सदाका लागि बन्दकु बिसाएर कसरी उनी सिकारविरुद्ध लागे ? संरक्षणकर्मी 'गुलेली बाजे'को प्रेरक कथा
काठमाडौँ — उमेरको उकालो जति चढे पनि थाकेका देखिन्नन्, ९० वर्षीय भोजराज श्रेष्ठ । युवावयकै सपना, हुटहुटी र परिवर्तनको अभीप्सा बोकेर उनी अझै हिँडिरहेका छन् । तिनै सपना र हुटहुटीलाई नयाँ पिँढीले पनि पछ्याइरहेका छन् ।
कुनै समय हातमा बन्दुक बोकेर बहादुरीपूर्वक सिकार खेल्न निस्किएका भोजराज विजयी मुस्कान बोकेर मात्र घर फर्किन्थे ।
त्यतिबेला जिन्दगी बाँच्नुको खुसी नै सिकारमा पाउँथे उनी । तर सिकार खेल्न हिँडेकै दौरान उनीभित्रको सिकारी मन पग्लियो । र, पग्लिँदै पग्लिँदै कोमल हृदयमा परिणत भयो ।
त्यसपछि सदाका लागि बन्दकु बिसाएर उनी सिकारविरुद्ध लागे । प्राणीहरूको जीवनरक्षाको निम्ति उभिए । सिकारको बेला सबैको सम्मान बटुलेका भोजराज त्यसपछि खिस्सिट्युरीको पात्र बने । हिजो आफूले चलाएको बन्दुकजत्तिकै तिखा वाणीहरू सहे ।
तर आफ्नो यात्रामा न कहिल्यै खुट्टा कमाए, न पाइला डगमगाउन नै दिए । त्यही संघर्ष, साधना र सपनाकै कारण कालान्तरमा उनलाई इनामजतिकै प्यारो नाम दिइयो– गुलेली बाजे । साना केटाकेटी, युवायुवती वा पर्यटकहरू सबैले माया र श्रद्धापूर्वक उनलाई ‘गुलेली बाजे’ भनेर चिन्छन् ।
कुनै समय कैलालीको भजनीमा डल्फिन उफ्रनासाथ गुलेलीले हान्ने गरिन्थ्यो । उडिरहेका चराहरू झारिन्थ्यो । भोजराजले गुलेली बटुलेर बालबालिकादेखि युवाहरूमा चेतना भर्न थाले । त्यसयता सबैले उनलाई ‘गुलेली बाजे’का नामले बोलाउँछन् ।
भोजराज डोटीमा जन्मे । पछि कैलाली झरे । उतिबेला उनको दिनचर्या सिकार खेलेरै बित्थ्यो । चरा र जनावर मार्नका लागि उनले बन्दुक किनेका थिए ।
नेपालमा पञ्चायती व्यवस्था लागू भएसँगै सहकारीलाई साझाका रुपमा लिइन्थ्यो त्यतिबेला । कैलालीको भजनीमा साझामा काम गर्थे भोजराज । यूएसएडले फन्डिङ गरेको उक्त संस्थामा क्षमता विकासका लागि बेलाबेला अमेरिकन विशेषज्ञ आउँथे । तिनै विशेषज्ञ मध्येका एक अमेरिकन भोजराजका साथी थिए ।
ती साथी सिकारको सौखिन थिए । ०२५ साल परिपरि ती अमेरिकनलाई सिकारका लागि सघाएको क्षण भोजराजको मानसपटलमा गाढा छन् । ती साथी सिकार खेल्न हेलिकोप्टरमा आउँथे । भजनीमा हेलिकोप्टर राखेर उनी भोजराजलाई भेट्थे ।
एकपटक उनलाई बँदेलको मासु खान मन लाग्यो । बँदेलको सिकार गर्न भोजराजलाई लिएर उनी जंगल हिँडे । ‘सिकारमा घाइते भएको बँदेलको आक्रमणबाट मैले उहाँलाई जोगाएको छु,’ भोजराज त्यो क्षण सम्झन्छन् ।
तिनै अमेरिकन साथी फेरि सिकार खेल्न आए । भोजराजले भजनीको खोलातर्फ लैजाँदै भने, ‘त्यहाँ उफ्रने माछा माइन्छ । त्यसको सिकार गर्नुपर्छ ।’ त्यो सुनेर दंग परेका अमेरिकन साथीले भने, ‘उफ्रिने माछा पनि हुन्छ ? ल भेटियो भने इनाम दिन्छु ।’
खोलामा पुगेर साथीले बन्दुक ताके । केहीबेरमा ‘उफ्रिने माछा’ आयो । सिकारको नियमअनुसार पाहुनाहरूलाई नै पहिला फायर गर्न दिइन्थ्यो । ‘उफ्रिने माछा देखियो । बडो ठूलो थियो । तर उहाँले फायर नै गर्नुभएन,’ उनी सम्झन्छन्, ‘बरु बन्दुक बिसाउनुभयो ।’ त्यतिबेला पहिलोपटक ती साथीले भने, ‘यो उफ्रिने माछा होइन, यो त धेरै दुर्लभ डल्फिन हो ।’
पहिलोपटक भोजराजले डल्फिनको नाम सुने । ‘यो तपाईंहरूको भाग्य हो,’ फर्किने बेला बाटाभरि डल्फिनको महत्व सुनाउँदै भने, ‘तपाईंहरूले यसको संरक्षण गर्नुपर्छ ।’
अमेरिकन साथीको सुझाव भोजराजको मनभित्र गढ्यो । त्यसपछि उनी डल्फिनका पुस्तक पढ्न थाले । अघिसम्म रहस्यमयी उफ्रिने माछाको सौन्दर्य, स्वभाव र महत्व थाहा पाउँदै गएपछि भोजरालाई डल्फिन प्रेम बढ्दै गयो ।
त्यसअघि बाटो हिँड्दा खोलामा बालबालिका र युवाहरू ‘उफ्रिने माछा’ पर्खेर बस्थे । जब पानी बाहिर देखिन्थे । गुलेलीले प्रहार गर्थे । अब त्यो प्रहारले भोजराजको मनमा पनि चोट लाग्न थाल्यो । उनले डल्फिनमाथि प्रहार गर्ने हातबाट गुलेली खोस्न थाले ।
डल्फिनका क्लबहरू खोल्ने योजना बनाए । चेतना फैलाउने अभियान सोचे । सुरुमा त उनको अभियानमा साथ दिनेहरू थिएनन् । बरु उनलाई खिसिट्युरी गर्नेहरू थिए ।
एकपटक भोजराज गाउँको होटलमा चिया खाइरहेका थिए । वरिपरिकाले भने, ‘डल्फिन आयो, डल्फिन !’ सोधखोज भयो, ‘खै कहाँ आयो ?’ उनी बसिरहेको ठाउँतर्फ इंगित गर्दै भनियो, ‘उ: त्यो गुप्ताको होटलमा बसेर चिया खाँदै छ ।’ बालाई गाउँकै मान्छेहरूले गरेका दुर्व्यवहार छोरा विजयराज श्रेष्ठले बिर्सेका छैनन् ।
भोजराज स्कुल गएर विद्यार्थीलाई चेतना बाँड्न थाले । ‘बर्खाको समय डल्फिन आउँथ्यो । केटाकेटी निसाना लगाउँथे । गुलेलीले हानेपछि मर्ने त होइन, डल्फिनलाई चोट लाग्थ्यो । मैले स्कुलमा डल्फिन जोगाउन क्लब खोलेँ, सदस्यहरू बनाएँ,’ भोजराज भन्छन् ।
उक्त क्लबमा पहिलोपटक सदस्य बनेका जयप्रसाद ढुंगाना अहिले डल्फिन संरक्षणकर्ताका रुपमा चिनिन्छन् । उनी भन्छन्, ‘हामी सरकै बाटो पछ्याएर यहाँसम्म आइपुग्यौँ ।’
भजनी–८ का जयप्रसादका सम्झनामा उनीहरू ठाउँ अभावले गुज्रिएको थियो । ‘सरले भन्नुहुन्थ्यो– तपाईंहरूको भविष्य यो डल्फिन हो । डल्फिन जोगायो भने भोलि यहाँ पर्यटकहरू आउँछन् । गाउँको मुहार फेरिन्छ,’ उनी सुनाउँछन् ।
डल्फिन मात्र होइन भोजराजले वृक्षारोपण गर्न सिकाए, चराहरू जोगाउन सिकाए । बिस्तारै डल्फिन पढाइको महत्वपूर्ण पाटो पनि बन्यो जयप्रसादहरूका लागि । जयप्रसादसँगै क्लबका सदस्य बनेका भोजराज ढुंगाना अहिले डल्फिन संरक्षणकर्ता छन् । ‘त्यतिबेला सरले भन्नुहुन्थ्यो– बाबु तिमीहरू लाग । पछि यहाँ उलटपुलट हुन्छ,’ उनी सुनाउँछन् ।
साना केटाकेटीको हातबाट गुलेली छुटाउन ‘गुलेली बाजे’ले अनेक प्रयत्न गरे । सम्झाउँथे- ‘तिम्राजस्तै चराहरूको पनि बा आमा हुन्छन् । उनीहरू सन्तानका लागि चारो खोज्न बाहिर गएका हुन्छन् । तिमीले मार्यौ भने छोराछोरी एक्लै हुन्छन्, भोकै मर्छन् ।’
त्यो कथाले पग्लिएका बालबालिकाले सरक्क गुलेली भोजराजलाई थमाउँथे । अन्नबाली असमयमै सुक्ने कारण किसानहरू आजित थिए । गुलेलीबाजेले कारण खोज्थे, ‘अन्नबाली सुक्नुको कारण चरा मारेर हो ।’
कसरी त ? बुझाउँथे- ‘किराले खाइदिएर सुकेको हो । चराहरूले किरा खान्थे, अनि किराले बाली खान पाउँदैन थिए । किरा खाने चरा नै छैनन् भने...!’
यसरी चरा मार्न हुन्न भन्ने चेत पनि गाउँमा विस्तारै फैलँदै गयो । यो अभियानलाई सघाउनमा त्यतिबेला सञ्चारमाध्यमको पनि ठूलो हात रहेको बताउँछन् भोजराज ।
अभियानकै क्रममा गोरखापत्रमा यसबारे समाचार आयो । समाचारलगत्तै पाठक प्रतिक्रियामा भोजराजलाई गाली आयो, ‘यो गलत कुराको प्रचार किन गर्दै हुनुहुन्छ ? साँच्चिकै नेपालमा डल्फिन छ भने १० वटा फोटो खिचेर पठाइदिनुस् । डल्फिन छँदै छैन ।’
गोरखापत्रमा छोरा विजयराजले ०५९ सालमा खण्डन छापे, ‘यदि साँच्चिकै विरोध गर्नुहुन्छ भने यहाँ आएर हेर्नुहोला ।’
त्यतिबेला कान्तिपुर दैनिकले पनि उनीहरूको अभियानलाई सघाएको सम्झना छ भोजराजलाई ।
उनी सम्झन्छन्, कान्तिपुरले नियमित लेख्यो– आज १० वटा गुलेली जम्मा भयो । तीन दिनपछि ६२ पुगेको लेख्यो । '२ सय गुलेली जम्मा गरेको लेखिसक्दासम्म उलटपुलट नै भएको थियो, ’ भोजराज भन्छन् । सशस्त्र युद्ध चलिरहेको बेला एकजना माओवादीका नेताले ठट्टामा भनेका थिए, ‘भोजराज श्रेष्ठ गुलेली संकलन गरेर हिँड्छन्, हामी बन्दुक ।’
२०६३ सालमा कैलालीमा डल्फिन महोत्सव भयो । त्यो महोत्सवले देशभर राम्रै प्रचारप्रसार भयो । त्यो थाहा पाएर एकजना विदेशी पर्यटक गाउँ आए ।
उनले अभियानको तारिफ गरे । त्यतिबेला ती विदेशी पर्यटकले छोरा विजयराजलाई भने, ‘विजय म आएको केही सेकेन्डमा चार वटा डल्फिन देखेँ ।’ प्रचारप्रसार यसरी बढ्यो कि भजनीका हरेक मान्छेले छाती फुलाएर भन्न सक्थे, ‘म डल्फिन पाउने क्षेत्रको मान्छे ।’
कुनै समय ऋणले चुर्लुम्म डुबेकोे क्षण भोजराजको नाम कृषि विकास बैंकमा आउँथ्यो । ‘तर सिर्जनशील कामबाट पनि पत्रिकामा नाम आउँछ भन्ने कुरा त्यसपछि थाहा भयो,’ छोरा विजयराज भन्छन् ।
०५७ सालमा दर्ता भएको डल्फिन संरक्षण केन्द्रका संस्थापक भोजराजलाई छोरा र नयाँ पुस्ताहरूले सघाउँदै आएका छन् ।
त्यो ठाउँ पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । अहिलेसम्म उनीहरूले ८ हजारभन्दा बढी गुलेली संकलन गरेका छन् । ‘८ हजार गुलेली संकलन गर्नु भनेको वर्षमा ८० हजार चरा मर्नबाट जोगिने रहेछन्,’ छोरा विजयराज भन्छन् ।
अहिले कैलालीमा चराको संख्या बढेको छ । डल्फिन पनि बढिरहेका छन् । ‘वातावरण संरक्षणसँगै विस्थापित हुन लागेका गाउँकै स्वरुप परिवर्तन भएको देख्दा असाध्यै खुसी लाग्दो रहेछ,’ भोजराज खुसी हुँदै भन्छन् ।
