहेको धरानलाई २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाँउ पञ्चायत र पश्चिमतर्फ रहेको घोपा गाउँ पञ्चायतको केही क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो । २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचकन्या गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २३ वडा कायम गरेकोसम्मका घटनाका साक्षी हुन् कृष्ण ।
२०७१ मंसिर १६ मा भने विष्णुपादुका गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरी धरान उपमहानगरपालिमा बढोत्तरी भयो । धरानलाई कृष्णले अखबारका समाचारमार्फत चिनेका छन् अनि पैदलै यसका चोकचोक घुमेर बुझेका छन् । उनले पूर्वी पहाडी जिल्ला जाने मुख्य रुटका रुपमा धरानको चहलपहल देखेका छन् अनि पहाडी क्षेत्रबाट कैयौं दिन पैदलै नुन किन्न आउनेहरुको दु:ख पनि । उपचारको खोजीमा धरान झरेकादेखि यहीँ बसेर भविष्य खोजिरहेकासम्म सबैसबैलाई देखेका छन् उनले । बदलिँदो धरानको साक्षी उनले सुनाए, 'हेर्दाहेर्दै धेरै कुरा बदलियो ।'
माओवादी द्वन्द्वको उत्कर्षमा हकर काम गर्न पनि उनलाई आपत परेको थियो । उनले लुकीछिपी पत्रिका बेच्थे । त्यतिबेलाको समय सम्झिँदै उनले सुनाए, 'बाटो-बाटोमा माओवादीका मान्छेहरु भेटिनथ्यो । तिनीहरुले मलाई कमरेड-कमरेड भनेर बोलाउथे । जबकि म स्वतन्त्र थिएँ ।'
हकर भएकैले उनी देश दुनियाँको खबर पाठकहरुले भन्दा छिटो पाउँथे । त्यही भएर कहाँ के हुँदै छ भन्नेदेखि ठूलासाना सबै नेता उनले सजिलै चिन्थे । जनआन्दोलनताक त उनलाई अखबार बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अंगालोभरिको पत्रिका एकैछिनमा बेचेर सकिनथ्यो । स्थानीयदेखि राष्ट्रिय सबै पत्रपत्रिका बेच्दा उनी एक समय मासिक १५ हजार सजिलै कमाउँथे । उनले सुनाए, 'पत्रिकाको मूल्य ३ रुपैयाँ भएका बेला त्यति कमाइ सानो थिएन ।'
इन्टरनेट घर-घरमा र मोबाइल हात-हातमा पुगेपछि पत्रिका पढ्नेहरु घटे । कृष्णको काम पनि घट्यो अनि कमाइ पनि । धरान-१६ स्थित पार्वती टोलमा ३५ सय कोठामा भाडा तिरेर बुढेसकालका दिन बिताइरहेका कृष्ण हिजोआज हरेक महिना बत्ती, पानी र बिजुली गरेर तिर्नुपर्ने झन्डै ५ हजार रुपैयाँ र अन्य खानपान खर्च कसरी जुटाउने भन्ने चिन्तामा हुन्छन् । बिहे गरेर घर गइसकेका ३ छोरीहरुले बेलाबखत उनलाई सम्झिन्छन् र दु:ख घटाइदिन्छन् । उनले भावुक हुँदै सुनाए, 'उतिबेला मैले जग्गा जमिन जोड्न पाइनँ, अलिकति सम्पत्ति जोडेको भए आफ्नै घर हुन्थ्यो होला । आज अर्काको घरमा भाडामा बस्नुपरेको छ ।'
धरान खोलाका बगर र घना जंगलबाट सहरमा बद्लियो । अखबार पढ्नेहरु मोबाइलमा रत्तिने भए । तर कृष्णलाई आफ्नो जीवन झन्-झन् खराब हुँदै गएझैं लाग्छ । सबैथोक बदिलए पनि कृष्णको मेहनती स्वभाव बदलिएको छैन अनि उनको पेसा पनि ।
पत्रिकादेखि डिजिटल युग आइपुग्यो तर कुष्णको जीवन भने कहिल्यै परिर्वतन भएन । झन् झन् बत्तर हुँदै गयो । सहर बद्लिएर नयाँ भए तर गरिबी र पुरानै रहनसहनले उनको जीवनमा केही नयाँ परिवर्तन ल्याएन । उनी अहिले पनि उस्तै छन् सरल, सादा र मेहनती ।
पहिलेजस्तो उनलाई टोलटोलमा हिँडेर जानु पर्दैन । धरानमा गाडी नपुग्ने ठाउँ नै कहाँ छ र ? उनले सुनाए, 'पहिला कहाँ यस्तो सुविधा थियो र ! गाडी नै नदेखेको मैले अहिले बाटो-बाटोमा सवारी साधनको चाप देख्छु । पहिले र अहिलेको धरानमा आकाश पातलको फरक छ नि ।'
कृष्णले मेहनती, सरल र असल मानिसको परिचय बनाएका छन् । भन्छन्, 'म एउटा पत्रिका बेच्ने साधारण मान्छे मात्र भएँ तर मेरो जीवनको कथा र अस्तित्व त धरानले लेखिदिएको जस्तो लाग्छ ।'
