करेन्टबाट दुवै हात गुमाएकी मेघाको ‘टिकटक’ यात्रा

टिकटकमा ४४ लाख, इन्स्टाग्राममा १८ लाख र फेसबुकमा करिब २ लाख ४० हजार ‘फलोअर’

चैत्र १४, २०८१

पर्वत पोर्तेल

'Tiktak' journey of Megha who lost both hands due to electrocution

विराटनगर — विराटनगर महानगरपालिका–८ की २८ वर्षीया मेघा घिमिरे सामाजिक सञ्जालमा चर्चित छिन् । टिकटकमा उनी धेरैका लागि ‘स्टार’ हुन् । टिकटकमा उनलाई ४४ लाखले ‘फलो’ गरेका छन् । इन्स्टाग्राममा १८ लाख र फेसबुकमा करिब २ लाख ४० हजार ‘फलोअर’ छन् ।

नौ वर्षअघि दुर्घटनामा परेर दुवै हात गुमाएपछि कठिन समय गुजारिरहेका बेला मेघाका लागि साथी बनेको थियो टिकटक । त्यसैमार्फत आम मान्छेसम्म पुगेर उनी अरूका लागि प्रेरणाकी स्रोत बनेकी छन् । ‘मलाई खुसी बनाएको टिकटकले नै हो,’ मेघा भन्छिन्, ‘यो प्लाटफर्म नभएको भए आज म कुन हालतमा हुन्थें, मलाई नै थाहा छैन ।’ 

२०७२ पुसमा मेघा घरको छतमा काम गरिरहेकी थिइन्, उनको हात अचानक बिजुलीको हाइटेन्सन तारसँग ठोक्किन पुग्यो । ३३ हजार भोल्टको करेन्ट छत नजिकैबाट दौडिन्थ्यो । त्यसैको झट्काले उनलाई उछिट्यायो । करेन्टले उनका दुवै हात जले । उपचारका क्रममा हात काट्नुपर्‍यो । ‘हातमा पञ्चरत्न धातुको चुरा थियो, त्यो हाइटेन्सन तारमा ठोक्किएर करेन्ट लाग्यो,’ उनले भनिन्, ‘म कसरी बाँचे हुँला, सम्झिँदा पनि छक्क पर्छु ।’ 

अस्पतालबाट हात काटेर जब घर फर्किइन्, निकै समय उनले घरबाहिर निस्कने साहस जुटाउनै सकिनन् । तर भाइको सहयोग र हौसलाले घरबाहिर निस्किन थालेकी थिइन् । टिकटक चलाउन थालेपछि भने उनले पीडा भुल्न थालिन् । कोरोना महामारीका कारण लकडाउन भएका बेला उनको ध्यान टिकटकतिर मोडिएको हो । ‘लकडाउन थियो, पीडामाथि पीडा थपिएको थियो, मन शान्त पार्न र खुसी हुन टिकटकलाई साथी बनाएँ,’ मेघाले सुनाइन्, ‘छोटो समयमै टिकटकले मलाई चिनायो ।’ 

'Tiktak' journey of Megha who lost both hands due to electrocution

लकडाउनको समयमा टिकटकमा सक्रिय हुँदै गीत प्रतियोगितामा भाग लिएर मेघाले पहिलो भएर १ लाख राशीको पुरस्कार जितेकी थिइन् ।त्यसपछि टिकटकप्रति झनै रस भिज्यो । उनी सानैदेखि नाचगानमा रमाउँथिन् । त्यही प्रतिभालाई उनले टिकटकमा प्रदर्शन गरेकी हुन् । उनको यो फरक क्षमतालाई धेरैले ‘लाइक’ गर्न थाले । उनी हौसिँदै गइन् । ‘भिडिओ हेरेर मजस्ता धेरै मान्छेले हिम्मत बढेको छ भनेर सुनाउँदा एकदमै खुसी लाग्छ,’ मेघाले सुनाइन्, ‘हात नहुँदैमा मैले सबै कुरा गुमाएको त हैन नि ।’ टिकटकमार्फत पाएका ‘फ्यान’ को मायालाई उनले आत्मबलका रूपमा ग्रहण गरेकी छन् । 

घटना हुनु केही समयअघि मात्र मेघाले भागी बिहे गरेकी थिइन् । दुवै हात गुमेपछि पतिसँग उनको सम्बन्ध पनि बिग्रियो । पतिबाट असहयोग भएपछि उनले सम्बन्धविच्छेदको बाटो रोजिन् । अहिले माइतमै बस्छिन् । हात गुमाउँदा मेघा एसएलसीमा एउटा विषयमा फेल भएकीले पुनः परीक्षाको तयारी गरिरहेकी थिइन् ।

घटनापछि उनले आफैं लेखेर जाँच दिन सकिनन् । एक जना साथीको सहयोगमा परीक्षा दिइन् । प्लस टु पनि अरूकै सहयोगमा लेखेर पास गरिन् । त्यसपछि भने उनको पढाइमा पूर्णबिराम लाग्यो । ‘पढ्न मन हुँदाहुँदै सकिनँ,’ उनले सुनाइन् ।  

'Tiktak' journey of Megha who lost both hands due to electrocution

मेघा टिकटकबाटै कमाएर आत्मनिर्भर पनि बनिसकेकी छन् । सुरुमा आमाबाले खाना खुवाइदिनुपर्थ्यो, भाइले मुख धोइदिन्थ्यो । बिस्तारै उनले आफ्नो काम आफैं गर्न थालिन् । अहिले टिकटक बनाउनुअघि आफैं मेकअप गर्छिन् । लुगा लगाउन चाहिँ आमाको सहयोग लिन्छिन् । ‘हात नभए पनि मलाई आत्मनिर्भर भएर खुसीसाथ जिउन मन छ,’ उनले भनिन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully