हाक्पारे–पालाम गाइरहने आमा

‘हाक्पारे’ लगायत लिम्बुवानका अन्य रैथाने गीत–संगीतलाई झुमा लिम्बूले आफ्नो गायकीमार्फत परिचित गराइरहेकी छन् । तर झुमाले गाउँदै आएको रैथाने संगीतमा उनकी आमाको सानो प्रभाव छैन । त्यसैले त आमा पनि संगीतको गुरु हुन् भन्ने लाग्छ, झुमालाई ।

जेष्ठ २२, २०८१

दीपक सापकोटा

Mother who sings Hakpare-Palam

काठमाडौँ — याक्थुङ लिम्बू समुदायको शास्त्र ‘मुन्धुम’ मा काव्यिक शैलीका आख्यान छन् । ती आख्यानलाई गायनमार्फत अभिव्यक्त गर्ने प्रचलनलाई लिम्बुवानमा ‘हाक्पारे’ भनिन्छ । त्यही ‘हाक्पारे’ लगायत लिम्बुवानका अन्य रैथाने गीत–संगीतलाई झुमा लिम्बूले आफ्नो गायकीमार्फत परिचित गराइरहेकी छन् ।

एक प्रकारले रैथाने संगीत र झुमा लिम्बू पयार्यवाची शब्दावलीका रूपमा स्थापित छ । तर, यो स्थापनाको पछिल्तिर सानोतिनो साधना छैन । र, गाउँदै आएको रैथाने संगीतमा उनकी आमाको सानो प्रभाव छैन । त्यसैले त आफ्नी आमा पनि संगीतको गुरु लाग्छ, झुमालाई ।

गैरलिम्बूलाई लाग्न सक्छ, हाक्पारे लिम्बुहरुको सबैभन्दा जेठो सङ्गीत कसरी बन्यो ? ‘फूङ तिअन्नामा शिर ढलेर अल्पिएपछि जब इक्सा खाम्बेक (ब्रम्हाण्ड) नै टक्क रोकिएको बेला मान्छेहरुले श्रृष्टि फेरि ब्यूँझाउन ‘हो’ मा ‘हो’ मिलाउँदै हाक्पारे गाउन थाले । भीर, पहरा, चट्टान र खोलानालामा त्यसको असर पर्न थाल्यो र हाक्पारे सुरु भयो,’ झुमा मिथकीय कथाको पोयो फुकाउँछिन् । हाक्पारे ‘एऽऽ’ भन्दै सुरु हुन्छ, उसैगरि ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । झुमा पनि एऽऽ भन्दै आमाको हाक्पारे–कथा सुरु गर्छिन् । लाग्छ, रैथाने संगीतालयकी एक गुरुले आफ्नो सर्वप्राचीन गुरुलाई लयबद्ध शब्दमा गाउँदै छिन् । 

मनसुनको स्वागतार्थ उभिइरहेको काठमान्डुमा झुमाकी आमा भने बदलिइरहने गाउँका ऋतुहरू र ग्रामीण सुगन्ध सम्झिन्छिन् । जब आफ्नो गाउँको स्मृतिले एकतमासको हुन्छिन्, उनका यादहरूमा आउजाउ गरिरहन्छन्– घरअघि उभिएको बूढो लप्सीको बोट, त्यही बोटमा बसेर भुर्रर उडिजाने चराहरू । झुमाकी आमा लक्षीमाया लिम्बू (८१) को जन्म–गाउँ ताप्लेजुङको तमोरखोला शिर (फक्ताङलुङ) मा मुन्धुमका अनेक कथा–मिथक सुनिन्थे । मुन्धुमका कथा कुनै साहित्यका तिलस्मी कथाभन्दा कम छैन । उहिले उहिले पृथ्वी सुन्दर बनाउन ईश्वरले आकाशमा जूनतारा टाँसे, पहाड, हिमाल, चरा र पशुहरू बनाए । रंगीन फूल–बिरुवा रोपे, तमोर, मैवा र थुप्रै खोलाहरू बनाए । कल्पनाशीलताले समृद्ध कति–कति कथा छन्, मुन्धुममा । 

गोठमा गाईबस्तु हेर्नु, साँझ खोलामा झर्नु, दुवाली छेक्नु र माछा मार्नु उनको तमोरखोला दैनिकी थियो । कञ्चनजंघा हिमाल जाने–आउने बाटो हो– फक्ताङलुङ गाउँ । हिउँदमा गोराहरू कञ्चनजंघाको उकालो उक्लिँदा तिनलाई हेर्न गाउँभरिका युवती भेला हुन्थे, तिनमा लक्षीमाया पनि हुन्थिन् । अहिले झुमालाई संस्मरण सुनाउँछिन्, ‘हिउँदमा आएका विदेशी गोरा हेरिरहुँ लाग्थे, हिमालतिरबाट फर्किंदा ती सिंगानै–सिंगानसहित गाला फुटेका हुन्थे ।’

सप्तकोशीमा मिसिने तमोरसँग लिम्बू–सभ्यताको गहिरो सम्बन्ध छ । फेदाङ्मा, साम्बा र येबाहरू कार्जेहरूमा मुन्धुम पढ्दा तमोर खोला किनारका आख्यानहरू सुनाउँछन् । मुन्धुम भन्छ– लिम्बू जातिको उद्भव ताप्लेजुङको तमोर नदी छेउछाउ हो । खोलाको लयसँगै तिलस्मी कथाहरू सुनेर हुर्केकी झुमाकी आमा बाबुबाजेबाट सुनेका तमोर खोलाका उत्पत्ति–आख्यान र मुन्धुम मिथकहरू छोरीलाई सुनाइबस्छिन् । उनी झुमालाई भनिरहन्छिन्– म त तमोरको मूलको पानी खाएको मान्छे पो । मान्छेले तमोरभन्दा पनि लामो सोच्नुपर्छ, मान्छेको आयु थाहा हुँदैन । जति लामो सोच्यो, जिन्दगी उति नै लामो हुन्छ ।’

उनी जन्मेको तमोर खोला उस्तै छ, मात्र बदलिन्छन् ऋतुहरू र त्यो बाटो ओहोरदोहोर गरिरहने मान्छे । लक्षीमायालाई पनि तमोर छोडेर बिहे गरि टाढाको गाउँ पुगेको कथाको सम्झना मुन्धुमजत्तिकै पुरानो लाग्छ । निख्खुर लिम्बू गाउँमा जन्मेकी उनकी आमा बिहे गरेर घरदेखि तीन दिन टाढाको बाहुनहरूको बस्ती ताप्लेजुङकै ढुंगेसाँघु–मैवाखोला पुगिन्, १५ वर्षकै उमेरमा । ९ वर्ष जेठा श्रीमान् मानबहादुर लिम्बूसँग बिहे गरेपछि मात्रै उनले पहिलोपल्ट बाहुन–अनुहार देखिन् । खस नेपाली भाषा कहिल्यै नसुनेकी/नबोलेकी उनी बिस्तारै त्यस भाषामा अभ्यस्त हुन पुगिन् । 

झुमालाई लाग्छ, गाउँका आमाहरू तुम्याङहाङ हुन् । तुम्याङहाङहरूसँग मुन्धुमको सबै ज्ञान हुन्छ । फेदाङ्माले ठीकसँग मुन्धुम भने/भनेनन्, त्यो जाँच्ने काम तुम्याङहाङको हो । लक्षीमाया घर–गृहस्थी, बिहेवारी र जीवनशैलीका विषयमा विमर्श हुँदा तरुल, बाँसका कुरा गरिरहन्छिन् । ‘मुन्धुमअनुसार बाँसबाटै मान्छेको जीवन सुरु हुन्छ र अन्त्य पनि । मुन्धुममा पहिलो घर नै बाँसको बनेको थियो,’ झुमा मुन्धुमी दर्शनतिर पस्छिन्, ‘आमालाई के भन्दै छु थाहा हुन्न सायद । तर, मुन्धुमअनुसारै चल्नुहुन्छ उहाँ । 

उहाँहरूको जीवनशैली मुन्धुमी हो । आमाहरू मुन्धुमी गीत–संगीतलाई आत्माका रूपमा लिन्छन्, मचाहिँ पेसाका रूपमा ।’ 

Mother who sings Hakpare-Palam

संगीतबिना कुनै कार्जे सम्पन्न नहुने समुदाय–संस्कृतिमा हुर्केकी लक्षीमाया गाउँमा हाक्पारे गाउँथिन् । लिम्बू संस्कृतिमा हरेक कार्जेलाई संगीतले उठाउनुपर्छ, संगीतले नै बिट मार्नुपर्छ ।

झुमाको स्मृतिमा अझै थपक्कै बसेको छ– जेठो दाजुको छोरी जन्मेपछि नानीलाई कोक्रोमा हल्लाउँदै आमाले गाएको लोरी । सानी झुमाले पहिलो पटक आमाले गाएको गीत सुनिन्– बच्चालाई सुताउने गीत । उनलाई थाहै थिएन, आमा गाउँछिन् पनि । ‘आमाको घाँटी चलाउने शैली थाहा छ तर गाउन सक्दिनँ, त्यो ज्ञान आमाहरूमै सीमित छ । आमा गोठाला गर्दा बिनायो खिप्नुहुन्थ्यो, बजाउनु पनि हुन्थ्यो । नबुझे पनि आमाले गाएको सुन्दा बडो आनन्द लाग्थ्यो,’ झुमा भन्छिन् । जस्तो ‘मेरी आमा गज्जब गीत गाउनुहुन्छ’ भन्ने झुमालाई लागेको केही बेला छ– गाउँको बिहे–बर्खान्तमा उनले गाएको हाक्पारे सुनेपछि । ‘रातैभरि गाउनुभएको थियो आमाले । त्यसबेला गाउँभरिका महिलाहरू रोएका थिए । मैले बुझिन गीत तर त्यो आमाको भाका सधैं सम्झना आउँछ ।’ आमाको जीवन, मुन्धुम, गाउँका गीत, ऋतुहरूको सम्झनाले झुमा घेरिन्छिन्– तिनै लप्सीको बोट, तमोर खोला, फेदाङ्मा र मुन्धुमी कथाहरू नै त हुन् मेरी आमाका लामो जीवन र उकाली–ओरालीका साक्षी । 


नेपाली मूलधारको संगीत ‘रवीन्द्र संगीत’ बाट बढ्ता प्रभावित छ भन्ने आरोप खेपिरहेको समयमा झुमाले आफ्नै वरिपरि, आफ्नै सभ्यता र संस्कृति कहने र आफ्नै माटोको सुगन्ध छर्ने संगीत–गायकीलाई प्राथमिकतामा राखेकी छन् । उसो त झुमा स्वयं पनि लोक आधुनिक गीतको बजारमा हेलिइसकेकी थिइन् । तर, उनी कसोकसो रैथाने मार्गमा फर्किन् । र, आफैंलाई खोज्न थालिन् । आफू र आफ्नो समुदायलाई रैथाने धुनमै भेटिन् । उनको कार्य मौलिक, रैथाने र उम्दा देखिएको छ । यो उम्दापनमा नेपाली संगीतभित्रको ठूलो विविधता झल्किएको छ ।

गायन–साधनाबीच झुमाको अर्को परिचय थपिएको छ– लोपोन्मुख सांस्कृतिक परम्परा, बाजागाजा, संगीतमाथिको खोज–अनुसन्धान र संरक्षण । पूर्वी नेपालको एक गाउँमा ४ महिना बसेर उनले खमारीको काठ, गोरुको छाला प्रयोग गरी एक मौलिक बाजासहित ८ थरी र कुल २३ वटा बाजा बनाइन्– ढेला । झुमाले मुन्धुमसम्बन्धी म्युजिकल डकुमेन्ट्री ‘साम्सोघा मुन्धुम’ पनि निकालेकी छन्, जहाँ छ– जिउँदा मान्छे र आत्माको संवाद । ‘ए साइँला,’ ‘खास्साम’, ‘साउन्ड्स अफ मुन्धुम’, ‘अम्बर संगीत’ उनका अन्य एल्बम हुन् । हाक्पारे, पालाममार्फत झुमा यो सहरलाई निरन्तर सुनाइरहेकी छन्– मुन्धुमको कथा । हाक्पारेमा युवती, यौन र फूलको चर्चा छ । 


झुमाकी आमाको जीवन–कथामा केवल गीत र रमाइलो छैन, पीडा र दुःखका मध्यान्तर पनि छन् । कति छन् वेदना र दुःख ? हिसाब–किताब छैन । उनीभित्रका थुप्रै रहरका फूल ओइलाई झरे ।  छोराहरूको मृत्युको साक्षी बसिन् । एकान्तले उनलाई अत्याइरह्यो । र, कुनै बेला लाग्यो पनि– सारा कुराहरू मरेका छन्, मै पनि मरिसकेकी छु । यस्ता वेदनाका अनुभव–अनुभूतिले उनलाई ‘जीवन बाँच्नु रंगहीन यात्रामा हिँडिरहनु हो’ भन्ने बोध पनि गरायो । 

बिहेपछि लक्षीमायालाई बिरानो मैवाखोलामै छाडेर ब्रिटिस लाहुरे श्रीमान् मानबहादुर लिम्बू पल्टन (हङकङ) हिँडे, छुट्टीमा देश आउँदा बिहे गरेर । लामो समयपछि श्रीमान् छुट्टीबाट घर आउँदा पनि लक्षीमाया बोल्न लजाइन् । ‘५/६ वर्षसम्म त बोलचालै भएन नि, आँटै आएन । धेरैपछि मात्रै पो बोलचाल भयो,’ झुमालाई आमाले जवानी कथा सुनाएकी थिइन् । मानबहादुरले लक्षीमायालाई हङकङ लिएर गए । ३ वर्षपछि देश फिर्दा उनको काखमा थिए– एक छोरा, एक छोरी । लक्षीमायाका ८ सन्तान भए– ५ छोरा, ३ छोरी । झुमा कान्छी हुन्, उमेरमा दाजु–दिदीभन्दा १५/१६ वर्ष फरक छ । ब्रिटिस लाहुरेबाट रिटायर्ड भएपछि मानबहादुर निकै बिरामी परे । घरमा धामी–झाँक्रीको ढ्याङ्ग्रो नियमित बज्थ्यो । महिनौंसम्म धरानको घोपा क्याम्पमा पनि उपचार गरियो । श्रीमान्को उपचारमा लक्षीमायाको ताप्लेजुङ–धरान ओहोरदोहोर बढिरह्यो । 

झुमा जन्मिँदा त्यो सम्पन्न लाहुरे–घरमा गरिबी र दुःखको अग्लो पहाड ठडिइसकेको थियो । श्रीमान् वर्षौं बिरामी परेपछि आमा लक्षीमायालाई त्यो व्यावहारिक भार थाम्न निकै सकस भयो । लाहुरबाट फर्किंदा ५०–६० तोला सुन र १८–२० जना भरियालाई सामान बोकाएर घर पसेकी उनी दुःखहरूले गलिसकेकी थिइन् । झुमाले थाहा पाउँदा उनकी आमासँग २/३ तोला मात्रै सुन बाँकी थियो, घर व्यवहारकै लागि बेचेकी थिइन् । बरु लिम्बूहरू जग्गा–जमिन बेच्लान्, हत्तपत्त सुन बेच्दैनन्, सुन बेच्नुलाई घरको सह र लच्छिन गएको सम्झिन्छन् । 

अन्ततः मानबहादुरले ०४९ सालको एक हिउँदमा अन्तिम सास फेरे, ५९ वर्षको उमेरमा । त्यसबेला झुमा ९ वर्षकी थिइन् । झुमाको स्मृति–तन्द्रामा पिताको सास गएको त्यो दिन आउजाउ गरिरहन्छ । आँगनको कुनामा बूढो लप्सीको बोटछेउ ढ्याङ्ग्रो ठटाउँदै धामी के–के फलाकिरहेका थिए । त्यो साल गाउँमा रूढी र झाडापखालाले ३० भन्दा बढी मानिस बितेका थिए । बा के रोगले बिते झुमालाई थाहा छैन तर आमा ठूलो आवाजमा कोकोहोलो गर्दै रुँदै–कराउँदै आँगनमा मूर्छा परेको झुमा सम्झिन्छिन् । त्यसपछि सबैको चर्को डाँको सुनियो । 

श्रीमान्को निधनपछि लक्षीमायाको ४/५ महिना रोएरै बित्यो, खाना पनि खाइनन् । झुमाका अनुसार, त्यसपछि उनी रोगी पनि भइन् । ‘खस्किनुभो, गोरी आमाको अनुहार चाउरी पर्न थाल्यो, त्यसमाथि भार थियो छोराछोरीको,’ झुमा भन्छिन् । बिस्तारै छोराछोरीले पनि पखेंटा हाले, लक्षीमाया झन् एक्लिइन् । र, उनी बरोबर बिरामी पर्न थालिन् । श्रीमान् वियोग मात्रै होइन, वियोगका शृंखला नै छन् लक्षीमायाको जीवनमा । 

एक वर्षअघि मात्रै लक्षीमायाको ५४ वर्षे माइलो छोरा हिँडे कहिल्यै नफर्किने यात्रामा, डेंगु भएर । अस्पतालमा छोरा बितेको खबर आमालाई सुनाउने आँट कसैले गरेन तर उनले त्यसबेला थर्रर काँपेको र सुसाएको मसिनो आवाजमा झुमालाई सोधेकी थिइन्– तेरो दाजु बोल्छ कि बोल्दैन हँ ? तर, अन्तिममा खबर त दिनु नै थियो । छोराको मृत्युपछि आमाले आफूलाई सम्हाल्नै सकिनन् । अचेत भइन्, मस्तिष्कले काम नगरेजस्तो अवस्थामा पुगिन् । छोरीहरूलाई सोधिरहिन्– ‘म कहाँ छु ?’ अनि ‘तँ को होस् ?’ 

चार महिनाजति बेहोस भइन् । दिमागले काम नगरेजस्तो बर्बराइरहिन् । भनिरहन्थिन्– मैले टेकेको माटो धस्सियो । त्यो वियोगले उनलाई असाध्यै तनाव दियो । घरमा डाक्टर राखियो । अहिले तंग्रेकी छिन्, थोरै हाँसेजस्तो गर्छिन् । त्यसअघि पनि उनका दुई छोरा बितेका थिए– कान्छो ०३६ मा ६ वर्षको उमेरमा र काइँलो छोरो ०४२ मा १३ वर्षको उमेरमा । झुमा झस्किन्छिन् बेलाबेला– छोराहरूको अल्पायुको शोक थेगेर कसरी बाँचिन् आमा ?

यसरी उनका ३ छोरा बिते । तर, ‘म खुसी छु’ भन्ने देखाउँछिन् नातिनातिनासँग । नातिनातिनालाई कथा सुनाउँछिन्, आफ्नो समयको । झुमाले देखेकी छिन्– छोराछोरी–श्रीमान् बितेपछि गाउँका धेरै महिला सुर्ती–रक्सीको लत बनेको । तर, उनकी आमालाई त्यस्तो भएन, खुट्टा कमाइनन्– छोराछोरी र खेतीपातीमा आफूलाई व्यस्त बनाइन् । बाल्यकालको आमा–चित्र झुमाको मस्तिष्कमा यस्तो छ– पश्चिम कुनामा बसेर चुलोमा भात पकाइरहेकी आमा र छेउमै बिरामी बुबा वा बेलाबेला तोङ्बा तानिरहेकी आमा । 

झुमा जन्मिँदा उनकी भाउजू घर भित्रिइसकेकी थिइन् । ‘सुत्केरीले दह्रो खानुपर्छ’ भन्थिन् लक्षीमाया । र, बुहारीलाई सुत्केरी जाँड–तोङ्बा–मरमसलासहितको मासु खान कर गर्थिन् । बुहारी गर्भवती हुँदा घरमा पूजा–अनुष्ठान गरिन्थ्यो– सापोक चोमेन । गर्भ रहेको थाहा पाएपछि लक्षीमाया जाँड पकाउँथिन्– मसला हालेर, घ्याम्पोमा हाल्थिन्, माटोले लिपेर जमिनमा गाड्थिन् । बच्चा जन्मेपछि मात्रै त्यो घ्याम्पो खोलिन्थ्यो र सुत्केरीलाई खुवाइन्थ्यो । आजकल लक्षीमाया आफूले हुर्काएका तिनै नातिनातिनामाथि खुब गर्व गर्छिन्– ‘मेरा १४ नातिनातिनाले राम्रो पढेका छन्, स्वस्थ छन् ।’ प्रायः धरान बस्छिन् छोराहरूसँग । 

अहिले झुमासँग काठमाडौं छिन् । ढाडको बिरामीले ओछ्यान परेकी छन् । 


झुमाको गाउँमा अनेक जातजातिको सांस्कृतिक मिश्रण थियो । घर मास्तिर थियो– तामाङ गाउँ, जहाँ जुहारी चल्थ्यो बिहे–बटुलमा बलिष्ठ केटाहरूबीच । ‘धान नाच’ त सामान्य–चर्या भइहाल्यो । यस्तो माहोलमा हुर्केकी झुमा स्कुलमा गीत गाउँथिन्, नाच्थिन् । आमासँग ‘म गीत गाउँछु’ भन्थिन् । आमा हाँसेरै उडाउँथिन् । भन्थिन्– तेरो आवाज नै राम्रो छैन, कसरी गाउँछेस् ? बरु जागिर पाउने काम गर् नानी । तेरो दाजु पढेर हेडमास्टर भयो ! तर, झुमालाई ‘स्वर त साधना गर्दा बन्छ’ भन्ने लाग्थ्यो । एसएलसीपछि उनी गाउँबाट धरान झरिन्, महेन्द्र बहुमुखी क्याम्पसमा ११ कक्षा भर्ना भइन्, सरमग संगीत स्कुल पनि । केही पछि एल्बम रेकर्ड गराइन्– ‘माया दौंतरी’ । 

Mother who sings Hakpare-Palam

काठमाडौं जान दिइनन् आमाले । ढाँटेरै हिँडिन्– ‘स्वर परीक्षा दिएर फर्किहाल्छु’ भनेर । र, पढ्न थालिन्– संगीत स्कुल ‘डोरेमी’ मा । पछि संगीत गुरु चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय संगीत सिकिन् १० वर्षजति, अम्बर गुरुङसँग आधुनिक र काठमान्डु युनिभर्सिटीमा पढिन्– म्युजिकोलोजी । आफ्नो ‘म्युजिक करिअर’ र ‘आमाको जिन्दगी’ मा केही संयोग छ भन्ने लाग्छ झुमालाई । त्यस्तो लाग्नुको कारण छ । ०६० तिर एक लाख ऋण लिएर झुमाले ‘ए साइँला’ एल्बम रेकर्डिङ गराउँदा आमा बिरामी परिन्, घोपा क्याम्पमा भेन्टिलेटरमै बसिन् । ‘खास्साम’ एल्बम रेकर्डिङ हुँदा आमाको खुट्टा भाँचियो । ‘साउन्ड्स अफ मुन्धुम’ रेकर्डिङ गर्न झुमा लन्डन पुगिन्, त्यसबेला आमा असाध्यै बिरामी भइन्– धरानबाट हेलिकोप्टरमा काठमान्डु ल्याउनुपर्‍यो । ‘अम्बर संगीत’ रेकर्डिङ थाल्दा आमा लिभर सिरोसिसले थलिइन् । र, ‘साम्सोघा मुन्धुम’ डकुमेन्ट्री बनाउँदा माइला दाजु बिते । तर, तनावबीच पनि उनका सबै एल्बम सफलै भए । ‘मेरा हरेक गीत–संगीत रेकर्ड हुने बेला आमा इन्तु न चिन्तु हुनुहुन्छ,’ झुमा सुस्केराले बोल्छिन्, ‘म अन्धविश्वासी त होइन तर बेलाबेला लाग्छ– मेरो म्युजिक करिअरले मेरो परिवारलाई नराम्रो गरेको हो कि ?’


झुमाको बुझाइमा नेपालका आमाहरू दुःखहरूका चाङले थिचिएका छन् तर ती सबै पन्छाएर अघि बढ्ने हिम्मत पनि तिनमा छ, आफ्नी आमाको झैं । भन्छिन्, ‘मेरी आमा जिम्मेवार आमा हुनुहुन्छ । त्यत्रो तनावबाट गुज्रेर पनि बाँच्नुभयो ।’ आमाबाट उनले सिकेको महत्त्वपूर्ण पक्ष हो– सहनशीलता । झुमाको गीतको पहिलो श्रोता उनकी आमा हुन् । तर, गीत सुने पनि कुनै प्रतिक्रिया दिन्नन् उनी । 

झुमा नहुँदा आफ्ना साथी वा आफन्तसँग भन्छिन् रे– ‘मेरी छोरीले त यस्तो गीत गाएकी थिई ।’ झुमाको डिभोर्स हुँदा पनि लक्षीमायालाई चिन्ता भएन । सोधिन्– ‘अब के गर्छेस् नानी ? फेरि बिहे गर्छेस् ?’ फेरि आफैं भनिन्, ‘नगर् हौ, बिहेले खुट्टा मात्रै बाँध्छ । एक शोक, एक भोग बाँच्ने बानी भइस्, तँलाई कसैले पाल्नु पनि पर्दैन, बालबच्चा हुन्छन्, अल्झाउँछन् मात्रै ।’ छोरीहरू ‘स्वतन्त्र बाँचून्’ भन्ने चाहन्छिन् लक्षीमाया ।

Mother who sings Hakpare-Palam

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully