सिनेमा हलको नयाँ परिभाषा ‘क्यूएफएक्स’

नेपालमा गुणस्तरीय फिल्म हल विकास गरेको, फिल्म देखाउने शैलीमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत उल्लेखनीय रूपान्तरण ल्याएको र नेपाली फिल्मको परम्परागत कथ्य शैली र दृश्य भाषामा परिवर्तन ल्याउन प्रमुख भूमिका निर्वाह गरेको जस ‘क्यूएफएक्स’ लाई दिने गरिएको छ । 

श्रावण २७, २०८१

सजना बराल

New Definition of Cinema Hall 'QFX'

काठमाडौँ — मनकामना, तारा, हिरारत्न, अशोक, चामुन्डा, नागार्जुन, रञ्जना, शिवदर्शन, गोपी, गुण, विश्वज्योति– यी सबै काठमाडौं उपत्यकामा कुनै बेला भव्य चलेका, दर्शक खचाखच हुने र दर्शकसँग एकाकार हुन पुग्ने कलाकारलाई उत्साहित भीडले जुरुक्कै उचाल्ने दुई दशकअघिका नामी फिल्म हलहरू हुन् । यी सबै ‘स्ट्यान्ड अलोन’ हल अहिले बन्द भइसके, कोही पार्टी प्यालेस त कोही अपार्टमेन्टमा रूपान्तरण भइसकेका छन् । 

अब फिल्म हल भनेकै ‘क्यूएफएक्स’, ‘क्यूएफएक्स’ भनेकै सपिङ मलहरूको माथिल्लो तलाका सफा–सुग्घर, फराकिला, सुविधासम्पन्न, आधुनिक प्रविधिमा चल्ने सुन्दर हलहरू हुन् । ‘क्यूएफएक्स’लाई नेपालमा गुणस्तरीय फिल्म हल विकास गरेको, फिल्म देखाउने शैलीमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत उल्लेखनीय रूपान्तरण ल्याएको र नेपाली फिल्मको परम्परागत कथ्य शैली र दृश्य भाषामा परिवर्तन ल्याउन प्रमुख भूमिका निर्वाह गरेको जस दिइन्छ । यसमध्ये कमै चर्चा भएको अर्को एउटा पक्षचाहिँ ‘क्यूएफएक्स’ले फिल्म हलमा महिला दर्शकको संख्या बढाएको विषय पनि महत्त्वपूर्ण हो । 

अहिले जति महिलाहरू हलमा देखिन्छन्, दुई दशकअघि यत्तिका महिला फिल्म हलमा जाँदैनथे । अझ महिलालाई हलमा एक्लै गएर फिल्म हेर्ने माहोल नै थिएन, जुन आजको ‘इन्डिपेन्डेन्ट युग’मा सामान्य विषय हो । ‘भीडभाडमा महिलालाई टिकट काट्नै मुस्किल पर्ने, चिमोट्ने, धकेल्ने हुन्थ्यो, यसले गर्दा फिल्म हलमा महिला दर्शकको संख्या कम हुन्थ्यो,’ ‘क्यूएफएक्स’ सञ्चालक कम्पनी ‘टिम क्वेस्ट’ प्रालिका निर्देशक भाष्कर ढुंगाना भन्छन्, ‘अहिले उल्लेख्य महिलाहरू हलमा आउनुहुन्छ । कतिपय फिल्ममा त महिला दर्शककै बाहुल्य देखिन्छ । निर्धक्क फिल्म हेर्ने वातावरण बनेको छ ।’

New Definition of Cinema Hall 'QFX'संयोगवश, सबैभन्दा ठूलो ‘मल्टिप्लेक्स चेन, क्यूएफएक्स’भित्रै पनि महिला कर्मचारीको संख्या पुरुषको भन्दा बढी छन् । ‘टिम क्वेस्ट’ मा व्यवस्थापनतर्फको उच्चतम पद महाप्रबन्धकका रूपमा तृप्ति गिरी छन् । नेपालगन्जको ‘क्यूएफएक्स’ बागेश्वरी र काठमाडौंको दरबार सिनेम्याक्सका म्यानेजर पनि महिला नै छन् । ‘म मार्केटिङ एन्ड बिजनेस सिस्टम प्रमुख हुँदै बिजनेस डेभेलप्मेन्ट हेड र अहिले जेनेरल म्यानेजरका रूपमा छु, यसरी बढुवा हुँदा 

