४५ वर्षदेखि गुद्री बजारमा उम्लिरहेको चिया

‘चिया बिलकुल भिन्न स्वादको छ,’ विराटनगरका टीका खतिवडा भन्छन्, ‘यहाँको चिया एकपटक चाखेर गएको मान्छेलाई फेरि आऊँ–आऊँ लाग्छ ।’

फाल्गुन १२, २०८१

पर्वत पोर्तेल

Tea has been brewing in Gudri Bazar for 45 years

विराटनगर — विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार । नजिकै छ पीपलको रुख । त्यही रूखको दक्षिणतिर बाँसले बारबेर गरेको सानो कटेरो छ, जहाँ लेखिएको छ, अरुणको चिया पसल ।

रुखको छहारी वरपर राखिएका मुढामा बसेर पारखीहरू चियाको चुस्की लिँदै राजनीतिदेखि समसामयिक विषयमा गफिएका हुन्छन् । मुख्यमन्त्रीदेखि मेयरसम्म अरुणका सिपालु हातले उमालेको चियाका पारखी हुन् ।

रामविलास सहनीले गुद्री बजारको साँघुरो गल्लीमा चिया पसल सुरु गर्दा छोरा अरुण जन्मिएका थिएनन् । अरुण अहिले ४३ वर्षका भए । ४५ वर्षदेखि विराटनगरको ऐतिहासिक गुद्री बजारमा रहेको उनको पसलमा निरन्तर चिया उम्लिरहेको छ ।

२०५३ मा रामविलासको मृत्युपछि अरुणले चिया पसल सम्हाले । बाबु नभएपछि परिवार भरणपोषणको जिम्मेवारी उनकै काँधमा आयो, १४ वर्षको उमेरमै चिया पसल पनि उनले नै सम्हाल्नुपर्ने भयो । ‘पढ्ने धोको थियो, तर दोकानमै जीवन बित्यो,’ अरुण भन्छन् ।

अरुणले बुबाको विरासत सम्हालेकै करिब ३० वर्ष पुग्न लाग्यो । चिया चाख्न टाढाटाढाबाट पनि ग्राहक आउँछन् । दूध, चिनी, चियापत्तीसँगै सुकमेल प्रयोग त हुन्छ नै, पकाउने पनि आफ्नै शैली छ, अरुणको ।

‘चिया बिलकुल भिन्न स्वादको छ,’ विराटनगरका टीका खतिवडा भन्छन्, ‘यहाँको चिया एकपटक चाखेर गएको मान्छेलाई फेरि आऊँ–आऊँ लाग्छ ।’

Tea has been brewing in Gudri Bazar for 45 yearsअरुण चिया उमाल्न ग्यास प्रयोग गर्दैनन् । पम्पवाला स्टोभ प्रयोग गर्छन् । उनीसँग डेढ दशक पुराना २ स्टोभ अहिले पनि बलिरहेका छन् । ‘खासमा स्टोभमा उमालेका कारण चियाको स्वाद अन्तभन्दा फरक भएको हो’, अरुण सुनाउँछन् । उनी दैनिक ८ घण्टा जति त दूध उमाल्छन् । निरन्तर उम्लिएको दूधबाट चिया पकाउँछन्, जसले स्वादलाई फरक बनाउने उनको भनाइ छ ।

रामविलासको जमानामा ५ लिटर दूधको चिया बेच्न पनि गाह्रो थियो । अहिले अरुण दैनिक ५० लिटर दूध चियामा खपत गर्छन् । प्रतिकप ३० रुपैयाँ लिन्छन् । ‘मैले पकाउने चियाको गुणस्तर र स्वादमा कुनै सिकायत छैन’, उनी सुनाउँछन् ‘गुणस्तरीय चिया दिन्छु, राम्रै रकम लिन्छु ।’

उनका अनुसार दैनिक करिब ५ सय कप चिया बिक्री हुन्छ । जसबापत करिब १५ हजार रुपैयाँको व्यापार हुन्छ । मासिक करिब साढे ४ लाख हाराहारी व्यापार हुन्छ, वार्षिक आधा करोड नाघ्छ । उनको आठ जनाको परिवार छ । ‘जाडोमा चियाको बिक्री कम हुन्छ’, अरुण भन्छन्, ‘किन हो गर्मीमा चाहिँ बढी बिक्री हुने गरेको छ ।’

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully