तनहुँ — घरधन्दा, मेलापात जस्ता कार्यमा अलमलिएका महिलाहरूको अहिले दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ । जिल्लाको भानु नगरपालिका–९ स्थित चितीखोलाका महिलाहरूले आफैँले नियमित गर्दै आएको काममा केही परिवर्तन गरेपछि अहिले उनीहरूको दिनचर्या फेरिएको हो ।
गाउँका घरलाई सिँगारपटार गरी होमस्टे (घरबास) सञ्चालन गरेपछि महिलाहरूको जीवनशैली मात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ । विसं २०७६ मा स्थापना भएको ग्रीनहिल भिलेज सामुदायिक होमस्टे सञ्चालन गरेपछि घरधन्दामै सीमित रहेका महिलाहरूको दिनचर्यामा परिवर्तन आएको हो ।
‘गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ’, ग्रिनहिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामीले भनिन्, ‘खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त छौँ । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकी मात्र होइन, गाउँको पहिचान नै फेरिएको अनुभव गरेका छौँ ।’
छ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको उनले बताइन् । ‘होमस्टे सञ्चालनको सुरुको दिन सम्झँदा अहिले धेरै परिवर्तन आएको छ’, उनले भनिन्, ‘होमस्टे भनेको के हो भन्ने पनि थाहा नभएका हामी अहिले यही होमस्टेबाट आर्थिक सशक्तीकरणतर्फ उन्मुख भएका छौँ ।’
चितीखोलाका २१ घरमा सञ्चालन गरिएको होमस्टेमा करिब ४२ जना पाहुनालाई बासको सुविधा दिन सकिन्छ । बुहारीहरूको सक्रियतामा सञ्चालित होमस्टेले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्दछ ।
होमस्टे सञ्चालनका लागि क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउनेलगायतका तालिम लिइसकेको सिता सारूले बताइन् । उनले भनिन्, ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने अर्ग्यानिक र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैँले मात्रै खान धेरै भएर आफन्त र छरछिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ ।’
यस्तै, गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले बताइन् । उनले भनिन्, ‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलाहरूलाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ ।’
‘ग्रीनहिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर प्रदान गर्नुका साथै यहाँका महिलालाई आर्थिक सशक्तीकरणको पाटोतर्फ अगाडि बढाएको छ,' उनले भनिन्, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताको निकै राम्रो प्रतिक्रिया दिनुहुने भएकाले हामीलाई थप हौसला मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपन दिने गरी अगाडि बढाएका छौँ ।’
होमस्टेमा आन्तरिक तथा बाह्य पाहुना आउने गर्दछन् । हालसम्म करिब दुई हजार पाँच सय जना पाहुनालाई स्वागत गरेको होमस्टेका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले जानकारी दिइन् । उनले भनिन्, ‘पाहुनाहरू गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कने गर्नुहुन्छ ।’
होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यहरूले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बनाइएको उनले बताइन् ।
यहाँको होमस्टेले १ हजार २५० रुपैयाँको प्याकेजमा एक रातको बास, स्थानीय रैथाने जातका कुखुराको मासु, परम्परागत खानपिन, साँझको खाजा र बिहानको नास्ता उपलब्ध गराउँछ ।
यस होमस्टेमा आउने पाहुनाहरूले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जंगलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिव मन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् । यस होमस्टेबाट मनास्लु हिमालको सुन्दर दृश्य पनि अवलोकन गर्न सकिन्छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारबाट डुम्रे–बेंसीसहर मोटर मार्गको करिब २० किलोमिटर दूरी यात्रा गरेपछि यस होमस्टेमा पुग्न सकिन्छ ।