आफ्नो कामले महत्त्व पाएको महसुस हुन्छ,’ तृप्ति भन्छिन्, ‘मैले क्यूएफएक्ससँग खल्ती वालेट, वर्ल्डलिंक, कोकाकोलाहरूको पार्टनरसिप कार्यक्रमलाई अगाडि बढाउन पहल गरें । कोभिडपछि कसरी क्यूएफएक्सलाई सशक्त रूपमा सञ्चालन गर्ने भन्ने योजनामा पनि जोडिन र काम गर्न पाएँ ।’  

व्यवसाय विस्तार

‘क्यूएफएक्स चेन’मा हालै मात्र एउटा नयाँ हल थपिएको छ । दुई साताअघि अभिनेता दीपकराज गिरी, रमेश उप्रेती, जितु नेपाल, गायक प्रकाश सपुत, अभिनेत्री नीति शाहलगायतले काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलमा ‘क्यूएफएक्स’ को हल उद्घाटन गरेका थिए । ‘टिम क्वेस्ट’ ले पछिल्लो त्रैमासमा चारवटा हल थपेको छ । ‘पोखरा सिने प्लेक्स, चितवन सिने प्लेक्स, राइजिङ मल र सिटी स्क्वायर’ थपिएका हल हुन् । 

यीमध्ये सिटी स्क्वायरबाहेक सबै पहिलेदेखि नै चलिरहेका हल हुन् । ‘टिम क्वेस्ट’ ले व्यवस्थापन गर्ने गरी ती अब ‘फ्रान्चाइज’का रूपमा ‘क्यूएफएक्स ब्रान्ड’मा जोडिन आइपुगेका हुन् । हाल देशभर १७ वटा लोकेसनमा ‘क्यूएफएक्स’ हल सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र ७ र बाहिरी सहरमा १० वटा स्थानमा छन् । चितवनमा मात्रै दुइटा ‘क्यूएफएक्स’ हल छन् । कुल ४० वटा स्क्रिनमा नेपाली र विदेशी फिल्महरू प्रदर्शन हुँदै आएका छन् । ‘क्यूएफएक्स’को वार्षिक औसत आम्दानी २ अर्ब रुपैयाँभन्दा बढी छ ।

New Definition of Cinema Hall 'QFX'क्यूएफएक्सकी महाप्रबन्धक  तृप्ति गिरी । तस्बिर : सफलप्रकाश श्रेष्ठ 

‘क्यूएफएक्स ब्रान्ड’का जति पनि हल छन्, ती सबै ‘फ्रान्चाइज’ मोडलमा सञ्चालित छन् । ‘फ्रान्चाइजर’का रूपमा टिम क्वेस्टले तोकेका व्यापारिक विधि र सेवाहरू ‘फ्रान्चाइजी’ (सम्बन्धित हल) सँग गरेको सम्झौताअनुरूप कार्यान्वयन हुन्छन् । ‘क्यूएफएक्स ब्रान्ड’का हल टिम क्वेस्टले व्यवस्थापन गर्छ । ‘क्यूएफएक्स’ आफैंमा कम्पनी नभई ब्रान्ड हो जुन टिम क्वेस्टको स्वामित्वमा छ । ‘क्यूएफएक्स ब्रान्ड’अन्तर्गत देशभर ३ सय ५० भन्दा धेरैले रोजगारी पाएका छन् । आउटसोर्सिङ गरिने कार्यालय सहयोगी र सुरक्षा गार्डको संख्या जोड्दा अझै बढी हुने तृप्ति बताउँछिन् । टिम क्वेस्टमा चाहिँ ३१ जना कर्मचारी छन् । 

नयाँ हल विस्तार गर्दा टिम क्वेस्टले ‘क्यूएफएक्स ब्रान्ड नेम’ उपलब्ध गराएबापत एकपल्ट र हलको आम्दानीअनुरूप ५ देखि ९ प्रतिशत शुल्क ‘फ्रान्चाइजी’सँग मासिक रूपमा लिने गरेको छ । हलहरूले फिल्मको टिकेट बिक्री, विज्ञापन, खाना, ब्रान्डिङ लगायतबाट आम्दानी गर्छन् । टिकेट बिक्रीबापतको आम्दानी हलले फिल्म वितरकसँग बाँडफाँट गर्छन् । नेपाली फिल्मको सन्दर्भमा केही महिनाअघि मात्रै हल र वितरकबीच ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने तय भएको थियो । 

विदेशी फिल्मको हकमा चाहिँ पहिलो साता ५० प्रतिशत, दोस्रो साता ४२.५, तेस्रो साता ३७.५ र चौथो सातापछि ३० प्रतिशत वितरकले पाउने तृप्तिले बताइन् । ‘विदेशी फिल्म जति लामो समय चल्यो हलले त्यति बढी सेयर पाउँदै जान्छ,’ उनले भनिन्, ‘तर, विदेशी फिल्ममा ३६ प्रतिशत कर तिर्नुपर्छ । नेपालीको भने २० प्रतिशत हो । कर थोरै भएकाले नेपाली फिल्म धेरै चल्दा हललाई बढी फाइदा हुन्छ ।’ 

New Definition of Cinema Hall 'QFX'फिल्म हलहरूमा सरकारले चलचित्र विकास शुल्क, भ्याट तथा स्थानीय शुल्क गरी धेरै किसिमका अव्यावहारिक कर लगाएको भन्दै बेलाबखत यसको विरोध हुँदै आएको छ । यस्ता कर खारेजीको मागसहित गत वर्ष नेपाल चलचित्र संघले देशभरका फिल्म बन्द गरेको थियो । ‘यसपालि फेरि कर बढ्ने कुरा आइरहेको छ, यो राम्रो होइन,’ तृप्ति भन्छिन्, ‘अर्को चाहिँ स्थानीय सरकारले हाम्रो सफ्टवेयरको डेटा सिंक गर्नुपर्ने भनेको छ । आन्तरिक राजस्व विभाग र चलचित्र विकास बोर्डमा सिंक छँदै छ । हाम्रो सबै डेटा पारदर्शी छ । सरकारी निकायले आपसमा लिए भइहाल्नेमा हामीले कतिवटा निकायलाई सफ्टवेयर खुला गरिदिने हो ? यसले व्यवसाय सञ्जालनमा असहजता ल्याउने डर छ ।’  

ब्रान्ड यात्रा

अमेरिकाबाट फर्किएका भाष्कर ढुंगाना, ताइवानमा पढाइ सकेर नेपाल आई विभिन्न व्यवसायमा लागेका नकिम उद्दिन र राजेश सिद्दिले सन् २००० मा ‘क्यूएफएक्स’ सुरु गरेका हुन् । जय नेपाल हलको व्यापक स्तरोन्नति गरेर, डिजिटल प्रविधिमार्फत फिल्म देखाउने परिबन्ध मिलाई उनीहरूले ‘क्यूएफएक्स ब्रान्ड’ सञ्चालनमा ल्याएका थिए । 

‘त्यो बेला मनकामना, विश्वज्योति, हिरारत्न, गोपी सबै हल राम्रो चलिरहेका थिए, हामी त स्टार्टअप थियौं । चलिरहेको मूल्य ५० रुपैयाँभन्दा टिकेटको प्राइस बढाएर १७५ रुपैयाँ राखेर हल चलाउन खोज्दा यिनीहरू डुब्छन् भन्थे मान्छेहरूले,’ भाष्कर सम्झन्छन्, ‘तर त्यतिबेलाका हलहरूले एक जमातको ग्राहकलाई मात्र सेवा दिइरहेका थिए, अलि सुविधा खोज्नेहरूका लागि हल नै थिएन । भेन्टिलेसन राम्रोसँग नभएको र फोहोर शौचालयबाट रोग नै फैलिने त्रास हुन्थ्यो । जय नेपालमा हामीले सुविधासँगै अग्निनियन्त्रक साधन, एक्जिट प्यासेजजस्ता सुरक्षा प्रबन्ध राखेर स्पाइडर म्यान देखाउँदा हल खचाखच भरियो ।’ 

सुरुमा अंग्रेजी मात्रै देखाउने गरी क्यूएफएक्स सञ्चालन गरिएको र पछि हिन्दी हुँदै नेपाली फिल्म थपिएको सञ्जय सिलवालको ‘अन एयर पडकास्ट’मा नकिमले बताएका छन् । हिन्दी फिल्मकै दुरुस्त नक्कल गरेर बनाइएका नेपाली फिल्म ‘क्यूएफएक्स’मा देखाउँदा दर्शक नै नआएपछि आफूहरूले ‘कागबेनी’ र ‘सानो संसार’ निर्माण गरेको पनि उनी स्मरण गर्छन् । 

New Definition of Cinema Hall 'QFX'‘विदेशी फिल्म मात्रै चलाए, नेपालीलाई प्रोत्साहन गरेनन् भनेर हाम्रो चर्को आलोचना भएपछि नेपाली फिल्म चलाउनुपर्‍यो भनेर हामी फिल्म खोज्न थाल्यौं,’ उनी भन्छन्, ‘एउटा फिल्म थियो, ५० दिन मनाएको, एकदम सफल फिल्म, हाम्रै साथीले बनाएको, चलाइदेऊ पनि भनिरहेको थियो । त्यो फिल्म जय नेपालमा देखाउने भयौं । तर, एक सो पनि चलेन । मल्टिप्लेक्सलाई अलि फरक र विषयपरक फिल्म चाहिन्छ भनेर आफैंले फिल्म बनाएका थियौं ।’ 

सन् २००७ मा रिलिज भएको भूषण दाहाल निर्देशित ‘कागबेनी’ लाई नेपाली फिल्ममा नयाँ कथ्य शैली र दृश्य भाषाको थालनी गरेको श्रेय दिइन्छ । डिजिटल प्रविधिमार्फत बनेको यो नेपालको पहिलो फिल्म पनि हो । सन् २००८ मा आलोक नेम्बाङले निर्देशन गरेको ‘सानो संसार’ पछि डिजिटल प्रविधिमा फिल्म बनाउने क्रम बढेर गयो । त्यो बेला चल्तीका निर्माता छ ओझाले डिजिटल प्रविधिमा फिल्म बनाउने घोषणा गरेपछि अरूले पनि डिजिटल प्रविधि रोजे । डिजिटलाइजेसनले नेपालभरका हलमा फिल्म प्रदर्शन सजिलो भयो । नकिम यसलाई नेपाली फिल्म क्षेत्रको ‘टर्निङ पोइन्ट’ का रूपमा व्याख्या गर्छन् । सोही समय सन् २०१० मा सिभिल मलमा हल खुलेपछि ‘क्यूएफएक्स’को पनि ख्याति बढ्यो । नेपाली मनोरञ्जन क्षेत्रको प्रख्यात ब्रान्डका रूपमा स्थापित भयो । 

यसबीच नेपाली फिल्म क्षेत्रमा ‘लुट’, ‘छक्कापञ्जा’, ‘कबड्डी’, ‘जारी’ जस्ता ‘ट्रेन्ड सेटिङ’ फिल्म बनिसकेका छन् । हलहरूले पनि एनालग, सेलोलग हुँदै टुके, फोके र अब लेजर प्रोजेक्टरबाट फिल्म देखाउन थालेका छन् । ‘क्यूएफएक्स’ले सधैं आफूलाई नवीनतम प्रविधिमा ढाल्दै, ‘फिल्म वाचिङ एक्स्पेरियन्स’ लाई थप सुधार्दै लगिरहेको तृप्तिको भनाइ छ । उनका अनुसार विश्वमा पछिल्लो केही वर्षयता प्रयोगमा आएको लेजर प्रोजेक्टर क्यूएफएक्सले गत वर्ष नै चितवनको जाल्मा र नेपालगन्जको बागेश्वरी हलमा जडान गरिसकेको छ । ‘यसमा भिडियोको गुणस्तर र लाइटिङ उच्चस्तरीय हुन्छ,’ उनले भनिन्, ‘इमर्सिभ साउन्ड टेक्नोलजीका लागि भक्तपुरको हल, छाया सेन्टर र वीरगन्ज, बुटवल र विराटनगरका हलमा डोल्बी एटमसको साउन्ड सिस्टम राखेका छौं । सामाखुसीको हलमा नेपालमै पहिलो पटक अरोम्याक्स भन्ने साउन्ड सिस्टम राखिएको छ ।’ 

तृप्तिका अनुसार नेपाली र हिन्दी फिल्म ‘क्यूएफएक्स’ सिभिल मलमा बढी चल्छन् । अंग्रेजी फिल्म छाया र लबिममा धेरै चल्छन् । काठमाडौंबाहिरका अधिकांश हलमा अंग्रेजी फिल्म त्यति धेरै नचले पनि बुटवल अपवाद छ । दमौलीमा नेपाली अधिक चल्छ । पहिले अंग्रेजी फिल्म नचल्ने बिर्तामोडमा ‘क्यूएफएक्स’ गएपछि मज्जाले चल्न थालेका तृप्तिको अनुभव छ । तर उनका अनुसार युवापुस्ता बिदेसिने क्रम बढेयता अंग्रेजी फिल्मका दर्शक ह्वात्तै घटेका छन् । यो आफूहरूका लागि चिन्ताजनक र ठूलो चुनौतीको विषय भएको उनले बताइन् । 

कोभिडको मारबाट माथि उठ्दै

कोभिड महामारीले सबैभन्दा धेरै प्रभावित पारेको क्षेत्रमध्ये फिल्म हल व्यवसाय प्रमुख हो । लकडाउनमा सबैभन्दा पहिला बन्द भएर सबैभन्दा अन्तिममा खुल्ने हलहरू नै थिए । ‘नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नीजस्ता ओटीटी प्लाटफर्म’को बजार बढिरहँदा कतिले त अब हलको जमाना सकिएको ठोकुवासमेत गर्न भ्याए । त्यो बेला नेपालका थुप्रै हल सदाका लागि बन्द भए । ‘क्यूएफएक्स’को चाहिँ कतिसम्म भयो भने जहाँबाट सुरु गरिएको, त्यही हल सबैभन्दा पहिला बन्द गर्नुपर्ने स्थिति आयो ।

New Definition of Cinema Hall 'QFX'जय नेपाल हल अहिले प्रयोगविहीन अवस्थामा छ । कुमारी हललाई इस्लिङ्टन कलेजले खरिद गरेर आफ्नै शैक्षिक प्रयोजनमा लगाएको छ । ‘जय नेपाल र कुमारीसँग हाम्रो भावनात्मक सम्बन्ध थियो किनभने हामीले त्यहीबाट सुरु गरेका थियौं,’ भाष्कर भन्छन्, ‘हामीले धेरैपछिसम्म पनि जय नेपाल नचल्दा–नचल्दै पनि चलाइरहेका थियौं । सुधारको सम्भावना नै नभएपछि बन्द गर्नुपर्‍यो तर त्यति भावुक किन भएनौं भने हल जीवित नभए पनि जय नेपाल सुरु गर्दाको आइडिया भने जीवत नै छ । र, यसलाई अझै विस्तार गर्ने हाम्रो सोच छ ।’ 

हलमा दर्शकलाई राम्रो सुविधा दिनुपर्छ, हल राम्रो भयो भने मात्र फिल्म हेर्न आउँछन् र यसले समग्र उद्योग बढेर जान्छ भन्ने सुरुवाती ‘आइडिया’ जीवित रहेको भाष्करको भनाइ छ । ‘क्यूएफएक्स’ काठमाडौंबाट बाहिर फैलिसकेको र अब यसलाई बिस्तारै गाउँ–घरमा पुर्‍याउने आफूहरूको सोच रहेको पनि उनले बताए । उनका अनुसार कोभिडपछि कम सुविधा भएका सिंगल स्क्रिन हलहरू बन्द भए पनि सुविधासम्पन्न हलको संख्या बढिरहेको छ । ‘क्यूएफएक्स’अन्तर्गत अहिले जाल्मा र बागेश्वरी गरी दुई वटा मात्रै ‘स्ट्यान्ड अलोन’ थिएटर छन् ।

‘अबको दिनमा स्ट्यान्ड अलोन हल चलाउन गाह्रो हुने देखिएकाले हामी त्यस्ता हलसँग फ्रेन्चाइजका रूपमा साझेदारी गर्न त्यति रुचाउँदैनौं,’ तृप्तिले भनिन्, ‘हललाई एक्लै टिक्न सजिलो छैन भन्ने हाम्रो अनुभवले देखाएको छ । सपिङ मलमा हल चलाउँदा हल र मलले एकअर्कालाई कम्प्लिमेन्ट गर्छन् । मल घुम्न आउने पनि हलमा छिर्न सक्छन् । मलमा हल हुँदा पार्किङदेखि सुरक्षा प्रत्याभूति अलि बलियो हुने भएकाले दर्शकले निर्धक्क फिल्म हेर्न पाउँछन् ।’ 

कोभिडका कारण हलको व्यापार खुम्चिए पनि अहिले बिस्तारै सुधारका संकेत देखिएको भाष्करले बताए । उनका अनुसार ‘क्यूएफएक्स’ आफैंले भने व्यावसायिक रूपमा राम्रै गरिरहेको छ । कोभिडका बेला सबैथोक ठप्प हुँदा आफूहरूले हल सञ्चालन गर्दा पालना गर्नुपर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) अद्यावधिक गर्नेदेखि तथ्यांक विश्लेषण, डकुमेन्टेसन, डिजिटाइजेसन प्रक्रियामा सुधार गरेको तृप्ति बताउँछिन् । ‘लकडाउनपछि हल खोल्दा क्यूएफएक्स २.० भनेर खोलेका थियौं,’ उनी भन्छिन्, ‘काम गर्ने तौरतरिका नयाँ बनायौं, सफ्टवेयर अपग्रेड गर्‍यौं । हलमा गएर फिल्म हेर्दाको अनुभव सुखद र सहज होस् भन्नेमा केन्द्रित छौं ।’ 

New Definition of Cinema Hall 'QFX'अर्को संयोग कस्तो छ भने, नेपालमा फिल्म बन्ने र देखाउने दुवै क्षेत्रलाई नयाँपन दिन सफल ‘क्यूएफएक्स टिम’का अधिकांश प्रमुख सदस्यहरू विदेशमा उच्च शिक्षा प्राप्त गरी फर्केका हुन् । अमेरिका, ताइवान, हङकङजस्ता देशमा पढेर उतै राम्रो कामसमेत गरेपछि नेपाल आएका भाष्कर, नकिम र राजेशले सुरु गरेको ‘क्यूएफएक्स’ अहिले नेपालको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बनेको छ । व्यावसायिक रूपमा संस्थाको नेतृत्व गर्ने तृप्ति पनि अमेरिकामै पढाइ सकेर कामको अनुभवसहित स्वदेश फर्किएकी हुन् । यो समूह अहिले कम्पनीको ‘कर्पोरेट कल्चर’लाई पनि आधुनिक बनाउन, कर्मचारीको काम र पारिवारिक जीवनमा सन्तुलन कायम राख्न, कार्यालयलाई समावेशी बनाउन उत्तिकै पहल गरिरहेको छ । 

व्यावसायिक सफलतासँगै ‘क्यूएफएक्स टिम’ले दिने प्रमुख सन्देश चाहिँ विदेशको अध्ययन र अनुभवलाई नेपालीहरूले कसरी स्वदेशमा उदाहरणीय काममा परिणत गर्न सक्छन् भन्ने पनि हो । पढाइ र कामका लागि विदेशिने नेपालीको संख्या बढ्दै गएको समयमा ‘क्यूएफएक्स टिम’को जोसले नेपालमा पनि अवसर छ भन्ने विषयलाई उजागर गरेको छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully