बन्जीले बदलेको पहिचान

पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर कालीगण्डकी नदीमाथि ५ सय २० मिटर लम्बाइ र २ सय २८ मिटर उचाइमा पुलको निर्माण गरिएको छ । यहाँबाट एकैपटक बन्जी र स्वीङको मज्जा लिन सकिन्छ । 

चैत्र ७, २०८१

सुमनजंग थापा

Bungee's changed identity

पर्वत — पाँच वर्षअघि मात्र पोखरा अएका पर्यटकले पर्वतको नाम सम्झँदैनथे । यतिसम्म कि यही बाटो भएर मुस्ताङ, बागलुङ र म्याग्दी पुग्ने पर्यटकले समेत पर्वत चिन्दैनथे । पर्यटकहरु सदरमुकाम कुश्मा हुँदै मुस्ताङ हुइँकिन्थे । कुश्माका होटल व्यवसायी चुपचाप बस्नुको विकल्प थिएन ।  

सम्भावना र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि पर्वत पर्यटकका लागि बिरानो थियो । डेढ दशकअघि काठमाडौं बसेर क्याम्पस पढ्दा साथीहरुलाई आफ्नो घर पर्वत भन्दा धेरैले निधीखोजी गरेपछि बागलुङ भन्ने गरेको कुश्माका विकास पौडेलले सुनाए । ‘नयाँ साथी भेटिने क्रममा परिचय गर्‍यो, घरचाहिँ पर्वत है भन्यो, सबै चुपचाप भइदिने,’ उनी ठट्यौली पारामा साथीभाइसँगका पल सम्झन्छन् । 

कुश्मामा पहिलो पटक २०६८ मा नेपालकै अग्लो पुलको दाबीसहित कुश्मा–ज्ञादी झोलुंगे पुल निर्माणपछि मुस्ताङ पुग्ने केही पर्यटक थोरै समयका लागि पुलमा अडिने वातावरण बन्यो । अहिलेसम्म कुश्मा आसपास ५ वटा अग्ला तथा लामा झोलुंगे पुल निर्माण भइसकेका छन् । यी पुलले कुश्मा, बागलुङ आसपासका गाउँका स्थानीयको दैनिकी सहज बनाउनुका साथै पर्यटकीय गतिविधिमा सघाउ पुर्‍याएको छ ।  

पुलमा आउने पर्यटकको संख्या वृद्धि गर्न र कुश्मालाई गन्तव्य बनाउन यहाँका व्यवसायी अग्रसर भएर २०७१ तिर कुश्मा–ज्ञादी झोलुंगे पुलमा बन्जी सञ्चालन ल्याउने सोच बनाए । सम्भाव्यता अध्ययन गर्न पर्वत पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष शिवप्रसाद शर्माको नेतृत्वमा सिन्धुपाल्चोकस्थित भोटेकोशी बन्जीमा पुगे । उनीहरुले भोटेकोशीमा बन्जी गराउँदै आएको 'द लास्ट रिसोर्ट'का सञ्चालक विष्णु न्यौपानेलाई पर्वत ल्याएर बन्जी सञ्चालनका लागि अध्ययन पनि गराए । 

‘नेपालकै पहिलो अग्लो तथा लामो झोलुंगे भएकाले कुश्मा–ज्ञादी झोलुंगे पुल हेर्न आउनेको भीड बाक्लो थियो । दक्षिण पर्वतका स्थानीयलाई कुश्मा आउन २ घण्टा लाग्ने समय पुलका कारण घटेर ५ मिनेटमा छोटिएको थियो,’अध्यक्ष शर्माले भने, ‘बन्जी सञ्चालन गर्दा मान्छेको आवतजावत रोक्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा जनस्तरबाट विरोध हुने देखेपछि हामीपछि हट्यौं ।’ Bungee's changed identity

द लास्ट रिसोर्टमा क्यानोनिङ प्रशिक्षकका रुपमा कार्यरत राजु कार्कीले पर्वतबाट बन्जी सञ्चालन गर्ने विषयमा सम्भाव्यता अध्यनका लागि आएको भन्ने सुने । साहसिक गतिविधि सञ्चालन गर्ने क्यानोनिङ प्रशिक्षकको मुख्य जिम्मेवारी क्यानोनिङमा सहभागीको सुरक्षा सुनिश्चित गर्दै रोमाञ्चक र सुरक्षित अनुभव प्रदान गराउने हुन्छ । कार्कीले त्यहाँ बन्जी र स्विमिङ प्रशिक्षकका रुपमा समेत काम गर्दै आएका थिए । ३ हजार रुपैयाँबाट काम सुरु गरेका उनले १ लाख २० हजारसम्म तलब पाउने हैसियत बनाएका थिए । कार्कीले त्यहाँ ७ वर्षजति काम गरे । 

त्यही समय हो, सिन्धुपाल्चोकमा जन्मी–हुर्केका कार्कीको कानमा पहिलोपटक चर्कोगरी 'पर्वत' नाम गुन्जिएको । कानमा गुन्जिएको पर्वतले उनको मनमस्तिष्कमा समेत हलचल ल्याइदियो । र, सपना बुन्न थाले पर्वतमा भएको अग्लो तथा लामो झोलुंगे पुलमा बन्जी सञ्चालनको । कुश्मा आएर यहाँका केही व्यवसायीलाई बन्जी सञ्चालनको योजना सुनाएर लगानीका लागि उत्साहित बनाए । त्यसमा टंक लामिछाने, मीनप्रसाद श्रेष्ठलगायत जोडिन आइपुगे । ‘२०७३ तिर हुनुपर्छ, कुश्मास्थित सार्वजनिक बडगाउँ–कैया झुलुंगे पुलमा बन्जी सञ्चालनका लागि धेरै समय खर्च गर्‍यौं, त्यो सफल हुन सकेन । तत्कालीन स्थानीय विकास अधिकारीले सार्वजनिक ठाउँमा बन्जी सञ्चालन गर्दा समस्या हुने देखाएर आलटाल गर्नुभयो,’ कार्कीले भने । 

मन्त्रालयदेखि विभिन्न कार्यालयमा पुग्दा, तिमीहरुलाई हुन्न भनेको होइन फेरि कति आएको भनेर हप्की खेप्नुपर्नेदेखि कर्मचारीबाट राम्रो व्यवहार नपाएका नमिठा अनुभव उनीसँग प्रशस्त छन् । सार्वजनिक पुलमा बन्जी सञ्चालन गर्ने सपना तुहिए पनि जुनै मूल्यमा बन्जी सञ्चालन गरेरै छाड्ने अठोट लिए । यतिन्जेलसम्म उनलाई साथ दिएका पुराना समूह बाहिरिइसकेका हुन्छन् भने युवराज जोशी, नेत्रप्रसाद पराजुली, राजन जोशी र नवराज शर्मा उनीसँग जोडिए । त्यसपछि उनको समूहले ‘द क्लिफ प्रालि’का नामबाट कम्पनी खोलेर कालीगण्डकी नदीमाथि निजी पुल निर्माणको कामलाई अघि बढाएका हुन् । उनी यस कम्पनीका अध्यक्ष पनि हुन् । 

त्यो बेला बैंकले कम्पनीको नाममा ऋण नपत्याएपछि समूहका सबै सदस्यले व्यक्तिगत जग्गा धितो राखेर ८ करोड रुपैयाँ ऋण लिएको उनी सम्झन्छन् । ‘कम्पनी सञ्चालन भएको एक वर्षपछि हाम्रो कारोबार र बन्जीको पब्लिसिटी राम्रो भएपछि बैंकले हामीले राखेको व्यक्तिगत सम्पत्तिको धितो फिर्ता गरिदियो,’ कार्की भन्छन्, ‘अहिले द क्लिफमा ६० करोड बराबरको लगानी भइसकेको छ, भने १ सय १० जना कर्मचारी कार्यरत हुनुहुन्छ ।’ Bungee's changed identity

पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर कालीगण्डकी नदीमाथि ५ सय २० मिटर लम्बाइ र २ सय २८ मिटर उचाइमा पुलको निर्माण गरिएको छ । यहाँबाट एकैपटक बन्जी र स्वीङको मज्जा लिन सकिन्छ । बन्जी र स्वीङ नगर्नेचाहिँ कहालीलाग्दो पुलको यात्रामा रमाउन सक्नेछन् । कम्पनीले रिसोर्ट, व्यावसायिक स्काई साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई चियरलगायत गतिविधि पनि सञ्चालनमा ल्याएको छ । ‘निर्माण कार्य थालेको २ वर्षमा सक्ने हाम्रो योजना थियो, ठेकेदारले ढिलासुस्ती गरेपछि चार-पाँच वर्ष नै लायो । पछि ठेकेदारसँगको सम्झौता रद्द गरेर आफैले दक्ष कामदार ल्याएर काम सुरु गर्‍यौं,’ कार्कीले भने, ‘जसोतसो २०७७ बाट औपचारिक रुपमा व्यवसायलाई सञ्चालनमा ल्यायौं । सरकारले पर्यटन वर्ष पनि घोषणा गरेकाले धेरै उत्साह थियो । तर त्यहीबेला कोरोनाको महामारी सुरु भयो ।’

पहिले बाँदरको बासस्थान, लागुऔषध प्रयोगकर्ताको जमघट हुने र शौच गर्ने ठाउँ राम्चेको डिल अहिले बन्जी साइडको नामले चिनिएको छ । बन्जी सञ्चालनमा आएपछि यही राम्चेको डिललगायतका आसपासमा चार दर्जन बढी संख्यामा होटल तथा रेस्टुरेन्ट खुलेका छन् । धेरैले रोजगारी पाएका छन् । बाह्य पर्यटकका कारण व्यापार व्यावसाय फस्टाएको छ ।

एकपछि अर्को पर्यटक लक्षित संरचना बनेका छन् । अर्का युवा व्यवसायी सुनिल बानियाँको समूहले पनि नजिकै द हार्नेस कम्पनीको नामबाट २०७८ मा जिपलाइन र नदी किनारमा रिसोर्ट सञ्चालनमा ल्याएका छन् । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा जिपलाइनको ल्यान्डिङ रिसोर्ट परिसमरमै हुन्छ । 

कुश्माका ३२ वर्षीय मौसम आचार्य बन्जीकै कारण विदेश जाने सपना त्यागेर रेस्टुरेन्ट व्यवसायमा लागेका छन् । पहिले सानो टिनको छाप्रोमा चियापसल सँगै विदेश जाने तयारीमा भिसा कुर्दै बसेका उनी बन्जी सञ्चालनमा आएपछि २०८० मा विदेश जाने सपना छाडेर व्यवसायलाई बढाउने निधो गरे । ‘६० लाख लगानीमा बन्जी हिल साइड नामक रेस्टुरेन्ट स्थापना गरेको छु । जग्गा पुर्ख्यौली थियो, ऋण बैंकबाट लिएँ । अहिले सबै बैंकको पैसा तिरेर केही रकम बचत पनि भएको छ,’ मौसम भन्छन्, ‘बन्जीले पर्वतको पहिचान देश विदेशमा फैलाउन मदत गर्नुका साथै आफूजस्ता युवाका लागि धेरै राम्रो अवसर ल्याएको छ ।’ 

कुश्मामा बन्जी सञ्चालन हुनु खुसीको कुरा भएको स्थानीय बताउँछन् । ‘पहिले विदेशी देख्न त परै जाओस् नयाँ अनुहारका मान्छे पनि कुश्मामा देख्न मुस्किल पर्थ्यो,’ स्थानीय इन्द्रकुमारी क्षेत्री भन्छिन्, ‘अहिले जताततैका मान्छे आउँदा ज्यादै रमाइलो लाग्छ । फेसबुक, युट्युब अनि टिकटकमा देशविदेशका मान्छेले कुश्माबारे भिडिओ बनाउँदा त छुट्टै रमाइलो हुने रैच ।’ 

बुटवलबाट मुस्ताङ घुम्न आएका बसन्त खरालको परिवारले पूरा दिन बन्जी परिसर घुम्ने, अग्ला तथा लामा पुलमा रमाउनेदेखि नजिकै रहेको गुप्तेश्वर मन्दिरमा पुगेर पूजा समेत गरेका छन् । कुश्मा–मुडिकुवा झोलुंगे पुलमा एक छोरा, दुई छोरी र श्रीमतीसहित तस्बिर खिच्नमा रमाइरहेका उनले एक दिन कुश्मा बस्ने र बिहानै कालीगण्डकी करिडोरको बाटो हुँदै पाल्पा निस्केर बुटवल लाग्ने बताए । 

दुरी छोटो भएपछि धेरैले करिडोरको सडकमा यात्रा गर्न मन पराउँछन् । बन्जी घुम्न आउनेको संख्या राम्रै भए पनि त्यसले समग्र कुश्मा बजारको ब्यवसाय प्रवर्द्धनमा टेवा पुग्न भने नसकिरहेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल बताउँछन् । उनले गाडीबाट पर्यटकलाई सिधै बन्जीसम्म नपुर्‍याएर निश्चित ठाउँमा पार्किङस्थल बनाउने र पर्यटकलाई कुश्मा बजार हिँडाएर बन्जीसम्म पुर्‍याउने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन् । 

‘पर्वतका किसानले घरगाउँमा उत्पादन गरेका चिज बजारमा बिक्रीका लागि राख्नेदेखि कुश्माको सुन्दरता झल्कने गतिविधिका लागि कुश्मा नगरपालिका अग्रसर हुनुपर्ने हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘होटल र रेस्टुरेन्टले पनि पर्वतमा उत्पादन हुने लोकल खाना पर्यटकलाई पस्कनुपर्ने र मूल्यमा धेरै नाफा नराखी व्यवसाय सञ्चालन गरेमा पर्यटकहरु आकर्षित हुने देखिन्छ ।’ 

२०७७ देखि अहिलेसम्म 'द क्लिफ'मा आएका पर्यटकको संख्या तीन लाखभन्दा बढी रहेको अध्यक्ष कार्की बताउँछन् । उनका अनुसार ५० हजारभन्दा बढी पर्यटकले बन्जी गरिसकेका छन् । पर्वतमा पर्यटन केन्द्र नभएकाले बन्जी आएका पर्यटक जिल्लाका अन्यत्र पर्यटकीयस्थलमा के कति पुग्न सके भन्ने यकिन तथ्यांक कसैसँग छैन । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully