‘चिया बिलकुल भिन्न स्वादको छ,’ विराटनगरका टीका खतिवडा भन्छन्, ‘यहाँको चिया एकपटक चाखेर गएको मान्छेलाई फेरि आऊँ–आऊँ लाग्छ ।’
विराटनगर — विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार । नजिकै छ पीपलको रुख । त्यही रूखको दक्षिणतिर बाँसले बारबेर गरेको सानो कटेरो छ, जहाँ लेखिएको छ, अरुणको चिया पसल ।
रुखको छहारी वरपर राखिएका मुढामा बसेर पारखीहरू चियाको चुस्की लिँदै राजनीतिदेखि समसामयिक विषयमा गफिएका हुन्छन् । मुख्यमन्त्रीदेखि मेयरसम्म अरुणका सिपालु हातले उमालेको चियाका पारखी हुन् ।
रामविलास सहनीले गुद्री बजारको साँघुरो गल्लीमा चिया पसल सुरु गर्दा छोरा अरुण जन्मिएका थिएनन् । अरुण अहिले ४३ वर्षका भए । ४५ वर्षदेखि विराटनगरको ऐतिहासिक गुद्री बजारमा रहेको उनको पसलमा निरन्तर चिया उम्लिरहेको छ ।
२०५३ मा रामविलासको मृत्युपछि अरुणले चिया पसल सम्हाले । बाबु नभएपछि परिवार भरणपोषणको जिम्मेवारी उनकै काँधमा आयो, १४ वर्षको उमेरमै चिया पसल पनि उनले नै सम्हाल्नुपर्ने भयो । ‘पढ्ने धोको थियो, तर दोकानमै जीवन बित्यो,’ अरुण भन्छन् ।
अरुणले बुबाको विरासत सम्हालेकै करिब ३० वर्ष पुग्न लाग्यो । चिया चाख्न टाढाटाढाबाट पनि ग्राहक आउँछन् । दूध, चिनी, चियापत्तीसँगै सुकमेल प्रयोग त हुन्छ नै, पकाउने पनि आफ्नै शैली छ, अरुणको ।
‘चिया बिलकुल भिन्न स्वादको छ,’ विराटनगरका टीका खतिवडा भन्छन्, ‘यहाँको चिया एकपटक चाखेर गएको मान्छेलाई फेरि आऊँ–आऊँ लाग्छ ।’
अरुण चिया उमाल्न ग्यास प्रयोग गर्दैनन् । पम्पवाला स्टोभ प्रयोग गर्छन् । उनीसँग डेढ दशक पुराना २ स्टोभ अहिले पनि बलिरहेका छन् । ‘खासमा स्टोभमा उमालेका कारण चियाको स्वाद अन्तभन्दा फरक भएको हो’, अरुण सुनाउँछन् । उनी दैनिक ८ घण्टा जति त दूध उमाल्छन् । निरन्तर उम्लिएको दूधबाट चिया पकाउँछन्, जसले स्वादलाई फरक बनाउने उनको भनाइ छ ।
रामविलासको जमानामा ५ लिटर दूधको चिया बेच्न पनि गाह्रो थियो । अहिले अरुण दैनिक ५० लिटर दूध चियामा खपत गर्छन् । प्रतिकप ३० रुपैयाँ लिन्छन् । ‘मैले पकाउने चियाको गुणस्तर र स्वादमा कुनै सिकायत छैन’, उनी सुनाउँछन् ‘गुणस्तरीय चिया दिन्छु, राम्रै रकम लिन्छु ।’
उनका अनुसार दैनिक करिब ५ सय कप चिया बिक्री हुन्छ । जसबापत करिब १५ हजार रुपैयाँको व्यापार हुन्छ । मासिक करिब साढे ४ लाख हाराहारी व्यापार हुन्छ, वार्षिक आधा करोड नाघ्छ । उनको आठ जनाको परिवार छ । ‘जाडोमा चियाको बिक्री कम हुन्छ’, अरुण भन्छन्, ‘किन हो गर्मीमा चाहिँ बढी बिक्री हुने गरेको छ ।’
