माओत्से गुरुङकी आमा : छोराको नामले चिनिँदा दंग

सात वर्षअघि धनमाया छोराको अभिनय रहेको नाटक ‘सिरुमारानी’ हेर्न  परिवारका सदस्य, इस्टमित्र, छिमेकीसँग पोखरा थिएटर पुगेकी थिइन् । छोराको अभिनय हेरेर खुसी भइन् । घर फर्किएपछि माओत्सेले सोधे, ‘आमा, बुझ्नुभयो नाटक ?’ आमाले प्रतिप्रश्न गरिन्, ‘किन नबुझ्ने ! तैंले मात्रै बुझ्छ नाटक ?’

फाल्गुन ६, २०८१

दीपक परियार

Mao Zedong's mother: Shocked to be known by her son's name

पोखरा — आमाको हातमा बेलायतले थमाएको ‘पेन्सनपट्टा’ थियो, माओत्से गुरुङको हातमा फिल्म ‘पुरानो डुंगा’ । बेगनास तालमा डुंगा चलाएर गुजारा गर्ने गरिब माझीको भूमिकामा छोरालाई देखेपछि धनमायाले सम्झाएकी थिइन्, ‘दुःखी, गरिब भएर खेल्दा मान्छेको कर्म पनि त्यस्तै हुन्छ ।’ आफ्नो कर्मप्रति माओत्से जति सन्तुष्ट देखिन्छन्, ८३ वर्ष पुगिसकेकी आमालाई साथमै राख्न नपाउँदा उति नै दुःखी पनि । 

पोखराबाट सुरु भएको नाट्ययात्रादेखि सिनेमासम्म आइपुग्दा आफ्नो ‘अर्ग्यानिक’ अभिनयको छाप बसाउन सफल कलाकार, फिल्म लेखक एवं निर्देशक माओत्सेको यो यात्रामा आमाको भूमिका कम्ता महत्त्वपूर्ण छैन । आफ्नो सफलताको स्वाद चाख्ने बेला भने बेलायतको नीतिले पारिवारिक विखण्डन निम्त्याएको छ । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकको परिवारलाई उतै जान मिल्ने सुविधा दियो । सुविधा प्रयोग गर्दै आमा १२ वर्षअघि बेलायत पुगिन् । २०६५ मा बुबा गंगाबहादुरलाई गुमाएका उनले नेपाल छोड्न सकेनन् ।

तत्कालीन हंसपुर गाउँ पञ्चायत (हालको रूपा गाउँपालिका–७ स्याकलुङ) मा जन्मिएका उनको ठ्याक्कै जन्मदिन यकिन छैन । चार सन्तान जन्माएकी धनमायाले तिथिमिति भन्न सकिनन् । जेठो दाइ मनसुब्बाले फागुन महिना तिजु पाकेका बेला थियो भनेपछि २०३२ फागुन २० कायम भयो । 

डाँडामा स्याकलुङ गाउँ थियो, रूपाताल सिरानमा तालबेंसी । बेंसीबाट धान, पराल गर्न उकालो–ओरालो गर्नुपर्थ्यो । मेलापात गर्न आमा बेंसी झर्थिन् । उनी आमाको बाटो हेरेर रुन्थे । ‘दिदी, दाइले आमा यतिखेर हाङ्लेबाङ्लेमा आइपुग्नुभयो, यतिखेर धारापानीमा आइपुग्नुभयो, ठाँटीमा आइपुग्नुभयो भन्नुहुन्थ्यो । कहिलेकाहीँ ठ्याक्कै अड्कल गरेको समयमा तगारोनेर आइपुग्नुहुन्थ्यो,’ उनले सम्झिए, ‘आमा आएर पिँढीमा बसेर दूध खुवाएपछि झलुंगोमा सुताउने गरेको अझै पनि सम्झना छ भन्दा दाइहरू दंग पर्नु हुन्छ ।’ 

Mao Zedong's mother: Shocked to be known by her son's nameजेठो दाइ सुब्बा बितिसकेका छन् । अहिले हङकङमा रहेका माइला दाइ अर्जुनसँग उनको ५ वर्षको अन्तर छ । उनी सानो छँदा माइला दाइको खुब पछि लाग्थे । दाइले भने भाइलाई झुक्याएर उम्कन्थे । दाइसँग जान नपाउँदा उनी रुने, कराउने, चिच्याउने गर्थे । त्यतिबेला आमाले सम्झाउँथिन् । कान्छो छोरा भएकाले उनले आमाबाट केही बढी ममता पाएको महसुस गर्छन् । उनले लगभग धेरै समयसम्म भातसँग दूध र घिउ मात्रै खाइरहे । आमाको लाडप्यारले गर्दा तरकारीसँग खाना खानुपरेन ।

उनी ९–१० वर्षको हुँदा परिवार तालबेंसी झर्‍यो । बेगनासको आनन्दज्योति माविबाट एसएलसी उत्तीर्ण गरेपछि पोखराको पृथ्वीनारायण क्याम्पस भर्ना भए । त्यहीँबाट सुरु भयो उनको औपचारिक अभिनय यात्रा पनि । नाटकतिर ध्यान दिन थालेपछि स्नातक पढ्दापढ्दै रोकिए । 

पोखरामा त्यतिबेला समूहगत रूपमा नाटक निर्माण हुन्थ्यो । धेरै वटा नाट्य समूह थिए । उनी दीर्घजीवी नाट्य समूहमा थिए । उनीसहित प्रमिला तुलाचन, लालसुबा गुरुङ, राजु याकाचा, प्रकाश सिग्देल, ओमप्रकाश गुरुङ, राजीव तुलाचन, प्रकाश राना, सूर्य अछामी, मीना गुरुङलगायत जम्मा भएर दीर्घजीवी खोलेका थिए । नाटक प्रदर्शन गर्न अहिलेको जस्तो व्यवस्थित नाटकघर थिएन । पोखरा उद्योग वाणिज्य संघ वा पोखरा सभागृहको हलमा नाटक मञ्चन गर्नुपर्थ्यो । 

दीपकमान उदासको निर्देशन र प्रमिला तुलाचनको लेखनमा पहिलोपल्ट ०४८ मा नाटक ‘परित्याग’ मा उनले अभिनय गरेको आमाले चाल पाइनन् । २०५१/५२ मा जेसिज सप्ताहमा भएको अभिनय प्रतियोगितामा पहिलो भए । गाउँमा मेडल र प्रमाणपत्र लिएर जाँदा आमा, बुबा, टोल, छिमेक, आफन्त हर्षित भए । गुरुङ परम्पराअनुसार ‘स्याइ–स्याइ’ गरे । उदासकै निर्देशनमा बनेको ‘काँडा’ उनी अभिनीत पहिलो फिल्म थियो । पछि आफ्नै लेखन र निर्देशनमा पहिलो फिल्म ‘अचम्मै भो’ बनाए । उनको लेखन र निर्देशन रहेको गुरुङ फिल्म ‘कृपा’ ले तारिफ पायो । कर्ण दासको गीत ‘पुरानो डुंगा’ को म्युजिक भिडियोमा उनी देखिए । पछि रामबाबु गुरुङको निर्देशनमा त्यही नाममा बनेको फिल्ममा मुख्य अभिनेताका रूपमा देखिए । त्यसपछि भने उनी मूलधारको फिल्ममा स्थापित हुँदै गए ।

आमाले पहिलोपल्ट उनको अभिनय हेरेकै ७ वर्षअघि हो । व्यवस्थित रूपमा नाटक प्रदर्शन गर्ने गरी पोखरा थिएटर खुलेपछि पहिलो नाटक मञ्चन भएको थियो, ‘सिरुमारानी’ । सरुभक्तको लेखन र सोमनाथ खनालको निर्देशनमा मञ्चन भएको उक्त नाटकले निकै चर्चा पाएको थियो । परिवारका सदस्य, इस्टमित्र, छिमेकीसँग उनकी आमा पनि नाटक हेर्न पुगिन् । छोराको अभिनय देखेर खुसी मानिन् । घर फर्किएपछि उनले सोधे, ‘आमा, बुझ्नुभयो नाटक ?’ आमाले व्यंग्यात्मक शैलीमा प्रतिप्रश्न गरिन्, ‘किन नबुझ्ने ! तैंले मात्रै बुझ्छ नाटक ?’ नाटक हेरेपछि पोखरा थिएटरलाई आर्थिक सहयोग पनि गरिन् । 

उनलाई आमाले कहिल्यै पनि यो बन्नुपर्छ, त्यो बन्नुपर्छ, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनिनन् । मनमौजी छोडिन् । ‘आमाले यस्तो स्वतन्त्रता किन दिनुभएको होला भने मैले जुन बाटो अपनाएँ, त्यो बाटो पक्कै पनि नराम्रो छैन भन्ने लागेरै आमाले हैकम जमाउने काम गर्नुभएन,’ उनी भन्छन्, ‘बेलाबेलामा बुबाले पनि नेपालमै बसेर केही गर्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो ।’ आमालाई कला क्षेत्रका बारेमा बुझाउनुपरेन । न त आमाले नै कहिल्यै सोधिन् । ‘सम्भवतः छोरो कान्छोले जुन किसिमको बाटो अँगालेको छ, त्यो बाटो पक्कै पनि खराब छैन भन्ने पूर्ण विश्वास भएरै होला,’ उनी भन्छन्, ‘यो क्षेत्र कस्तो हो, यसमा कस्तो हुन्छ भनेर व्यापक खोजी वा बुझ्नुपर्ने लागेन होला ।’

केही वर्ष अघिसम्म भने पैसा नकमाएको गुनासो गर्थिन् आमा । उनकी दिदी पम्फा ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङकी सासू हुन् । बेलायतबाट फर्किंदा आमा रामबाबुकै घरमा बस्छिन् । ‘कबड्डी’ हिट भएपछि रामबाबुले घर, गाडी जोडेको बेला थियो । रामबाबु सुखसयलपूर्वक बसेको देखेर एकपल्ट आमाले सोधिन्, ‘तँ पनि फिल्म बनाउने, रामबाबु पनि फिल्म बनाउने । रामबाबुको त्यत्रो घर, त्यत्रो गाडी छ, तेरो केही पनि छैन । किन हो ?’ 

उनलाई आफूले रोजेको क्षेत्रप्रति कुनै गुनासो छैन, शतप्रतिशत खुसी छन् । ‘मैले इच्छाएको क्षेत्रबाट घरपरिवार चलाएको छु, एकातिर नाम छ, अर्कातिर सम्मान छ । हामीले जुन किसिमको नाम पायौं, हाम्रा लागि सम्पत्ति त्यही नै हो,’ उनी भन्छन्, ‘यति धेरै ठाउँबाट सम्मान थापेको छु कि आज आएर मेरा लागि सम्पत्ति यही हो जस्तो लाग्छ । हामी कर्म गर्दै जाने हो ।’ 

उनी फिल्मको पर्दामा देखिएर मानिसले चिन्न थालेपछि आमालाई पनि माओत्सेको नामले चिन्न थाले । बेलायतमा हुने कार्यक्रममा ‘माओत्सेकी आमा’ भनेर उनले सम्मान पाउन थालेकी छन् । बेलायतमा उनका फिल्म प्रदर्शन हुने बेला पुग्न नभ्याउँदा आमालाई बोलाइन्छ । ‘अचेल तेरो नामले गर्दा मैले पो सम्मान थापेको छु भन्नुहुन्छ । बाटोतिर नेपालीको पसलतिर जाँदा तेरो कारणले सम्मान पाएको छु भन्नुहुन्छ,’ आमाले फोनमा भनेको कुरा उनले सुनाए । 

युट्युबमा भएजति उनका फिल्म आमाले हेरेर भ्याइन् । गरिब, दुःखी, खलनायकको भूमिकामा नखेल्न अझै पनि सम्झाउँछिन् । उनी टारिदिन्छन् । उनले सोझै सोधेका छैनन् तर घुमाएर बुझ्दा आमालाई मन परेको फिल्म ‘पुरानो डुंगा’ नै हुन सक्ने उनको आकलन छ । उनले आमालाई बारम्बार नेपाल नै फर्कन अनुरोध गर्छन् । जाडोयाममा बेलायतमा रहेका नेपाली वृद्धवृद्धा नेपाल फर्किन्छन् । दुई–तीन महिना अगाडि उनले पनि आमालाई नफर्किने गरी नेपाल आउन भनेका थिए । आफ्नो हातखुट्टा चलुन्जेल बेलायत नै बस्ने जवाफ आमाले दिन्छिन् । बेलायतमा एउटै उमेर समूह, रहनसहन र त्यहाँको वातावरणमा बानी परेकाले नेपाल आउनेबित्तिकै आमा बिरामी हुने गरेको उनले सुनाए । 

‘मलाई पनि कस्तो लाग्छ भने हामी त्यसै पनि खुसी छौं । आमा खुसी हुनुपर्‍यो । आमा त्यहाँ बसेर खुसी हुनुहुन्छ, दामलीसँग रमाइलो गरेर बसिराख्नुभएको छ,’ उनी भन्छन्, ‘त्यस हिसाबले आमा खुसी हुनुहुन्छ भने हामी त्यसै पनि खुसी छौं ।’ 

बेलायत सरकारले भूपू गोर्खा सैनिकलाई सजिलो वातावरण बनाइदिए पनि तिनका सन्तानलाई सजिलो गरी जान पाउने अधिकार दिएको छैन । त्यस कारणले पनि नेपालको संयुक्त परिवारमा विखण्डन आएको उनी बताउँछन् । बुबाआमासँगै जाने मन भएर पनि प्रक्रियाकै कारण छोराछोरी जान नपाउँदा परिवारबाट टाढा बस्नुपर्ने स्थिति आएको हो । 

‘मलाई आमा, आफन्तले पनि आऊ, सबै आइसके भन्थे । मैले त्यतिखेरै पनि म यहाँ जसरी छु, जुन कर्ममा लागिरहेको छु, म आउनेवाला छैन भन्दै आएको थिएँ,’ उनले भने, ‘आमा अहिले कन्भिन्स हुनुभएको छ । बेलायतको आफ्नै समस्या होलान् । यत्तिका धेरै नेपालीलाई त्यो किसिमको ढोका खोलिदिँदा धेरै नेपालीहरू पुग्लान् । समस्या होला । तर, आमा, छोरा, बुबा, छुट्टिनुपर्ने अवस्था हृदयविदारक नै छ । मेरो मात्रै होइन, धेरै भूपू सैनिकका सन्तानको समस्या छ ।’ 

बुबा रंगिलो थिए, आमा अन्तरमुखी । उनले आजसम्म पनि आमा नाचेको, गीत गाएको देखेका छैनन् । बुबा अलि कडा थिए, आमा मिजासिली । आमाले कहिले छोराछोरीलाई गाली गरेको पनि थाहा पाएनन् । बुबाले खुसी भएका बेलामा आमालाई ‘ओ दयारानी ङोल्स्यो’ भनेर जिस्काउँथे । उनले पछि त्यही नामबाट फिल्म बनाए, ‘दयारानी’ । 

उनी जन्मनुपूर्व नै बुबा गंगाबहादुर बेलायती सेनाबाट अवकाश लिएर फर्किसकेका थिए । पूरा अवधि सेवा नगरी फर्किनुमा बुबाको ईखले काम गरेको थियो । इन्डोनेसियाको गृहयुद्धमा कम्युनिस्ट विद्रोहीलाई मत्थर पार्न बेलायतले खटाएको सेनामध्ये बुबा पनि एक थिए । केही दुश्मन ढाले पनि । पदक पाउनुपर्ने बेला अर्कैले पाए । सेनामा पनि राजनीति हुने ठानेर नैराश्यता छायो । बुबाले नाम काटेरै आउने मनस्थिति बनाएका थिए तर दलबहादुर गुरुङ ‘साहेब’ ले पेन्सन दिएर पठाए । 

नेपाल आएपछि गंगाबहादुरले आफ्ना छोरालाई कहिल्यै भर्ती हुनुपर्छ भनेनन् । बरु खेतीकिसानी गरेर बस्न भने । इन्डोनेसियामा कम्युनिस्ट विद्रोहीविरुद्ध लडेका उनले छोराको नाम किन चिनियाँ कम्युनिस्ट नेताको नामबाट राखे ? ‘कम्युनिस्टसँग स्वेच्छाले लडेको होइन । बेलायत सरकारले लड्नका लागि पठाएको थियो । त्यो बेला हङकङ, मलाया बस्दा माओत्से तुङका बारेमा सुन्नुभएको रहेछ,’ माओत्सेले भने, ‘माओत्से तुङजस्तो हुन्छ कि भनेर मैले मेरो छोराको नाम माओत्से राखेको भन्नुहुन्थ्यो । तर, नाम राख्दैमा माओत्से तुङजस्तै कहाँ हुन सकिएला र !’ बुबाले राखिदिएको नाममा आमाले असहमति जनाइनन् ।

पोखरामा कोठा भाडामा लिएर पढाइ र अभिनयलाई सँगसँगै लैजानु अप्ठेरो थियो । उनको आफ्नो कमाइ थिएन । घरपरिवारसँगै भर पर्नुपर्थ्यो । त्यतिबेला आमाले जे–जसो गरिन्, त्यसको बयान गरिसाध्य छैन । आमाले नै त्यो बेलामा पोखरा बसेर पढ्ने, नाटक सिक्ने वातावरण बनाइदिइन् । ‘आर्थिक जोहो गरिदिनुमा ठूलो श्रेय आमालाई जान्छ । आर्थिक रूपमा परेका समस्या समाधान नगरिदिएको भए यो क्षेत्रमा लाग्न सहज हुने थिएन,’ उनी भन्छन्, ‘बुबासँग पैसा माग्नुपर्ने भएको भए सक्ने थिइनँ ।’

उनी छायांकनको सिलसिलामा नेपालको थुप्रै ठाउँ पुगेका छन् । पहिला घरबाट धेरै बाहिर ननिस्किएकी आमा एकैचोटि बेलायत पुगिन् । अब भने आमाले लामो समयको बिदा लिएर आए नेपाल घुमाउने उनको इच्छा छ । भन्छन्, ‘नेपाल पनि यस्तो छ भनेर पूर्वपश्चिम, हिमाल मधेश, धेरै ठाउँमा पुर्‍याउने रहर छ ।’

उनले १५–१६ वटा नाटक र ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । फागुन २६ बाट उनी अभिनीत फिल्म ‘अन्जिला’ प्रदर्शनमा आउँदै छ । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो फिल्मबाट उनी आशावादी छन् । ‘ऊनको स्विटर’, ‘एलिफेन्ट इन द फग’, ‘रिमै’ को छायांकन सकेका छन् । प्रकाश ‘सपूत’ को ‘बसन्त’ मा अतिथि भूमिकामा देखिँदै छन् । ‘हर्ष’ र ‘वरिष्ठ बलराम’ मा आबद्ध भएका छन् ।

त्यसबाहेक उनकै प्रोडक्सनमा बन्दै छ, ‘पेन्सनपट्टा’ । हाल स्क्रिप्टको काम भइरहेको र तिहारपछि छायांकन सुरु हुने उनले बताए । ‘पेन्सनपट्टा’मा आफ्नै भोगाइ पनि धेरथोर समावेश हुने उनले खुलाए । ‘बुबाआमा बेलायतमा, अरू परिवार नेपालमा । सँगै भइरहेको परिवार विखण्डित हुने भयो,’ उनी भन्छन्, ‘हाम्रो संयुक्त परिवार हो, समूहमा बस्न रुचाउँछौं तर हाम्रो परिवार बिछोडको अवस्थामा छ । तिनै कथाव्यथा पनि केही रूपमा फिल्ममा भित्रिन्छन् । तर मुख्य विषयवस्तु पेन्सनपट्टाबाट भोग्नुपरेको समस्या नै छ ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully