काठमाडौँ — भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सव'मा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन् । छेवैमा पाक्दै छ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीको ध्यान गइरहेको देखिन्छ । खाना पारखी स्वाद मानीमानी खाइरहेका छन् ।
नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकाले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउँछिन् । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्नेमा जोड दिन्छिन् । 'हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौं भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ,' उनले भनिन् ।
उनको छेवैको स्टलमा नेवारी परिकार बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ । भिलेज क्याफेकी पुनमाया डंगोलले नेवारी परिकार प्रवर्द्धन र यसको स्वाद सबैमाझ पुर्याउन महोत्सवमा सहभागी भएको बताइन् । 'क्याफेमा त थुप्रै परिकार पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौं । नेवारी परिकार धेरैको जिब्रोमा झुन्डिएको छ । धेरैले रुचाइदिनुभएको छ,' उनले भनिन् ।
डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन् । उनीसँग १५० वटा मौरीका घार छन् । उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबाली ब्रान्डिङ गरेर बेच्दै आएकी छन् । उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्द्रुकलगायत २० प्रकारका सामग्री छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी छ । 'यी अन्न मधुमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । थाहा हुनेले खोजेर खानुहन्छ,' उनले भनिन् ।
परम्परागत र मौलिक खानाको संगम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एन्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थलगायत मिठाइ, आइसक्रिम, भुजिया, नम्किन, पनिर तथा चिज मःम बेच्दै आएको छ ।
डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा मोही कैयौं गुणा स्वस्थ्यकर भएकाले यसको ब्रान्डिङमा लागेको सुनाए । 'स्थानीय उत्पादन मोहीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने भएकाले सुरु गरेका हौं,' उनले भने, 'गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शीतल गराउँछ ।'
अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारको प्रदर्शनी मात्र नभई नेपाली सेफको पहिचान, प्रतिभा, मेहनत र सिर्जनशीलताको सजीव दस्तावेज रहेको बताए । नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको उनको भनाइ छ । 'विश्वसामु चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ,' उनले भने ।
खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महोत्सवमा ४० वटा खानाका, ५ वटा रैथाने बाली र ५ वटा पर्यटनसम्बन्धी जानकारीसहित ५० वटा स्टल रहेका छन् । खानाका स्टलमा नेवारी, थारू, राई, लिम्बू, थकालीलगायत विभिन्न जातजातिका मौलिक खाना राखिएका छन् ।
