विद्यालयलाई राजनीतिक भागबन्डा मुक्त पार्ने शान्ति म्याडम

राजनीतिक ध्रुवीकरणको चपेटामा परेर ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा सात वर्षभन्दा बढीदेखि विभाजित भएको विद्यालयलाई एक महिलाले प्रअ भएर आएपछि एक मात्रै बनाइनन्, त्यस क्षेत्रको नमुना विद्यालय नै बनाएकी छन्

आश्विन १८, २०८१

डीबी बुढा

Shanti madam to free the school from political involvement

जुम्ला — राजनीतिक किचलो बढेपछि २०७० सालमा रूपाकोट आधारभूत विद्यालय ‘कांग्रेस’ र ‘कम्युनिस्ट’ का नाममा दुई भागमा विभाजित भयो । गाउँमै रहेको विद्यालयलाई ‘कांग्रेसी विद्यालय’ भनिन्थ्यो भने गाउँभन्दा केही पर ‘कम्युनिस्ट विद्यालय’ खुल्यो । राजनीतिक आस्थाका आधारमा अभिभावकहरूले पनि दुईमध्ये एकमा आफ्ना बालबालिका पठाउन थाले ।

जुम्ला हिमा गाउँपालिका–१ बड्कीकी ४३ वर्षीया शान्ति शाहीले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी थिइन् । २०६२ असार २९ मा सरकारी शिक्षिका बनेकी उनले २०७६ साउन १० मा रूपाकोट आधारभूत विद्यालयकी प्रधानाध्यापकको नियुक्ति पाइन् । तर आफूले नेतृत्व गरिरहेको विद्यालय राजनीतिक आस्थाकै कारण विभाजित भएकोमा शान्ति दुःखी त थिइन् नै, शान्ति क्षेत्र विद्यालयमा राजनीतिको फोहोरी चलखेल पनि मन परेको थिएन ।

त्यसो त यही राजनीतिक खिचातानीकै कारणले गर्दा अभिभावकले पनि आफ्ना बालबालिकाको पढाइमा नकारात्मक असर परिरहेको महसुस गरिरहेका थिए । यही कुरा बुझेकी प्रधानाध्यापक शान्तिले त्यसपछि भने गाउँलेका घरघरमा पुगेरै राजनीतिक आस्थाका आधारमा यसरी विभाजित हुनुहुँदैन भन्दै सम्झाइबुझाइ गरिनन् । २०७७ सालमा विद्यालयमै सर्वपक्षीय बैठक राखिन्, समस्या समाधानका लागि बृहत् छलफल नै चलाइन् । जिल्लास्थित राजनीतिक दलका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी सबै विद्यालयमा भेला भए । विद्यालयमा देखिएका हरेक समस्याको गहन रूपमा छलफल गरियो ।

Shanti madam to free the school from political involvementराजनीतिक दलका जिल्ला नेताहरूले पनि विद्यालयलाई एक बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । त्यही परिपत्र गाउँका अगुवा कार्यकर्ताबीचमा पुग्यो । अभिभावकहरू विद्यालय एक बनाउने विषयमा पहिल्यैदेखि नै सहमत थिए । अन्ततः दुई विद्यालयलाई एक बनाउन शान्ति म्याडम सफल भइन् । त्यसपछि उनले नयाँ भवनसहितका पूर्वाधार तयार पारेर सिंगो र सबल एउटै विद्यालय बनाइन् ।

अहिले गाउँभरिका सबै २ सय ५० बालबालिका त्यही विद्यालयमा अध्ययनरत छन् । पहिले विद्यालय टुक्रिँदा चार जना शिक्षकले बाँडिएर पढाइरहेका थिए । एक शिक्षकको भागमा १६ वटा कक्षा धान्नुपर्ने बाध्यता थियो । लामो छलफलपछि विद्यालय एक भए पनि भौतिक संरचना भने जीर्ण थियो । कक्षाकोठाको अभावमा विद्यार्थीहरू चौरमै पढ्नुपर्ने बाध्यता थियो ।

विद्यालय एक भएपछि शान्ति राजधानी काठमाडौंस्थित शिक्षा मन्त्रालयमा धाउन थालिन् । शिक्षामन्त्री र शिक्षा सचिवसँग भेटेर भवन नहुँदा बालबालिकाले पाएको दुःख अवगत गराइन् । फलस्वरूप संघीय सरकारले चार–चार कोठे दुई भवनका लागि बजेट पठाइदियो । अहिले आठवटा पक्की कोठामा विद्यार्थीहरूले पढ्न पाइरहेका छन् । उनले भौतिक संरचनाका साथै विद्यालयको पठनपाठनलाई पनि सुधार गर्नका लागि विषयगत शिक्षक उपलब्ध गराइदिन गाउँपालिकामा हारगुहार गरिन् । शान्तिको विनयशील लगनलाई स्थानीय पालिकाले पनि नकार्न सकेन र गणित, अंग्रेजी र विज्ञान विषय पढाउनकै लागि अनुदानमा शिक्षक राखिदियो । अहिले विद्यालयमा शिक्षक र कार्यालय सहयोगी गरेर ११ जना कर्मचारी छन् । उनले जिम्मा लिँदा ६ जना मात्रै थिए ।

अहिले विद्यालयको आफ्नै खेलमैदान छ । भवनहरू पक्की बनेका छन् । पालिकास्तरीय अधिकांश शिक्षाका कार्यक्रम त्यहीं सञ्चालन हुन्छन् । शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू सबै शैक्षिक स्तर उन्नतिका लागि अझै के कसो गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । ‘विद्यालय कस्तो बनाउने भन्ने प्रधानाध्यापकमा भरपर्दो रहेछ । शिक्षक, अभिभावकको साथ र प्रधानाध्यापकको योजना राम्रो भए विद्यालय स्वतः राम्रो हुनेरहेछ,’ शान्तिले भनिन् । गतवर्ष ४ देखि १६ वर्षसम्मका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् भन्ने कार्यक्रम पनि त्यहीं गरिएको थियो । गत साता मात्रै हिमा गाउँपालिका साक्षर घोषणा भयो । अहिले उनको विद्यालयमा सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरू आइरहन्छन् । मन्त्री, सांसदहरू, केन्द्र र प्रदेशका शिक्षा सचिवहरू पनि उनको विद्यालयमा अनुगमनका लागि पुग्छन् ।

रूपाकोट विद्यालयसम्म सडक पुगेको छ । दुर्गमका अधिकांश विद्यालयमा पानी नपाइने हुनाले बालबालिका विद्यालय जान मान्दैनन् । तर यहाँ बालमैत्री धारा र शौचालयहरू बनेका छन् । प्रधानाध्यापक शान्तिले बालबालिकालाई चाहिने सबै सामग्रीहरू विद्यालयमै व्यवस्था गरिदिएकी छन् । विद्यार्थीलाई दिउँसो अर्गानिक खाजा दिइने गरिन्छ । सिँजा क्षेत्रमा रहेका विद्यालयहरूमध्ये रूपाकोट आधारभूत विद्यालय नमुना बनेको छ । ‘यो मेरा लागि काम गर्ने अवसर हो । हरेक व्यक्तिबाट विद्यार्थीले व्यावहारिक ज्ञान लिइरहेका छन्,’ प्रधानाध्यापक शान्तिले भनिन्, ‘शिक्षक, विद्यार्थीको तालमेलले अभिभावकहरू पनि विद्यालयप्रति सकारात्मक बनिरहेका छन् । यो राम्रो पक्ष हो ।’

अहिले पक्की भवनहरू ठडिएको देख्दा उनी आफैं पनि दंग पर्छिन् । विद्यालयमा अब एक भवन आवश्यक भएको उनी बताउँछिन् । कक्षाकोठा नहुँदा ४, ५ र ६ का विद्यार्थीहरू अझै मैदानमा बसेर पढ्न बाध्य छन् । वडा, गाउँपालिका र प्रदेश मन्त्रालयमा भवन बनाउनका लागि बजेटको पहल भइरहेको उनले सुनाइन् । विद्यालयमा शैक्षिक सामग्रीको अत्यधिक प्रयोग भइरहेको छ । विद्यालयभित्र बगैंचा बनाउने लक्ष्य छ ।

Shanti madam to free the school from political involvementमहिलाले काम गर्न सक्दैनन् भन्ने भाष्य बनिरहँदा शान्ति भने यहाँ उदाहरणीय बनेकी छन् । ‘घर बिग्रे एक/दुई सन्तान बिग्रन्छन् । तर विद्यालय बिग्रे त्यहाँ पढ्ने सबै बालबालिको भविष्य बिग्रन्छ । सक्षम र सफल भएँ भन्न त सक्दिनँ । तर आत्मसन्तुष्टि मिलेको छ,’ उनले भनिन् । शान्ति प्रधानाध्यापक भएर विद्यालयको जिम्मेवारी सम्हालिरहँदा कसैले पनि उनले यो समस्यालाई पार लगाएर अहिलेको अवस्थासम्म ल्याउलिन् भनेर पत्याएका थिएनन् । तर सानैदेखि शिक्षक बन्ने हुटहुटी भएकी शान्ति जब बालबालिका र विद्यालयको हितका पक्षमा लगातार काम गर्दै गइन्, तब सबैबाट सहयोग पनि पाइन् ।

‘तपाईंकी छोरीचेली हुँ । शिक्षक भएर आए पनि तपाईंहरूकै दिदीबहिनी हुँ । साथ दिनुस्, म विद्यालयलाई विद्यालय जस्तो बनाइदिन्छु’ भनेर वाचा गरेकी थिएँ,’ उनले भनिन्, ‘समुदाय मिलेन भने संस्था बन्दैन । संस्था नबने बालबालिकाको भविष्य बन्दैन । त्यसैले समुदाय मिलेर संस्था बनाउनुपर्छ भनेर अडान लिएँ । परिवर्तन देखिँदै छ ।’ शान्तिको भनाइमा सप्रेको सबैले देखे पनि बिगारेर छोडेको चिजलाई सपार्न निकै गाह्रो हुन्छ । ‘दुई टुक्रा भएको विद्यालयलाई यहाँसम्म सपारेर ल्याएँ । अझ राम्रो व्यवस्थापन भइरहेको विद्यालय सम्हाल्न पाएको भए झनै राम्रो बनाउँथे जस्तो लाग्छ,’ उनले भनिन् ।

विद्यालयलाई मन्दिर जत्तिकै पवित्र स्थान मान्ने शान्ति विद्यालयमा राजनीतिक गन्ध आउन नहुनेमा कटिबद्ध छिन् । ‘केबल बालबालिकाको भविष्य हेरेर विद्यालय चलाइरहेकी छु,’ उनले भनिन्, ‘म आफैं पनि पढाउँछु । कार्यालयको काम पनि गर्नुपर्ने भएकाले सोचेजति अझै कक्षा लिन सकिरहेकी छैन, कुनै शिक्षक बिदा बस्दा अध्यापनलाई रोकिन दिन्नँ, बरु म आफैं गएर पढाइदिन्छु ।’

विद्यालयमा अहिले दुई गाउँदेखिका बालबालिका अध्ययनका लागि आइरहेका छन् । विद्यालयको हरेक काममा अभिभावकहरूले साथ दिइरहेका छन् । ‘पहिले आफ्ना सन्तानलाई विद्यालय नपठाउनेहरू अहिले धमाधम विद्यालयको पक्षमा काम गर्छन् । जिल्लाबाहिर बस्नेबाहेक सबै विद्यार्थीर्हरू आइरहन्छन्,’ उनले भनिन् । विद्यालयको वातावरण सकारात्मक भएसँगै शिक्षकहरू पनि लगनशील भएर अध्यापनमा खटिएका छन् । शान्तिको नेतृत्वशैलीका कारण जिल्लाभरका शिक्षकहरू प्रभावित छन् । उनी हरेक तहका कर्मचारीलाई कदर गर्छिन् । कार्यालय सहयोगीलाई निकै माया गर्छिन् ।

सहायक प्रधानाध्यापक हुँदा आफूले पाएको सास्तीका कारण उनी कुनै पनि शिक्षकलाई आफ्नो नेतृत्वमा अप्ठेरो महसुस नहोस् भन्नेमा सचेत छिन् । ‘मैले पाएको पीडा अरू शिक्षकले भोग्नु नपरोस् भन्ने मेरो सोच छ,’ उनले भनिन् । उनले विद्यालयको आर्थिक हिसाबकिताब पारदर्शी राखेकी छन् । त्यसलाई थप पारदर्शी बनाउन भर्खरै लेखापाल पनि राखेकी छन् । ‘दुर्गमको शैक्षिक अवस्था हेर्दा दुःख लाग्छ, रुन मन लाग्छ । अब अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने धोको छ,’ उनले भनिन् ।

हिमा–५ का ज्ञानबहादुर शाही शान्ति म्याडम प्रधानाध्यापक भएपछि विद्यालयमा निकै परिवर्तन आएको बताउँछन् । ‘कुनै बेला राजनीतिक रूपमा दुई टुक्रा भएको विद्यालयमा अहिले राजनीति हुँदैन,’ उनले भने, ‘विद्यालयमा सामान्य त्रुटि देखिनेबित्तिकै समुदाय भेला गराउनुहुन्छ । पालिकास्तरीय कार्यक्रमहरूको नेतृत्व पनि रूपाकोट विद्यालयले गरिरहेको छ । महिलाले अवसर पाए नमुना काम गरेर देखाउन सक्छन् भन्ने प्रमाणित गर्नुभएको छ ।’

छिमेकी पालिका तिला गाउँपालिकाका मोतीराम बुढा शान्तिले विद्यालय निकै राम्रोसँग चलाएको भन्ने चर्चा सुन्दा खुसी लाग्ने गरेको बताउँछन् । ‘दुर्गमका महिलाहरू चुलोचौको र गाईगोठमा मात्र सीमित हुनुपर्छ भन्ने भ्रम छ । शान्ति म्याडमले त्यो भ्रम चिर्न सफल हुनुभएको छ,’ उनले भने । कनकासुन्दरी, हिमा र सिँजाका विद्यालयहरूमा रूपाकोट आधारभूत विद्यालय अहिलेको उत्कृष्टमध्येमा पर्छ । अब विद्यालय वरपर वृक्षरोपण गरेर घेराबार गर्ने उनको धोको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully