कर्माचार्य ग्रुपको बिस्कुटदेखि तेलसम्मका ‘कोसेली’

किराना पसलबाट सिन्के चाउचाउ हुँदै खाने तेलदेखि बिस्कुट उद्योगसम्म फैलिँदै पोखराको कर्माचार्य ग्रुप

कार्तिक ११, २०८१

दीपक परियार

Karmacharya Group's 'Koseli' from Biscuits to Oils

पोखरा — मट्टीतेल होस् वा तोरीको तेल, त्यतिबेला टिनको डब्बामा आउँथ्यो । पोखराको कर्माचार्य ग्रुपले २०४२ सालमा गण्डकी आयल मिल स्थापना गरेर जर्किनमा तेल बेच्न थाल्यो । खुला रूपमा बिक्री गरिने तोरीको तेललाई जर्किनमा प्याकेजिङ गरेर ‘ब्रान्ड’ को नाम दिइयो, कोसेली ।

भारतमा प्याकेटमा तेल बेच्न थालिएको थाहा पाएपछि यस समूहले हैदरावादबाट मेसिन ल्याएर पोखरामा त्यसै गर्‍यो । टिनको डब्बालाई बदलेर प्याकेटमा तोरीको तेल बिक्री गर्ने कामको सुरुआत भयो ।

कर्माचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य तेल उद्योग स्थापना गर्दाको दुःख अझै सम्झन्छन् । टिनको डब्बामा वीरगन्ज र भैरहवाका व्यापारीले तोरीको तेल पठाउँथे । खोकनाको तेल केही मात्रामा पोखरामा आउँथ्यो । तेल लिनलाई घरबाटै भाडा लिएर पसलमा जानुपर्थ्यो । त्यसरी तेल खरिद गर्नु झन्झटिलो र अस्वस्थकर दुवै हुने कर्माचार्यले देखे । उनले आफ्ना दुई भाइ गोविन्द र हरिसँग सरसल्लाह गरे । पोखरामा आफ्नै उद्योग खोलेर तेल उत्पादन गर्ने निर्णयमा पुगे । 

उद्योग स्थापना गर्न उनले सोचेजस्तो सजिलो भएन । तेल मिल पहाडमा चल्दैन भनेर हतोत्साही बनाइयो । पोखरासम्म तोरी ल्याउनै सहज भएन । उनले जसोतसो नारायणगढबाट तोरी ल्याएर उद्योग सुरु गरे । तेल नपुगेपछि नेपालगन्जबाट ल्याउनुपर्ने भयो । नेपालगन्जका तोरी व्यापारी छोटेलाललाई ट्रंकलबाट सम्पर्क गरे । ती व्यापारीले पोखरामा तोरी पठाउन नसक्ने जवाफ दिए । ‘त्यहीं आएर पैसा दिने हो भने दिन्छु भनेपछि नेपालगन्ज नै पुग्यौं,’ उनले सम्झिए, ‘२–३ पल्ट त्यसरी गएर ल्याएपछि बल्ल त्यतैबाट पठाउन थाले ।’

Karmacharya Group's 'Koseli' from Biscuits to Oilsभारतको तोरी सस्तो हुन्छ भनेर उनी जयपुर पनि पुगे । जयपुरका व्यापारीले पनि वीरगन्जका व्यापारीबाहेकलाई तोरी दिन मानेनन् । उनले दुई जना व्यापारीलाई आफ्नै खर्चमा पोखरा ल्याएर घुमाए । ‘पहाडी मूलका मान्छेले उद्योग गर्छ भनेर विश्वास नै मानेनन्,’ उनले भने, ‘यहीं आएर देखेर फर्किएपछि बल्ल उताबाट तोरी पठाउन थाले ।’ देशभरमै सुरुमा जर्किन र त्यसपछि प्याकेटमा तोरीको तेल बेच्ने ‘ब्रान्ड’ सम्भवतः कोसेली नै पहिलो भएको उनी बताउँछन् । 

सुरुआतमा पोखरामा लोकप्रिय भएको कोसेली तेल त्यसपछि गण्डकी, धौलागिरि, लुम्बिनी क्षेत्रमा पुग्न थाल्यो । काठमाडौं र नारायणगढमा पनि आफ्नो बजार विस्तार गर्‍यो । उक्त ‘ब्रान्ड’बाटै अहिले सूर्यमुखी र भटमासको तेलसमेत उत्पादन भइरहेको छ । गण्डकी प्रदेशमा मात्रै कोसेली तोरीको तेलको बजार हिस्सा २५ प्रतिशत रहेको कर्माचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले बताए । 

यो समूहको व्यापारिक इतिहास भने काठमाडौं उपत्यकाबाट सुरु हुन्छ । भक्तपुरका जगतकृष्ण कर्माचार्य किराना पसलका सामानको घुम्ती व्यापार गर्थे । ठिमीमा रातो माटोको भट्टीमा बिस्कुट पोल्न थाले । किराना पसलका सामान बेच्दै उनी २०१३ सालमा आफ्ना अन्य तीन साथीसहित हिँडेरै पोखरा आइपुगे । व्यापार राम्रो भएपछि दुई–तीनपल्ट ओहोरदोहोर गरे । २०१३ को अन्तिमतिर पोखरामै बसेर किराना पसले सुरु गरे । २०१५ सालमा उनकी श्रीमती सानुमाया, माइलो छोरा गोविन्द र कान्छो छोरा हरि कर्माचार्य पनि पोखरा आए । जेठो छोरा चन्द्रकृष्ण भने २०२५ मा एसएलसी सकेर पोखरा आएका थिए । 

Karmacharya Group's 'Koseli' from Biscuits to Oilsरानीपौवाको किराना पसल महेन्द्रपुलमा सारे । त्यतिञ्जेल तीनवटै छोरा व्यापारमा छिरिसकेका थिए । २०३६ सालमा पोखराकै नयाँबजारमा आफ्नै घरमा काठमाडौंबाट चिनियाँ मेसिन ल्याएर सिन्के चाउचाउको उद्योग खोले । डाँफे र फेवा नाममा सिन्के चाउचाउले बजार लियो । २०४२ मा तेल उद्योग खोले । कर्माचार्य ग्रुपको व्यवसाय फैलिँदै गयो । गण्डकी प्लास्टिक प्रोडक्ट्स प्रालिले प्लास्टिक झोलाको उत्पादन थाल्यो ।

३० वर्षअघि यही समूहले नवपरासीको गैंडाकोटमा एभरेस्ट रबर उद्योग खोलेर दुई पांग्रेको टायर र ट्युब उत्पादन थाल्यो । तर भारतबाट कालोबजारीका सस्तो सामान आउँदा उद्योगले गति लिन सकेन । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीलाई उद्योगमै लगेर वस्तुस्थितिबारे बुझाए पनि समस्याको समाधान भएन । उद्योग घाटामा गएपछि ५ वर्षमै बन्द हुन पुग्यो । 

समूहले भैरहवाको गोर्खा बिस्कुट उद्योगको उत्पादनको डिलर लिएर पोखरामा बेच्ने गरेको थियो । त्यतिबेला अर्का व्यवसायी जितप्रसाद द्वाले बूढीबजारमा रहेको आफ्नो बन्द बिस्कुट उद्योग चलाउन कर्माचार्य समूहलाई प्रस्ताव गरे । समूहले उद्योग भाडामा लिएर २० वर्षअघि ग्लुकोज, थिनआरारोट, मारीलगायत बिस्कुटको उत्पादन थाल्यो । चार वर्षपछि भने आफ्नै प्लान्ट स्थापित गरेर बिस्कुट उत्पादन थाले । 

यो समूह विशेषतः खाद्य प्रशोधन उद्योगमा केन्द्रित छ । गण्डकी आयल मिलबाट उत्पादित कोसेली तोरीको तेल र हाल कोसेली हेल्थ सन फ्लावर तेल बजारमा छन् । कर्माचार्य बेक्स एन्ड फुड्स प्रालिले सन् २०१७ बाट डाइजेस्टिभ बिस्कुट पनि उत्पादन गरिरहेको छ । कर्माचार्य टप, बीसमारी लगायत विभिन्न ‘ब्रान्ड’का बिस्कुट यो उद्योगबाट उत्पादन हुन्छ । कर्माचार्य फुड्स ग्रेन्च प्रालिले कुमारी चामल, कुमारी गोल्ड आँटा र कुमारी गोल्ड चिउरा उत्पादन गर्छ । कागज तथा प्याकर उत्पादन कन्ट्री कन्फेक्स्नरी युनिटमार्फत हुँदै आइरहेको छ । यही कम्पनीमार्फत क्रन्च वेफर चकलेट पनि उत्पादन भइरहेको छ ।

कर्माचार्य इन्टरनेसनल प्रालि तथा कर्माचार्य ब्रदर्शमार्फत विभिन्न उत्पादनको गण्डकी धौलागिरिमा आधिकारिक विक्रेता भएर काम गरिरहेको छ । हाल यी ट्रेडिङ फर्ममार्फत पूजा सोप एन्ड हाउस होल्ड प्रालि, मकालु सोप प्रालि, नेबुला फुड्स प्रालि, सूर्य नेपाल प्रालि, इस्टर्न सुगर मिल, एभरेस्ट सुगर मिल, वाग्मती सुगर मिलका उत्पादन कर्माचार्य ग्रुपले बिक्री वितरण गरिरहेको छ । 

Karmacharya Group's 'Koseli' from Biscuits to Oilsचन्द्रकृष्ण, गोविन्द र हरिपछि तेस्रो पुस्ताले कर्माचार्य ग्रुप धानिरहेको छ । ग्रुपमा चन्द्रकृष्ण अध्यक्ष, माइलो भाइ गोविन्द उपाध्यक्ष, चन्द्रकृष्णका छोरा माइकल र गोविन्दका छोरा विक्रम निर्देशक छन् । कान्छो भाइ हरि कर्माचार्यले भने फिस्टेल डेरी प्रालि स्थापना गरेर नोभा ‘ब्रान्ड’का दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्छन् । जगतकृष्णको चार वर्षअघि निधन भइसकेको छ । 

कर्माचार्य बिस्कुटले अहिले बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गरिरहेको निर्देशक विक्रम कर्माचार्य बताउँछन् । ‘बिस्कुट उद्योगमा धेरै आरोहअवरोह आए । मूल्यको प्रतिस्पर्धाजस्ता चुनौती आयो तर गुणस्तरमा सम्झौता गरेनौं,’ उनले भने, ‘उपभोक्ताले पैसा तिरिसकेपछि गुणस्तर र परिमाणमा सम्झौता गर्नु हुँदैन भन्ने हाम्रो मान्यता छ । उपभोक्ताको विश्वास जितेको भएरै कर्माचार्य बिस्कुट नेपालको बिस्कुट उद्योगमा धेरै नै अगाडि आइसकेको अनुभूति भएको छ ।’

उनी कक्षा ८–९ मा पढ्दादेखि नै बुबालाई व्यापारमा सघाउँथे । त्यतिबेला र अहिले व्यवसायको फरक उनले देखेका छन् । ३० वर्षअघिसम्म पनि नेपालमा यति धेरै आयातित वस्तु बेचबिखन हुने नगरेको उनलाई सम्झना छ । कर्माचार्य ग्रुप वितरक भएर काम गर्दा महाशक्ति साबुन उद्योगको पूजा साबुन, सोल्टी साबुन, एभरेस्ट कस्मेटिक प्रोडक्ट प्रालिको एभरेस्ट टुथपेस्टको बजार उच्च रहेको उनी सम्झन्छन् । ‘पछि विदेशी मिडिया पनि नेपाली बजारमा बज्न थाले । त्यसको प्रभाव सँगसँगै यहाँको उद्योगले विज्ञापनको प्रभाव कति पर्छ भन्ने नबुझ्दा बिस्तारै पलायन हुने स्थिति बन्यो,’ उनले भने, ‘यहाँको उद्योगलाई बचाउन उद्योगीले ‘ब्रान्ड’ र विज्ञापनमा काम गर्नुपर्छ । बहुराष्ट्रिय कम्पनीले दिने गुणस्तर दिनुपर्छ । त्यससँग प्रतिस्पर्धा गर्ने हो भने गणस्तर दिनुपर्छ भनेर अगाडि बढ्यौं । सफल पनि भयौं ।’

उनी नेपालमा उद्योग सञ्चालन गर्न नीतिगत समस्या नरहेको बताउँछन् । उनका अनुसार कच्चा पदार्थ आयात गर्दा भन्सारमा लाग्ने कर र तयारी वस्तुको बीचमा एक तहको फरक छ । कच्चा पदार्थमा कम, आयातितमा धेरै कर लाग्छ । अर्थ मन्त्रालयको राजस्व विभागले व्यापारमा आयकर २५ प्रतिशत राखेको छ भने उत्पादनमूलक उद्योगमा २० प्रतिशत मात्रै छ । एक सय जनाभन्दा बढीलाई रोजगार दिने उद्योगलाई २० प्रतिशतको पनि १० प्रतिशत छुट अर्थात् १८ प्रतिशत मात्रै आयकर लाग्छ । एक तिहाइ महिला, दलित अथवा अपांग कामदार छन् भने १८ प्रतिशतमा अर्को १० प्रतिशत छुट दिइएको छ । यसो हुँदा १६.२ प्रतिशत मात्रै आयकर तिरे पुग्छ । 

‘व्यापारको तुलनामा उद्योगमा विभिन्न छुट सरकारले दिएको छ । व्यवसायीहरूलाई यससम्बन्धी ज्ञानको कमी छ । सरकारले मात्रै जिम्मा लिनुपर्छ भन्ने होइन, व्यवसायीले पनि लिनुपर्छ,’ उनी भन्छन्, ‘हामी व्यवसायीमा पनि व्यापार गर्न सजिलो, उद्योग गर्न गाह्रो हुन्छ भन्ने भ्रम छ । भोलि डुब्न सक्छ, बिग्रन सक्छ भन्ने छ । व्यापारमा बाहिरबाट सामान आयात गर्‍यो, बेच्यो, जोखिम कम छ भनेर व्यवसायी व्यापारतिर लागेका छन् । सरकारको नीतिले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन नै गरेको छ ।’

बिस्कुटलाई चाहिने मैदा, चिनी र घिउमा नेपाल आत्मनिर्भर छैन । नेपालमा गहुँको माग २० लाख मेटिक टन हुँदा १० लाख टन नेपालमै उत्पादन हुन्छ भने बाँकी बाहिरबाटै ल्याउनुपर्छ । चिनी पनि ३ लाख टन नेपालको जम्मा माग हुँदा यहाँ १ लाख ४० हजारमात्रै उत्पादन हुन्छ । जग्गाजमिन महँगो हुँदा कृषिभन्दा प्लटिङ गर्न फाइदा देखेपछि उत्पादन पनि कम भएको उनको तर्क छ । 

कर्माचार्य ग्रुपले ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यहाँका सर्वसाधारणले स्वदेशी उत्पादन प्रयोग गर्ने र सरकारले पनि स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन सके युवा पलायन रोक्न सकिने तर्क उनले प्रस्तुत गरे । ‘आफ्नो परिवारको सदस्य विदेश नजाओस् भन्नका लागि नेपालमै उत्पादित वस्तु खरिद गर्ने हो भने यहाँको उत्पादनको माग बढ्छ । माग बढ्दा उत्पादन बढाउनुपर्छ । त्यसले रोजगारी पनि बढ्छ,’ उनी भन्छन्, ‘रोजगारी बढ्दा विदेश जानबाट रोक्न सकिन्छ । सर्वसाधारण पनि सचेत हुँदैनौं भने सरकारलाई मात्रै गाली गरेर हुँदैन ।’

कर्माचार्य ग्रुपका उत्पादन नेदरल्यान्ड्स, अमेरिका र बेलायतमा समेत केही वर्ष पुगेको थियो । व्यापार गर्ने क्रममा विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रलाई भन्सार दरमा छुट दिने गरेको उनले थाहा पाए । नेपालबाट बाहिर निर्यात गर्दा भन्सार शुल्क कम लाग्ने भएकाले सम्भावना उनले देखे । ‘नेपालमा अधिकांश सामान आयात हुने हो । त्यसरी सामान ल्याउने कार्गो जहाज, पानी जहाज खाली खाली नै फर्कन्छन् । त्यसैले यताबाट निर्यात गर्न खोज्दा सस्तो पर्दो रहेछ,’ उनले भने, ‘यता कच्चा पदार्थ नै छैन, के निर्यात गर्न सकिन्छ र भनेर व्यवसायीमा सोच छ । तर यताबाट निर्यात गर्न सक्ने हो भने लगानी सुरक्षित गर्ने गरी त्यहाँको बजारमा प्रवेश गर्न सकिने रहेछ ।’

अर्का निर्देशक माइकल कर्माचार्य नेपालमै उत्पादन भएको वस्तु प्रयोग गर्न सरकारले सचेतनामूलक कार्यक्रम चलाउनुपर्ने बताउँछन् । ०७२/७३ को अघोषित नाकाबन्दीपछि नेपालकै उत्पादन प्रयोग गर्नुपर्छ भन्ने सचेतना केही मात्रामा बढेको उनको अनुभव छ । लोडसेडिङको अन्त्य हुनु, गाउँगाउँसम्म मोटरबाटो पुगेर उत्पादन पुर्‍याउन सहज हुनु सकारात्मक रहको बताउँदै उनले निजी क्षेत्र, जनता र सरकार आआफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे । 

नेपाल सरकारले राजस्व संकलन गर्नेतिर मात्रै ध्यान जाँदा मुद्रा स्फीति नियन्त्रण गरेर जनताको जीविकोपार्जन सहज बनाउनुपर्छ भन्नेमा कम ध्यान पुर्‍याएको उनको भनाइ छ । ‘मजदुरको न्यूनतम पारिश्रमिक प्रत्येक वर्ष बढाउनु मात्रै समस्याको समाधान होइन, मुद्रा स्फीतिको नियन्त्रण पनि प्रमुख विषय हो,’ उनी भन्छन्, ‘तीन तहको सरकारको खर्च धान्न नेपाल सरकारले प्रत्येक वर्ष करहरू बढाइरहेको छ । मुद्रा स्फीतिलाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारको दायित्व हो ।’

उनका अनुसार कर्माचार्य ग्रुप पुरानो व्यवसायमा सीमित छैन, कृषि, शिक्षा, जलविद्युत् र बैंकिङ क्षेत्रमा पनि लगानी गरिरहेको छ । ‘हिजो नेपाली उद्योगीहरूमा १० रुपैयाँभन्दा बढीको बिस्कुट बिक्दैन भन्ने सोच थियो, अहिले ५० रुपैयाँको डाइजेस्टिभ बिस्कुट बिकिरहेको छ,’ उनले भने, ‘उपभोक्ताको क्रयशक्ति बढिरहेको छ । उपभोक्ताले अब सस्तो होइन गुणस्तरीय उत्पादन खोजेका छन् । यो कुरालाई बुझेर ब्रान्डेड उत्पादन निकाल्ने प्रयास गर्नुपर्छ ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully