आमाकी ‘प्रिय भाइ’ करिश्मा

एक दिन करिश्माले आमालाई भनिन्, ‘मामी, तिमी बिहे गर । बहिनीलाई म हेर्छु ।’ जवाफमा करिश्माले थप्पड पाइन् । त्यसपछि कहिल्यै भन्ने आँट गरिनन् । फिल्म ‘बगान’मा एकल आमाको भूमिकामा खेल्दा उनले आमा सम्झिन् ।

पुस १६, २०८१

समर्पण श्री

Mother's 'dear brother' charisma

काठमाडौँ — आमा थिइन् पारी घरमा, छोरी वारि । बीचमा चल्थ्यो, आमाछोरीबीचको मायाप्रेम । आमा रातिसम्मै छोरीको झ्यालमा चियाउँथिन् । देख्थिन्, रातभरि ननिभेको कोठा । र, सखारै फोनमा सोध्थिन्, ‘भाइ, बेलुका तिम्रो बत्ती किन ननिभेको ?’

वल्लो घरको ‘टप’मा थियो उनको कोठा । कोठामा बेला–बेलामा जमघट भइरहन्थ्यो । आमा उसैगरी नियाल्थिन् । र, भोलिपल्ट फेरि सोधिहाल्थिन्, ‘भाइ, हिजो बेल्का पार्टी थियो हो ?’ यो सोधखोज एकोहोरो मात्रै थिएन । छोरीले पनि पल्लो घरको कोठातिर आँखा लगाइरहन्थिन् । चियोचर्चो गर्थिन् । देख्थिन्, आमा राति अबेरसम्मै टेलिभिजनमा मग्न भएको । बिहान उसैगरी फोनमा भन्थिन्, ‘मामी, तिमीले किन अबेलासम्म टीभी हेरेको ?’ 

प्रेमिल यो शृंखला वर्षौंसम्म चलिरह्यो । अचानक ललितपुर, टौखेलको त्यो खाली जग्गामा भवन ठडियो । सपिङ मल बन्यो । मानिसका लागि सुविधा थपिए । तर आमाछोरीका लागि...? ‘हाम्रा लागि त त्यो एउटा पर्खाल भयो,’ उनै आमाकी ‘भाइ’ अर्थात् अभिनेत्री करिश्मा मानन्धरले भनिन् । भवनले छेकबार लगाएको आमाछोरीको दूरीलाई प्रविधिले पुनः जोडिदियो । आजकल आमा आफैं ह्वाट्सएपमा भिडियो कल गर्छिन् । र, सोध्छिन्, ‘भाइ, के गर्दै छौ ?’

धेरैले आमालाई ममतामयीभन्दा माथि कहिल्यै देखेनन् । तर अरूले नदेखेको कुरा करिश्माले सधैं आफ्नी आमामा देखिन् । ‘लामो कपाल भएकी, सुतीको धोती लगाएकी, सधैं हतारमा हिँडिरहने, एउटी बलियो महिला,’ उनी थप्छिन्, ‘आमाको चित्र आँखामा अझै पनि त्यसैगरी बसिरहेको छ ।’ हुन पनि करिश्माले छिचोलेको जीवनभन्दा निकै गह्रुँगा थिए उनका आमाका दुःख । तर कोमलकुमारीले दुःख कहिल्यै सुनाइनन् । न उनले आँसुले भिजेका आँखा नै अरूलाई देखाइन् । ‘आमा नरोएको हो कि मैले नदेखेको ?’ आमासँग लुट्पुटिएर सुत्दाताका नै करिश्मा आमालाई सोध्थिन्, ‘मामी, तिमीलाई बुबाको याद आउँदैन ?’ आमाले ‘किन नआउनु’ भन्दानभन्दै प्रतिप्रश्न गरिहाल्थिन्, ‘अनि रुन्न थ्यौ त ?’ आमा भन्थिन्, ‘रुन्थें नि, किन नरुनु ?’

क्षेत्रबहादुर केसीसँग विवाह हुँदा कोमलकुमारी १८ वर्षकी थिइन् । करिश्माकी जेठी आमा रोगी थिइन् । उनैले ५० वर्षका श्रीमान्सँग आफ्नी भदैनीको विवाह गराइदिइन् । क्षेत्रबहादुर आर्मीका मेजर थिए । बा बित्दा करिश्मा साढे २ वर्षकी थिइन् । बहिनी कोपिला २१ दिनकी मात्र । ‘बुबा मरेपछि के भयो मामी ?’ करिश्माले एक दिन आमालाई सोधिन् । ‘के हुनु, म बेहोस भएँ रे । बेहोस हुँदा दाँतमा पानी हाल्दा छुरीले घोचिदिए रे । अनि मेरो दाँत फाँट्यो,’ आमाले आफ्नो फाटेको दाँत देखाउँदै सुनाइन् । किरिया बसेको बेलामा आमाको सपनामा एक दिन बा आएछन् । भनेछन्, ‘बुल्टु ता पिर नमान । जेठी छोरीले नाम कमाउँछ । कान्छी छोरीको नि राम्रो हुन्छ ।’ 

Mother's 'dear brother' charisma

आमा कहिलेकाहीं करिश्मालाई भन्छिन्, ‘भाइ, उनले भनेको पूरा भयो नि ।’

श्रीमान् बितेपछि कोमलकुमारीका दुःख झन् थपिए । संघर्षका शृंखला सुरु भए । अधिकारका लागि उनले अर्को लडाइँ लड्नुपर्‍यो । अड्डा, अदालत धाउनुपर्‍यो । त्यो लडाइँ पछिसम्मै चल्यो । ललितपुरको घर छाडेर आमा काठमाडौं गौशालातिर डेरामा बस्न थालिन् । बिहिनीलाई हजुरआमाले मामाघर लगेकी थिइन् । यता आमासँग करिश्मा रहिन् । ४ वर्षकी करिश्मालाई पशुपति स्कुल जान ठूलै युद्ध लड्नुपरेजस्तो हुन्थ्यो । कोमलकुमारी होटलमा काम गर्थिन्, छोरीलाई स्कुलसम्म छाड्ने फुर्सतसमेत थिएन । बरु ‘भित्ता समाउँदै जाऊ, बाँदर आयो भने भाग । सडकतिर नजाऊ’ भन्दै सम्झाउँथिन् । करिश्मा भित्ता समाउँदा समाउँदै भित्तामै भुलिदिन्थिन् । स्कुलसम्म पुग्नै पाउँथिनन् ।

चाहेर पनि कोमलकुमारीले दुवै छोरी आफूसँगै राख्न सकिनन् । करिश्मा पनि सिन्धुपाल्चोक तीनघरेस्थित मामाघर लगिइन्, हजुरआमाले हुर्काइन् । दिदीबहिनी हजुरआमासँगै सुत्थे । हजुरआमा बिहान ४ बजे ताराहरू हेर्दै उठ्थिन् । हजुरआमा लामो निद्रामा गएको पनि निकै वर्ष बितिसक्यो । अहिले करिश्मा ४ बजे उठेर छतमा जान्छिन् र ताराहरू हेर्छिन् । अनि हजुरआमाको स्मृतिलाई ताजा गर्छिन् । कोमलकुमारी बेलाबेलामा माइत आउँथिन् । स्कुलबाट घर आउनासाथ कसैले भनिदिन्थ्यो, ‘ममी आउँदै छिन् ।’ दिदीबहिनी झोला फ्याँकेर हतारहतार पिप्लेतिर लाग्थे । पिप्लेतल पानीघाट र त्यसपछि देउराली आउँथ्यो । रात नपरुन्जेल आमालाई पर्खेर बस्थे । साँझ ढल्दासम्म पनि आमा आउँदिनथिइन् । 

कसैले भनिदिन्थे, ‘हेर यी काजीका भुराहरू कति हेरेर बसेका । अब आउँदैन तिमीहरूका ममी ।’ फर्किंदा दिदीबहिनीको आँखाभरि आँसु टिलपिल हुन्थ्यो । तर, आमा आउने आस यति छिट्टै मर्दैन थियो । अर्को दिन आमा आउने खबर सुन्नासाथ उनीहरू उसैगरी दौडेर पुग्थे । गाडीबाट सेतो पहिरनमा ओर्लिएको आमाको छाया माथिबाट धूमिल देखिन्थ्यो । बहिनी करिश्मालाई सोध्थिन्, ‘बुनु, यो ममी हो ?’ त्यो धमिलो छाया नजिक नआइन्जेल उनीहरू ठम्याउन सक्दैनथिए । जति–जति उकालो लाग्यो सानो आकार ठूलो हुँदै जान्थ्यो । पानीघाटसम्म आइपुग्दा उनीहरूले बल्ल ठम्याउँथे, ‘यो त ममी हो ।’ त्यसपछि दौड्दै ममीको समीप जान्थे र अँगालो मार्थे । म्वाइँ खान्थे । कोमलकुमारीले मनभरि माया र झोलाभरि कोसेली ल्याएकी हुन्थिन् ।

उनीहरूलाई आमा वासना आउँथिन् । आमा आएको दिन गाउँका साथीमाझ दिदीबहिनीको फूर्ति बढ्थ्यो । नयाँनयाँ फ्रक र बबी पाइन्ट देखाउँदै साथीहरूलाई धाक लगाउँथे । आमा जाने दिन आँसुको भेल बग्थ्यो । ‘मामीसँगै जान खोज्थ्यौं, हामीलाई बाँधिदिन्थे । हामी हातमा टोकिदिन्थ्यौं,’ करिश्मा सम्झन्छिन् । बिस्तारै थाहा हुँदै गयो– आमा आएपछि फर्किन्छिन् भनेर । पछि त दुवैलाई बानी पर्न थाल्यो ।

करिश्मा ९ वर्षकी हुँदा हजुरबा, हजुरआमासहित उनीहरू काठमाडौं आए । अनि आमासँगै बस्न थाले । सहरमा खुम्चिनुपर्दा हजुरबा यता खुसी हुनै सकेनन् । काठमाडौं आएको केही वर्षमै बिते । 

कोमलकुमारीकी आमा विधवा छोरीलाई हेरेर रुँदै भन्थिन्, ‘मेरी छोरी कलिलै उमेरमा विधवा भई ।’ करिश्मालाई आफ्नी आमा संसारकै सबैभन्दा राम्री लाग्थिन् । सोच्थिन्, ‘मामीले अर्को बिहे गरिदिए पनि हुने ।’ एक दिन भनिन् पनि, ‘मामी, तिमी बिहे गर । बहिनीलाई म हेर्छु ।’ जवाफमा करिश्माले थप्पड पाइन् । त्यसपछि कहिल्यै भन्ने आँट गरिनन् । फिल्म ‘बगान’मा करिश्माले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । उक्त चरित्रमा अभिनय गर्दाको क्षण उनले आफ्नी आमा सम्झिन् । आमाकै सिको गरिन् । ‘त्यही भएर त्यो फिल्ममा म मामीजस्तै देखिएकी छु,’ उनी सुनाउँछिन् ।

Mother's 'dear brother' charisma

१२ वर्षकी हुँदा करिश्मा आमाको दुःख बुझ्ने भइकसेकी थिइन् । आमाले किराना पसल थापेकी थिइन् । उनी आमालाई सघाउँथिन् । त्यतिबेला लाग्थ्यो, ‘अब मैले पैसा कमाउनुपर्छ ।’ 

उनीहरू बत्तीसपुतली बस्थे । त्यहाँका महिलाहरू गार्मेन्टमा काम गर्न जान्थे । स्कुलको मिनपचास बिदामा उनी पनि गार्मेन्टमा काम गर्न गइन् । दुई महिना काम गरेर ६ सय रुपैयाँ कमाइन् । त्यो पैसा व्यवहार धान्न आमालाई दिइन् । तिनताकै उनको भेट वरिपरि बस्ने अञ्जली सुब्बा र प्रकाश अधिकारीसँग हुन्थ्यो । प्रकाश फिल्ममा हिरो बन्न संघर्ष गरिरहेका थिए । त्यतिबेलासम्म सहरको स्वभाव गाउँकै जस्तो थियो । एकअर्काको घरमा बसेर उनीहरू चियागफ गर्थे । अञ्जलीकहाँ प्रकाश आइरहन्थे । करिश्मा गइरहन्थिन् । उनले जिस्काउँथिन्, ‘प्रकाश दाइ, हजुर त हिरो बन्ने रे हैन ?’ प्रकाश र अञ्जलीले पनि ठट्टामै भने, ‘यो बुनुलाई पनि हिरोइन बनाउनुपर्छ ।’ 

नभन्दै तिनै न्यानो सम्बन्धका कारण करिश्माले पहिलो फिल्म ‘सन्तान’मा डेब्यु गरिन् । त्यसपछि अभिनय सिक्न भारतको बम्बई गइन् । त्यहाँ फिल्म ‘दंगा फसाद’मा काम गरिन् । बम्बईबाट फर्केपछि त फिल्मका अफरैअफर । उनले एकैपटक ६ वटा फिल्म साइन गरिन् । भर्खरै नेपाल टेलिभिजन सुरु भएको थियो । विज्ञापनमा खेलिन् । अचानक अनपेक्षित पैसा कमाउन थालिन् । त्यसपछि उनले आत्मविश्वासका साथ आमालाई भनिन्, ‘मामी, अब तिमी काम गर्न छाडिदेऊ ।’

आमा करिश्माको फिल्म यात्रासँग खुसी थिइन् । तर सन् २००० पछि करिश्मा अमेरिका पलायन भइन् । कोमलकुमारी त्यो कुरामा उति खुसी थिइनन् । ‘म ३२ वर्षकी थिएँ । त्यतिबेला मैले जीवनमा दुःख, ठक्कर अझै खानुपर्छ भन्ने लागेर अमेरिका गएँ । पछि १० महिनाका लागि मामीलाई बोलाएँ,’ उनी स्मृतिका सिलसिला जोड्छिन्, ‘तर उहाँ मेरो कामदेखि खुसी हुनुहुन्थेन ।’ 

कोमलकुमारी छोरीलाई भन्थिन्, ‘भाइ, यहाँ किन यस्तो काम गर्नुपर्‍यो तिम्ले ? तिमीलाई नपुग्दो के छ ?’ करिश्मा आमा खुसी भएको हेर्न चाहन्थिन् । उनी समुद्र वरिपरि घुमाउन लैजान्थिन् । कोमलकुमारी समुद्रलाई वाग्मतीसँग तुलना गरिदिन्थिन् । अन्ततः छोरीका लागि अमेरिका खुसी नभएको ठम्याउँदै आमा फर्किइन् । पछि त करिश्मा पनि नेपाल फर्किइन् । यता हालेको करिअरको जगमै टेकेर काममा रमाउन थालिन् ।

करिश्माले छोरी कविता जन्मिएपछि आमाका कहिल्यै नबुझेका दुःख बुझिन् । कहिल्यै महसुस नगरिएका अनुभूति बुझिन् । बाध्यताहरू बुझिन् । बालखा छोरीलाई घरमा छाडेर सुटिङमा जाँदा मुटु नै चुँडालेको भान हुन्थ्यो । त्यतिबेला अनुभूति गर्थिन्, ‘हामीलाई मामाघर छाड्दा ममीमा के बितेको थियो होला ?’ अहिले आफू खुसी हुन उनी आमा र छोरीको आँखामा हेर्छिन् । ‘जब उनीहरूको आँखामा खुसी देख्छु । त्योभन्दा ठूलो आनन्द केही लाग्दैन,’ उनी व्यक्त गर्छिन् ।

Mother's 'dear brother' charisma

पढ्दै गरेकी बुनुलाई पैसा कमाएर आमालाई सघाउनु थियो । उनले पैसा कमाउनकै लागि फिल्म रोजिन् । कक्षा ८ पढिरहेकी बुनुलाई त्यहीं छोडेर हिँडिन् । कहाँ–कहाँ पुगिन् । कति ठक्करहरू खाइन् । थुप्रै फिल्महरू खेलिन् । अनवरत दौडिरहिन् । दौडँदा–दौडँदै एक दिन सम्झिन पुगिन् उही सानी बुनु । जसलाई उनी सपनामा देख्थिन् । पोसाक लगाएर हिँडिरहेकी बुनु । जो नछुटाइकन स्कुल जान्थिन् । मिहिनेतका साथ पढ्थिन् । छोरी हुर्काएर पनि ठूलो बनाइसकेपछि एक दिन निर्णय गरिन्, ‘सानी बुनुको छुटेको पढाइलाई निरन्तरता दिने ।’ कक्षा ८ को परीक्षा हलमा जाँदा उनले बेन्चमा उही बुनुलाई पाइन् । 

अहिले करिश्मा स्नातक दोस्रो वर्षमा पढिरहेकी छन् । उनको यो पढाइसँग पनि आमा कोमलकुमारी खुसी छिन् । तर आमा छोरीले रोजेको राजनीतिक यात्रासँग भने सन्तुष्ट छैनन् । जहिल्यै आमा भन्छिन्, ‘तिमी सोझी छौ । छलकपट गर्न जान्दैनौ । यहाँ त कूटनीति हुन्छ । यो तिम्रा लागि हैन ।’ करिश्मा सहमत हुन्नन् । आमासँगको भेटमा गेटबाटै भन्नुपर्छ, ‘मामी, आज राजनीतिको कुरा नगरौं है ।’ आजकल त लाग्छ, ‘आमाले भनेको सही थियो ।’

कोमलकुमारी उमेरले ७० कटिसकिन् । अहिले उनलाई सुगर छ । करिश्मालाई कसैको चिन्ता छ भने बढी आमाकै छ । जो बेलाबेलामा बिसन्चो भइराख्छिन् । आमालाई बिसन्चो हुँदा करिश्माको मन बिसन्चो हुन्छ । नजिकै रहेकी आमालाई भेट्न करिश्मा दिन बिराएर पुग्छिन् । भन्छिन्, ‘मामी, एक्लै नबस ।’ आमा मान्दिनन् । जस्तै बिमार हुँदा पनि उनलाई आफैंले पकाएर खानुपर्छ । बरु आमाको सन्तान स्नेहबाट करिश्मा द्रविभूत हुन्छिन् । ‘म मरेपछि किरिया गर्ने पैसा यहाँ छ भन्दै देखाउनुहुन्छ । हेर्नु त, त्यो लेभलसम्म सोच्नुहुन्छ,’ करिश्मा भावुक हुँदै भन्छिन्, ‘आमाको माया त धेरै नै गहिरो हुँदो रहेछ ।’

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully