कपाल काट्दै, एमएस्सी पढ्दै

‘मैले एसएलसीपछिको उच्च शिक्षा कक्षा कोठा नटेकी पार लगाउँदै आएको छु,’ उनी भन्छन्, ‘घर खर्च जुटाउन काम गर्नैपर्ने परिस्थिति छ । त्यसैले कलेज भर्ना हुने, र स्वअध्ययन गर्ने गरिरहेको छु ।'

पुस २१, २०८१

रमेशचन्द्र अधिकारी

Cutting hair, studying M.Sc

धनकुटा — कपाल काट्ने र दाह्री खौरिने काम गरेर उनको दैनिकी बित्ने गर्छ । सबेरैदेखि साँझसम्म मुस्कुराउँदै ग्राहकलाई कुर्सीमा आलोपालो बसाउने र कपाल, दाह्री काटिदिएर खुसी पार्नेमा पोख्त छन् २८ वर्षीय सोनु ठाकुर ।

१२ वर्षको उमेरदेखि कपाल दाह्री काट्ने पेशामा रहेका उनले यही पेशाको कमाईबाटै विज्ञान संकायमा स्नातकोत्तर (एमएस्सी) पढाई गर्दैछन् ।

कपाल काट्ने उनको पुर्ख्यौली पेशा हो । पाँच दशक पहिले हजुरबुवा उत्तिमलाल ठाकुर सप्तरीबाट धनकुटा पुगेका थिए । उतिबेला राजमार्ग बनेको थिएन । धरानबाट पैदल हिडेर धनकुटा पुगेका उत्तिमलालले सुरु गरेको पेशालाई उनका बाबु लालबाबुले निरन्तरता दिए । अहिले सोनुले निरन्तरता दिंदै आएका छन् ।

स्कुल पढ्दादेखि नै बाबुबाट कपाल काट्ने कर्म सिकेका उनी यति बेला आफ्नै नामबाट धनकुटा नगरपालिका-६ स्थित सिरानबजारमा ‘सोनु हेयर कटिङ’ सैलुन सञ्चालन गर्दै आएका छन् । यही पसलको आम्दानीबाट उनले डेरा भाडा र खानपानदेखि फोक्सोको समस्याबाट ग्रस्त बाबु लालबाबुको उपचार र आफ्नो पढाई खर्च समेत जुटाइरहेका छन् ।

आमा अञ्जुको २०७३ सालमा निधन भएपछि घरायसी जिम्मेवारी उनकै काँधमा आइपरेको छ । उनी परिवारका एक्ला सन्तान हुन् । स्थानीय गोकुण्डेश्वर माध्यमिक विद्यालयबाट विज्ञान संकायमा १२ कक्षा उत्तीर्ण गरेपछि उनले धनकुटा बहुमुखी क्याम्पसबाट विज्ञान संकायमा स्नातक (बिएस्सी) उत्तीर्ण गरे ।

रोचक कुरा त यो छ कि, दुवै डिग्री हात पार्दा समेत उनले विद्यालय र क्याम्पसमा कक्षा लिन पाएनन् । उनले कक्षामा नटेकी स्वअध्ययनकै भरमा एमएस्सी पूरा गर्दैछन् । ‘मैले एसएलसीबाहेक उच्च शिक्षा कक्षा कोठा नटेकी नै पार लगाउँदै आएको छु,’ उनी भन्छन्, ‘घर खर्च जुटाउन काम गर्नैपर्ने परिस्थिति छ । त्यसैले कलेज भर्ना हुने, र स्वअध्ययन गर्ने गरिरहेको छु ।'

आमाको निधन र बाबु अस्वस्थ्य भएपछि कलिलै उमेरमा घरायसी जिम्मेवारी आइपरेको सोनु बताउँछन् । उनले भन्छन्, ‘कलेज गएर साथीभाईसँग रमाएर पढ्ने चाहना नभएको होइन, तर परिस्थिति अनुकूल भएन ।’ पढाइसंगै उनी यति बेला लोकसेवा आयोग परिक्षाको तयारी समेत गर्दैछन् ।

उनले ठट्यौली गर्दै भने, ‘लोकसेवा परिक्षा उत्तीर्ण नगरी बिहे नै नगर्ने सोचमा छु ।’ सैलुनको काममा दैनिक झण्डै १० घण्टा खटिएपछि बचेको समय पढाइ गर्ने गरेको उनले बताए ।  

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully