वरिष्ठ अधिवक्ता भन्छन् : म एक्लो रहेनछु

काठमाडौं जिल्ला अदालतमा सहकारी पीडितको पक्षमा बहस गरेर बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गत बुधबार आक्रमण भएको थियो, आक्रमणको विरोधमा कानुन व्यवसायी एकजुट भएका छन् भने उनीहरूले कालोपट्टी बाँधेर प्रदर्शनसमेत गरेका छन्

माघ ७, २०८१

घनश्याम खड्का

Senior advocate says: I will not be alone

काठमाडौँ — छान्न पाउने छुट नहुनाले अदालत जाँदा उनको सुट–पाइन्टको रङ सधैं एउटै हुन्छ– कालो । तर, टाई र टोपी भने उनी अलगअलग रङको लगाई हिँड्छन् । त्यस दिन उनको टाई रातो थियो जसको टुप्पामा समातेर उनलाई तानियो र भुइँमा घिसारियो । 

नचिनेका दर्जनौं हातहरूले अचानक आफूलाई लछारपछार गर्दै, मुक्का ठोक्दै र लात्ती बर्साउँदै घिसार्न थालेपछि शिरबाट कहिल्यै नझरेको उनको टोपी झर्‍यो । लगत्तै कसैले पछाडिबाट घुच्चुकमा मुड्की बजार्‍यो जसको तोडले उनको टाउको अघिल्तिर खम्बामा थोरैले बज्रिनबाट जोगियो । अझै पनि वरपर घेर्नेहरूलाई घेरिरहेको भीडले भनिरहेको थियो– हान्–हान्, मार्–मार् !

‘त्यस क्षण लाग्यो, अब मेरो ज्यान लिने भए,’ टाई समातेर तानेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले थपे, ‘अमेरिकातिर गलामा औंलाको डोब नबसाई मार्नु पर्‍यो भने टाई समातेर घिसार्छन् किनभने यसो गर्दा टाईले घाँटीमा सजिलै पासो पर्छ र त्यहाँ हत्याराको कुनै फिंगर प्रिन्ट पनि रहँदैन ।’ वर्षौंअघि अमेरिकामा अपराध कानुन पढ्दा थाहा पाएको यो सूचनाले उनको मस्तिष्कमा कहिल्यै चिहाउन आएको थिएन । किनभने, त्यसअघि कसैले उनलाई यसरी टाइको पासो थापेकै थिएन । 

त्यस दिन भने अचम्मै भयो । सहकारी ठगी गरेर सर्वसाधारणको बिचल्ली पारेको अभियोगमा प्रतिवादी रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राखिपाऊँ भनी बहस गरेर गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट उनी बाहिरिएका मात्रै के थिए, एउटा उत्तेजित भीडले उनमाथि हमला गर्‍यो । र, धकेल्दै लगेर एउटा बिन्दुमा टाई समातेर उनलाई घिसार्‍यो ।

‘त्यस बेला मलाई त्यही टाई पासो बन्ला कि भन्ने चिन्ताबाहेक अरू धेरैको त्रास थिएन । तर जब घरमा गएर युट्युबमा त्यो घटना हेरेँ, तब मलाई लाग्यो त्यहाँ जे पनि हुन सक्ने रहेछ,’ त्रिपाठीले लामो सास फेरे, ‘मलाई मार्न पनि सक्ने रहेछन्, म संयोगले फुत्किएको रहेछु ।’

झन्डै ३५ वर्ष लामो वकालती जीवनमा उनले धेरै मुद्दामा बहस गरे जसका प्रतिवादीहरू राज्यका शक्तिशाली ओहोदाका थिए, छन् । ‘शाही कु’ पछि लागेको संकटकालमा सयौंलाई संयुक्त सुरक्षा फौजले समातेर गैरकानुनी हिरासतमा राखेको थियो । तिनलाई छुटाउन उनले सर्वोच्चमा दिनहुँजसो बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिरहे । मान्छेहरू भन्थे– ‘मार्लान् है राजाले होस् गर !’ 

द्वन्द्वका बेला माओवादीद्वारा मारिएका पत्रकार डेकेन्द्र थापाको मुद्दामा बहस गर्न उनी दैलेख नै पुगे । हितैषीहरूले दिनेशलाई रोक्दै भनेका थिए– ‘ज्यानै माया मारेर किन जान्छौ एउटा मुद्दाका लागि ?’ तर पनि दिनेशले हात कँपाएनन् ।

चौरजहारीमा मारिएका नवराज विक र उनका साथीका हत्याराका विरुद्धमा होस् कि इँटाभट्टामा ज्युँदै मानिस जलाउने नेता अफ्ताब आलमका विरुद्ध होस्, खतरा हुन्छ भन्ने मानिसहरूको चेतावनीका बाबजुद उनले बहस गरिरहे । र पनि चुटाइ त के, उनले कहीँ कतै कुनै धम्कीसम्म पनि सहनुपरेन । 

तर आज, संकटकालमा सेना र माओवादीका विरुद्ध उनले दायर गरेका रिटहरूका तुलनामा खतराका हिसाबले अति सामान्य एउटा मुद्दामा दिनदहाडै उनीमाथि हमला भयो ।

‘यो के भएको यस्तो ?’ घटनापछि उनले आफैंसँग सोधे सुस्तरी । प्रतिउत्तरमा उनको मनले विश्लेषणयुक्त एक तर्कना गर्‍यो– ‘पञ्चायतकालमा पनि यस्तो भएको थिएन जो आज गणतन्त्रमा भइरहेछ । देश सही दिशामा गइरहेको छैन ।’ 

संविधानमा मौलिक अधिकारको लामो सूची छ । कानुनमा स्वतन्त्रताका अनेकन प्रावधान छन् । राज्यको चरित्र पूर्ण लोकतान्त्रिक संघीय गणतन्त्र छ संविधानतः । तर, व्यवहारमा चाहिँ कसैको विरुद्धमा बहस गर्दा पनि भीडले चुट्छ । ‘के यो अराजकता होइन ?’ त्रिपाठी प्रश्न गर्छन्, ‘ऐन कानुन उन्नत हुने र व्यवहार फाँसीवादी हुने भएपछि लोकतन्त्र मर्छ, कतै हाम्रो लोकतन्त्र मर्दै त छैन ?’

ज्यादातर अधिवक्ता आरोपीका पक्षबाट लड्छन् जसबापत राम्रै आम्दानी पनि गर्छन् । तर, सत्ता र शक्तिमा भएका आरोपीहरूका विपक्षमा इजलासमा आफूलाई अक्सर उभ्याइरहे त्रिपाठीले । र पनि, मनको आशंका अनि शुभेच्छुकका चेतावनीका बाबजुद कहीँ कसैले उनलाई केही गरेन, केही भनेन ।

भीडमा पनि सदा एक्लै भएझैं आफ्नै धून र सुरमा मुद्दाका मिसिलहरू बोकेर अदालतदेखि घर र घरदेखि अदालत गर्दै त्रिपाठीले लामो समय बिताए । पढे पनि कानुनकै किताब पढे । बहसै गरे पनि कानुनकै दफा उपदफाहरूमा गरे ।

कसैका बदमासीविरुद्ध आक्रोशै पोख्न परे पनि इजलासमै उभिएर मात्रै पोखे । अन्यथा, अक्सर जमघटहरूमा मज्जाले गफिएजस्तो गरे पनि गफ बाँकी नै छ जस्तो भावमा प्रस्तुत हुने उनको सोचमग्न मुहार र सदा केही खोजिरहेजस्ता देखिने उनका आँखामा कसैका विरुद्ध कुनै वैयक्तिक टिप्पणी कैफियतमा पनि प्रकट भएको देखीसुनी जान्ने कोही छैन । 

आफ्नै ढंगले यस्ता भद्र मिजासका अधिवक्तामाथि अचानक संघातिक हमला भयो । त्यतिबेला उनलाई लागेको थियो– ‘म एक्लै छु लखेटिनेमा ।’ तर जब घटनाको ठूलो भर्त्सना भयो, दिनहुँपिच्छे बारले विज्ञप्ति निकालेर विरोध गर्‍यो र बारको आह्वानमा अधिवक्ताहरूले आइतबार त हातमा कालोपट्टी बाँधेरै उनीमाथिको आक्रमणविरुद्ध खरो आलोचना गरे तब दिनेशलाई लाग्यो– ‘म एक्लो रहेनछु ।’ 

