सगरमाथामा फालिएको फोहोरबाट आकर्षक कला बनाउँदै सौरभ  

वैशाख ४, २०८२

नुमा थाम्सुहाङ

Saurabh making fascinating art from garbage thrown at Mt

काठमाडौँ — सगरमाथा चढ्न जाने आरोहीले फालेको सामान प्रयोग गरेर कलाकार सौरभ कोइरालाले नौरंगी डाँफे, मौरी र याक बनाएका छन् । 

त्यतिमात्र होइन सौभरले मानवीय क्रियाकलापले प्रकृतिमा बढ्दै गइरहेको असर देखाउन हिमाली भेगमा पाइने तीन वटा माउन्टेन थार बनाएका छन् । 

उनी भन्छन्, ‘मैले हिमाल चढ्न जाने र उनीहरूले प्रयोग गरेर फालेको फोहोरबाट बनाउन मिल्नेसम्म विभिन्न जनावरको आकृति बनाएको छु ।’ सौरभ सन् २०१८ मा सगरमाथा नेक्स्ट र सारा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘वेस्ट टु आर्ट वर्कसप’ बाट आर्टिस्टिक रेसिडेन्सीका लागि छनोट भएका हुन् । आर्टिस्टिक रेसिडेन्सीका लागि छनोट भएसँगै अहिले सौरभ गत एक महिनादेखि ३७७५ मिटर उचाइमा रहेको स्याङ्बोचेको सगरमाथा नेक्स्टमा बसेर हिमाल चढ्ने आरोहीले फालेको फोहोरबाट विभिन्न कलाकृति बनाइरहेका छन् । 

Saurabh making fascinating art from garbage thrown at Mt

‘सगरमाथा, नाम्चे, खुम्जुङ र थ्री पासेस जाने पर्यटकले प्रयोग गरेर फालिएको सामान स्याङ्बोचेमा भएको डम्पिङ पिट राखिन्छ,’ उनले भने, ‘केही भरियाले ल्याएको र डम्पिङ पिटमा फालिएको फोहोरबाट विभिन्न जनावरको आकृति बनाइरहेको छु ।’ त्यहीँ डम्पिङ पिटबाट आफूलाई काम लाग्ने सामानहरू छानी सौरभले मौरी, डाँफे र माउन्टेन थारको गरी ११ वटा कलाकृति बनाएका छन् ।

‘मैले सल्लाको बीउ र पर्वतारोही खुट्टामा लगाउने किलावाला जुत्ता, बियरको क्यान प्रयोग गरेर ५ वटा मौरी प्रजातिको भ्यालिन्टा, ड्रागन फ्लाई स–सानो बनाएको छु,’ उनले भने, ‘साथै मिस्त्रीले प्रयोग गर्ने काठालाई सिधा बनााउने, याकको हड्डी, ग्यास हिटरको पार्ट प्रयोग गरेर दुई वटा डाँफे बनाएको छु ।’

यसैगरी उनले माउ, बाउ र बच्चा गरी तीन वटा परिवार भएको माउन्टेन थार बनाएका छन् । यसका लागि भने सौरभले ग्याँस स्टोभ, क्यारिफोन स्टोभ र बुरानो बाइसाइकलको पार्टस् प्रयोग गरेका छन् ।

Saurabh making fascinating art from garbage thrown at Mt

‘मैले याक पनि बनाएको छु । यसमा भने याकको रौंका लागि अमादब्लम जाने पवर्तारोहीले प्रयोग गरेको डोरी प्रयोग गरेको छु,’ उनले भने, ‘डम्पिङ पिटमा फालिएकोमा जे काम लाग्छ भेला गरेर बनाउँदै जाने हो ।’ 

मान्छेले हेर्दा फोहोर देखे पनि एउटा कलाकारले भने त्यसलाई कलात्मक आँखाले हेर्ने सौरभ बताउँछन् । ‘मान्छेले बियर क्यानमा केही देख्दैन । तर कलाकारले बियरको रंगलाई डाँफेको रंगीचंगी बनाउन प्रयोग गरे,’ उनी भन्छन्, ‘फालिएको फाहोरलाई मैले मिलाएको हुँ । यसरी फोहोर पनि राम्रो देखिन्छ ।’

फोहोरबाट कला बनाउनुको उद्देश्य सगरमाथा ट्रेल ट्रेकिङ नाम्चेको एसपीसीसी (सगरमाथा पलुसन कन्ट्रोल कमिटी) सफा राख्नमा सहयोग गर्नु रहेको सौरभले बताए । मान्छेको जनसंख्या बढ्दै गएपछि फोहोर पनि बढ्ने तर फाहोर थुपारेर मात्र समाधान नहुने उनको भनाइ छ ।

Saurabh making fascinating art from garbage thrown at Mt

‘यसमा सबैको ध्यानाकर्षण गराउन जरुरी छ । फोहोरलाई पनि प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसको व्यवस्थापन गर्न निकै चुनौती छ । तर फोहोरलाई पनि स्रोतका रूपमा हेर्न सक्नुपर्‍यो ।’ 

र, उनको कलाले पनि मानिसले गरेको फोहोरबाट प्रकृतिमा परेको असर झल्काउन प्रयास गरेको सौरभले बताए । ‘मेरो कलाले मानव क्रियाकलापले प्रकृतिले नराम्रोसँग गाँजेको छ । अर्कोतिर प्रदूषणले सबैतिर ढाकेको छ,’ उनले भने, ‘त्यसैले माउन्टेन थार पनि हेर्दै नमिठो, लाग्ने गरी बनाएको छु ।’ तर यसरी फोहोरलाई पनि राम्रो काममा प्रयोग गर्न सकिन्छ भन्ने आफ्नो कलाले सन्देश दिने उनले सुनाए ।

सौरभ यसअगाडि एनिमेसन एजेन्सीमा कन्सेप्ट आर्टिस्ट र कार्टनु क्यारेक्टर बनाउने काम गर्थे । उनी १० वर्षदेखि यस क्षेत्रमा छन् । ‘एक कलाकारको हिसाबले माध्यम जे पनि हुन सक्छ । केही समय डिजिटल गरे । क्यानभास प्रयोग गरेर चित्र पनि बनाए,’ उनले भने, ‘तर अहिले फोहोर नै मेरो माध्यम भयो । फालिएको टिन र बियर क्यान नै मेरो रंग भए । यो पनि एक किसिमको माध्यम हो । कलाकारको कला नै सिर्जनामा हुन्छ । उसले जे पाउछ त्यही माध्यमबाट प्रयोग गरेर कला देखाउन सक्छ ।’

सौरभलाई अहिले सगरमाथाको फेदीमा बसेर फोहोरबाट विभिन्न कलाको सामान बनाउँदा आनन्द मिलेको छ । ‘हिमाल पनि हातले छोइला जस्तो छ,’ उनी भन्छन्, ‘सुन्दर ठाउँ छ । अब सगरमाथा नेक्स्ट जस्तै संघसंस्था आबद्ध भई विद्यार्थीहरूलाई जनचेतनाको लागि सिकाउन मन छ ।’

Saurabh making fascinating art from garbage thrown at Mt

कोभिड–१९ ले गरेर आर्टिस्टिक रेसिडेन्सी पछि सरेको उनले बताए । ‘त्यतिबेला वर्कसपमा सगरमाथाबाट लिएर गएको फोहोरबाट कलाकृति बनाउन तारागाउँको म्युजिममा एकमहिने वर्कसप चलेको थियो,’ सौरभ भन्छन्, ‘हामी पाँच जनाबाट दुई जना आर्टिस्टिक रेसिडेन्सीको छानिएको हो ।’ 

सौरभले बनाएको कला सगरमाथा नेक्स्टको प्रदर्शनीमा राखिनेछ । ‘एउटा आर्ट सगरमाथा नेक्स्टका लागि सधैंभरि बिक्री नगर्ने गरी दिनुपर्छ,’ उनले भने, ‘प्रदर्शनीमा राखिएको अरु बिक्री भए ५० प्रतिशत भने कलाकरलाई आउँछ ।’

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully