‘आज यो सहर हेर्छु । सपनाजस्तो लाग्छ । घरिघरि त आफैं झुक्किछु पो ! मैले जीवन बिताएको काँकरभिट्टा यही हो ?,’ उनी हाँस्दै भन्छन्, ‘आज यो सहर होइन । म नौलो भएको छु । बाटो बिराएर कतै आइपुगेको बटुवा जस्तै । मान्छेले मलाई चिन्दैनन् । उल्टै बाहिरफेर निस्किँदा कहिले आउनुभयो नि बसाइँ सरेर ? भनेर पो सोध्छन् ।’
झापा — २०११ साल । आफ्नै लयमा बगिरहेको मेची नदी बर्खामा आएको बाढीका कारण पूर्वतर्फ सोझियो । मेचीको किनार ज्यामिरगढीमा खेतीकिसानी गरेर गुजारा चलाइरहेको आदिवासी मुण्डा समुदायको बस्ती थियो । पूर्व सोझिएको मेचीले मुण्डा बस्ती बगायो । मुण्डाहरुका लागि बासस्थानको अन्य विकल्प थिएन । उनीहरुले बगेको आफ्नो बस्तीभन्दा करिब ५ किलोमिटर उत्तर रहेको घना जंगल फाँडेर बस्ने निधो गरे । अनि लागे उत्तर घना जंगलतर्फ ।
त्यतिबेला मात्रै एक वर्षका थिए, ढिँडा मुण्डा । उनले जिजुबुबा प्यारी मुण्डा, हजुरबुबा अर्जुन मुण्डा र बुबा धनराज मुण्डाको साथ लागेर आफ्नो देहाती थलो छाडेका थिए । बासस्थानको खोजीमा हिँडेका मुण्डा परिवारले घना जंगल फाँडे र छाप्रो हालेर ओत लाग्ने ठाउँ बनाए । ढिँडाका जिजुबुबा प्यारी फँडानीताका अग्रमोर्चामा थिए । अन्ततः उक्त स्थानको नाम नै रहन गयो, प्यारीभिट्टा ।
यही प्यारीभिट्टा, जसलाई आज पूर्वकै सीमावर्ती व्यापारिक सहर काँकरभिट्टाको वैभवताले छपक्कै छोपेको छ । प्यारीभिट्टा काँकरभिट्टाको छत्रछायाँमा बिलाउँदै गएको आभास हुन्छ । जसका साक्षी हुन्, ७२ वर्षीय ढिँडा मुण्डा । जसको जन्मदैको साइनो जोडिएको छ मेची नदीसँग । जसले घना जंगललाई एउटा प्रमुख सहर बनाउन पसिनाका कयौं धारा बगाएका छन् ।
‘आज काँकरभिट्टा सहर भनिने ठाउँको २०२५/२६ सालसम्म कुनै अस्तित्व नै थिएन । घना जंगल थियो, दिउँसै हिँड्न डराउँथे मान्छेहरु,’ बिरामी शरीर लिएर ओछ्यानमा पल्टिएका मुण्डा सम्झिन्छन्, ‘न यो राजमार्ग (पूर्व–पश्चिम राजमार्ग) नै यस्तो थियो । यहाँ त गोरेटो थियो, सानो बाटो । तर, खासै मान्छे हिँड्दैनथे ।’ उनका अनुसार त्यसबेला मानिसको आवतजावत नकलबन्दाबाट हुन्थ्यो । पूर्वी पहाडी जिल्लाका मान्छेहरु पैसा कमाउन ढाकर लिएर नकलबन्दा हुँदै मेची तर्थे र नक्सल पुगेर गन्तव्य तय गर्थे । ‘काँकरभिट्टा त जंगल थियो । को आउने ?,’ उनी सुनाउँछन् ।
तर, समयक्रममा यसको काया फेरियो । २०२१ सालमा भूमि सुधार लागु भयो । जग्गा नापी हुन थाल्यो । मान्छेका नाममा जमिन दिलाउने उपक्रमको सुरुवात भयो । २०२५/२६ सालबाट राजमार्ग खुलाउने क्रम सुरु भयो । घना जंगल बिस्तारै फाँडिदै गयो । जंगल फाँडेर काठ र बाँसका साना घरहरु देखिन थाले । काँकरभिट्टामा बसपार्क निर्माणको योजना अघि सर्यो । मान्छेको चहलपहल बढ्न थाल्यो । व्यापारका लागि साना पसल खुल्न थाले । फाट्टफुट्ट सामान बोक्ने ट्रक देखिन थाल्यो । अब जंगल केबल जंगल रहेन । यहाँ त एउटा नवीन सहरको परिकल्पना सुरु हुन थाल्यो ।
मेचीमा पुल बन्यो । खोला तरेर बारी आउने ट्रकहरु मेचीको पुल माथिबाट हुइँकिन थाले । राजमार्गमा बसहरु देखिन थाले । पाल ओढाएर थापिएका पसल घुम्तीमा परिवर्तन हुन थाले । ५–७ वटा घर भएको बस्तीमा पहाडी मूलका मान्छेहरु आएर घर बनाउन थाले । मान्छेको आवतजावतको केन्द्र रहेको नकलबन्दा आफ्नो पहिचानबाट गुमनाम बन्दै गयो । तर, काँकरभिट्टाले आफ्नो उकालो यात्रा तय गर्यो ।
जीवनको दशकौं लामो यो यात्रामा ढिँडाले काँकरभिट्टालाई अनेकौं चरणमा देखे । उनले यही राजमार्गमा राँगागाडीबाट कठिन यात्रा गरेको देखेका छन् । तर्ने कल्पना पनि गर्न नसक्ने मेचीको बाढी नियालेका छन् । मेचीले बगाएर पटक–पटक बेहाल बनाएका परिवारका आँसु महसुस गरेका छन् । काँकरभिट्टामा कमिलासरी रिक्साको ताँती देख्न भ्याएका छन् । यो सहरको अनेक चित्र उनले नियालेका छन् ।
‘आज यो सहर हेर्छु । सपनाजस्तो लाग्छ । घरिघरि त आफैं झुक्किछु पो ! मैले जीवन बिताएको काँकरभिट्टा यही हो ?,’ उनी हाँस्छन्, ‘आज यो सहर होइन । म नौलो भएको छु । बाटो बिराएर कतै आइपुगेको बटुवा जस्तै । मान्छेले मलाई चिन्दैनन् । उल्टै बाहिरफेर निस्किँदा कहिले आउनुभयो नि बसाइँ सरेर ? भनेर पो सोध्छन् ।’
उनले भनेजस्तै काँकरभिट्टाले स्वरुप बदल्यो, चिनारी बदल्यो । अनि सहरकै नौलो मान्छे बनाइदियो ढिँडा मुण्डाहरुलाई । जसले मान्छे हिँड्न डराउने ठाउँलाई रगत पसिना बगाएर सहर बनाइदिए । काँकरभिट्टाले अहिले रिक्सा देख्दैन । काँकरभिट्टाले अहिले राँगागाडी कहाँ चिन्छ र ? काँकरभिट्टाले हिलो र चिप्लो सडक सायदै देख्न मुस्किल छ । बाँस र काठका घर पनि छन् र यो सहरमा ! यो सहर त झिलिमिली उज्यालो बत्तीसँग दगुरिरहेको छ । स्मार्ट सिटीको दौडमा धपेटिइरहेछ । अनि त सहर बनाउनेहरु नै सहरबाट गुमनाम छन् ।
आजकल ढिँडाले काँकरभिट्टाको डाँडा नचढेको पनि वर्षौं भएछ । उमेरमा मजदुरी गर्न सिक्किम, दार्जिलिङ, नेपालको भोजपुर, रामेछाप लगायतका स्थान पुगेका उनी आज रोगले थलिएर ओछ्यानमा छन् । उनलाई शरीरमा रगत नबढ्ने रोग छ । माहिलो छोराको घरमा नातिनातिनासँग बसेका छन् । ‘श्रीमतीले छाडेर गइहाली, अनि मलाई पनि रोगले च्याप्यो । नातिनातिनासँग बसेको छु । यिनीहरु नै छन् सहारा,’ बुढ्यौली भावुकतामा उनले भने ।
काँकरभिट्टालाई नै कर्म, संघर्ष र जीवनको गोरेटो बनाएका उनले यो सहरलाई नजिकैबाट चिनेका छन् । जंगलबाट डिजिटल युग हुँदै स्मार्ट सिटीको परिकल्पनासम्मलाई सुन्न र देख्न भ्याएका छन् । र त जोकसैलाई सुनाउन सक्छन् उनी, यो सहर बदलिएको कथा । उनी बेला बेला ओछ्यानबाट निस्किएर अलि मास्तिर राजमार्गमा आएर रुखको छायामा अडेस लागेर सहर नियाल्थे अलि अघिसम्म ।
