कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बुद्धिको नाम बिर्साइदिने ‘हैट’ !

श्रावण २४, २०८१
बुद्धिको नाम बिर्साइदिने ‘हैट’ !

Highlights

  • एक दशकदेखि कुनै पनि कलाकार एउटा थेगोका कारण चर्चामा छन् भने ती हुन् बुद्धि तामाङ । खासमा ‘हैट’ उनको परिचय नै बनेको छ । यही चरित्रबाटै फिल्म क्षेत्रमा चिनिएका बुद्धिसँग यो शब्द यसरी गाँसिएको छ कि उनको वास्तविक परिचय ओझेलमा परेको छ । 

काठमाडौँ — एक दशकदेखि कलाकार बुद्धि तामाङ एउटा थेगोका कारण चर्चामा छन् । त्यो हो, ‘हैट’ ! खासमा यो उनको पर्याय नै बनेको छ । यही चरित्रबाटै फिल्म क्षेत्रले बुद्धिलाई चिन्यो, पर्दामा उनको अभिनयलाई देख्यो । बुद्धिसँग यो शब्द यसरी गाँसिएको छ, यही एउटै थेगो सँगसँगै उनका फिल्मी ‘करियर’का आरोह–अवरोह जोडिएका छन् ।

उनका फ्यानका लागि त यो थेगो फगत शब्द मात्रै होइन, भावना नै बनिसक्यो । त्यसैले कुनै फिल्ममा बुद्धिले यो थेगो बोलेनन् भने फ्यानले म्यासेज गरिहाल्छन्, ‘दाइको फिल्म भनेर हल गइयो, हैट नै भन्नुभएन’ । उनलाई देख्ने बित्तिक्कै प्रशंसकको मुखबाट यही शब्द फुत्किन्छ ‘हैट’ ।

आफूलाई चिन्नेमध्ये ७५ प्रतिशले बुद्धि तामाङभन्दा पनि हैट भनेर नै चिनिरहेको उनी आफैं स्विकार्छन् । फोटो खिचिहाले, तस्बिरको क्याप्सनमा त्यही एउटै शब्द भेटिन्छ । आफूलाई चिनाएको यो शब्द बुद्धिका लागि पनि प्यारो छ । ‘परिचयका हिसाबले चिनिदिँदा, यसरी खोजिदिँदा खुसी लाग्छ । तर, चरित्रकै हिसाबले हेर्दाचाहिँ म त एउटै चरित्रमा अल्झेछु भन्ने कुराले चिन्ता लाग्छ,’ उनी मुसुक्क हाँस्दै भन्छन्, ‘जीवन त एउटै चरित्रमा बित्यो कि क्या हो ? भन्ने पीर पनि लाग्छ । अन्ततः खुसी नै लाग्छ, किनकि कलाकार कुनै न कुनै तरिकाले चिनिने हो । कति कामले, कति नामले चिनिन्छन्, म पात्रको नामले चिनिएँ ।’

हुन त ‘हैट’ जनजीवनमा बोलिने शब्द नै हो । तर, जब यही शब्दलाई बुद्धिले चरित्रका रूपमा उभ्याए, ‘हैट’ माथि बुद्धिको लालमोहोर नै लाग्यो । ‘हैट’ शब्दले सार्थकता पायो । अनि, चरित्रका रूपमा ब्रान्ड नै बन्यो । नाटकमा काम गरिरहँदा आफूलाई ऊर्जाशील बनाउन बुद्धि यो शब्दलाई अनायासै प्रयोग गरिरहन्थे । शरीर शिथिल बन्दा, ‘हैट यसरी हुन्न’ भन्दै जुरुक्क उठ्थे । ‘गाउँतिर बाघलाई लखेट्दा होस् या भैंसीले खोले नखाँदा, तामाङ भाषीहरू ‘होट्ट’ भनिरहेका हुन्छन् । बुद्धिले अन्जानमा बोल्दै आएको त्यही शब्दलाई जब रामबाबु गुरुङले चरित्रले बोल्ने संवादका लागि लेखे, ‘हैट’ शब्द भावना नै बन्यो ।

कुन मितिबाट हैट र बुद्धिको मिलन भयो, यकिन भन्न सक्दैनन् उनी । तर, उनलाई थाहा छ, हैट चरित्र चल्न ४/५ वर्ष लागेको थियो । ‘महान् साहित्यकार बीपी कोइरालाको त तीन घुम्ती मात्र थियो । तर, हैटले १७ घुम्ती पार गरिसकेपछि मलाई ए योचाहिँ रजिस्टर्ड भएछ भन्ने भएको थियो । यही घुम्तीबाट यसलाई रुचाइदिन थाल्यो भन्ने छै । विस्तारै यसले चर्चा पाएको हो,’ ठट्यौली शैलीमा बुद्धि भन्छन्, ‘मेरो जीवनको यात्राजस्तै हैटले विस्तारै पिकअप लियो । विस्तारै अघि बढ्दै जाँदा कति बेला हिट भएछु थाहै भएन । ए मलाई पनि सबैले चिनेछन् भन्ने कुरा त मलाई पछि मात्र थाहा भएको हो । यसैले हैटको जन्ममिति र हिट भएको स्थायी समय छैन ।’

‘कबड्डी’ को छन्त्याल चरित्रले बोल्ने ‘हैट’ लाई बुद्धिले ‘मेरी बास्सै’ सम्म पुर्‍याए । त्यसपछि फिल्म हुँदै ‘हैट’ टेलिशृंखलामार्फत सानो पर्दाका दर्शकबीच रुचाइयो । टेलिभजनमा जम्दै आएका समूह फिल्म निर्माणमा होमिएसँगै हैटले ‘कबड्डी’ र ‘छक्का पञ्जा’ का शृंखलामा यात्रा गर्‍यो, त्यसपछि हैट अत्याधिक दर्शकले रुचाए । अनि त बुद्धिको माग एकाएक चुलियो, उनीसँगै यो थेगोको चर्चाले झन् उचाइ छुन थाल्यो । ‘कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’, ‘तान्द्रो’ गरिसकेपछि बुद्धिले ‘मेरी बास्सै’ मा उक्त चरित्र बाँचे । ‘हैट भन्ने शब्द चरित्रमा आधारित भएर बोलिएको थियो । त्यो चरित्र खुसी हुँदा होस् या दुःखी हुँदा होस् त्यो शब्द उच्चारण गर्नुअघिको क्रियाकलाप, त्यो शब्दलाई त्यो पात्रले कुन सिलसिलामा बोल्छ भन्ने कुराले झनै रुचाइदिएको हो भन्ने लाग्छ,’ बुद्धिले हैट रुचाइनुका कारण खोतल्छन् ।

अरठ्ठिएर बस्ने, मुख बंग्याउँदै हैट भन्ने छन्त्याल चरित्रलाई जन्माउन, उक्त चरित्रलाई भेट्न बुद्धिले लामो समय बुद्धि मात्रै लगाउनुपरेन, आफैंभित्र त्यो चरित्रलाई अनुभव गर्नुपरेको थियो । चरित्र निर्माणकै क्रममा निर्देशक रामबाबु गुरुङका कति स्वभावलाई पैंचो लिँदै बुद्धिले यो चरित्र बनाए । ‘कबड्डी’ को स्क्रिप्ट लेख्ने क्रममा मण्डला थिएटरको अफिस अनामगरमा थियो । हल निर्माण गर्ने भनिएको जमिन खाली । त्यतिबेला रामबाबु गुरुङ, निश्चल बस्नेत, दयाहाङ राई त्यही अफिसभित्र बसेर स्क्रिप्ट लेखिरहन्थे । स्क्रिप्टको काम अगाडि नबढ्दा बाहिर निस्किरहन्थे ।

बुद्धिसँगै नाजिर हुसेन, विजय बराल, उमेश तामाङ र प्रदीप चौधरी भने बाहिर मण्डलाको त्यही हल निर्माणको योजना हुन्थे । निर्देशक रामबाबु भन्ने गर्थे, ‘तिमीहरूका लागि पनि क्यारेक्टर लेखेका छौं ।’ उनीहरू फुरुङ्ग, बुद्धि भने दंग । ठूलो पर्दामा देखिने लोभले ‘स्क्रिप्ट’ पाइसकेपछि चरित्र निर्माणमा गरिएको मिहिनेत अझै बुद्धिको सम्झनामा छ । ‘कथाका लागि उक्त चरित्रले महत्त्व राखिदियोस्, आफ्नो भूमिकाले कथालाई केही न केही मात्रमा सहयोग गर्दै आफूलाई चिनाउन सकुँ भन्ने चाहना हुन्छ, थियो । त्यसैले चरित्रलाई खोज्न समय लगाएँ,’ बुद्धिले भने ।

छन्त्याल चरित्र खोज्दाखोज्दै एक दिन बुद्धिले आफैंलाई प्रश्न गरे, ‘यो बुद्धिलाल छन्त्याल भन्ने चरित्रलाई मैले भेटें कि भेटिनँ त ?’ त्यसपछि आफूभित्र त्यो चरित्रलाई महसुस गर्न थाले । खोज्दाखोज्दै यो चरित्रको केही भाग मै हुँ भन्ने लाग्यो उनलाई । ‘धेरै नबोल्ने, चुपचाप बस्दा पनि रिसाएर बसेको जस्तो,’ उनले छन्त्याल चरित्र निर्माणका दिन सम्झे । छन्त्याल चरित्रको विशेष बानी के होला त ? सोचिरहँदा झट्ट आँखै अगाडि थिए, निर्देशक रामबाबु गुरुङ । त्यतिबेला रामबाबु सोचिरहँदा मुख चुच्चो पार्थे । अनि तत्काल निर्देशक गुरुङलाई बुद्धिले भने, ‘फिल्ममा तपाईंको भाग आउँदा मुख चुच्चो नपारी अभिनय गर्नुस् । मुख चुच्चो पार्ने काम मलाई नै छोडिदिनुस्,’ बुद्धि सम्झन्छन्,’ अति सोचिरहेजस्तो तर केही नसोच्ने । के–के भन्लाजस्तो तर आफ्नो विचार, भोगाइ बोल्ने चरित्र । बस्दा पनि पसांगिएजस्तो, त्यसैलाई विकास गर्दै जाँदा छन्त्याल चरित्र निर्माण भयो ।’

‘कबड्डी’ लगत्तै छन्त्याल चरित्रबाट सकारात्मक प्रतिक्रिया बटुल्दा बुद्धिलाई लागेको थियो, ‘दर्शकले झुक्किएर मन पराइदिए ।’ त्यतिबेला छन्त्याल चरित्र नौलो थियो, फरक स्वाद बोकेको पात्र थियो, त्यसलाई मन पराउनु स्वाभाविक हो । तर ‘कबड्डी’ चलेको १० वर्षसम्म अझै ‘हैट’ लाई मन पराइरहनु बुद्धिलाई पनि आश्चर्य लाग्ने विषय हो । दर्शक/बजारले यो चरित्रलाई रुचाइदिएपछि एक समय बुद्धिलाई ‘हैट’ बोल्न लगाउनेहरूको लाम लामै थियो । वर्षमा ९ फिल्म गरिरहँदा बुद्धिले ‘हैट’ नभनी धरै पाएनन् । ‘कोहलपुर एक्सप्रेस’, ‘डमरुको डन्डीबियो’, ‘हैरान’, ‘चंगा’, ‘मट्टीमाला’, ‘भैरे’, ‘जय भोले’, ‘छक्कापञ्जा ३’, ‘क्याप्टेन’, ‘नाइँ नभन्नु ल ५’ लगायतका फिल्ममा लगातार देखिरहँदा कुनै न कुनै फिल्ममा फिल्मकर्मीको माग हुन्थ्यो, ‘हैट नभने पनि फ्लेभर त्यस्तै चाहियो ।’

लगातार फिल्ममा ‘हैट’ कै माग भइरहँदा बुद्धिलाई आफू टाइपकास्ट भएको बुझ्न समय लागेन । उनी हैट बोल्ने चरित्रको गहिराइ नबुझी हरेक फिल्ममा त्यो शब्दको प्रयोग नगर्न सुझाउँथे पनि । तर बुद्धिले सल्लाह दिन नपाउँदै फिल्मकर्मी भनिदिन्थे, ‘हैटजस्तै चरित्र चाहिएको हो ।’ ‘हरेक चरित्रको मनोविज्ञान, सोच्ने तरिका, समाजलाई हेर्ने दृष्टिकोण के हो ? त्यो फरक हुन्छ । कथामा उक्त पात्रको स्वभाव र व्यवहार के हो भन्ने हुन्छ । त्यसका आधारमा चरित्र बनाउँदा हरेक पात्रमा हैट सुहाउँदैन । कथासँग, परिवेशसँग नसुहाउने हुँदा त्यो चरित्र नै फितलो हुन्छ । हैट सिग्नेचर जानैपर्छ भन्दै ‘डिमान्ड’ गर्नुहुन्थ्यो ।

‘ट्रेलरको लागि भए पनि बोलिदिनु भनिसकेपछि जबरजस्ती भूमिका बाँधेर गर्नुपर्दा म त टाइपकास्ट भएछु भन्ने अनुभव भयो ।’ यस किसिमको थेगोले कलाकारको पर्दाको आयु छोट्याइदिन्छ भन्ने बुद्धिलाई थाहा थियो, छ । त्यसैले उनले थुप्रै फिल्ममा हैट नदोहोर्‍याउने कोसिस गरे, कारण उनलाई यो क्षेत्रमा लामो समय टिक्नु थियो । ‘टाइपकास्ट हुँदा दुःख लागेन । तर, त्यतिबेला फिल्ममा मेरो आयु कम रहेछ भन्ने महसुस गरे । दर्शकको रोजाइलाई हेरेर धेरैले त्यस्तो चरित्र लेखिदिँदा पनि टाइपकास्ट भएँ भन्ने लाग्छ,’ बुद्धि सुनाउँछन्, ‘बुढो भएर दाँत फुस्किँदा पनि अभिनय गरौँला भन्ने सोचेको थिएँ । तर, सबैले एक पटक हैट भनम् न भन्न थालेपछि चाहिँ लाग्यो, अब धेरै चले एक/दुई वर्ष चल्ने रहेछु ।’

टाइपकास्ट कलाकारका लागि घातक हुन्छ भन्ने महसुस भएसँगै ‘हैट’ बोल्न उनले कम गरेका छन् । विरोधाभास के छ भने, उनी हैटबाट पूरा टाढा रहन भने सक्दैनन् । फिल्मकर्मीले पनि नयाँ चरित्रमा खासै पत्याइदिँदैनन् । ‘म यो थेगोबाट भागिरहेको छैन, तर कम मात्रै गरेको हो । मलाई यही कुराले दर्शकले चिन्नुभयो । उहाँहरूको मायाको पनि कदर गर्नैपर्‍यो । हामीले तँलाई यसरी नै चिन्यौं, तँचाहिँ किन नापिएको भन्दा मज्जा आउँदैन,’ बुद्धि भन्छन्, ‘मैले दर्शकको त्यही मायालाई अलि लामो समयसम्म पाइरहन, मभित्र फरक स्वाद पनि छ है भनेर प्रमाणित गर्ने कोसिसमै हुन्छु । हैटबाट भाग्न खोजेको होइन तर त्यसलाई जोगाउन खोजेको हो । जहातही बोल्दा त्यसको स्वाद पनि कम हुने भयो । सुन्दा–सुन्दा दिक्क होला भन्ने हो । तर, मेरो सौभाग्य १०/११ वर्षदेखि एउटै थेगोले म बाँचिरहेछु ।’

बुद्धि आफूलाई नयाँ–नयाँ चरित्रमा आफूलाई प्रमाणित गर्न चाहन्छन् । फरक स्वाद दर्शकलाई पस्किन चाहन्छन् । तर, व्यावसायिक बजारमा रहेका फिल्मकर्मी उनीजस्ता कलाकारलाई लिएर जोखिम मोल्नै चाहँदैनन् । त्यसैले यो क्षेत्रमा टिक्नका लागि बुद्धिजस्ता कलाकारहरूले टाइपकास्टसँग पनि सम्झौता गर्नुपरिरहेको देखिन्छ । ‘म यो थेगोसँग रिसाएको छैन । हैटले नै चिनायो, परिचय दियो । म यो थेगोमा गर्व गर्छु,’ बुद्धिले भने, ‘टाइपकास्टबाट कलाकार बच्नुपर्छ भन्ने पनि छैन । टाइपकास्ट हुनु नै राम्रो कुरा हो । कम्तीमा एउटा कुराबाट त चिनें भन्ने हो । तर, त्योभन्दा अन्य चरित्रमा पनि आफूलाई सावित गरूँ भन्ने हुन्छ ।’

करिब सयभन्दा बढी फिल्म गरेका बुद्धिले ५० वटामा त फरक भूमिकामै अभिनय गरेका छन् । मिलन चाम्सको ‘वीर विक्रम २’ मा नकारात्मक भूमिकामा देखिए । उनी आफ्नो तर्फबाट फरक चरित्रमा आफूलाई प्रमाणित गर्ने कोसिसमै हुन्छन् । हरेक चरित्र निर्माणका क्रममा तीन सय प्रश्नको उत्तर खोजेर काम गरिरहेका हुन्छन् । चरित्रको मनोविज्ञान, व्यवहार, स्वभाव र सामाजिक, सांस्कृतिक, आर्थिक पक्ष केलाएर चरित्र निर्माण गर्छन् ।

तर, हैट बिर्साइदिने चरित्र खासै पाएका छैनन् । केही समय अगाडि मात्रै ‘डिग्री माइला’ चल्दा सबैले बुद्धिलाई ‘उ’ दाइ भनेर बोलाए, ‘घरज्वाइँ’ चल्दा ‘म्याउँ’ पनि भने । तर, यी फरक चरित्रमा आफूलाई उभ्याइरहँदा नौलो, जोखिम मोल्ने चरित्रको प्यास भने बुद्धिलाई मेटिइसकेको छैन । अनि प्रश्न उठ्छ, ‘बुद्धिजस्ता कलाकारलाई फरक चरित्रमा बाँच्न दिने जोखिम मोल्ने फिल्मकर्मी भेटिएलान् छ ?’

प्रकाशित : श्रावण २४, २०८१ ०९:४८
×