अन्नपूर्ण आरोहणको ७५ वर्ष : बुवाको विरासतमा माथियास हर्जोगको आत्मिक यात्रा 

बुवाले छोडेर गएका जिम्मेवारी पूरा गर्नु आफ्नो अघि सिंगो अन्नपूर्ण उभिनुजस्तै भएको उनी ठान्छन् । भन्छन्, ‘अन्नपूर्ण केवल हिमाल मात्रै होइन, चुनौतीहरूको प्रतीक हो ।’

जेष्ठ २०, २०८२

दीपक परियार

75 Years of Climbing Annapurna: Mathias Herzog's Spiritual Journey to His Father's Legacy

पोखरा — विश्वमै पहिलोपल्ट ८ हजार मिटरमाथिको हिमाल आरोहण गरेका फ्रान्सेली नागरिक मौरिस हर्जोगले आफ्नो किताब ‘अन्नपूर्ण’ मा लेखेका छन्, ‘मानिसको जीवनमा अरु अन्नपूर्णहरू पनि छन् ।’ अन्नपूर्ण आरोहणको अनुभूति समेटिएको उनको ‘बेस्ट सेलर’ किताबका यी पंक्तिको अर्थ हो– एउटा ठूलो सफलता प्राप्त गरिसकेपछि पनि जीवन सकिँदैन ।

जीवन निरन्तर अगाडि बढ्छ, नयाँ चुनौतीहरू आउँछन् र हामीले हरेक पटक नयाँ सुरुआत गर्नुपर्छ । एउटा ‘अन्नपूर्ण’ जितिसकेपछि अर्को ‘अन्नपूर्ण’ हाम्रो प्रतीक्षामा हुन्छ ।

सन् १९५०, जुन ३ । एउटा मिति जसले मानव इतिहासमा पर्वतारोहणको परिभाषा नै बदल्यो । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र उनका साथी लुइस ल्याचेनलले विश्वमा पहिलोपल्ट ८ हजार मिटरभन्दा अग्लो हिमाल, अन्नपूर्ण प्रथम (८,०९१ मिटर) को चुचुरोमा पाइला टेके । यो केवल एक आरोहण थिएन, यो अदम्य साहस, अटल आस्था र मानव चेतनाको असीमित सम्भावनाको जीवन्त प्रतीक थियो । 

75 Years of Climbing Annapurna: Mathias Herzog's Spiritual Journey to His Father's Legacyफ्रान्सेली राष्ट्रिय टोलीले अन्नपूर्ण आरोहण गरेको मंगलबार ७५ वर्ष पुगेको छ । लुइसले आरोहणको पाँच वर्षपछि ३४ वर्षको उमेर ज्यान गुमाइसकेका छन् । मौरिसले सन् २०१२ मा ९३ वर्षको उमेरमा ज्यान गुमाए । यस वर्ष अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने तयारी गर्न गत वर्षको कात्तिकमा मौरिसका छोरा माथियास हर्जोग नेपाल आएका थिए । उनी उत्तरी मोहडाबाट अन्नपूर्ण चढ्न बुबा हिँडेकै बाटो उनी ‘नर्थ अन्नपूर्ण बेस क्याम्प’ पुगे । पोखराबाट म्याग्दीको बेनी, तातोपानी, नारच्याङ हुँदै उनी आधार शिविर पुगेका थिए ।

हीरक जयन्ती मनाउन माथियास पुनः नेपाल आएका छन्, हिमालको छायाँमा आफ्नो बुबाको पाइलाहरू सम्झिँदै तर आफ्नै बाटो बनाउँदै । अहिले उनी योग र आध्यात्मिक सेवामा समर्पित छन् तर हरेक पाइला अझै पनि अन्नपूर्णको कथाले निर्देशित भइरहेको छ । यसपल्ट उनी एक्लै आएनन्, परिवारका सदस्य र फ्रान्सेली सांगीतिक टोलीलाई पनि लिएर आए । हीरक जयन्ती मनाउन उनी सोमबार उत्तरी आधार शिविर पुगे । 

पहिलोपल्ट आधार शिविर पुग्दा उनले वरिपरि लस्करै उभिएका हिमाललाई हेरे । आफ्नो बुबाले टेकेको टाकुरोमा आँखा पुर्‍याए । योग गरे । ध्यानमा मग्न भए । आधार शिविरमा बनेको बुवाको सालिक सुम्सुम्याए । सालिक हेरेर उनी रोए । त्यो पीडाको आँसु थिएन, कृतज्ञताको थियो । ‘जब मैले बुबाको सालिक देखेँ । म चुपचाप त्यहाँ उभिएँ । एकछिनका लागि समय रोकिएको जस्तो लाग्यो,’ मसिनो स्वरमा उनले भने, ‘मलाई लाग्यो, म उहाँको पाइला पछ्याइरहेको छैन, म आफ्नो बाटोमा छु । तर त्यो बाटोमा उहाँको आशीर्वाद छ ।’ 

अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउन नेपाल आएका मौरिस हर्जोगका छोरा माथियासलाई पोखरा विमानस्थलमा स्वागत गर्दै पोखराका पर्यटन व्यवसायी ।75 Years of Climbing Annapurna: Mathias Herzog's Spiritual Journey to His Father's Legacyअन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउन नेपाल आएका मौरिस हर्जोगका छोरा माथियासलाई पोखरा विमानस्थलमा स्वागत गर्दै पोखराका पर्यटन व्यवसायी ।

आधार शिविरबाट फर्किएपछि एक साँझ पोखरामा भेटिएका उनले आफ्ना बुवासँगको स्मृति केलाए । ‘बुवा कम बोल्नुहुन्थ्यो तर कहिलेकाहीँ मन खोलेर बोल्नुहुन्थ्यो । एकदमै विनम्र हुनुहुन्थ्यो,’ माथियास सम्झन्छन्, ‘उहाँले कहिल्यै आफ्ना व्यक्तिगत अनुभवबारे धेरै बोल्नुभएन । तर कहिलेकाहीँ, हामी दुई मात्र हुँदा, उहाँका आँखामा गहिरो अनुभूति देखिन्थ्यो ।’

माथियासका अनुसार, मौरिसले अन्नपूर्णको शिखर पुगेपछि जे अनुभव गरे, त्यो आध्यात्मिक रूपान्तरणको आरम्भ थियो । मौरिसले माथियाससँग भनेका थिए, ‘शिखरमा पुगेपछि मैले प्रेमको यस्तो अनुभूति गरेँ, जुन शब्दले बयान गर्न सकिँदैन । त्यो क्षणले मेरो जीवनको खालीपन भरिदियो ।’ 

सन् १९५१ मा प्रकाशित मौरिस हर्जोगको पहिलो पुस्तक ‘अन्नपूर्ण : ८००० मिटर अग्लो चुचुरोको पहिलो विजय’ मा त्यस्ता अनुभूतिहरू केवल संकेतका रूपमा उल्लेख छन् । त्यस बेला फ्रान्समा व्यक्तिगत वा आध्यात्मिक विषयबारे खुला रूपमा बोल्न हुन्थेन । ‘उहाँले भनिरहनु भएको थिएन तर म बुझ्थेँ, उहाँको भित्र केही गहिरो परिवर्तन भएको थियो,’ माथियास सम्झन्छन् ।

मौरिसको अनुभवमा आधारित पुस्तकले लाखौं पाठकलाई हिमालको रहस्य, चुनौती, र मानवीय उत्कर्षको कथा सुनायो । बिनाअक्सिजन, एकै सिजनमा र पहिलो प्रयासमै सम्पन्न भएकोले पनि यो आरोहण विशेष थियो । सन् १९५० को दशकमा अन्नपूर्ण आरोहण अहिलेको जस्तो सजिलो थिएन । उनीहरूसँग आजको जस्तो गुणस्तरीय जुत्ता, ज्याकेट जीपीएस वा अक्सिजन थिएन । छालाको जुत्ता, कपडाको ज्याकेट र हातमा एउटा नक्सा मात्र थियो । आरोहणपछि हर्जोग र ल्याचेनल दुवैले गम्भीर ‘फ्रस्टबाइट’को सामना गरे । जसका कारण हर्जोगले सबै औंलाहरू गुमाए । 

75 Years of Climbing Annapurna: Mathias Herzog's Spiritual Journey to His Father's Legacyआरोहणबाट फर्किएपछि मौरिसले धर्मका बारेमा पढ्न थालेका थिए । उनले हिन्दू धर्म, बौद्ध दर्शन, इसाई आस्थाको गहिरो अध्ययन गरे । ‘मलाई लाग्छ, त्यो अनुभव उहाँका लागि परम शक्तिसँगको सम्पर्क थियो । त्यसपछि उहाँ भगवानको खोजीमा लाग्नुभयो,’ योग र आध्यात्मिक सेवामा समर्पित माथियासले भने । 

यही आध्यात्मिक जागरणले मौरिसलाई अझ गहिरो खोजीमा डोर्‍यायो । मौरिस विश्वभर चिनिए । ‘किनभने जब तपाईं यति शक्तिशाली र दिव्य अनुभूतिबाट गुज्रनुहुन्छ, तपाईं त्यसलाई बुझ्न चाहनुहुन्छ, तपाईं त्यस ऊर्जा नजिक जान चाहनुहुन्छ,’ माथियास भन्छन्, ‘त्यस क्षणपछि उहाँले अनेकौं तरिकामा भगवानको खोजी गर्न थाल्नुभयो ।’ यसले सन् १९९७ मा मौरिसको दोस्रो पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ लाई पनि जन्म दियो । पहिलो किताब लक्ष्य, आरोहण, शिखरबारे थियो भने दोस्रो पुस्तक उनको भित्री परिवर्तनबारे थियो । मौरिसका दुई किताब विश्वका ४० भन्दा बढी भाषामा प्रकाशित भएर हालसम्म १ करोड १० लाख प्रतिभन्दा बढी बिक्री भइसकेका छन् । 

मौरिसले आफ्नो दोस्रो किताबको पहिलो पाठक छोरालाई नै बनाएका थिए । ‘त्यो मेरो लागि असाधारण क्षण थियो,’ माथियास भन्छन्, ‘पहिलो किताबमा विजयको कथा थियो तर दोस्रोमा उहाँको भित्रको परिवर्तन थियो ।’ त्यस पुस्तकको अन्तिम वाक्य ‘मानिसको जीवनमा अरु अन्नपूर्णहरु पनि छन्’ माथियासको हृदयमा सदैव गुञ्जिरहन्छ, ‘बुबाले मलाई सिकाउनु भएको कुरा थियो– हिमाल बाहिर मात्र होइन, भित्र पनि चढ्नुपर्छ ।’

मौरिस हर्जोगको नेपालसँगको सम्बन्ध केवल एउटा आरोहणमा मात्र सीमित थिएन । त्यो त आत्माको एउटा अटूट सम्बन्ध थियो । उनी निधन हुनु अघिसम्म नेपालसँग जोडिएका थिए । ‘म सानो हुँदा हरेक आइतबार राजा महेन्द्रले हाम्रो घरमा फोन गर्नुहुन्थ्यो,’ माथियासले मुस्कुराउँदै भने, ‘बुबा फोन उठाएर निकै आत्मीयताका साथ कुरा गर्नुहुन्थ्यो । नेपालले उहाँलाई धेरै दिएको थियो र उहाँलाई त्यो फर्काउनु स्वभाविक लाग्थ्यो । उहाँले पूर्वाधार, विकास र अन्य धेरै क्षेत्रमा सहयोग गर्नुभयो ।’

बुवाले अन्नपूर्ण आरोहण गर्दा माथियास जन्मिइसकेका थिएनन् । तर उनको लागि पनि नेपाल नयाँ भूमि पनि थिएन । सन् १९९३ मा उनी बुवासँग नेपाल आएका थिए । त्यतिबेला उनी १४ वर्षका थिए । काठमाडौं आएर कैलाश पर्वत र मानसरोवर गएको उनलाई अझै सम्झना छ । ‘मैले केही फोटोहरू ल्याएर बाटोमा बालबालिकालाई दिएको थिए,’ उनले सम्झिए, ‘त्यो मेरो लागि निकै मनछुने क्षण थियो ।’ 

आजभन्दा ७५ वर्ष पहिले अहिलेजस्तो सञ्चारको सुविधा थिएन । सन् १९५० को दशकमा जब नेपाल पश्चिमी संसारका लागि पूर्णतः अज्ञात थियो र हिमाल चढ्नु चन्द्रमामा पुग्नुसरह थियो । त्यतिबेला मौरिस हर्जोगको टोलीले इतिहास रचेको थियो । अन्नपूर्ण आरोहण फ्रान्सको राष्ट्रिय अभियान थियो, व्यक्तिगत होइन । मौरिस दोस्रो विश्वयुद्धमा फ्रान्सेली प्रतिरोध आन्दोलनका सदस्य थिए । ‘उहाँ सबैभन्दा राम्रो आरोही नभए पनि उहाँसँग नेतृत्वको अनुभव थियो,’ आरोहण दलमा मौरिस छनोट हुनुको कारण बताउँदै माथियासले भने, ‘कठिन परिस्थितिमा मान्छे र स्रोत व्यवस्थापन गर्ने सीप उहाँसँग थियो । त्यसैले उहाँ चयनमा पर्नुभयो ।’ अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि अहिले पनि उनी कल्पना गर्छन्- ७५ वर्षअघि, प्रविधिविहीन अवस्थामा, छालाको जुत्ता, नक्साबिना, जीपीएस बिना आरोहण कसरी सम्भव भयो ? साहस र सामूहिकता नै उनी बुवाको सफलताको कारण मान्छन् । 

माथियास पाँच वर्षअघि नै नेपाल आउन चाहन्थे । उनलाई कोरोना महामारीले रोक्यो । अहिले उनी योग र आध्यात्मिक सेवामा समर्पित एक साधकका रूपमा आफ्नो बुबाको पदचाप पछ्याउँदै आफ्नै आत्म-यात्रामा छन् । उनको आगमनले अन्नपूर्णको कथालाई फेरि एकपल्ट ताजगी दिएको छ ।

मौरिस हर्जोगले भौतिक अन्नपूर्ण जिते तर माथियास आफ्नो जीवनको आध्यात्मिक अन्नपूर्ण खोजिरहेका छन् । उनी अहिले जर्मनीमा योग स्कुल चलाउँछन् । ध्यान शिविर आयोजना गर्छन् । अन्तर्राष्ट्रिय योग शिक्षकहरूलाई प्रशिक्षण दिन्छन् । तर उनको मन अझै नेपालमै अडिएको छ । ‘म यहाँ एउटा गैरनाफामूलक स्कुल खोल्न चाहन्छु, जहाँ योग, अंग्रेजी र नेपाली जीवनदर्शन सिकाउन सकियोस्,’ उनी भन्छन्, ‘नेपालको ज्ञान परम्परा, बौद्ध दर्शन, र प्रकृतिसँगको सहअस्तित्व आजको संसारका लागि अमूल्य छ ।’ 

माथियासको आगमनले केवल विगतको सम्झना मात्र ल्याएको छैन, यसले भविष्यका लागि पनि प्रेरणा दिएको छ । उनी पर्यटन र संरक्षणबीच सन्तुलनको वकालत गर्छन् । भन्छन्, ‘हामीले आर्थिक विकास र वातावरणीय संरक्षणबीचको मध्यम मार्ग खोज्नैपर्छ । अन्तर्राष्ट्रिय सहकार्य अत्यन्त आवश्यक छ ।’ युवा पुस्तालाई लक्ष्य गरी पर्यटन, प्रकृति र पर्वतीय संस्कृति केन्द्रित भएर नेपालको प्रवर्द्धन गर्नुपर्ने उनी सुझाउँछन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने उत्तरी आधार शिविरमा मौरिस हर्जोग, लुइस ल्याचेनल र पहिलो नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकदको सालिक राखिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सालिक अनावरण गर्ने पूर्व योजना रहे पनि मौसमको खराबीले हेलिकप्टर पुग्न सकेन । उनले नारच्याङमा पुगेर ‘मौरिस हर्जोग पदमार्ग’ र खुला संग्रहालयको उद्घाटन गरे । सालिक अनावरण गर्न उर्जा, सिंचाइ तथा जलस्रोत राज्य मन्त्री खमबहादुर गर्बुजा पुगेका थिए । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी, नेपाल पर्वतारोहण संघ, गण्डकी लगायतले जेठ १७ देखि २२ सम्म विविभ कार्यक्रम गरी हीरक जयन्ती मनाइरहेका छन् । 

हीरक जयन्ती सकिएपछि माथियास जर्मनी फर्किनेछन् । उनको मनले नेपाल फर्कनुपर्छ भन्छ । बुवाको नेपालसँगको सम्बन्धले आफ्नो जीवनले आकार पाएको उनी ठान्छन् । पोखरा वरपर कतै चिटिक्कको घर बनाएर बस्न मन छ, जुन घरको झ्यालबाट हिमाल देखियोस् । घर इँटले मात्रै बनेको नहोस्, हरेक भित्ता, छानो, झ्याल र ढोकामा शान्तिको महसुस होस् । 

मौरिसले संसारभरिका हिमाल आरोहीहरूको सम्मेलन आयोजना गर्थे । अब फ्रान्स सरकारको सहयोग लिएर त्यो परम्परा कायम राख्ने प्रयत्नमा उनी छन् । बुवाले छोडेर गएका जिम्मेवारी पूरा गर्नु आफ्नो अघि सिंगो अन्नपूर्ण उभिनुजस्तै भएको उनी ठान्छन् । भन्छन्, ‘अन्नपूर्ण केवल हिमाल मात्रै होइन, चुनौतीहरूको प्रतीक हो ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully