‘नक्कली प्रचण्ड’ बनेर हँसाउँथे, तर रुवाएर गए

हरेक वर्ष हुने गाईजात्रा हाँस्य व्यंग्य कार्यक्रममा उनले अभिनयमार्फत धेरैलाई पेट मिची मिची हँसाए । २०८० गाईजात्राको नजिकिँदै गर्दा बिरामी परेपछि भने उनको अभिनय यात्रामा ब्रेक लाग्यो ।

जेष्ठ २०, २०८२

अभिषेक अधिकारी

He used to laugh as a 'fake Prachanda', but he cried

काठमाडौँ — दुई वर्षअघिको एक भेटमा ‘नक्कली प्रचण्ड’ उपनामले चिनिएका हाँस्य कलाकार घनश्याम गौतमले भनेका थिए, ‘बाँचुन्जेलसम्म स–साना कुरामा खुसी हुनु नै मेरो लागी सौभाग्यको कुरा हो ?’

सधैं स–साना कुरामा खुशी खोजीहिँड्ने यिनै घनश्याम अब यो संसारमा छैनन् । कलाकारिता र नाट्य क्षेत्रमा आफ्नो परिचय बनाइरहेका उनीको ४३ वर्षको उमेरमा निधन भयो । परिवारका अनुसार दुई वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेका उनले  सोमबार राति १२ बजेर ८ मिनेटमा भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा अन्तिम श्वास फेरे । 

२०६४ सालको कुरा हो । पहिलो संविधानसभाको चुनावी रापताप थियो । नाटक लिएर दार्चुला पुगेका उनले प्रचण्ड उपनामले समेत चिनिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिनय गरेका थिए । उनको यो अभिनय यति बेजोड भइदियो कि, त्यसपछि उनको सार्वजनिक परिचय नै बन्यो ‘नक्कली प्रचण्ड’ ।

चर्चित टेलीश्रृंखला 'मेरी बास्सै'देखि 'झ्याइँकुटी झ्याइँ'सम्ममा उनी ‘नक्कली प्रचण्ड’ कै भूमिकामा देखिएर थप लोकप्रिय भए । सडक नाटक, रेडियो नाटक र कचहरीमा सक्रिय गौतम विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउने गर्थे । गत भदौमा उनले बिरामीकै अवस्थामा तिजको गीत ‘मै अभागी चेली खुशी छैन बरिलै...’ बजारमा ल्याएका थिए । 

हरेक वर्ष हुने गाईजात्रा हाँस्य व्यंग्य कार्यक्रममा उनले अभिनयमार्फत धेरैलाई पेट मिची मिची हँसाए । २०८० गाईजात्राको नजिकिँदै गर्दा बिरामी परेपछि भने उनको अभिनय यात्रामा ब्रेक लाग्यो । 

०८० असारको कुरा हो । घनश्याम एक्कासी पेट दुख्ने समस्याले थलिए । सुरुमा त उनले दिसामा रगत देखिएकाले पायल्सको समस्या हो कि भनेर आर्युवेदिक उपचारमा लागे । समस्या बल्झिँदै गएपछि र थप उपचारमा जुटेपछि मात्रै उनले थाह पाए उनले आफूलाई ठूलो आन्द्रामा क्यान्सर भएको । 

श्रीमती युगज्योतिले सुरुमा भक्तपुर क्यान्सर अस्पतालबाट सुरु भएको गौतमको उपचार भारतका अस्पतालदेखि काठमाडौं क्यान्सर अस्पतालमा आएर टुंगिएको बताइन् । 

कलाकारिता क्षेत्रमा रहँदा वाहवाही पाएका घनश्याम क्यान्सर भएसँगै गुमनाम बन्न थाले । अस्पतालहरु चाहर्दै र अनेकथरी औषधिमा निर्भर बन्दै उनले अप्ठ्यारा दिनहरु बिताए । भएको सबै पैसा उपचारमा सकिएको श्रीमती युगज्योतिले केही दिनअघिको कुरामा दुःखेसो सुनाएकी थिइन् ।  

आफ्नो कुशल अभिनयमार्फत सबैलाई हँसाउने घनश्याम सबैलाई रुवाएर परलोक गए । उनको पार्थिव शरीर मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  

अभिषेक

Link copied successfully