संविधान जारी भएपछिको पहिलो चुनावलगत्तै बनेको सरकारले माइतीघर मण्डलादेखि बानेश्वरको संसद् भवनसम्मलाई निषेधाज्ञा घोषित गरेर त्यस क्षेत्रमा जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो ।

पूर्ण लोकतन्त्र भनिएको मुलुकमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई बन्देज गर्नु गैरसंवैधानिक हो भन्दै त्रिपाठीले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । अनि सर्वोच्चले ‘हो त नि’ भन्दै त्यसलाई जारी गरिदिएको थियो । परिणामतः त्यस क्षेत्रमा विरोध र जुलुस निकाल्ने सुविधा नागरिकले पाएका थिए ।

त्यही सुविधाका कारण गत बुधबार जिल्ला अदालत अघिल्तिर लामिछानेका समर्थकले विरोध र प्रदर्शन गर्न पाएका थिए । विडम्बना के भने, त्यही सुविधाभोगी भीडले त्यही सुविधाका लागि लडेका त्रिपाठीमाथि भौतिक आक्रमण गरेको थियो ।

‘यसलाई म जुलुस र विरोध होइन, न्यायको अवरोध भन्छु,’ त्रिपाठी भन्छन्, ‘मैले यस्तो अराजकताका लागि सरकारले लगाएको निषेधविरुद्ध अदालतमा मुद्दा हालेको थिइनँ, यो अराजकता हो ।’

आफू एक सामान्य र एक्लो व्यक्ति भए पनि आफूमाथिको प्रहार समग्र न्याय प्रक्रियामाथिको प्रहार भएकाले त्यसले पार्ने प्रभावका बारेमा आफूलाई चिन्तित तुल्याएको त्रिपाठीको ठम्याइ छ ।

उनलाई थाहा छ, पीडितभन्दा पीडक जहिले पनि शक्तिशाली हुन्छन्, जसका पक्षमा राज्यको संयन्त्र, शक्तिशाली मानिस र पहुँचवालाहरू अक्सर एकै ठाउँमा उभिन पुग्छन् ।

पीडक भने सदा कमजोर भएकाले आफूविरुद्धको अन्यायमा पनि बोलिहाल्न सक्दैन । र, पीडकको पक्षमा अक्सर अधिवक्ताहरू उभिने हुनाले पीडितहरू आफ्ना लागि बोलिदिने गतिलो मानिस पाउन पनि संघर्ष गरिरहेका हुन्छन् ।

‘यस्तोमा ममाथि आक्रमण हुँदा पीडितको पक्षमा बहसपैरवी गर्न भविष्यमा अरूलाई आँट नआउन सक्छ र त्यसले गर्दा पीडकहरूको मनोबल बढ्न सक्छ,’ त्रिपाठी भन्छन्, ‘मलाई डर नै यही एउटा कुराको लागिरहेको छ कि ममाथि भएको आक्रमणले कतै पीडितको पक्षमा बोल्नबाट अरू कसैलाई कतै पर नधकेलिदेओस् ।’ 

५८ वर्षअघि रूपन्देहीको मधुवनी–५ महिलवारीमा जन्मिएका त्रिपाठीलाई आफ्नै जीवनको भोगाइ र त्यसका आधारमा तय भएको बाटोले न्यायका पक्षमा उभिन सदा प्रेरित गरिरहन्छ । बिजुली, सडक र पुल केही नभएको त्यस समयमा उनी घरदेखि पढ्न विद्यालयमा जाँदा बाटोमा खोला पर्‍यो, जो सधैं तरिरहन सम्भव नहुनाले पढाइमा निकै बाधा पुगेको थियो ।

प्राथमिक पढाइ सकेपछि उनी त्यसपछिको अध्ययनका लागि नेपालगन्ज गए जहाँ उनका दाजु सचिदानन्द त्रिपाठी जागिरे भई बसोबास गर्थे ।

नेपालगन्जको मंगलप्रसाद माविमा भर्ना भएपछि हो त्रिपाठीले चक–डस्टर, बेन्च–डेक्स र कपी–कलम देखेको । त्यसअघि गाउँको पाठशालामा भुराहरू बस्नका लागि घरदेखि बोरा वा टाट बोकेर स्कुल आउजाउ गरेको मात्रै सम्झना थियो उनमा । पाठशालामा शिक्षकहरू ढुंगे पाटीमा खरीले लेख्दै मेट्दै गरेर कखरा सिकाउँथे । कपीकलममा लेखपढ गर्न पाउने भएपछि सायद पढाइमा उनको लगाव उच्च हुन पुग्यो ।

तब त उनले २०३७ मा प्रवेशिका उत्तीर्ण गरेपछि नेपालगन्जकै महेन्द्र बहुमुखी क्याम्पसमा आईएल पढे अनि काठमाडौं आएर नेपाल ल क्याम्पसमा २०४२ को अन्ततिर बीएलमा भर्ना भए । 

बीएललगत्तै उनले एलएलएम पनि गरे र पेसागत रूपमा बहस गर्न थाले । त्यसयताका झन्डै ३५ वर्षमा उनले सरकारमा भएको कसै न कसैको सन्काह वा स्वार्थ प्रेरित निर्णयबाट भएको मौलिक अधिकारको हनन्विरुद्ध रिट नहालेका वर्ष छैनन् ।

सन् २००६ मा अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा संवैधानिक कानुनमा स्नातकोत्तर गर्न गएका बेला त्यहाँ कानुनविद्हरूको सम्मेलन भयो । जहाँ विश्वविद्यालयका तर्फबाट त्रिपाठीले पनि बोल्ने मौका पाए । भर्खर सुरु भएको राजाको प्रत्यक्ष शासनका विरुद्ध उक्त अन्तर्राष्ट्रिय मञ्चबाट उनले बोलेका थिए । 

‘त्यहाँ मैले मार्टिन लुथर किङले एक ठाउँको अन्याय सबै ठाउँको न्यायका लागि खतरा हो भनेझैं एक ठाउँको प्रजातन्त्र र मानवताविरोधी कदम सबै ठाउँको प्रजातन्त्र र मानवताविरोधी कदम हो भन्दै प्रत्यक्ष शासन गर्ने राजाको कदमलाई किन विश्वभरका मानिसले बेवास्ता गर्न हुन्न भन्नेबारेमा बोलेको थिएँ,’ उनी सम्झन्छन्, ‘पाँच हजारभन्दा बढीको भीडले पटक–पटक जुरुक्क उठेर ताली पिट्दै मेरो प्रशंसा गरेका थिए, त्यो दिन मैले बुझेँ– सत्यको पक्षमा बोल्दा नचिनेकै भए पनि मानिसहरू जोडिन आइपुग्दा रहेछन् ।’

संकटकालमा ३ सय ५० भन्दा बढीलाई गैरकानुनी थुनाबाट मुक्त गर्ने गरी रिट निवेदनहरू दायर गरेको भन्दै कानुनी जर्नल ‘गुइल्ड नोट्स’ ले उनलाई ‘नेपालको आर्थर किनोई’ भन्दै उनका बारेमा छापेको थियो । अ

मेरिकामा नागरिक अधिकारका लागि लडेका प्रसिद्ध अधिवक्ता आर्थर किनोईसँग आफ्नो काम दाँजिएकामा त्रिपाठीलाई हुनुसम्म खुसी लाग्यो । र, मानवअधिकारको रक्षा र विधिको शासनको संरक्षणमा उभिन उनलाई थप ऊर्जा मिल्यो । 

यही ऊर्जाले उनी अहिले पनि एक्लै नै सही, पीडितका पक्षमा भ्याएसम्म उभिएकै छन् । भन्छन्– ‘म व्यक्ति एक्लो हुँला तर सत्यको बाटोमा एक्लै हिँड्दा पनि कुनै भय हुँदैन जबकि अपराध र असत्यको बाटोमा हुलै बाँधेर हिँडे पनि ढिलोचाँडो त्यसबाट जोगिने कुनै बाटो बाँकी रहन्न ।’ 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully