राजनीतिक ध्रुवीकरणको चपेटामा परेर ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा सात वर्षभन्दा बढीदेखि विभाजित भएको विद्यालयलाई एक महिलाले प्रअ भएर आएपछि एक मात्रै बनाइनन्, त्यस क्षेत्रको नमुना विद्यालय नै बनाएकी छन्
जुम्ला — राजनीतिक किचलो बढेपछि २०७० सालमा रूपाकोट आधारभूत विद्यालय ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा दुई भागमा विभाजित भयो । गाउँमै रहेको विद्यालयलाई ‘कांग्रेसी विद्यालय’ भनिन्थ्यो भने गाउँभन्दा केही पर ‘कम्युनिस्ट विद्यालय’ खुल्यो । राजनीतिक आस्थाका आधारमा अभिभावकहरूले पनि दुईमध्ये एकमा आफ्ना बालबालिका पठाउन थाले ।
जुम्ला हिमा गाउँपालिका–१ बड्कीकी ४३ वर्षीया शान्ति शाहीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । २०६२ असार २९ मा सरकारी शिक्षिका बनेकी उनले २०७६ साउन १० मा रूपाकोट आधारभूत विद्यालयकी प्रधानाध्यापकको नियुक्ति पाइन् । तर आफूले नेतृत्व गरिरहेको विद्यालय राजनीतिक आस्थाकै कारण विभाजित भएकोमा शान्ति दुःखी त थिइन् नै, शान्ति क्षेत्र विद्यालयमा राजनीतिको फोहोरी चलखेल पनि मन परेको थिएन ।
त्यसो त यही राजनीतिक खिचातानीकै कारणले गर्दा अभिभावकले पनि आफ्ना बालबालिकाको पढाइमा नकारात्मक असर परिरहेको महसुस गरिरहेका थिए । यही कुरा बुझेकी प्रधानाध्यापक शान्तिले त्यसपछि भने गाउँलेका घरघरमा पुगेरै राजनीतिक आस्थाका आधारमा यसरी विभाजित हुनुहुँदैन भन्दै सम्झाइबुझाइ गरिनन् । २०७७ सालमा विद्यालयमै सर्वपक्षीय बैठक राखिन्, समस्या समाधानका लागि बृहत् छलफल नै चलाइन् । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी सबै विद्यालयमा भेला भए । विद्यालयमा देखिएका हरेक समस्याको गहन रूपमा छलफल गरियो ।
राजनीतिक दलका जिल्ला नेताहरूले पनि विद्यालयलाई एक बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । त्यही परिपत्र गाउँका अगुवा कार्यकर्ताबीचमा पुग्यो । अभिभावकहरू विद्यालय एक बनाउने विषयमा पहिल्यैदेखि नै सहमत थिए । अन्ततः दुई विद्यालयलाई एक बनाउन शान्ति म्याडम सफल भइन् । त्यसपछि उनले नयाँ भवनसहितका पूर्वाधार तयार पारेर सिंगो र सबल एउटै विद्यालय बनाइन् ।
अहिले गाउँभरिका सबै २ सय ५० बालबालिका त्यही विद्यालयमा अध्ययनरत छन् । पहिले विद्यालय टुक्रिँदा चार जना शिक्षकले बाँडिएर पढाइरहेका थिए । एक शिक्षकको भागमा १६ वटा कक्षा धान्नुपर्ने बाध्यता थियो । लामो छलफलपछि विद्यालय एक भए पनि भौतिक संरचना भने जीर्ण थियो । कक्षाकोठाको अभावमा विद्यार्थीहरू चौरमै पढ्नुपर्ने बाध्यता थियो ।
विद्यालय एक भएपछि शान्ति राजधानी काठमाडौंस्थित शिक्षा मन्त्रालयमा धाउन थालिन् । शिक्षामन्त्री र शिक्षा सचिवसँग भेटेर भवन नहुँदा बालबालिकाले पाएको दुःख अवगत गराइन् । फलस्वरूप संघीय सरकारले चार–चार कोठे दुई भवनका लागि बजेट पठाइदियो । अहिले आठवटा पक्की कोठामा विद्यार्थीहरूले पढ्न पाइरहेका छन् । उनले भौतिक संरचनाका साथै विद्यालयको पठनपाठनलाई पनि सुधार गर्नका लागि विषयगत शिक्षक उपलब्ध गराइदिन गाउँपालिकामा हारगुहार गरिन् । शान्तिको विनयशील लगनलाई स्थानीय पालिकाले पनि नकार्न सकेन र गणित, अंग्रेजी र विज्ञान विषय पढाउनकै लागि अनुदानमा शिक्षक राखिदियो । अहिले विद्यालयमा शिक्षक र कार्यालय सहयोगी गरेर ११ जना कर्मचारी छन् । उनले जिम्मा लिँदा ६ जना मात्रै थिए ।
अहिले विद्यालयको आफ्नै खेलमैदान छ । भवनहरू पक्की बनेका छन् । पालिकास्तरीय अधिकांश शिक्षाका कार्यक्रम त्यहीं सञ्चालन हुन्छन् । शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू सबै शैक्षिक स्तर उन्नतिका लागि अझै के कसो गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । ‘विद्यालय कस्तो बनाउने भन्ने प्रधानाध्यापकमा भरपर्दो रहेछ । शिक्षक, अभिभावकको साथ र प्रधानाध्यापकको योजना राम्रो भए विद्यालय स्वतः राम्रो हुनेरहेछ,’ शान्तिले भनिन् । गतवर्ष ४ देखि १६ वर्षसम्मका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् भन्ने कार्यक्रम पनि त्यहीं गरिएको थियो । गत साता मात्रै हिमा गाउँपालिका साक्षर घोषणा भयो । अहिले उनको विद्यालयमा सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरू आइरहन्छन् । मन्त्री, सांसदहरू, केन्द्र र प्रदेशका शिक्षा सचिवहरू पनि उनको विद्यालयमा अनुगमनका लागि पुग्छन् ।
रूपाकोट विद्यालयसम्म सडक पुगेको छ । दुर्गमका अधिकांश विद्यालयमा पानी नपाइने हुनाले बालबालिका विद्यालय जान मान्दैनन् । तर यहाँ बालमैत्री धारा र शौचालयहरू बनेका छन् । प्रधानाध्यापक शान्तिले बालबालिकालाई चाहिने सबै सामग्रीहरू विद्यालयमै व्यवस्था गरिदिएकी छन् । विद्यार्थीलाई दिउँसो अर्गानिक खाजा दिइने गरिन्छ । सिँजा क्षेत्रमा रहेका विद्यालयहरूमध्ये रूपाकोट आधारभूत विद्यालय नमुना बनेको छ । ‘यो मेरा लागि काम गर्ने अवसर हो । हरेक व्यक्तिबाट विद्यार्थीले व्यावहारिक ज्ञान लिइरहेका छन्,’ प्रधानाध्यापक शान्तिले भनिन्, ‘शिक्षक, विद्यार्थीको तालमेलले अभिभावकहरू पनि विद्यालयप्रति सकारात्मक बनिरहेका छन् । यो राम्रो पक्ष हो ।’
अहिले पक्की भवनहरू ठडिएको देख्दा उनी आफैं पनि दंग पर्छिन् । विद्यालयमा अब एक भवन आवश्यक भएको उनी बताउँछिन् । कक्षाकोठा नहुँदा ४, ५ र ६ का विद्यार्थीहरू अझै मैदानमा बसेर पढ्न बाध्य छन् । वडा, गाउँपालिका र प्रदेश मन्त्रालयमा भवन बनाउनका लागि बजेटको पहल भइरहेको उनले सुनाइन् । विद्यालयमा शैक्षिक सामग्रीको अत्यधिक प्रयोग भइरहेको छ । विद्यालयभित्र बगैंचा बनाउने लक्ष्य छ ।
महिलाले काम गर्न सक्दैनन् भन्ने भाष्य बनिरहँदा शान्ति भने यहाँ उदाहरणीय बनेकी छन् । ‘घर बिग्रे एक/दुई सन्तान बिग्रन्छन् । तर विद्यालय बिग्रे त्यहाँ पढ्ने सबै बालबालिको भविष्य बिग्रन्छ । सक्षम र सफल भएँ भन्न त सक्दिनँ । तर आत्मसन्तुष्टि मिलेको छ,’ उनले भनिन् । शान्ति प्रधानाध्यापक भएर विद्यालयको जिम्मेवारी सम्हालिरहँदा कसैले पनि उनले यो समस्यालाई पार लगाएर अहिलेको अवस्थासम्म ल्याउलिन् भनेर पत्याएका थिएनन् । तर सानैदेखि शिक्षक बन्ने हुटहुटी भएकी शान्ति जब बालबालिका र विद्यालयको हितका पक्षमा लगातार काम गर्दै गइन्, तब सबैबाट सहयोग पनि पाइन् ।
‘तपाईंकी छोरीचेली हुँ । शिक्षक भएर आए पनि तपाईंहरूकै दिदीबहिनी हुँ । साथ दिनुस्, म विद्यालयलाई विद्यालय जस्तो बनाइदिन्छु’ भनेर वाचा गरेकी थिएँ,’ उनले भनिन्, ‘समुदाय मिलेन भने संस्था बन्दैन । संस्था नबने बालबालिकाको भविष्य बन्दैन । त्यसैले समुदाय मिलेर संस्था बनाउनुपर्छ भनेर अडान लिएँ । परिवर्तन देखिँदै छ ।’ शान्तिको भनाइमा सप्रेको सबैले देखे पनि बिगारेर छोडेको चिजलाई सपार्न निकै गाह्रो हुन्छ । ‘दुई टुक्रा भएको विद्यालयलाई यहाँसम्म सपारेर ल्याएँ । अझ राम्रो व्यवस्थापन भइरहेको विद्यालय सम्हाल्न पाएको भए झनै राम्रो बनाउँथे जस्तो लाग्छ,’ उनले भनिन् ।
विद्यालयलाई मन्दिर जत्तिकै पवित्र स्थान मान्ने शान्ति विद्यालयमा राजनीतिक गन्ध आउन नहुनेमा कटिबद्ध छिन् । ‘केबल बालबालिकाको भविष्य हेरेर विद्यालय चलाइरहेकी छु,’ उनले भनिन्, ‘म आफैं पनि पढाउँछु । कार्यालयको काम पनि गर्नुपर्ने भएकाले सोचेजति अझै कक्षा लिन सकिरहेकी छैन, कुनै शिक्षक बिदा बस्दा अध्यापनलाई रोकिन दिन्नँ, बरु म आफैं गएर पढाइदिन्छु ।’
विद्यालयमा अहिले दुई गाउँदेखिका बालबालिका अध्ययनका लागि आइरहेका छन् । विद्यालयको हरेक काममा अभिभावकहरूले साथ दिइरहेका छन् । ‘पहिले आफ्ना सन्तानलाई विद्यालय नपठाउनेहरू अहिले धमाधम विद्यालयको पक्षमा काम गर्छन् । जिल्लाबाहिर बस्नेबाहेक सबै विद्यार्थीर्हरू आइरहन्छन्,’ उनले भनिन् । विद्यालयको वातावरण सकारात्मक भएसँगै शिक्षकहरू पनि लगनशील भएर अध्यापनमा खटिएका छन् । शान्तिको नेतृत्वशैलीका कारण जिल्लाभरका शिक्षकहरू प्रभावित छन् । उनी हरेक तहका कर्मचारीलाई कदर गर्छिन् । कार्यालय सहयोगीलाई निकै माया गर्छिन् ।
सहायक प्रधानाध्यापक हुँदा आफूले पाएको सास्तीका कारण उनी कुनै पनि शिक्षकलाई आफ्नो नेतृत्वमा अप्ठेरो महसुस नहोस् भन्नेमा सचेत छिन् । ‘मैले पाएको पीडा अरू शिक्षकले भोग्नु नपरोस् भन्ने मेरो सोच छ,’ उनले भनिन् । उनले विद्यालयको आर्थिक हिसाबकिताब पारदर्शी राखेकी छन् । त्यसलाई थप पारदर्शी बनाउन भर्खरै लेखापाल पनि राखेकी छन् । ‘दुर्गमको शैक्षिक अवस्था हेर्दा दुःख लाग्छ, रुन मन लाग्छ । अब अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने धोको छ,’ उनले भनिन् ।
हिमा–५ का ज्ञानबहादुर शाही शान्ति म्याडम प्रधानाध्यापक भएपछि विद्यालयमा निकै परिवर्तन आएको बताउँछन् । ‘कुनै बेला राजनीतिक रूपमा दुई टुक्रा भएको विद्यालयमा अहिले राजनीति हुँदैन,’ उनले भने, ‘विद्यालयमा सामान्य त्रुटि देखिनेबित्तिकै समुदाय भेला गराउनुहुन्छ । पालिकास्तरीय कार्यक्रमहरूको नेतृत्व पनि रूपाकोट विद्यालयले गरिरहेको छ । महिलाले अवसर पाए नमुना काम गरेर देखाउन सक्छन् भन्ने प्रमाणित गर्नुभएको छ ।’
छिमेकी पालिका तिला गाउँपालिकाका मोतीराम बुढा शान्तिले विद्यालय निकै राम्रोसँग चलाएको भन्ने चर्चा सुन्दा खुसी लाग्ने गरेको बताउँछन् । ‘दुर्गमका महिलाहरू चुलोचौको र गाईगोठमा मात्र सीमित हुनुपर्छ भन्ने भ्रम छ । शान्ति म्याडमले त्यो भ्रम चिर्न सफल हुनुभएको छ,’ उनले भने । कनकासुन्दरी, हिमा र सिँजाका विद्यालयहरूमा रूपाकोट आधारभूत विद्यालय अहिलेको उत्कृष्टमध्येमा पर्छ । अब विद्यालय वरपर वृक्षरोपण गरेर घेराबार गर्ने उनको धोको छ ।
