झन्डै ६० करोडको लगानीमा बागलुङको बलेवामा सञ्चालित ‘द क्लिफ’ मा बन्जी, स्विङ, फेमिली पिङ, प्रे ह्यान्ड, स्काई साइकल, स्काई क्याफे, स्काई चियरका सुविधा छन्, १ सय ११ जनाले रोजगारी पाएको यहाँको सेवा लिन गत वर्ष ४० हजार पर्यटक पुगे ।
बागलुङ — सन् २०१६ मा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थियो । अन्तर्राष्ट्रिय विमान पोखरा आउँदा पर्यटकहरू बिस्तारै आसपासका जिल्ला पुग्छन् भन्ने मान्यताले छिमेकी जिल्लामा होटलमा लगानी सुरु भएको थियो ।
त्यति नै बेला बागलुङ नगरपालिका–१४ बलेवामा नेपालकै अग्लो र लामो झोलुंगे पुल बन्यो । पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने ‘कैया पुल’ उद्घाटन गर्न आउँदा तत्कालीन स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले बन्जीका लागि उक्त पुल सदुपयोग गर्न स्थानीयलाई आग्रह गरे । सरकारले अनुमति दिनेसमेत उनले घोषणा गरे ।
स्थानीय व्यवसायीले कालीगण्डकीको खोचलाई पर्यटन प्रवर्द्धनमा जोड्ने योजना बुनिरहेका थिए । मन्त्री सिंहको वचनले उनीहरू उत्साही भए । ‘इनटु द वेल’ नामक संस्थामार्फत झोलुंगे पुलमा सरकार, निजी क्षेत्र साझेदारी कार्यक्रमको प्रस्ताव तयार भयो । तर तत्कालीन पर्वत जिल्ला विकास समितिले अनुमति दिएन ।
व्यवसायीको समूहले विज्ञको खोजी गर्दा बलेवाकै नेपानेको भीरमा डोरी टाँगेर साइकल चलाइरहेका युवा भेटिए । सिन्धुपाल्चोक भोटेकोशी घर भएका राजु कार्की यहाँ बन्जीको खोजीमा थिए । त्यतिबेलै डोरी टाँगेर भीरमा साइकल चलाएर उनले स्थानीयलाई चकित पार्थे ।
साहसिक खेलको अभ्यास गरिरहेका कार्की र स्थानीय व्यवसायी भेटिएपछि जन्मियो ‘द क्लिफ’ । बलेवास्थित नेपानेको डिलमा अहिले ‘द क्लिफ’ मार्फत नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको बन्जी बनेको छ । पहाडको ढिस्को अर्थात् ‘द क्लिफ’ ले संसारका किशोरकिशोरीदेखि तन्नेरीको ध्यान तानेको छ ।
भोटेकोशीमा ८ वर्ष काम गरेको अनुभव, फ्रान्समा बसेर ३ वर्षसम्म कमाएको पैसा र स्थानीय व्यवसायीको साथबाट यो बन्जी सम्भव भएको कार्की बताउँछन् । नेपालमै साहसिक खेलमार्फत पर्यटक भित्र्याउने सोच उनले फ्रान्स पुगेर बुझेको बताए । ‘आइफल टावरमा लाखौं पर्यटक घुमेको देखेपछि पहाडको ढिस्को नै त्यसको विकल्प देखें,’ कार्कीले भने, ‘कालीगण्डकी नदी किनार साहसिक पर्यटनको स्वर्ग हो ।’ उनले यहाँ दर्जनौं अन्य खेल सञ्चालन गर्न सकिने बताए ।
कार्कीको पहिलो सोच नै साहसिक खेलको पहिलो रोजाइ बनेको हो । २०७३ बाट काम सुरु गरेर २०७६ मा यहाँ बन्जी परीक्षण भयो । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा सञ्चालन गर्ने लक्ष्य पछ्याएर यो बनाइएको थियो । तर कोरोना संक्रमणले लामो समय बन्द रह्यो ।
२०७८ को हिउँदबाट मात्रै यसले व्यावसायिक स्वरूप लिएको हो । कालीगण्डकी नदीको सतहदेखि २ सय २८ मिटर अग्लो बन्जी संसारभरको दोस्रो अग्लो हो । यहाँ आइपुग्नेले बन्जीसँगै दर्जन बढी साहसिक खेलको मज्जा लिन सक्छन् । बालबालिकादेखि प्रौढसम्मले यहाँको खेल खेल्न पाएका छन् ।
कार्कीका अनुसार गत आर्थिक वर्ष ४० हजारले यहाँ टिकट काटेरै विभिन्न खेल खेलेको तथ्यांक छ । अहिले त यहाँ ६० करोड बढी लगानी भइसक्यो । यति ठूलो लगानीमा बन्जीलगायतका पूर्वाधार बनाउने सोचलाई धेरैले पत्याएनन् । कार्कीले यो कामको अगुवाइ गरे ।
पहाडको ढिस्को किनेर नेपालकै अग्लो र संसारकै दोस्रो अग्लो बन्जी मात्र बनाएनन्, बागलुङ नगरपालिका–१४ नारायणस्थान र पर्वतको कुस्मा बजारलाई नै गुल्जार बनाइदिएका छन् । जंगली जनावरको डरले कोही जान नमान्ने भीर अहिले महँगोमा घडेरी बिक्री हुने स्थान बनेको छ । त्यतिमात्र हैन, भीरमै खोपेर पनि आकर्षक घर र होटल तथा रेस्टुरेन्टहरू बनेका छन् ।
पोखराको लेकसाइड जस्तै रातको समय पनि यहाँ झिलीमिली हुन्छ । दर्जनौं होटल तथा रेस्टुरेन्ट खुलेका छन् । दैनिक सयौं मानिस घुम्न आइपुग्छन् । कार्की र उनकी फ्रान्सेली पत्नी फ्लोरेन्सले सुरुवाती लगानी गरेको ‘द क्लिफ’ अहिले साझेदारीमा सञ्चालन भइसकेको छ ।
अध्यक्ष राजु कार्की छन् भने सञ्चालकमा स्थानीय युवराज जोशी, नेत्र पराजुली, नवराज शर्मा, राजन जोशी र प्रकाश प्रधान छन् । ५० जनाले यहाँ सानोसानो लगानी जोडेका छन् । १ सय ११ जना रोजगार छन् । ‘अहिले त संसारभर साहसिक यात्रा र साहसिक कार्य गर्ने पर्यटकको रुचि बढ्दो छ,’ कार्कीले भने, ‘त्यही रुचिलाई हामीले बन्जीमा जोडेका हौं ।’
पछिल्लो तीन वर्षदेखि यहाँबाट वार्षिक १५ करोड कमाइ भइरहेको उनले बताए । बागलुङको बलेवादेखि पर्वतको कुस्मा जोड्ने बन्जीजम्प मात्रै बनाउने उनीहरूको सपना अहिले एक दर्जन साहसिक खेलमा परिणत भएको छ । पानीको सतहदेखि २ सय २८ मिटर अग्लो र ५ सय २० मिटर लम्बाइको बन्जी पुल लट्ठामा झुन्डिएको छ । बीचमा सानो घर छ ।
उक्त घरबाट बन्जी र स्विङ गरिन्छ । अप्ठ्यारो पर्दा स्थानीयलाई आउजाउ गर्न पनि यो पुल खुला गरिन्छ । गत वर्षात्मा कालीगण्डकी करिडोर अवरुद्ध हुँदा तीन महिनासम्म दक्षिण बागलुङका बासिन्दालाई यो पुलमा निःशुल्क यात्रा गर्न दिइएको थियो । कुस्मादेखि यो पुल तरेपछि बलेवा पुगिन्छ । बलेवाबाट कुस्मातर्फ जाने झन्डै १ हजार २ सय मिटर लामो ‘मेगा ट्रेल’ बन्दै छ । ‘यो जिपलाइन जस्तै हो तर फरक स्वादको साहसिक खेल हुनेछ,’ द क्लिफका प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीले भने, ‘यहाँ छिरेपछि एक दर्जन खेल खेल्न पाइन्छ ।’
मुख्य पुलमा बन्जी र स्विङको मज्जा लिनेहरू आउँछन् । बन्जीमा अभ्यस्त हुनका लागि अन्य साहसिक खेलहरू बलेवातर्फ सञ्चालनमा छन् । लगानी भएर पनि उत्कृष्ट सोचबिना यो बन्जी सम्भव थिएन भन्छन्, अर्का सञ्चालक नेत्र पराजुली । ‘कार्कीको आठवर्षे भोटेकोशीको अनुभवले यो व्यवसाय जन्मेको हो,’ पराजुलीले भने, ‘उहाँले होस्टे गर्दा हामीले हैंसे गरेका छौं ।’ स्थानीय जनताको साथ जुटाउन अन्य सञ्चालकले भूमिका खेलेका छन् ।
स्थानीय सरकारले पनि यहाँ साथ दिएका छन् । बागलुङ नगरपालिकाले सडक सञ्जालले जोडेको छ । बलेवामा सीटीईभीटीको कृषि प्राविधिक शिक्षालय सञ्चालनमा आएपछि अन्य पूर्वाधारले पनि बन्जी जोडिएको हो भने कुस्मा नगरपालिकाले पुलतर्फको सडक कालोपत्र गरिदिएको छ ।
बन्जी बनेपछि यहाँ दर्जनौं व्यवसायले आर्थिक क्रियाकलाप बढाएका छन् । ती व्यवसायमा झन्डै १ हजारजनाभन्दा धेरै रोजगार भइसकेका छन् । गत आर्थिक वर्ष गण्डकी प्रदेशमै उत्कृष्ट करदाताका रूपमा पनि ‘द क्लिफ’ पुरस्कृत भइसकेको छ भने स्थानीय सरकारले पनि विभिन्न शीर्षकमा कर संकलन बढाएको छ ।
दुई जिल्ला जोड्ने यो बन्जी पुलबाहेक ‘द क्लिफ’ले बलेवातर्फ ७० रोपनी जमिनमा रिसोर्ट बनाएको छ । जहाँ एक सय जनालाई रात बस्न सक्ने र डेढ सय मानिसलाई दैनिक खाजा खुवाउने होटल तथा रेस्टुरेष्ट र आकर्षक बगैंचा पनि बनाएको छ ।
नेपानेस्थित खरबारी र कोदो रोप्ने जमिन अहिले त हेलिकोप्टरमार्फत पर्यटक आउने गन्तव्य बनिसक्यो । दैनिक एक सयदेखि डेढ सय जनाले यहाँ बन्जी खेल्छन् । स्विङमा एकैपटक दुई जना अट्ने भएकाले दोब्बर संख्याले खेल्न भ्याउँछन् । साइक्लिङमा एक सय जना, स्काई क्याफेमा झन्डै १ सय ५० जनासम्मले मनोरञ्जन लिन सक्छन् ।
पिङ त दैनिक ५ सय जनासम्मले पनि खेल्न सक्छन् । यहाँको फेमिली पिङ, प्रे ह्यान्ड, स्काई साइकल, स्काई क्याफे, स्काई चियर त पारिवारिक भ्रमणको आकर्षण बनेका छन् ।
यहाँका खेलमा छुट्टै विशेषता पनि छ । बन्जी गरेपछि मेसिनबाटै फर्कन सकिन्छ । स्विङतर्फ दुई थरी छन् । ‘फ्रि फल’ र ‘रिबाउन्स’ प्रकारका स्विङ छन् । एकल र जोडीले गर्ने स्विङले युवाहरू बढी आकर्षित छन् । गुलेली पिङमा बूढाबूढीले पनि साहसिक अनुभव गर्न सक्छन् ।
६ सय मिटर लामो स्काई साइकलयात्रा समेत यहाँ सञ्चालित छ । स्काई चियर, स्काई रेस्टुरेन्ट, पिङ तथा रक क्लाइमिङले सबैको ध्यान खिचेको छ । यहाँ घुम्नकै लागि पनि टिकट काटेर आउनेहरू बढेका छन् भने देशका उच्च पदस्थदेखि खेलाडी र राजनीतिक नेतासमेत आइपुगेका छन् । गायक प्रकाश सपुतले त यहाँ आफ्नो प्रस्तुतिको तयारीसमेत गरेका छन् ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा स्काई रेस्टुरेन्टमा सहभागी भए । कांग्रेस महामन्त्री गगनकुमार थापा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलगायतका नेता यहाँ आइपुगेका छन् । पूर्वसचिव दिनेश थपलियासहितका विशिष्ट कर्मचारी त बिदा मनाउन आइरहन्छन् ।
बलेवास्थित हवाई मैदान र कालीगण्डकी करिडोरको छेवैमा रहेकाले बन्जी आउन अझै सहज बनेको बागलुङ–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । द क्लिफ आइपुग्दा एक जना पर्यटकले कम्तीमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म खर्चने गरेका छन् । होटलमा बस्ने खाने र अन्य स्थानको घुमाइबाट बलेवा र पर्वतको कुस्मामा धेरै आर्थिक क्रियाकलापसमेत बढेको छ ।
बलेवाका किसानले लगाएको तरकारीले स्थानीय रूपमा बजार पाउन थालेको छ । कालीगण्डकी नदीमाथि बनिरहेका यी संरचनाले बर्सेनि कम्तीमा ३० हजार बढी साहसिक खेल खेल्ने पर्यटक थपिने र घुम्ने पर्यटक थप १ लाख आउने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्मा बताउँछन् ।
‘पर्यटनका लागि यो स्थान महत्त्वपूर्ण बनेको छ,’ शर्माले भने, ‘आसपासमा थप लगानी भित्र्याउन खोज्नेलाई हामी वातावरण बनाउँछौं ।’ स्थानीय व्यवसायीहरूले यसअघि नेपालकै नमुना यन्त्रिक पुल बनाएर पनि कालीगण्डकी नदीमाथि सञ्चालन गरिरहेका छन् । दुई जिल्ला जोड्ने गरी नेपालकै अग्ला झोलुंगे पुल पनि यहाँ बनेका छन् ।
मुक्तिनाथ पुगेका पर्यटकको त फर्केर बस्ने वा घुम्ने गन्तव्य नै बन्जी बनेको छ । पोखरा र अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने विदेशी पर्यटकलाई पनि एक/दुई दिन यहाँ भित्र्याउने लक्ष्य बनाएको सञ्चालक पराजुली बताउँछन् ।
‘साहसिक खेल र यहाँका अन्य संरचनामा ल्याएर कम्तीमा एक दिन र बढीमा ३ दिनसम्म घुमाउन सकेमा यहाँको अर्थतन्त्रमा पनि सुधार हुनेछ,’ पराजुलीले भने, ‘त्यसको फाइदा किसानदेखि स्थानीय व्यवसायीमा पर्ने हो ।’ यसअघि पर्यटकहरू पोखरा, चितवन, लुम्बिनीलगायतका स्थानमा मात्रै पुग्छन् भन्ने मान्यता द क्लिफले फेरिदिएको उनको दाबी छ ।
यहाँ साहसिक खेलबाहेक डिलक्स र स्ट्यान्डर कोठामा पाहुनाले चाहेअनुसारको बस्नेखाने व्यवस्था सुरु भएको छ । हिमाल चढ्ने जस्तै बन्जी, स्विङ र हिल साइक्लिङ साहसिक खेलमा लगानी गर्न आजकल धेरै युवाहरू तयार भएको अर्का सञ्चालक युवराज जोशी बताउँछन् । बागलुङ नगरपालिका १४ नारायणस्थानमा द क्लिफकै लगानीमा आकाशे पानी संकलन, प्रशोधन र एक पटक प्रयोग भएको पानी पुनः प्रयोगका लागि प्लान्टसमेत निर्माण गर्दै छन् ।
बायोग्यास, माटो संरक्षण तथा वातावरण मैत्री परियोजनासमेत सञ्चालन गर्ने उनीहरूको योजना छ । रेस्टुरेन्ट तथा होटलमा स्थानीय किसानकै तरकारी, दूध र अन्य वस्तु खरिद भएको छ । ‘अब नारायणस्थान, पैंयुँपाटालगायतका किसानले प्रशस्त तरकारी फलाउने, दूध उत्पादन गर्ने र खसीबोका उत्पादन गरे पनि सहजै खपतको व्यवस्थापन हुनेछ,’ पराजुलीले भने, ‘यो पनि आर्थिक विकासको बाटो हो ।’
पछिल्लो समय बन्जीको प्रचार टिकटकबाट बढी नै भएको देखिन्छ । गायिका शान्तारानी परियारले गरेको बन्जी टिकटकको भाइरल बन्यो । गायकदेखि बैंकर्सहरू त नियमितजसो यहाँ आउने गरेको कार्की बताउँछन् । दसैंतिहारको बिदा मनाउन आउनेले त यहाँका होटल भरिभराउ थिए । रातमा बत्ती बालेर पनि खेल्नेहरू ओइरिन्थे । यहाँ आउनेले बागलुङ कालिका र पञ्चकोट घुम्न जाँदा थप एक दिन बिताउँछन् । अनलाइन टिकटले बन्जीको महत्त्व झन् बढाएको छ ।
फुर्सदमा घुम्ने सूचीमा पोखरा, लुम्बिनी, जोमसोम, सौराहा मात्र बनाउनेले बन्जीलाई जोडेका छन् । पोखराबाट सिधै जोमसोम जानेले पनि फर्कंदा बागलुङ र पर्वतको नाम लिएरै यहाँ घुम्ने गरी योजना बनाउन थालेका छन् । हिउँदका दिनमा होटल भरिएर पोखरा बास बसेर पनि पर्यटकहरू यहाँ आइपुग्छन् । यो व्यवसायले बलेवाको डिलमा जग्गाको मूल्य अकासिएको छ ।
‘पहिला बाँदर धपाउनुपर्थ्यो, बन्जी आएपछि विदेश हिँडेका युवा पनि यही केही गर्छु भनेर लागेका छन्,’ बागलुङ नगरपालिका–१४ की मधुदेवी बस्नेतले भनिन्, ‘पहिला बिक्री नभएको जमिनको मूल्य प्रतिआना चार लाख रुपैयाँमा बेचिइरहेको छ ।’
