चितवन — हावाहुरी र पानीका कारण साँझ पर्दासमेत विद्युत् आपूर्ति थिएन। त्यसै पनि इमर्जेन्सी बत्तीको मधुरो प्रकाशमा वरपर १५–२० जना भेला भइसकेका थिए। साँझको घरधन्दा चाँडै सकेर ५० वर्षका दिल्जु बोटे आफ्ना साना नातिसँगै आएकी थिइन् ।
लगभग सबै आएपछि सन्तोष बोटेले सुरु गरे, ‘क कपार, ग गङ्गटो, ट टकुवा, ड डोङो, ढ ढडिया, ब बहाना, ल लग्गि ।’ सन्तोषसँगै सबैले दोहोर्याए।
हरेक साँझ भरतपुर महानगरपालिका–१३ पटिहानी राप्ती खोला किनारको चौकी डाँडाको बोटे टोलमा यस्तो जमघट हुँदै आएको छ। बोटेहरू चितवनका आदिवासी हुन्। खास गरेर रिउ र राप्ती खोला तथा नारायणी नदीको किनारमा बोटे समुदायका बस्तीहरू छन्। ‘हामी अल्पसङ्ख्यक हौँ। हामीलाई भाषा, संस्कार, संस्कृति जोगाउने चुनौती छ। भाषा हराउँदै गएको देखेपछि यसरी कक्षा सुरु गरेका हौँ,’ सन्तोषले बताए।
सन्तोष नेपाल बोटे समाज चितवनका सचिव हुन्। नेपाल बोटे समाज केन्द्र र जिल्ला समितिको सक्रियतामा भाषा कक्षा सुरु भएको हो। जहाँ बोटे भाषामा नै तयार गरिएको वर्णमाला र ‘बोटे भासा: सरासर पढ्लाहार लेख्लाहार कछ्या किताब’ का आधारमा पढाइ हुने गरेको छ। ‘क’ बाट सुरु हुने बोटे भाषामा कपार भनेको टाउको हो। त्यसैगरी ‘ग’ बाट गङ्गटा भने जस्तै टकुवाको अर्थ माछा मार्ने जाल बुन्ने काठको सानो साधन हो।
डोङो भनेको डुङ्गा हो भने लग्गि भनेको डुङ्गा धकेल्ने बाँसको लौरो हो। बोटे समुदायको परम्परागत पेसा डुङ्गा चलाउने र माछा मार्ने हो। अझै पनि धेरैले यही पेसा गर्दै आएका छन्। त्यसैले अक्षर चिनाउने क्रममा बोटेको दिनचर्यासँग जोडिएका वस्तुहरू नै वर्णमालामा राखिएको सन्तोषले बताए। ‘हामीले भाषा बोल्न अझै बिर्सेका छैनौँ। छोरा छोरीले पनि जेनतेन बोल्छन्। तर नाति नातिनातिनाले पटक्कै बोल्दैनन्,’ दिल्जुले बताइन्।
त्यसैले उनी नातिलाई काखमा राखेर कक्षामा बस्ने गर्छिन्। दिल्जुलाई पढ्न लेख्न आउँदैन। तर पनि कक्षामा पढाइने बोटे भाषाका शब्दहरू ध्यान दिएर सुन्ने गर्छिन्। केही गल्ती भए जस्तो लागे सुधार गर्न भनी दिने गर्छिन्। भाषा कक्षामा विद्यालयमा कक्षा एकदेखि १२ सम्म पढ्दै गरेका पनि सहभागी हुने गर्छन्। तर दिल्जु जस्तै पाको उमेरकी डल्ली बोटे र चनमती बोटे पनि बस्ने गर्छन्। उनीहरू बस्दा कक्षा अझ प्रभावकारी हुने सन्तोषले बताए।
‘बोटे भाषाको पढाइ कस्तो हुन्छ भनेर लागेर उनीहरू आउनुभएको हो। आफ्ना बालबालिकाले बोटे भाषा पढेको, लेखेको, बोलेको देख्दा छक्क पर्नुहुन्छ। भाषा मात्र हैन, बोटेको संस्कार के हो, नयाँ मान्छे वा मान्यजन भेट हुँदा कसरी सत्कार गर्ने भन्ने ज्ञानका कुराहरू पनि कक्षामा बताइने गर्छ,’ सन्तोषले भने । बोटेहरू अभिवादन गर्दा थोरै टाउको झुकाएर दाहिने हातको निधार नजिक लगाएर ‘बिन्ती बाटी’ भन्ने गर्छन्।
नेपाल बोटे समाज चितवनका अध्यक्ष प्रदीप बोटे आफ्नो समुदायको संख्या निकै कम रहेको बताउँछन्। २०७८ सालको जनगणना अनुसार देशभर बोटे जातिको जनसंख्या ११ हजार २५८ रहेको उनले बताए। चितवनमा तीन हजार १४४ जनसंख्या भए पनि बोटे भाषा बोल्ने दुई हजार १२० मात्र रहेका उनको भनाइ छ। भाषा किताबको सम्पादन पनि उनले गरेका हुन्। गाउँगाउँ डुलेर ठेट शब्द खोजेको बताए।
‘अरू भाषा मात्र बोल्दा आफ्नो भाषा बिलाउँदै जाने रहेछ। यसरी हाम्रो भाषा मर्ने, अरू भाषा फैलिने हुन्छ। हामी आफ्नो भाषा मर्न नदिने योजनामा छौँ,’ सचिव सन्तोषले सुनाए। बोटे समुदाय बाक्लो बसोबास रहेको पटिहानीसहित माडी, मेघौली, जगतपुर र पदमपुर गरी कुल १५ ठाउँमा भाषा कक्षा सञ्चालन भइरहेको सन्तोषले जानकारी दिए। वैशाख २४ गतेबाट सुरु भएको पहिलो चरणको कक्षा २० दिन चल्ने छ।
भरतपुर महानगरपालिका–१३ मा रहेको गंगानगर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महानगर स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष सुदीप सुवेदीले अल्पसङ्ख्यकहरू भाषा र संस्कृति जोगाउन अग्रसर हुनु राम्रो कदम भएको बताए। उनले अल्पसङ्ख्यक आदिवासी समुदायका बालबालिकाका लागि विद्यालयमा अतिरिक्त कक्षा राख्न सहयोग गर्ने प्रतिबद्धता जनाए।
भरतपुर–१३ का वडा सदस्य कालुराम बोटेले समुदायले सुरु गरेको अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने बताए। ‘केही एनजीओ र आइएनजीओले साथ दिएर हामीले आफ्नै तरिकाले भाषा र संस्कार संस्कृति संरक्षणका कार्यक्रमहरू चलाएका छौँ। अब सरकारले पनि सोच्नुपर्छ,’ उनले भने।
नेपाली स्वर र व्यञ्जन वर्णको तुलनामा बोटे भाषामा स्वर र व्यञ्जन वर्ण कम रहेका सन्तोष बोटेले बताए। बोटे भाषामा ६ वटा मात्र स्वर र २९ वटा मात्र व्यञ्जन वर्ण छन्। ‘लिपि त हाम्रो छैन। वर्णहरू पनि कम छन्। धेरै सोधखोज गर्दा पनि यति नै पाइयो। त्यसैले लेख्दा नेपाली भाषाका शब्द अनुसार हाम्रो हिज्जे गलत जस्तो लाग्छ। अहिले आधारभूत कक्षा सञ्चालन गरेका छौँ। पछि अलिक बढी काम गर्नेछौँ,’ सन्तोषले बताए।
बोटे भाषामा २०७५ साल जेठमा वर्णमाला प्रकाशित गरिएको थियो। २०५६ सालमा बोटे कृति सँगालो प्रकाशित भएको थियो, जसमा बोटे भाषामा लेखिएका ७० पृष्ठको उक्त किताबमा २७ वटा गीत, ७ कथा, ३ कविता, ३ मुक्तक, २ गजलका साथै गाउँखाने कथा, चुट्किला र जीवनशैलीका कुरा समेटिएका छन्। वृद्ध वृद्धा, युवा र बालबालिका सबैलाई घरमा बोटे भाषा बुझ्ने र बोल्ने बनाउने लक्ष्य राखिएको सन्तोषले बताए।
