नेपाल छाडेको २२ वर्षपछि आफ्नो देश फर्किएका दीपेन्द्र कोसेली बोकेर फर्किएका छन् । त्यो हो– केटी हराएको सूचना । फिचर फिल्म ‘केटी हराएको सूचना’ मा उनले पहाडे र मधेशीबीचको विभेद उठाएका छन् । यही फिल्मसँगै नेपाल केन्द्रित गरेर उनले ‘ट्राइसिटी’ मार्फत थुप्रै प्रोजेक्ट बनाउने योजनामा छन् ।
काठमाडौँ — बत्तीस वर्षअघिको क्लासिक डकु–ड्रामा ‘उजेली’ का संवाद ६ वर्षअघि सामाजिक सञ्जालमा यसरी भाइरल भए कि कम्बोडिया बस्दै आएका निर्देशक दीपेन्द्र गौचन दंग परे । हुन त उनी धेरै सामाजिक सञ्जाल चलाउँदैनथे । फेसबुक ‘अकाउन्ट’ थियो, तर त्यता सक्रिय थिएनन् । युनिसेफले युट्युबमा ‘उजेली’ राख्यो, टेलिचलचित्रको अंश र संवाद सञ्जालहरूमा आगोसरी फैलियो ।
त्यसपछि दीपेन्द्रको ‘म्यासेन्जर’को घण्टी अचानक बज्यो– टुङ–टुङ । साथीभाइले ‘उजेली’ को ‘क्लिप्स, युट्युब लिंक’ पठाएका रहेछन् । ‘तपाईं पो रहेछ है उजेली बनाउने,’ सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेको बाढी ।
‘बेहुली भएपछि त उजेलीले खुट्टा काँ भुइँया टेक्छे र ?’ मौलिक लवज मिसिएको संवाद २७ वर्षपछि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको देख्दा दीपेन्द्र खुसी हुने भइहाले । ‘यतिका वर्षपछि पनि मनपराइरहेको छ सबैले भन्ने कुराले खुसी बनायो । पुरानो काम अलिअलि चर्चामा आउनु त सामान्य नै हो तर, यति चर्चामा पुग्ला भन्ने लागेको थिएन,’ दीपेन्द्र सुनाउँछन् । अहिलेको युवा पुस्तालाई गाउँले कथाले किन तान्यो ? धुमधडाका फिल्म मन पराउने युवाले ‘उजेली’ का संवाद मनपराउँदा दीपेन्द्र पनि कारण खोज्न घोत्लिए । निचोड निकाले, ‘नेपालीहरूमा कसैले केही राम्रो गरिदियो भने त्यसमाथि गर्व गर्ने बानी छ । सायद उजेलीलाई उनीहरूले यसरी नै लिइदिए होलान् ।’
दीपेन्द्र थकाली समुदायका, मुस्ताङका उनी काठमाडौंमै जन्मे, हुर्के । काठमाडौंमै पनि थकाली संस्कृति अभ्यास गर्दै आएका दीपेन्द्रले गाउँले कथामाथि ‘उजेली’ कसरी बनाए होला ? धेरैले सोध्थे । तर, करिब एक घण्टाको यो डकु–ड्रामामा गौचनले गाउँले कथा मात्रै होइन, ब्राह्मण समुदायको संस्कृति प्रस्तुत गर्दै ‘बाल विवाह’ को तीतो यथार्थलाई यसरी कथामा रूपान्तरण गरिदिए कि त्यतिबेलाको यो डकु–ड्रामा नेपाली फिल्म क्षेत्रकै इतिहासका लागि क्लासिकमध्येको एक बन्न पुग्यो । ‘जो मानिस जुन समुदायका हुँदैनन् र त्यो समुदायमाथि चासो राखेर त्यसको अध्ययन, खोजी गर्छन्, त्यो अध्ययन अलि गाढा हुन्छजस्तो लाग्छ । आफ्नो संस्कृति त आफूलाई थाहा हुने भइहाल्यो, त्यसमा खासै नौलो कथा भेटिन्न, देखिन्न । आफूले नजानेको कुराको खास गुदी खोज्न गर्न मिहिनेत गर्छन् नै ।’
सन् १९८४ तिर ‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’ ले नेपालमा पहिलो पटक भिडियोको तालिम दियो । गौरीकान्त मैनालीदेखि सञ्चारकर्मी दुर्गानाथ शर्मा तालिममा उपस्थित थिए । तालिम लिनेहरू १० जना थिए, अधिकांश सरकारका कर्मचारीहरू । तालिमलगत्तै सबैजना आ–आफ्नो कामतिर फर्के । त्यतिबेला दीपेन्द्र लिंकन स्कुलमा काम गर्थे । ‘युथ न्युजपेपर’ पनि निकाल्थे । त्यतिबेला नेपाल टेलिभिजन खुलिसकेको थिएन । टेलिभिजन खुल्ने तयारी हुँदा ‘वर्ल्ड भ्यु इन्टरनेसनल फाउन्डेसन’ बाटै नेपाल टेलिभिजनको पहिलो र दोस्रो ब्याचलाई तालिम दिए । त्यतिबेलासम्म उनले ‘डकुमेन्ट्री’ खिच्न सुरु गरिसकेका थिए ।
त्यसैक्रममा ‘सेभ द चिल्ड्रेन’ मा कार्यरत भिनाजुका लागि गोर्खा पुगेर भिडियो रिपोर्ट बनाउनुपर्ने भयो । त्यही भिडियो खिचेर बाटो फर्कंदै गर्दा दीपेन्द्रको आँखा बाटोछेउ सानी बच्चीलाई डोलीमा बोकेर बाजा बजाउँदै हिँडेको समूहमा पुग्यो । कलिलै उमेरको त्यो बिहे अनि डोली देखेर सहरमा हुर्केका दीपेन्द्र छक्क परे । उक्त अनौठो दृश्यले दीपेन्द्रको टोलीलाई त्यही गाउँतिर एक रात बिताउन लगायो । आँखैअघिको अनौठो दृश्यमाथि ‘डकुमेन्ट्री’ बनाउने उनले सोचिसकेका थिए । अहिले बिर्सिसके, त्यतिबेला कुन गाउँतिर उनीहरूले समय बिताएका थिए । तर, दीपेन्द्रलाई गाउँ पस्दाको पहिलो दृश्य याद छ– सबै स–साना बालिका साडीमा सजिएका, सिन्दूर लगाएका । ‘उजेली’मा यो दृश्य पनि समेटिएको छ । दीपेन्द्र ‘डकुमेन्ट्री’ बनाउने सोचसहित गाउँलेहरूसँग गफिए । सबैले खुलेर दीपेन्द्रलाई बिहेका कथा, चलन सुनाइदिए ।
काठमाडौं फर्केर दीपेन्द्रले ‘डकुमेन्ट्री’का लागि ‘स्क्रिप्ट’ लेखे । त्यतिञ्जेल युनिसेफका लागि ‘पोलियो’ र ‘ए खुरमाने कालो बनाबना’ भन्नेलगायतका ‘छोरीलाई पढाउनुपर्छ’ भन्ने विज्ञापन बनाइसकेका थिए । युनिसेफकी रीना गिललाई आफूले देखेको दृश्य सुनाउँदै ‘बाल विवाह’माथिको ‘डकुमेन्ट्री’को आइडिया सुनाए । ‘डकुमेन्ट्री’ बनाउने सोचसहित त्यही गाउँ फर्के, गाउँलेबीच क्यामरा तेर्स्याए । भिडियो टेलिभिजनमा आउने थाहा पाउनेबित्तिकै गाउँले आत्तिए, टोली गाउँबाट झन्डै निकालिए ! बाल विवाह गर्नु हुँदैन भन्ने थाहा पाउँदा–पाउँदै चलनका हिसाबले त्यसलाई पछ्याउँदै आइरहेकाहरू ‘डकुमेन्ट्री’ मा देखिन अनकनाए ।
त्यसपछि दीपेन्द्र काठमाडौं फर्किए, एकै रातमा त्यही वास्तविकतालाई कथानकमा परिणत गरे । ‘डकुमेन्ट्री’को प्रस्तावलाई युनिसेफबाट पारित गराउन रीनाले आफ्नोतर्फको संघर्ष गरिन् । शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको युनिसेफले त्यतिबेला कार्यक्षेत्र नपर्ने भन्दै दीपेन्द्रलाई धेरै झुलाए । ‘डकुमेन्ट्री’ ‘बाल विवाह’ माथि रहे पनि यसले शैक्षिक क्षेत्रको सन्देश समेट्ने कारण देखाउँदै बल्ल दीपेन्द्र र रीनाले ‘उजेली’को अनुमति पाए । अनि, रसुवा गएर २७ वर्षको उमेरमा दीपेन्द्रले ‘उजेली’ खिचे । रेडियो नाटक निर्माण गर्दै आइरहेका कुवेर गर्तौलाले निर्देशनमा सहकार्य गरे । गर्तौलाको भाषामा राम्रो पकड ! उनको त्यही पकडले नै ‘उजेली’का संवाद छरिता र मौलिक सुनिएको दीपेन्द्र सुनाउँछन् ।
‘उजेली’ संसारभरका २६ टेलिभिजन स्टेसनमा देखाइए । युनिसेफले बनाएको ‘बाल विवाह’को यही ‘डकुमेन्ट्री’ले रिनालाई पनि निर्माताका रूपमा संसारभर चिनायो । युनिसेफको सबैभन्दा चर्चित र सफलमध्येको डकु–ड्रामा पर्ने ‘उजेली’को छायांकन ताका निकै समस्या झेल्नुपरेको थियो । आफूले रोजेको गाउँमा छायाकन सम्भव नभएपछि लेखक केदार शर्माको सहयोगमा रसुवाको गाउँ पुगेका थिए । ‘उजेली’ खिच्दा कलाकार अधिकांश अशिक्षित थिए, उनीहरू ‘नन–एक्टर’ । पढ्न/लेख्न नजान्नेहरूलाई ‘स्क्रिप्ट’बाट सबै संवाद कण्ठ गराउनुपर्ने, दृश्य पनि सुनाइदिनुपर्ने । त्यतिबेला रिहर्सलको जमाना थिएन ।
कलाकारलाई क्यामरासँग सहज गराउन निकै समय लाग्यो । सुरुवातमा खिचिएका कति दृश्य त पुनः खिच्नुपरेको थियो । यसरी ‘नन–एक्टर’सँग काम गर्दा ‘उजेली’ खिच्न ४५ दिन लाग्यो । तर, दीपेन्द्रलाई डकु–ड्रामाको यही प्रक्रिया खुबै मन परेको थियो । ‘नन–एक्टर’ लिएर काम गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि दीपेन्द्रले उनीहरूलाई लिएका थिएनन् । त्यतिबेला कलाकारमाझ पहुँच थिएन, स्रोत पुग्दैनथ्यो । फिल्म पढेका थिएनन्, सिकेका पनि थिएनन् । नजानिँदो ढंगले खिचिएको यही डकु–ड्रामा अहिले भने फिल्म, ‘डकुमेन्ट्री’का विद्यार्थीका लागि अध्ययनको स्रोत सावित भएको छ । ‘ब्लकिङमा समस्या हुन्थ्यो । दामी सट हुन्थ्यो, दामी तरिकाले संवाद बोलिसकेपछि कलाकारले भयो सर भनेर सट कतिपल्ट बिगारिदिन्थे,’ दीपेन्द्रले ‘नन–एक्टर’सँग काम गर्दाको समय सम्झे, ‘संवाद बोल्न लगाउँदा पनि समय लाग्थ्यो । क्यामरामा प्राविधिक समस्या आउँदा होस् या आफूलाई गाह्रो पर्दा सर सक्दिनँ म भनेर हिँड्न खोज्थे । उनीहरूलाई फकाएर खिच्नुपर्थ्यो ।’
दिग्गज फिल्मकर्मी प्रकाश थापा, तुलसी घिमिरेले बलिउडको फर्मुलामा फिल्म बनाइरहँदा उनले यथार्थको नजिक पुगेर ‘उजेली’ बनाएका थिए । यही शैलीले गर्दा अहिले पनि ‘उजेली’का संवाद र दृश्य उत्तिकै जीवन्त लाग्छ । हुन त दीपेन्द्र आफैं बलिउडका मसालेदार फिल्म हेर्दै कुनै दिन त्यस्तै फिल्म बनाउने कल्पन्थे । तर, त्यतिबेला फिल्म खिच्ने क्यामरामा कहाँ पहुँच हुनु ? त्यसैले टेलिभिजनका लागि खिचिने प्रविधितिरै उनी जोडिए । ‘फिल्मको ग्ल्यामर बढी थियो । तर, त्यतिबेला पनि थुप्रो दर्शकबीच पुग्न टेलिभिजनको शक्ति उस्तै थियो । त्यतिबेला ठूला कलाकारसँग पहुँच थिएन । नतिजा कस्तो आउँछ भन्ने थाहा थिएन, तर नन–एक्टर राखेरै खिचौं भनेर उजेली खिचियो,’ दीपेन्द्र सुनाउँछन्, ‘म अरूभन्दा फिल्म जानेको छु, त्यसैले सबलाई देखाइदिन्छु भनेर उजेली बनाएको होइन । तर, त्यतिबेला अन्जानमा आफ्नो प्यासनमा बनाएँ, नतिजा राम्रो निस्कियो ।’ दीपेन्द्र त्यतिबेलाको माहोल, निर्देशकीय निर्णय र काम गर्ने हुटहुटीले नै ‘उजेली’ बलियो उत्पादन बनेको स्विकार्छन् ।
‘उजेली’को प्रमुख पात्र उजेली (वृन्दा अधिकारी) लाई दीपेन्द्रको समूहले विद्यालय चहार्दै गर्दा भेटेका हुन् । उनीहरू गाउँको विद्यालय घुमेर प्रमुख पात्र खोज्दै थिए । गरिब र प्रतिभाशालीलाई उनीहरू ‘उजेली’ चरित्र दिन चाहन्थे, वृन्दा त्यतिबेला खोजे अनुसारकै विशेषतामा अटाउँथिन् । उनको आँखा पनि चम्किलो, बोली पनि छरितो । स्वभावले निडर ! ‘उजेली’ गरिब परिवारको भएकै कारण बिहेको दृश्यमा झमेला खेपे पनि । खासमा उनीसँग बिहे गर्ने बालक सम्भ्रान्त परिवारका रहेछन् । दुईको बिहेवाला दृश्यमा बालकका परिवारले उक्त दृश्यको छायांकन रोक्न खोजेका रहेछन् । बिहे गराइदिने बाहुन पनि वास्तविक थिए, उनी पनि असली मन्त्र पढ्न हिचकिचाए । तब दीपेन्द्रको टोलीले मन्त्र बिगारेर उक्त दृश्य खिचेको सम्झना अहिले पनि दीपेन्द्रको मगजमा ताजै छ । विभिन्न कारणले छायांकन रोकिँदा दीपेन्द्रलाई ‘उजेली’ बन्ला भन्ने विश्वास थिएन ।
डकु–ड्रामाको नाम ‘उजेली’ पनि गाउँघरकै प्रचलित नामबाट टपक्क टिपिएको हो । त्यतिबेला गाउँतिर कमली, ‘उजेली’ यस्तै नामहरू चर्चित थिए । ‘उजेली’ नाम नौलो लागेकैले दीपेन्द्रले प्रमुख पात्रबाट डकु–ड्रामाको नाम राखेका हुन् । यो डकु–ड्रामा त्यतिबेला राम्रा फेस्टिभलमा घुमेको थियो । फिल्म नजान्दै ‘उजेली’ बनाएका दीपेन्द्र अहिले फिल्म पढाउँछन् । ‘उजेली’मा छोरा र छोरीबीच हुने भेदभाव, पितृसत्ताले पेलिएका दुई बालिकाहरूको जीवनमार्फत, बाल–विवाह कसरी पुस्तान्तरण भइरहेछ भन्ने सशक्त ढंगले देखाइएको छ । यही कथाबीच पनि ‘उजेली’ पात्रलाई भने त्यतिबेला पनि हठी, स्वतन्त्र, विद्रोही र आवाजसहितको महिला पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
६ वर्षअघि जसरी ‘उजेली’ ले दीपेन्द्रको खोजी बढाइदिएको थियो, अहिले कार्टुन ‘मुमिन’कै प्रसंगले उनी खोजीको पात्र बनेका छन् । खासमा नेपाल टेलिभिजनकै तालिमका लागि ‘एड्भान्स स्तर’ सिकाउन फिनल्यान्डबाट एक दम्पती नेपाल आएको थियो । यही दम्पतीसँग मिलेर दीपेन्द्रले नेपाली महिलाहरूबीच भिडियो खिच्ने तालिम दिए । त्यही प्रोजेक्ट सकिने क्रममा दीपेन्द्र छोरीको बुवा बने । उनीहरूले सधैं फिनल्यान्डबाट दीपेन्द्रका छोरीका लागि कार्टुनका पुस्तक पठाइदिन्थे । पुस्तकमा ‘मुमिन’का थुप्रै रोचक कथाहरू थिए । दीपेन्द्रले कथा रोचक रहेको प्रतिक्रिया दिँदा उनीहरूले यसमाथि टेलिशृंखला नै बनेको बताउँदै दुई–चार ‘एपिसोड’ पठाइदिए । छोरीलाई त्यही कार्टुन देखाउँदा दीपेन्द्रलाई लाग्यो, ‘यो त सबैलाई देखाउन पाए हुने’ । उनको यही सोचले ’मुमिन’ नेपाली भाषामा डब गरियो ।
त्यतिबेला ५२ ‘एपिसोड’ बनिसकेको रहेछ, उनीहरूले २६ ‘एपिसोड’लाई नेपालीमा डब गरे । २००१ मा मुमिन प्रसारणमा आयो, मुमिन हेर्दै हुर्केका पुस्ताका लागि उनीहरूको बाल्यकाल यही कार्टुनसँग जोडिएको छ । मुमिन नेपालीमा डब गरिएकै कारण त्यतिबेला अत्यधिक रुचाइएको दीपेन्द्रको अनुभव छ । ‘यो कार्टुन नेपाली भाषामा थियो ।
एनिमेसन गज्जब थियो, कथाहरू राम्रा थिए । नेपालसँग सुहाउँदो थियो । हिउँ, चिसो विषय त नेपालसँग पनि जोडियो,’ दीपेन्द्र सुनाउँछन्, ‘मुमिनको प्रसंग उठ्दा कतिले नेपालमा ल्याउन, डब गर्न गाह्रो भयो होला है ? भन्छन् । तर, हामीलाई खासै गाह्रो भएन । कति कुरा चाहना राख्दा सजिलै भइजान्छन् ।’
२६ ‘एपिसोड’पछि बाँकी एपिसोड पनि नेपाल ल्याउने तयारी थियो । तर, सन् २००२ मा दीपेन्द्र अफ्रिका उडे, त्यसपछि २००३ मा त परिवार लिएर नेपाल छोडे । अनि, ‘मुमिन’को ५२ ‘एपिसोड’ नेपालमा कहिल्यै प्रसारणमा आएन । त्यसबीच नेपाल टेलिभिजन ‘एनालगबाट डिजिटल’ बन्यो । यसबीच पुस्तकको लेखक बिते । तर, अहिले उनी लेखक र टेलिभिजनको अधिकार लिएर फेरि मुमिनको ‘डिजिटल भर्सन’लाई नेपालमा ल्याउने तयारीमा छन् । नेपाल छाडेको २२ वर्षपछि आफ्नो देश फर्किएका दीपेन्द्र कोसेली बोकेर फर्किएका छन्, त्यो हो– केटी हराएको सूचना । फिचर फिल्म ‘केटी हराएको सूचना’ मा पहाडे र मधेशीबीचको विभेद उठाएका छन् । यही फिल्मसँगै नेपाल केन्द्रित गरेर उनले ‘ट्राइसिटी’ मार्फत थुप्रै प्रोजेक्ट बनाउने योजना बनाएका छन् ।
‘उजेली’पछि चर्चाको शिखर चुमेका उनी त्यतिबेला विकासे कामहरूकै कारण थुप्रै देश पुगे । नेपाल हुँदै एचआईभी रोगलाई लिएर ‘गुरु जी र अन्तरे’, ‘चेली रुँदै छन्, दलाल हाँस्दै छन्’ भन्ने शीर्षकमा चेलिबेटी बेचबिखनको विषय उठाए । यही विषयमा डकु–ड्रामा बनाइरहँदा बीबीसीको एक प्रतिनिधि ‘कुष्ठरोग’ को प्रोजेक्ट बोकेर उनीकहाँ आइपुगे । त्यतिबेला फिल्म स्कुलको अभाव देखेर साथीहरूसँग मिलेर एकवर्षे तालिमको योजनासहित आभास (एकेडेमी अफ अडियो भिज्वल आर्ट्स एन्ड साइन्स) खोलिसकेका थिए ।
आफ्ना विद्यार्थीहरूसँग मिलेर दीपेन्द्रले दुई महिनामा उक्त प्रोजेक्ट निर्माण गरे । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर ‘ओख्हो’ बनाए । ‘ओख्हो’ प्रसारण भएको एक महिनामै ६० हजारले कुष्ठरोग औषधि खाए । त्यसपछि बीबीसीको यस्तै विभिन्न विकासे प्रोजेक्टले दीपेन्द्र तान्जानिया, इथोपिया हुँदै कम्बोडिया पुगे । तीन वर्षको प्रोजेक्टका लागि कम्बोडिया पुगेका दीपेन्द्र २२ वर्ष उतै बसे । यसबीच कम्बोडियामा थुप्रै प्रोजेक्टमा काम गरे । उनी कम्बोडिया पुग्दा टेलिभिजन स्टेसन एउटै थियो । फिल्म स्कुल थिएन, अहिले पनि छैन । तर, दीपेन्द्र नै लामो समयदेखि फिल्म पढाउँदै आएका छन् । २०१५ मा बीबीसी छोड्नेबित्तिकै उनी कम्बोडियाको फिल्म विभागको सल्लाहकार बने ।
यसबीच उनले ज्याकी च्यानललाई लिएर एचआईभीसम्बन्धी विज्ञापन बनाए । तीन वर्षको प्रोजेक्टमार्फत कम्बोडियाको एचआईभी संक्रमण घटाउने जिम्मा पाएका थिए । ज्याकीलाई लिएर उनले दुईवटा विज्ञापन बनाए । दुईवटैमा ज्याकीलाई अंग्रेजीमा बोल्न लगाउन उनलाई हम्मेहम्मे पर्यो । ‘ज्याकीलाई त्यतिबेला अंग्रेजीमा विज्ञापन गराउन निकै गाह्रो भएको थियो । ज्याकीको त्यो विज्ञापन थुप्रै देशमा पठाइएको थियो । एचआईभीको संक्रमण त्यस्तै विज्ञापनमार्फत घटाउन हामी सफल भएका थियौं,’ दीपेन्द्र सुनाउँछन् ।
यसरी सञ्चारमार्फत ठूल्ठूला रोगसँग लड्ने सन्देश दिने विज्ञापनहरूमा दीपेन्द्र व्यस्त बने । कम्बोडियाको यस्तै व्यस्त जिन्दगीबाट एक वर्षको फुर्सद निकालेर दीपेन्द्र आफ्नो देश फिरेका छन् । ‘मलाई सबैले भेट्दा कहाँ हराइस् भन्थे, त्यसैले कामहरू गर्नकै लागि आएको छु । ट्राइसिटीमार्फत वर्षको ६ प्रोजेक्ट गर्ने योजना छ,’ दीपेन्द्रले भने, ‘अब म केही वर्ष नेपालमै केन्द्रित हुन्छु’ ।
