मुस्लिम समुदायबाट कर्णालीको तारे होटलमा एक्ली म्यानेजर

फाल्गुन १९, २०८१

तृप्ति शाही

A single manager at Tare Hotel in Karnali from the Muslim community

वीरेन्द्रनगर — सुर्खेत वीरेन्द्रनगर–११ की २७ वर्षीया समिना बानु शुभ होटलमा दुई महिनादेखि ‘सेल्स एन्ड मार्केटिङ म्यानेजर’ पदमा कार्यरत छिन् । डेढ वर्षदेखि उनी सुर्खेतकै सिद्धार्थ होटलमा काम गर्थिन् । कर्णालीको एक मात्र चारतारे होटल सिद्धार्थमा काम गर्ने उनी पहिलो महिला म्यानेजर हुन् । तारे होटलको म्यानेजर तहमा पुगेकी उनी कर्णाली प्रदेशकै पहिलो महिला हुन् ।

‘कर्णालीको होटल व्यवसायमा मुस्लिम समुदायका पुरुषकै सहभागिता शून्य छ,’ समिनाले सुनाइन्,‘त्यसमाथि महिला त झनै नौलो कुरा भइहाल्यो नि ।’ कर्णालीका ठूला होटलमा अन्य समुदायकै महिलाको संलग्नता पनि न्यून छ ।

होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले अहिलेसम्म कर्णालीका ठूला होटलमा म्यानेजर पदमा अरु कुनै महिला नभएको बताए । उनका अनुसार कर्णालीमा साना ठूला सबै गरेर सात हजार जति होटल व्यवसाय छन् । महिलालाई घरबाहिर निस्किनै हम्मे पर्ने समाजमा हुर्केर ठूलो होटलको नेतृत्व तहमा पुग्नका लागि उनले गरेको संघर्षको कथा युवतीका लागि प्रेरणादायी भएको उनकी साथी सकिरन बानु बताउँछिन् । सकिरन समिनाको संघर्ष देख्दै हुर्किइन् । साथीको हिम्मत देखेर आफू तथा बहिनीहरूले प्रेरणा लिएको बताउँछिन् । ‘समिनाजस्तो परिस्थितिमा पनि संघर्ष गर्ने अनि आफ्नो तर्फबाट पूरै मिहेनत गर्छिन् । उनी त हाम्री प्रेरणा हुन्,’ उनले भनिन्, ‘उनैलाई देखेर हामी, बहिनी छोरीले सपना देख्न थालेका छन् ।’

समिनाले पढ्नका लागि खासै समस्या झेल्नु परेन । समिनाको पढाइसँगै खेलकुदमा रुचि थियो । तर बाआमाले खेलकुदमा लागेको मन पराउँदैनथे । परिवारबाट उनलाई खेलकुदका लागि विद्यालय बाहिर हुने प्रतियोगितामा जान रोक नै थियो । एकपटक जिल्ला बाहिर आयोजना हुने खेलकुद प्रतियोगितामा छोरी पठाइदिनु पर्‍यो भन्दै शिक्षकहरु उनको घरै पुगेका थिए । अन्तिममा समिनाका बुबा शिक्षिका पनि लैजानु पर्ने सर्तमा छोरी पठाउन तयार भएका थिए ।

‘मसँग शिक्षिका पनि जान मन्जुर भएपछि बल्ल मैले घर छाड्ने अनुमति पाएँ,’ समिनाले सुनाइन्, ‘मेरा छिमेकी साथीले त झनै कठिन समस्या झेले ।’ परिवारले जतिनै अवरोध गर्न खोजे पनि आफूले सोचेको काम गरी छाड्ने उनको जिद्दी स्वाभाव थियो । ‘महिलाहरू खुम्चिएर घरभित्रैमात्र बस्ने बोल्न पनि नसक्ने अवस्था मलाई मन पनि परेन,’ उनले भनिन्, ‘मलाई सानैदेखि केही गरेर देखाएर महिलाको प्रेरणा बन्छु भन्ने लाग्थ्यो ।’ उनलाई गाउँमा आफ्नो समुदायमाथि हुने विभेद पनि चित्त बुझ्दैनथ्यो । पानी थाप्न धारा–कुवामा जाँदा छुवाछुत गर्थे । उनी भने धारामा छुवाछुत गर्नेको प्रतिरोध गरिरहन्थिन् । स्कुलमा यस्तो छुवाछुत भने उनले भोग्नुपरेन ।

एउटा घटना भने उनले सम्झिरहन्छिन् । एकजना शिक्षकले उनलाई सधैं ‘बानो बानो’ भनेर जिस्क्याउँथे । ‘ए बानो तँलाई बानेर पिट्नुपर्ने हो’ भन्थे । अरूलाई नामैले बोलाउने अनि आफूलाई थर काडेर बोलाउँदा उनलाई घोच्थ्यो । तर, एकदिन उनले शिक्षकलाई प्याच्च भनिदिइन्,‘तपाईंले मेरो थर काडेर अरू विद्यार्थीलाई के सिकाउन खोजिरहनु भएको छ?’ त्यो दिनदेखि शिक्षकले जिस्क्याउने साहस कहिल्यै गरेनन् ।

१६ वर्ष नपुग्दै बुबाआमाले समिनाको बिहे आफ्ना भान्जा वीरेन्द्रनगर बेलघारीका इक्माइल सल्मानीसँग गरिदिए । आमाबुबाको काखमा हुँदा हाँसीखेली विद्यालय जाने समिना बिहेपछि घरबाट बाहिर निस्केर आँगन टेक्न पनि नपाउने अवस्थामा पुगिन् । ‘कुर्ता लाउँदा पिठ्यु देखियो भनेर गाली खानु पर्थ्यो,’ उनले भनिन्, ‘आमाबुबाको घरमा त धेरै सजिलो थियो । त्यस्तो सजिलोमा हुर्केकी मलाई बिहे गरी आएको घरमा गाह्रो हुन थाल्यो ।’ पढाइ त छुटेकै थियो एसएलसी दिन जान्छु भनेर उनले सासुससुरालाई सुनाइन् । घरको निर्णायक ससुरा थिए । उनले घरबाहिर खुट्टा टेक्न दिएनन् । उनको परीक्षा छुट्यो । त्यसपछि उनलाई छट्पटी बढ्न थाल्यो । पढ्न नपाएको कुरा श्रीमान्‌सँग गरिरहन्थिन् । उनका श्रीमान्‌ले पनि पढ्न पाएका थिएनन् । उनी ग्यारेजमा काम गर्थे । श्रीमान्‌ले पनि बाबुको निर्णयको अघि केही बोल्न सकेनन् । समिनालाई भने नपढी भएको थिएन ।

उनले चुप लागेर नबस्ने निर्णय गरिन् । अनि एकदिनघरमा भनिन् ‘कि त मलाई पढ्न दिनुस् । नत्र तपाईंको छोरालाई छाड्छु ।’ त्यो धम्की ससुराले टेरेनन्, तर पनि उनी रोकिइनन् । अनि ससुराले भनेछन्, ‘घर छाडेर जाने भए जा । यहाँ बस्दा तेरो मनमौजी चल्दैन ।’ त्यसपछि समिनाले घर छाड्ने निर्णय गर्दा श्रीमान् उनको साथमा उभिए । उनीहरु घर छाडेर कोठा भाडामा लिएर बस्न थाले । बल्ल उनले पढ्न पाइन् । एसएलसी पास पनि भइन् । ‘म पास भएपछि इक्माइल (श्रीमान्) खुसी हुनुभो । मैले पढ्न पाइनँ, तिमी पढ भनेर सपोर्ट गर्नुभयो । तर हामीसँग पैसा थिएन, उहाँले आफ्नो हातको सुनको औँठी बेचेर मलाई ११ कक्षामा भर्ना गरिदिनुभो,’ उनले भनिन् ।

सकिरनका अनुसार घरबाटै  पढ्न सुरू गरेकी समिना आफूहरूभन्दा पहिलैदेखि भिन्दै थिइन् । लवाइखवाइमा समेत उनले परिवार र समाजभन्दा आफूलाई मन लागे अनुसार गर्थिन् । पहाडतिर बसोबास भएको मुस्लिम समुदायमा बुर्का लगाउने नभए पनि कुर्ता–सलवार र टाउकोमा सलचाहिँ लगाउनु पर्थ्यो । उनले त्यो मान्यतालाई पनि लत्याइन् । ‘कुर्ता सलवारको बदला उनले पाइन्ट लगाएर हिँड्थिन्,’ सकिरन भन्छिन्, ‘हामीलाई समेत त्यस्तै भएर हिँड्न मन लाग्थ्यो तर, हामीमा उनको जस्तो साहस भएन ।’

मुस्लिम समुदायमा छोरीलाई घरबाहिर निस्कन बर्जित थियो, तर समिनाले त्यो तगारो निरन्तर नाँघिरहिन् । जब उनी घरबाट निस्किन्थिन् गाउँ, टोल र छरछिमेकमा नकारात्मक दृष्टिले हेर्थे । प्रायः पाइन्ट र टिसर्टमा ठाँटिएर हिँडेको देखेपछि छिमेकीले उनलाई आफ्ना छोरी बिगार्ने काम नगर्न पनि भन्थे । ‘मैले पाइन्ट लगाएर हिँड्दा अरूको छोराछोरी किन र कसरी बिग्रेलान् भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘चित्तबुझ्दो जवाफ नआएपछि मैले आफ्नो कुरा छाडिनँ ।’ ११ कक्षा पढ्दै गर्दा उनले आफूले पनि जागिर खान पाए भन्ने सोच्दै थिइन् ।

‘श्रीमान्‌ले पनि खाली बस्नु भन्दा रेडियोमा काम गर्न सल्लाह दिनुभो,’ उनले सुनाइन्, ‘उहाँले सहयोग नगरेको भए मलाई अघि बढ्न निकै गाह्रो हुन्थ्यो ।’ बिहान कलेज अनि घरको काम, दिउँसो एफएमको जागिर गरेर उनले केही समय बिताइन् । एफएममा काम गर्दा उनी गर्भवती भइन् । त्यसपछि जागिर छाडिन् । एफएफमा छोटो समय काम गर्दा आत्मविश्वास धेरै बढेको उनले सुनाइन् ।

बच्चा हुर्किन थालेपछि ‘आशा सञ्जाल’ नामक गैरसरकारी संस्थामा काम थालिन् । त्यो कामले उनलाई बोल्ने, निर्णय लिने, आत्मविश्वास झन् बढायो । सामाजिक संस्थाको काम दिगो नभएपछि उनले ब्युटीपार्लर सिकिन् । अफिसको काम गर्दा परिवारले नरोके पनि ब्यूटीपार्लरको काम भने बुबा र दाजुले रोक्न खोजे । पार्लरमा काम गर्नेहरू ‘ठीक’ हुन्नन् भन्ने परिवारको बुझाइ थियो । उनले काम नछोडे पछि बुबा र दाजु रिसाए । ब्यूटीपार्लरको काम गरिरहेकै बेला उनका श्रीमान्‌लाई ब्रेन ट्युमर भयो । ‘फेरि सुरू भए मेरा कठिन संघर्षका दिन,’ उनले भनिन्, ‘दिनभर काम गरेर गर्जो टार्ने हामीलाई उपचारमा धेरै पैसा खर्च गर्नुपर्ने भयो ।’ सरसापट गरेर उनले श्रीमान्‌लाई काठमाडौं लगिन् । पहिलो शल्यक्रिया पछि सामान्य भए । ब्यूटीपार्लरमा काम गर्दै उनले वाणिज्यशास्त्रमा स्नातक गरिन् ।

करिब दुई वर्षअघिको कुरा हो, सुर्खेतको सिद्धार्थ होटलमा मार्केटिङ म्यानेजरको जागिर खुलेको थियो । अन्तर्वार्तामा पास भएर उनी काम गर्न थालिन् । सुरूका तीन महिना १२–१४ घन्टासम्म खट्नु परे पनि हस्पिटालिटीको काममा रमाउँदै गएको उनले बताइन् । ‘यो फिल्ड एकदमै राम्रो लाग्यो । सबैभन्दा राम्रो यहाँको अनुशासन,’ उनले सुनाइन्, ‘त्यसमाथि मार्केटिङ फिल्ड भएकाले नयाँ मान्छेसँग भेटघाट हुन्छ । यो काममा धेरै इन्जोय गरिरहेकी छु ।’ सिद्धार्थमा डेढ वर्षको अनुभवपछि उनलाई सुर्खेतको अर्को होटल शुभले मार्केटिङ हेडका रूपमा बोलायो । उनी दुई महिनायता त्यहीँ काम गर्दै आएकी छन् । अरू क्षेत्रझै होटलमा महिलालाई काम गर्न पुरूषलाई जति सहज छैन । काम गरेर देखाउने प्रेसरसँगै विभेदकारी मानसिकता झेल्नु परेको उनले बताइन् ।

‘कहिलेकाँही विभेद झेल्नुपर्छ । ईर्ष्या भयो भने पुरूष साथीहरूले क्यारेक्टरमै औंला उठाउँछन् । त्यस्ता कुरा मैले कहिलेकाँही बेहोरेकी छु,’ उनले भनिन्,‘तर आफूलाई लागेको बोल्ने अन्यायको प्रतिरोध गरिहाल्ने मेरो बानी छ । एकपटक यस्तै कुरामा एक जनालाई माफी माग्ने बनाएको छु, काम गरेर देखाउनुपर्छ भन्ने मेरो विश्वास छ ।’

उनले आफ्नो काम गर्ने क्षेत्रमाभन्दा समाजमा रूढीग्रस्त कुरा झेल्नुपरेको बताइन् । एफएममा काम गर्दा एक पुरूष सहकर्मीको बाइकमा सँगै कतै जानुपर्ने भयो । त्यो उनका छिमेकीले देखेछन् । उनले श्रीमान्‌लाई कुरा लगाइदिएछन्, ‘समिना त फलानो केटाको बाइक चढेर घुमिराछ त ।’ श्रीमान्‌ले भनेछन्,‘मैले नै पठाको हो । तपाईंलाई के–को टाउको दुखाई?’ उनी होटलमा काम गर्दाको कुरा हो । एकदिन दुईवटा होटलमा उनको इभेन्ट मेनेजमेन्ट थियो । त्यही सिलसिलामा एक होटलबाट अर्कोमा आउजाउ गरिरहेकी थिइन् । संयोगले त्यो दिन ‘भेलेन्टाइन डे’ थियो । होटलबाट निस्केर अटो चढेर उनी घर पुगिन् । भोलिपल्ट कसैले बुबालाई भनेछ, ‘तिम्री छोरी त होटलमा पस्दै निस्किदै गर्दै थिई, चाला ठिक देखिएन है ।’ कुरा सुनेपछि बुबा रिसाउँदै आएछन् । उनले बुबालाई सम्झाएर पठाइछन् । अचेल भने आफूलाई हेर्ने बुबाको दृष्टिकोण परिवर्तन भएको समिनाले बताइन् ।

खासगरी श्रीमान् बिरामी भएका बेला उनलाई सहयोग गर्नेहरुको पंक्ति देखेपछि उनका बुबा जिब्राइल बक्स चकित परेछन् । त्यसपछि छोरीलाई आफूले इज्जतसाथ हेर्न थालेको उनले बताए । ‘छोरीलाई यति धेरै मान्छे, संघसंस्थाले चिनेका रहेछन् । म त बेकारमा शंका गरेर बसेको रहेछु,’ उनले भने, ‘छोरीको संघर्ष, मिहेनत र उसको अनुशासन देख्दा अहिले म पछुतो मानिरहेको छु । पहिला उसलाई किन गलत ठानेछु भन्ने लागिरहन्छ । अहिले बल्ल म मेरो छोरीमाथि गर्व गर्न थालेको छु ।’

आमा रजिओन बीबीले पनि जागिर खाए त छोरी बलिया हुने रहेछन् भनेर भन्न थालेको समिना बताउँछिन् । ‘मलाई सबैभन्दा खुसी यही कुरामा लाग्छ कि मेरो परिवारले मलाई बुझ्न थालेको छ । समाजले बुझ्न थालेको छ,’ उनले भनिन् । आफूले पढेर केही गरी देखाएपछि बिस्तारै छोरी पढाउनुपर्ने रहेछ भन्ने कुरा गाउँका मान्छेहरूले बुझ्न थालेको उनले बताइन् । ‘मेरै कारण गाउँ समाजमा धेरै मान्छे परिवर्तन भए । पढ्न जान पनि दिन थाले,’ समिनाले भनिन् ।

आफूले गरिखाएको कुरामा खुसी हुनै नपाउँदै समिनाको जिन्दगीमा दुःखको पहाड आइलाग्यो । सिद्धार्थ होटलमा काम थालेकै बेला उनका श्रीमान् फेरि बिरामी परे । यसपालि उनका श्रीमान्‌लाई क्यान्सर भइदियो । त्यो पनि चौथो चरणको क्यान्सर । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन लगिन् । दोस्रो शल्यक्रियापछि उनका दुवै आँखा बन्द भए । उनलाई समाजमा सबैले इज्जत गर्न थालेका थिए । मान्छेहरूले इज्जतसाथ आफूलाई हेरेको इक्वाललाई देखाउन उनलाई खुब मन थियो । तर पाइनन् ।

‘मलाई पढ्न र काम गर्न साधै उहाँले साथ दिनुभो । हामीले सँगै संघर्षका दिन काट्यौं । तर मान्छेले हाकिम्नी भनेर मलाई इज्जतसाथ हेरेको देख्न उहाँले पाउनुभएन त्यही कुरा मलाई साधै खट्किरहन्छ,’ उनले भनिन् । एक महिनाअघि इक्वालको मृत्यु भयो । सकिना श्रीमान् बचाउन नसकेको पीरबाट अझै तंग्रिन सकेकी छैनन् । घरको काम गर्न, छोरी हेर्नदेखि अफिस जानसम्म श्रीमान्ले दिएको साथ जीवनमा सबैभन्दा बढी भएको उनी बताउँछिन् । श्रीमान्‌ले उनको जिन्दगीमा धेरै कुरा दिएर गए । सपना देख्न साथ दिए । कति सपना पूरा भए । ठूला–ठूला नभए पनि उनका केही सपना बाँकी छन् । ‘राम्रो होटलको म्यानेजर बन्नु छ । आमा–छोरी बस्ने चिटिक्कको घर बनाउनु छ,’ उनले सुनाइन्, ‘सामान्य जीवनशैली बाँच्न मन छ, धेरै महत्त्वाकांक्षा छैन । सादा जीवन बाँच्ने हो ।’

घरबाट निस्किँदा रिसले आँखा तर्ने उनको परिवार अचेल समिनालाई जे हुनु भयो जागरि गर्न जा भन्न थालेका छन् । श्रीमान्‌को मृत्युपछि उनी केही दिनदेखि कार्यालय गइनन् । उनकी आमा रजिओन बारम्बार भनिन्, ‘अब पीरमा नबस छोरी । तैंले अफिस जानुपर्छ । अझै धेरै गर्न बाँकी छ ।’

सुर्खेतमा मात्रै मुस्लिम समुदायको एक हजार परिवार र आठ हजार जनसंख्या छ । २०१६ सालदेखि वीरेन्द्रनगर भित्रिएको आफ्नो समुदायको अहिले तेस्रो पुस्ता हुर्किरहेको मुस्लिम समुदायका अगुवा अकबर खानले बताए । कर्णालीका दैलेख र सल्यानमा पनि मुस्लिम समुदायको बसोबास छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully