के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ ?

माघ २, २०८१

नुमा थाम्सुहाङ

Can earthquakes be predicted?

काठमाडौँ — तपाईंलाई अरु जस्तै भूकम्पको पनि भविष्यवाणी गर्न सकिन्छ जस्तो लाग्छ ? अथवा हामीले टेकेको जमिनमा कसरी भूकम्प आउँछ ? भूकम्प आएपछि के अग्ला घर मात्र भत्काउँछ ? नेपालमा इन्डियन र युरेसियन प्लेटको ठक्करले कसरी भूकम्प आउँछ ?

यस्तै प्रश्न, जिज्ञासा र अन्योललाई मेटाउन विमर्श अधिकारी बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको ‘भूकम्प सिकाइ प्रदर्शनी’ मा पुगे । 

सेन्ट जेभियर्समा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै गरेका विमर्श भन्छन्, ‘मलाई नेपालमा भूकम्प ल्याउने इन्डियन प्लेट र युरेसियन प्लेटका बारे राम्रोसँग ज्ञान थिएन । तर यहाँ दुई प्लेट कसरी घर्षण हुने र अवरोध हुँदा कसरी भूकम्प ल्याउने रहेछ भन्ने थाहा पाएँ ।’ 

जमिनको भित्री तहमा रहेका विभिन्न प्लेटहरू सर्दछन् । जमिनभित्र रहेको तापको कारणले ती प्लेटहरू एकआपसको नजिक, दायाँ–बायाँ र तल–माथि सर्ने गर्दछन् । सोही सर्ने क्रममा अवरोध भए सञ्चय भएको शक्ति बाहिर निस्कन्छ र सतहमा भूकम्प भएर आउने कुरा बुझेको उनले बताए ।  

त्यतिमात्र होइन विमर्शले ‘नेपालमा भूकम्पको इतिहास’ बारे उनले कलेजमा प्रोजेक्ट पनि गर्दैछन् । आफ्नो प्राजेक्टलाई समेत सहयोग हुने सोचेर भूकम्पबारे थाहा पाउन नास्टको प्रदर्शनीमा आएको उनले सुनाए । 

‘मलाई मानव गतिविधिले भूकम्प आउन सक्छ भन्ने लागेको थियो तर यहाँ आएपछि यी सबै कुरामा स्पष्ट भएँ,’ १८ वर्षीय विमर्शले भने, ‘यहाँ आणविक हतियार परीक्षण गर्दा भने त्यसले जमिनमा हलचल ल्याउन सक्ने भए पनि मान्छेकै कारणले भूकम्प नआउने रहेछ ।’ उनी भूकम्पको मेकानिज्मबारे आफूले पढिरहेको किताबले बुझाउन नसकेको र यसका लागि नास्टकको प्रदर्शनी उपयोगी भएको अनुभव बाँड्छन् । साथै यस किसिमको प्रदर्शनीले भूकम्पबारे रहेको अन्योलसमेत कम हुने उनको बुझाइ छ ।

भविष्यवाणी गर्न स्थान, मिति तथा समय ठीक हुनुपर्छ । तर आजको विज्ञानबाट यी कुरा यकिनसाथ भन्न सक्ने अवस्था नरहेकाले भूकम्पको भविष्यवाणी गर्न नसकिने अवस्था रहेको द सेलिब्रेसन कोएड कलेजमा ११ मा पढ्दै गरेकी विद्यार्थी नित्या पोखरेलले बताइन् ।Can earthquakes be predicted?

‘अहिलेको विज्ञानले भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको कुरा थाहा भयो,’ उनले भनिन्, ‘त्यसैले सकेसम्म सुरक्षित आवास नै भूकम्पबाट बच्ने उपाय रहेछ ।’ 

यसमा भूकम्पविद्ले निश्चित वर्षभित्र निश्चित क्षेत्रमा भूकम्प जानेबारे सम्भावना मात्र भन्न सकिने अवस्था मात्र भएको उनले प्रदर्शनीबाट बुझेको पनि बताइन् । 

सोही कलेजमा पढ्दै गरेका स्वप्निल अधिकारीले भने भूकम्पको केन्द्रबिन्दु र यसको नजिक उच्च जोखिम हुने, भूकम्पको म्याग्नेच्युड थाहा भए पनि यसको पूर्वानुमान गर्न नसकिनेलगायत कुरा सिकेको अनुभव सुनाए । ‘भूकम्प आउँदा हामीले घरभित्र भए सकेसम्म टाउकोलाई जोगाउनुपर्ने रहेछ,’ उनी भन्छन्, । 

द सेलिब्रेसन कोएड कलेजका भाइस प्रिन्सिपल सागर दाहालले कक्षा ११ र १२ कक्षामा पढ्दै गरेका ३४ जना विद्यार्थीलाई पढाइसँगै व्यावहारिक ज्ञान दिन नास्टको प्रदर्शनीमा ल्याएको बताए । उनको अनुभवमा किताबको पढाइले मात्र भूकम्पबारे बुझ्न नसकिने भएकाले यस किसिमको सिकाइबाट सहयोग पुग्छ । ‘भूकम्पमा प्रयोग हुने प्रविधि र अभ्यास हामीले गर्न सम्भव छैन,’ उनले भने, ‘तर यसरी हामीले विद्यार्थीलाई देखायौं भने पढाइसँगै व्यावहारिक ज्ञान हुन्छ । भूकम्पबारे जान्न अझ सहज हुन्छ ।’ नेपाल भूकम्पको जोखिममा रहेकाले यस किसिमको प्रदर्शनीले जनचेतना बढ्ने र भूकम्प आउँदा गरिने प्रतिक्रियामा क्षमता विकास हुने उनको बुझाइ छ । 

प्रदर्शनीमा भेटिएका ८ वर्षीय ईभान ठाकुर भूकम्प आएका बेला आत्तिन नहुने र सकेसम्म सुरक्षित स्थानमा जानुपर्ने सिकेको बताउँछन् । उनी तीन कक्षामा ललितपुरस्थित सेन्ट जेभियर्समा पढ्दैछन् । आफ्नो आमासँग प्रदर्शनीमा आएका ईभानले भने, ‘मैले अर्थक्वेक कसरी आउँछ भन्ने देखेँ । अर्थक्वेक आउँदा आत्तिएर भाग्न नहुने रहेछ ।’

उनले भूकम्प जाँदा विद्युत‍्को लाइन काटिने हुँदा लिफ्ट बन्द भई भित्र थुनिन सक्ने अवस्था आउने भएकाले लिफ्टको प्रयोग नगर्ने, सिढीको प्रयोग नगर्ने, भूकम्प आउनुअघि अत्यावश्यकको सामग्री तयार गरेर राख्ने, भूकम्प आउँदा सम्भव भएसम्म उक्त झोला बोकेर खुला र सुरक्षित स्थानमा जानुपर्ने कुरा सिकेको उनले सुनाए । 

नास्टले भूकम्पसम्बन्धी ज्ञान दिन ललितपुरमा उक्त प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा रमाइरहेकी एलिजा दाहालले भूकम्पको ‘पी’ र ‘एस’ वेभले घरहरू कसरी हल्लाउने रहेछ भन्ने थाहा भएको बताइन् । त्रिभुवन विश्वविद्यालयमा भूगर्भ विज्ञानमा स्नातकोत्तर गर्दै गरेकी उनी भन्छिन्, ‘पी वेभले घरलाई तलदेखि माथि र एस वेभले घरलाई दायाँ–बायाँ हल्लाउने रहेछ । तर पी वेभभन्दा एस वेभले धेरै क्षति गर्ने सम्भावना हुने रहेछ ।’ त्यसैले घर बनाउँदा बेस बलियो र भूकम्प प्रतिरोधी बनाउनुपर्ने महसुस भएको उनले बताइन् । 

प्रदर्शनीबाट उनले भूकम्पमा अग्लो घर र होचा घर भत्काउने छुट्टाछुट्टै कम्पहरू हुने रहेको बुझिन् । भूकम्पका उच्च आवृत्तिका तरंगले होचा घर र कम आवृत्तिका तरंगले अग्ला घरलाई बढी क्षति पुर्‍याउने रहेछ भन्ने कुरा सिकेको उनले सुनाइन् । साथै भूकम्प प्रतिरोधी भए साना र ठूला घर भनेर फरक नपर्ने रहेछ भन्ने कुरा उनले बुझ्न पाएको बताइन् । 

‘यो प्रदर्शनीले भने भूकम्पबारे राम्रो जानकार पाएको र यसले भूकम्पको जोखिम कसरी कम गर्ने कुरा सिके,’ उनले थपिन् ।

प्रदर्शनीले नास्टमै काम गर्ने भिन्न क्षेत्रका कर्मचारीलाई समेत भूकम्पबारे बुझ्न सहयोग भएको गणेश बेलबासेको अनुभव छ । ‘यो हाम्रा लागि ज्ञान आदानप्रदान गर्ने स्थान भयो,’ नास्टमा असिस्टेन्ट रिसर्च फेलो रहेका उनी भन्छन्, ‘यहाँ भूकम्पको पूर्वतयारी, आउँदै गर्दा र गइसकेपछि के गर्नुपर्ने बुझ्ने अवसर मिल्यो ।’ यसपछि भूकम्पको पूर्वतयारीका लागि उनले प्राथमिक उपचारको बक्स तयार गर्ने, भूकम्प आइसकेपछि जमिनमुनिको पानी सकेसम्म प्रयोग नगर्ने, आफू सुरक्षित स्थानमा भए आकस्मिक बाहेक टेलिफोन सेवा प्रयोग नगर्नेलगायत कुरा सिक्न पाएको उनले बताए ।

प्रदर्शनी ८ सय ५० जनाले अवलोकन गरेको नास्टका भूकम्पविद् शिव सुवेदीले जानकारी दिए । प्रदर्शनीमा भूकम्पबारे ज्ञान दिन ८ मोडल राखिएको थियो । पहिलो मोडलमा भूकम्प, भूकम्पको कारण, प्लेट टेक्टोनिक्स, गोरखा भूकम्प र भूकम्पको विज्ञान रहेको छ । यसैगरी मोडल दुईमा भूकम्पको म्याग्नेच्युड र भूकम्पको तीव्रता र मोडल तीनमा भूकम्पको भविष्यवाणी गर्न किन सकिँदैन भन्ने विषय प्रदर्शनीमा थियो । यसैगरी प्रदर्शनीका मोडल चारले भने भूकम्प जानुअघि, जाँदै गर्दा र गइसकेपछि के गर्नुपर्छ र भूकम्पको तयारी गर्ने उपायहरूबारे बताइएको थियो । मोडल पाँचमा विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर, मोडल ६ मा तरलीकरण र भूकम्प, मोडल सातमा भूकम्पीय ‘पी’ र ‘एस’ तरंग, तरंगको प्रकासर र आठमा सिस्मोमिटर, वैज्ञानिकले भूकम्प नाप्ने तरिका प्रदर्शनीमा राखिएको थियो ।   

१९९० सालमा गएको महाभूकम्पलाई सम्झना गर्दै हरेक वर्ष माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइन्छ । २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ । 

भूकम्पीय जोखिम न्युनिकरणका लागि सरकारको प्रतिबद्धता 

बुधबार ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ अवसरमा भूकम्पबाट सुरक्षित हुन सरकारले प्रतिबद्धता जनाएको छ । भूकम्पीय जोखिम तथा न्यूनीकरणका लागि २ बजे २४ मिनेट जाँदा सरकार, समुदाय र सरोकारवाला निकायहरूले हातमा हात राखेर सामूहिक प्रतिबद्धता जनाएका हुन् । 

कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ओैं भूकम्प सुरक्षा दिवस कार्यक्रममा दिउँसो २ बजेर २४ मिनेट जाँदा उक्त प्रतिबद्धता जनाइएको हो । यसैगरी देशभर भूकम्पसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलले भूकम्पप्रतिरोधी घर बनाए मात्रै चाँडै नढल्ने र भूकम्प प्रतिरोधी संरचना बनाउन आह्नवान गरे । ‘प्राकृतिक विपत्ति आउँछ । प्रकृतिभन्दा बलियो कोही हुँदैन,’ उनले भने, ‘तर भूकम्पप्रतिरोधी घर बनायौं भने त्यति छिटो ढल्दैन ।’ उनले भूकम्प आउँदा आत्तिएर भाग्दा लड्ने जोखिम भएकाले सुरक्षित रहनुपर्ने बताए । ‘सकेसम्म क्षति हुन नदिने हो । क्षति भइहाले राहतका लागि सरकारले काम गर्नेछ,’ उनले थपे । 

यसैगरी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर भूकम्पप्रतिरोधी संरचना बनाउन आवश्यक रहेको बताएका छन् । ‘घर र भौतिक संरचना बलिया छन् र गर्ल्यामगुर्लुम ढल्दैन भन्ने सन्देश दिने गरी काम गर्नुछ,’ उनले भने, ‘त्यसैले भवन संहिताको पालना गर्न र नियमबमोजिम घर संरचना बनाउन सबैलाई अपिल गर्दछु ।’

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताए ।

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully