नेवाः संगीतमा नयाँ आवाज

ललितपुरको खोकनाबाट रोजमान महर्जनको दोहोरी, भक्तपुरबाट कुमा सागरको डाफा भजन मिसिएका गीत, काठमाडौंका उजन शाक्यको पश्चिमा शैलीका नेवाः गीतले नेवाः संगीतमा छुट्टै तरंग ल्याएको छ ।

पुस १८, २०८१

रीना मोक्तान

Neva: A new voice in music

काठमाडौँ — कलाको भाषा हुँदैन, सीमा हुँदैन । कला स्वतन्त्र हुन्छ । कलाले न जात हेर्छ, न रंग ! यसले विभेद गर्दैन, विभाजन ल्याउँदैन । त्यसैको ज्वलन्त उदाहरण हो रोजमानले गाएको ‘ऐला लुवया’ । यस गीतले उपत्यकाभित्रको नेवाः मात्रै होइन नेपालभरिकै गैरनेवाः समुदायलाई नचाइरहेको छ ।

कुमा सागरको ‘ओ चम्पा’ मा टिकटक बनाउने, उजन शाक्यको ‘राजमति चा’ का शब्द गुनगुनाउने बढेका छन् । निभा डंगोलको ‘सचिका चिना’ सुनिसकेपछि युट्युबमा कमेन्ट पनि गर्छन्, ‘बुझ्नचाहिँ केही बुझिनँ तर गीत दामी लाग्यो ।’

अहिले उपत्यकामा गुन्जिरहेका धूनहरू सुन्ने हो भने पूरा उपत्यका नै नेपाल भाषाका गीतमा रमिरहेको देखिन्छ । ललितपुरको खोकनाबाट रोजमान महर्जनले दोहोरी, उता भक्तपुरबाट कुमाको डाफा भजन मिसिएका गीत ! काठमाडौंबाट उजन शाक्यका पश्चिमा शैलीका नेवाः गीत ! उनीहरूका गीतले पूरा नेवाः संगीतमा छुट्टै तरंग थपिदिएको छ ।

उनीहरूअघि पनि नेवाः संगीतमा काम नभएका होइनन् । संगीत सिर्जना भइरहेकै थिए, गीतहरू बजारमा आइरहेकै थिए । राजमति कुमति, सिरसाया हेगुहरू सदाबहार गीत भइहाले । यी पुराना क्लासिक गीतहरूमै नेवाः संगीतको परिचय घुमिरहेको थियो । तर, जब कुमा, रोजमान र उजनले नयाँ धूनमा नेपाल भाषाका गीत ल्याए नेवाः समुदाय मात्रै होइन, यसले पूरा नेपाली दर्शकलाई झुमाउन थालेको छ । सामाजिक सञ्जालजस्ता प्लेटफर्मले यी गीतलाई अत्यधिक दर्शकबीच पुर्‍याइदिएको छ ।

लेखक सुरेश किरण यी गीतहरूले नेवाः संगीतको पहुँच र प्रभाव बढाएको बताउँछन् । हुन त धेरै अध्येताले नेपाल भाषामा काम गरिरहेका छन्, एक किसिमको आन्दोलनकै रूपमा । तर, त्यो आन्दोलनले प्रभाव पार्न नसकेको कुरा उजन, कुमा र रोजमानको गीतमार्फत फैलिरहेको किरणको दाबी छ । ‘ उनीहरूका गीतले नेवाः समुदायमा मात्रै होइन, बाहिर पनि प्रभाव पारेको छ,’ किरणले भने । नेवाः संगीतमा प्रचलित धूनहरूमा फरक स्वाद मिसिएकै कारण यी गीत अत्यधिक दर्शकबीच पुगेको उनको विश्लेषण छ ।

किरणले भनेझैं अहिले प्रचलित नेवाः संगीतलाई सुन्ने हो भने त्यसमा बेग्लै स्वाद र पृथकपन मिसिएको भेटिन्छ । रोजमानले दोहोरी शैली समात्दै गीतहरूले ल्याए । कुमाले आफ्नो स्वरमा मेटलको घर्षण मिसाइदिए ।

यता उजनले पश्चिमा संगीत, वाद्यवादन मिसाउँदै नेपाल भाषामा नवीन संगीत पस्के । तैपनि उनीहरूका संगीतले आफ्नो समुदायका धूनहरूलाई भने पक्रिरहेको छ, जसले दर्शकबीच ‘ऐला लुवया’, ‘ओ मैंचा’, ‘लुमन्ती’ हरूको चर्चा चुलिएको हो ।

कुमा सागर आफूहरूले नेवाः संगीतको जरालाई समातेर संगीत सृजना गरिरहेकै कारण नेवाः संगीतको चर्चा चुलिएको स्विकार्छन् । ‘अहिले त यो उसको गीत कसको गीत भन्ने भएन । अहिले नेवार, तामाङ, मगर नै भएन । ती सब नेपाली संगीत भइदियो,’ कुमाले भने, ‘हामी कहाँ मल्ल राजाको पालादेखि नै बज्ने गीतहरू बाजेहरूले गुनगुनाउनुहुन्थ्यो । त्यतिबेलाको संगीत नै समेट्न खोजिरहेको छु ।’ 

खासमा कुमा डाफा भजनमा गाउने बजाउने गर्थे । त्यहीँ गाइरहँदा नै उनी ‘ओ चम्पा’ गीतका शब्दहरू लेखिरहेका थिए । तर, गीत अपूरोजस्तै थियो, खल्लो भइरहेको थियो । एक दिन डाफा भजनमा गाइरहेका बाजेहरूले भने, ‘ओइ कुमा तिमी हाम्रो भजनहरू पनि रेकर्ड गर न’ ।

त्यसपछि कुमाको अड्चन फुक्यो । भोलिपल्टै बाजेहरूलाई राखेर गीतमा भजन मिसाइदिए । भजन मिसाइएकै कारण ‘ओ चम्पा’ ले सार्वजनिक भएको २/३ महिनापछि नसोचेको चर्चा कमायो । त्यसपछि कुमाले डाफा भजनका धूनहरू मिसाउँदै ‘ए माई रे’ निकाले । ‘हावाको लहरसँगै उडिरहन मन भो नि, तिम्रो त्यो वासना मनमै चल्यो रे’ भन्ने पंक्ति त भाइरल नै भयो ।

Neva: A new voice in music

नयाँ स्वाद पर्खिरहेका दर्शकबीच पृथकपनकै कारण ‘सालुगु गाचा’, ‘ऐला लुवया’ हिट भएको अनुभव रोजमानको छ । यसबीच रोजमानले देखे, नेवाः संगीतमा आइरहेको उही शैलीका गीतहरू । ती गीतहरू बनाउन मात्रै बनाइएका जस्ता थिए । एउटै शैलीका गीतले दर्शकश्रोताको ध्यानसमेत तान्न सकिरहेको थिएन ।

बिहे भोजतिर जताततै सबै जना पुरानो गीतमै झुमिरहने ! हिन्दी र विदेशी गीतहरूमै नाचिरहेको देख्दा रोजमानलाई नयाँ पृथक संगीत गर्न मन लाग्यो । त्यसैले दोहोरी शैलीमा ल्याए, ‘सालुगु गाचा’ । उक्त गीत चलिसकेपछि ‘ऐला लुवया’ ल्याए ।

यो गीत त गैरनेवार समुदायमा व्यापक बन्यो । ‘हाम्रो भाकाहरू पनि राम्रै छ । बिहे भोज पराम्परादेखि नै मादल बजाएर रमझम गर्ने चलन हामीकहाँ पनि थियो । एकापट्टि महिला समूह हुन्थ्यो, अर्कोतिर पुरुष । त्यही दोहोरी भाकाको नमुना हो ऐला लुवया,’ रोजमानले भने ।

उजनलाई लाग्छ, उनीहरूका गीतमा दर्शक झुम्नुको खास कारण त्यसमा मिसिएको लय हो । ‘संगीतको कुनै भाषा हुँदैन । सायद अहिले सबै जना संगीतको भाइभमै रमेको देखिन्छ । दर्शक त पहिला गीतको शब्दभन्दा पनि त्यसको धूनमा रमेको देखिन्छ । ‘ग्याङगन्म स्टाइल’ भन्ने गीत पनि हामीले बुझेनौं तर त्यो गीतको धूनले हामीलाई तान्यो नि । अहिलेको नेवाः गीतहरूको त्यही धूनले नै तानेको हो,’ उजनले भने । त्यसैमा कुमा थप्छन्, ‘मेलोडीले गर्दा पनि अहिलेका नेवाः संगीत मन पराइदिएको हो । यदि गीत घर हो भने त्यो घरको रंग हो स्वर । त्यसैले मलाई लाग्छ, मेलोडी नै राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’ 

 ‘राजमति चा’, ‘मैचा’, ‘लुमन्ती’ जस्ता नेवाः भाषाका गीत ल्याएका उजनका अनुसार सामाजिक सञ्जालले पनि यी गीतलाई व्यापक दर्शकबीच पुर्‍याइदिएको हो । ‘सालुगु गाचा’ भन्ने गीत युट्युबमा सार्वजनिक गरेको केही बेरमै हिट ! रोजमानका अनुसार यो गीतमाथि धेरैले त्यतिबेला थुप्रै टिकटक बनाए । भजन शैलीको ‘सालुगु गाचा’ त्यो वर्ष यसरी चल्यो कि जुन भोजमा पनि यही गीत बज्ने । यो गीत निकालेको एक वर्षपछि सार्वजनिक गरेको ‘ऐला लुवया’ ले ३ दिनमा एक लाख भ्युज बटुल्यो । अहिले १ करोड ४० लाख बढीले युट्युबमा हेरिसकेको यो गीत टिकटकले गर्दा नै हिट भएको अनुभव रोजमानको छ । टिकटकजस्ता प्लेटफर्मले पारेको असर त रोजमानले नजिकैबाट भोगेका पनि रहेछन् । खासमा रोजमानले ‘ऐला लुवया’ पछि ‘माया मदुला’ भन्ने गीत ल्याएका थिए । त्यतिबेला ठ्याक्क टिकटक नेपालमा ब्यान्ड भयो । यो गीत त्यति साह्रो चलेन । केही समय अगाडि ‘मख त्वाः या ग्वाः निकाल्दा टिकटक खुल्यो, गीत टिकटकभरि ! 

पछिल्लो समय संगीत प्रवर्द्धनको नयाँ माध्यम बनेको सामाजिक सञ्जालका यस्तै प्लेटफर्मले रोजमानको गीतलाई क्षेत्रीय, सामुदायिक भनेर विभेद गरेन ।

‘उपत्यकाको मूलवासी होस् या आदिवासी, सीमान्तीकृत, उनीहरूका गीत त्यो ठाउँसम्म पुगिरहेको थिएन । किनभने संगीतमा पनि एउटै अनुहारहरू मात्र त पुगिरहेका थिए । तर, युट्युब अनि टिकटकले जात हेरेन, समुदाय हेरेन । कसैले हाम्रो गीत त्यता सार्वजनिक गर्न रोक पनि लगाउन सकेन । जुन संगीतले मानिसको मनलाई आनन्दित बनाउँछ, त्यस्तो गीत हामीले बनायौं । अनि हाम्रो गीतले उहाँहरूको मन निको पार्‍योजस्तो लाग्छ,’ रोजमानले भने ।

नेवाः गीतहरूको यस किसिमको लहर देख्दा रोजमान दंग छन् । ‘नेवार मात्रै होइन, अन्य मौलिक गीतहरू हाम्रो सम्पत्ति र संस्कृति हुन्,’ उनले भने । 

नेपाल टुरमा पूर्वतिर पुगेका कुमा पनि नेवाः संगीतमा फरक जिल्लाका फरक व्यक्तिहरू झुमेको देख्दा खुसी छन् । ‘सचिका चिना’ की गायिका निभा डंगोल टिकटकजस्ता प्लेटफर्मबाट नेवाः संगीत चल्न थालेको भनाइ राख्छिन् । ‘पहिला त नेवाः संगीतमा युवा पनि कम देखिन्थे । पुरानै अनुहार मात्रै थियो । तर, अहिले युवाको सहभागिताले नेवाः गीतहरू चलिरहेका छन्,’ निभाले भनिन् ।

परम्परागत धून, संगीत र लय मिसाउँदा नै अहिलेका गीतहरू पृथक बनेको लेखक किरण सुनाउँछन् । ‘नेवाः समुदायमा दोहोरी छैन । आफूसँग नभएको शैलीमा गीत ल्याउँदा रोजमान पनि लोकप्रिय भए । परम्परागत भजनमा गाइरहेको गीतलाई नयाँ गायन शैली र लय मिसाउँदा दर्शकबीच प्रचलित बनेको हो,’ लेखक किरणले भने ।

अहिलेका गीतहरूलाई नियाल्ने हो भने त्यसभित्र नेवाः संगीतको मिहिन तत्त्वहरूलाई गायका/गायिकादेखि संगीतकर्मीले मिसाइदिएका छन् । ‘सालुगु गाचा’ को उदाहरण हेरौं । खासमा यो गीतको मेलोडी पहिल्यैदेखि नेवार बस्तीमा चर्चित थियो । तर थन्किएर बसेको थियो, कुनै कुनामा । खोकनामा आमाहरूलाई भजन सिकाउँथे, रोजमान । यो मेलोडीमाथि गीत बनाए त नेवाः संगीतमा केही परिवर्तन आउला भन्ने सोच भयो । त्यसैले कुटुपुखु भजन खलःसँग मिलेर गीत ल्याए । 

‘सालुगु गाचा’ मा पुरुष र महिलाको दुवैतर्फका कुरालाई गीतमार्फत व्यक्त गरिएको छ । ‘सालुगु गाचा सालिमते’ को अर्थ हो, पातलो पछ्यौरी नतान । ‘खाइसी, झम्सी ह्याके मते’ को अर्थ ज्यामिर र कागती नझार हो । ‘माया यायेगु तोते मते’ अर्थात् माया गर्न नछोड ! गीतको अर्थै नबुझ्नेहरू पनि यसको धूनमा झुमिदिए । नेवाःहरूका लागि यो धून नयाँ हुन सक्ला भनेरै रोजमानले यो धूनमा गीत बनाएका थिए । ‘यो धूनमा कति गीत निस्किरहेका थिए । तर, ती गीतले दर्शकको मनमस्तिष्क छोइरहेको थिएन । हाम्रो गीतहरूले त उहाँहरूको मन छोयो,’ रोजमानले भने ।

 ‘ऐला लुवया’ मा रोजमानले नेवाः संगीत मात्रै मिसाइदिएनन्, नेवाः भोजकै परिकल्पना गर्दै शब्दहरू लेखे । ‘ऐला लुवा’ अर्थात् प्यालामा रक्सी हाल्न आऊ !

 ‘झं झं धाल भ्वे छेंया भ्वे नया

 ले ले ताल छङ्गु हे ख्वा स्वया

 ऐला लुवया...’

 अर्थात्, ‘रमझम भयो भोजघरको भोजले । रमायो यो मन तिम्रो नै मुहारले, रक्सी हालेर । झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सीले तिमीलाई हेरेर’ जस्ता अर्थ दिने गीतका शब्द ‘ऐला लुवया’ मा रोजमानले समेटेका छन् ।

Neva: A new voice in music

 कोभिडको संयोग, संगीत निर्माण

कुमा, रोजमान र उजनका गीतहरूसँग कोभिडको मिठो संयोग छ । खासमा उनीहरूका गीत कोभिडकालमा आए र चर्चित भए । उजनले कोभिडबीच नै नेवाः गीतहरू लेख्न थालेका हुन् । सन् २०१६/१७ तिर उनले अंग्रेजी गानामा मात्रै गीतहरूमा ठमेलतिर गिग गर्थे ।

इगल्स ब्यान्डको कन्ट्री रकबाट प्रभावित भएर उस्तै गीत गाउँथे । परिवारले नेवाः गीत ल्याउनुपर्छ भनिरहन्थे । उनले नेपाली भाषाका गीतहरू गरे । लकडाउनको समय खेर नफाल्ने सोचले उनी त्यतिबेला संगीत निर्माण सिके । बीआईएम पढ्ने उनले त्यसबीच कोठाभित्रै संगीत निर्माण गरे । सिक्दै, गीत लेख्दै त्यसमा संगीत भर्दै युट्युबमा सार्वजनिक गर्न थाले । ८ वटा नेपाली गीतपछि ‘थउ कनें’ भन्ने नेपाल भाषाको गीत गाउँदा सोचेभन्दा धेरै प्रतिक्रिया पाए । 

त्यसअघि उनका गीतहरूले १४/१५ हजार भ्युज पाइरहेको थियो । तर, रक र नेवाःको फ्युजन रहेको यो गीतले छोटो समयमै ४० हजार भ्युज पायो । त्यसपछि उनलाई लाग्यो, सायद दर्शक यस्तै गीत कुरिरहेका छन् । रमाइलो शैलीको गीत निर्माण गर्ने सोचसहित उजनले फेरि त्यही जोसमा ‘मैचा’ बनाए । लकडाउनमा सँधै कोठाभित्रै थुनिएकाले परिवारले पनि उजनलाई बाहिर निस्कन भनिरहेका थिए ।

त्यसैले यी सबै अस्तव्यस्तबाट ब्रेक लिन सामाजिक सञ्जाल सबै बन्द गरेर बसे । ‘ओ मैचा’ युट्युबमा सार्वजनिक गरिसकेका थिए । एक दिन ब्यान्ड सदस्यले फोन गरेर भने, ‘मैचा त भाइरल गयो नि । थाहा छ ?’ गीत सार्वजनिक गरेको २ हप्तामै १ लाख भ्युज । त्यही जोसले ‘राजमती चा’ र ‘लुमन्ती’ बनाए । 

‘मलाई नेवाः संगीतलाई मोर्डनाइज गराउनु थियो । तर, आधुनिकीकरण गराउने चक्करमा एक समय नेवाः मर्म भुलें, वाद्यवादन भुलें,’ उनले भने । ‘राजमति चा’ देखि परम्परागत वाद्यवादन मिसाउन थालें । विधाकै हिसाबले राजमति एफ्रो हो तर, त्यसमा नेवारी बाजा नै मिसाइदिएका छन् । ‘लिकलिक’ मा ताहरू प्रयोग गरे । एफ्रो विधाको लुमन्तीमा धिमेको आवाज, खिं र ता मिसाइदिए । बाँसुरी पनि मिसाइदिए । ‘मेरो विधा त एफ्रो नै हो, तर त्यसमा म नेवाः बाजाहरू मिसाउँछु,’ उजनले भने ।

कुमाले पनि कोभिडबीच नै घरमा संगीत गर्न थालेका हुन् । कुमाका अहिलेका प्रत्येक गीत ‘कुमााले स्टेसन’ मा बन्छ । कुमाले स्टेसन त्यस्तो एउटा कोठा हो, जहाँ एउटै मात्र माइक छ । न अन्य ठुल्ठूला स्टुडियोमा हुने मिक्सिङ मास्टरिङका सामग्री छन्, न विश्व संगीतमा प्रयोग हुने बाजाहरू ! कुमाालेले एउटै माटोबाट माटोका फरक फरक प्रकृतिका भाँडो बनाए झैं, कुमााले स्टेसनले यहाँ एउटै माइकबाट फरक स्वादका गीतहरू पस्कन्छन् । ‘कुमााले स्टेसनले रअ गीत निकालिरहेको हुन्छ,’ ३ वर्षयता कुमा सागरको ब्यान्डमा सहभागी रोजमानले भने । 

खासमा ७/८ वर्षअघिदेखि नै कुमाले संगीत गरिरहेका थिए । एउटा गितार च्यापेर कुमा सांगीतिक कार्यक्रमहरूमा पुग्थे । सन् २०१६/१७ देखि रेकर्डिङ सुरु गरे । ‘भ्वाइस अफ नेपालमा’ (सन् २०१९) पनि गए । भ्वाइस नेपालले कुमाको आवाजलाई नेपालको भ्वाइस मान्न सकेन अनि तेस्रो चरणबाट कुमा निस्किए । तर, त्यो प्रतिस्पर्धामा उनले हरेक प्रकारको गीत गाउनेहरू देखे । त्यतिबेला उनलाई आफ्नै गायकी मन पर्थेन ।

‘चमेली फूल’, ‘म’, ‘साथ देऊ न’ लगायतका गीतहरू अर्काको स्टुडियोमा गएर रेकर्ड गराए । त्यसबीच उनलाई आफैंले गीतहरू रेकर्डिङ गर्नुपर्छ भन्ने भयो । ‘अघिल्ला गीतहरू अरूको स्टुडियोमा गएर बजाएको थिएँ । अरूमा निर्भर भएर धेरै काम गरेँ, अब आफैंले गरौँ न भन्ने भयो । अरूले गितार बजाइदिँदा भन्दा पनि आफैंले गितार बजाएर म गीत रेकर्ड गर्छु नि भनेर मैले गीतहरू रेकर्ड गर्न थालेको हुँ,’ कुमा सुनाउँछन्, ‘रेस्टुरेन्टमा गिग गर्दै संगीत निर्माणका सामग्री किन्न थालें ।’

लकडाउनकै बीचमा कुमाले पहिलो गीत ‘माले गाउँ’ रेकर्ड गरे । घरमै रेकर्ड गरेका गीतहरू ‘ओ चम्पा’, ‘ए माइ रे’ निकै चल्यो । त्यसपछि उनलाई घरमै गीत रेकर्डिङ गर्न सकिन्छ भन्ने आँट मिल्यो । ‘घरमा रेकर्ड गरेको गीतहरू चलेपछि मलाई आँट आयो । घरमै गर्न मिल्दो रहेछ भनेर । हाम्रो गीत त्यसैले रअ नै हुन्छ । मिक्सिङ मास्टरिङ हुन्न । हाम्रो गीत स्पिकरमा सुन्दा त्यसैले आवाज अर्को आइरहेको हुन्छ ।

Neva: A new voice in music

मोबाइलमा मात्र राम्रो सुनिन्छ,’ कुमाले हाँस्दै सुनाए । कुमाको कुरामा सहमत हुँदै रोजमान थप्छन्, ‘हामी ठूलो स्टुडियोमा गएर गीत ल्याउँदैनौं । हामी त त्यही एउटै माइकमा गीत रेकर्ड गर्छौं अनि रअ गीत पस्कन्छौं । हाम्रो गीतहरू त्यही कुमााले स्टेसनबाट निस्कने हो । हामी धेरै पैसा खर्च गरेर संगीत गर्दैनौँ । कानलाई शीतल बनाउने गीत गर्छौं । यो कुमा सागरको विशेषता पनि हो ।’

कुमााले स्टेसनको अभावबीच नै मौलिक धूनहरूमा गीत निकाल्न सक्नु कुमाको विशेषता रहेको रोजमान सुनाउँछन् । ‘उहाँको गीत त गर्व गर्न लायक गीत छ । अहिले धेरैले विदेशी बाजागाजालाई प्रोत्साहन गरेर गीत बनाउनुभएको छ । तर, उहाँले लोक धूनलाई विश्वसामु पुर्‍याउनुभयो । मौलिक धूनहरू उहाँले प्रयोग गर्नुभयो,’ कुमाको चर्चा गर्दै रोजमान सुनाउँछन् । 

पहिचानकै मुद्दाका कारण पनि उजन, कुमा, रोजमान, निभा डंगोलहरूको गीतलाई मूलधारमा स्विकारिन थालेको लेखक किरणको भनाइ छ । ‘वास्तवमा हामीले एकअर्काको पहिचानलाई चिन्न सकिरहेका थिएनौं । पहिचानको आन्दोलनपछि नकारात्मक मात्रै कुरा आउला भन्ने डर थियो । वास्तवमा पहिचानको कुराले यस्ता सकारात्मक पक्ष पनि बाहिर निकाल्न सक्छ भन्ने देखाइदियो । पहिचानको मुद्दा बढ्दै जाँदा न आफ्नो संस्कृतिमा फर्किउँ भन्ने जागरुक भएको हो नि । उहाँहरूले पहिचानको मुद्दा उठाउन झन्डा उठाउनु नै पर्छ छैन,’ किरणले भने । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully