सधैं एकान्तमा नवीन के

पचासको दशकमा साँझपख..., सम्झना तिम्रो..., आँखामा तिमीलाई... जस्ता चर्चित गीत–संगीत सिर्जना गरेर नवीन के भट्टराईले लाखौं युवाको मुटुलाई तरंगित बनाएका थिए

चैत्र ८, २०८०

स्वरूप आचार्य

What's always new in solitude

काठमाडौँ — मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।

दाह्री त फुल्न थालेछ नि भन्ने प्रश्नमा नवीनको सोझो जवाफ थियो, ‘फुल्नै पर्‍यो नि । अस्ति मार्च १४ बाट जीवनको आधा शताब्दी पनि त पार गरें ।’ आखिर आधा शताब्दी पार गर्दा उनलाई जीवनले के सिकायो त ? उनको छोटो प्रत्युत्तर थियो, ‘मैले आफूसँग भएका कुराबाट खुसी हुन सिकें ।’

डिल्लीबजारमा जन्मिएका नवीनको अधिकांश बाल्यकाल बानेश्वर हाइटमा रहेको मामाघरमै बितेको थियो । खाद्य संस्थानमा काम गर्ने बुबाको समय–समयमा भइरहने सरुवाका कारण बूढानीलकण्ठ स्कुलमा पढेका नवीन प्रायः मामाघरमै बस्थे । ‘पारस शाह, स्वर्णिम वाग्ले मेरा सहपाठी हुन्,’ उनले भने, ‘त्यतिबेला म धेरै फुटबल खेल्थें । संगीतभन्दा बढी मेरो सोख खेलकुदमा थियो ।’

१० कक्षामा पढ्दाताका नै उनलाई संगीतमा धेरै रुचि बढ्न थालेको हो । खेलकुदसँगै संगीतमा किन रुचि बढ्यो उनी भन्न सक्दैनन् । ‘गितारमा अलिअलि कर्ड बजाउन आउँथ्यो । त्यतिबेला गन्स एन्ड रोजेस, मेटालिकाको युग थियो,’ उनले भने, ‘खै, त्यहाँबाट बिस्तारै गीत–संगीतमा रस बढ्दै गयो । सोखबाट सुरु गरेको यो यात्रा कसरी यहाँसम्म आइपुग्यो, थाहै पाइनँ ।’

कक्षा १० मा टाङटाङ–टुङटुङ गितार बजाएर पिंक फ्लोइड र गन्स एन्ड रोजेसका गीत इमिटेट गर्दै गर्दा आईएस्सी पढ्दा टोलका युवकहरूसँगै मिलेर ‘द स्टिल विल्स’ भन्ने ब्यान्ड नै बनाएको उनी सम्झिन्छन् । ‘केटाहरूले तिम्रो आवाज राम्रो छ तिमी भोकलिस्ट बन भने,’ उनले सम्झिए, ‘त्यस बेलामा इमिटेसन मात्रै थियो । तर मेरो पहिलो पर्फमेन्स स्वर्गीय राजा वीरेन्द्रको अगाडि थियो । बूढानीलकण्ठ स्कुलका पूर्वविद्यार्थीहरूको एउटा संगठन थियो । त्यसले गरेको कार्यक्रममा मैले एकेडेमीमा पहिलोपटक औपचारिक रूपमा स्टेजमा पर्फम गरेको थिएँ ।’

What's always new in solitude

नेपाल साइन्स क्याम्पसबाट आईएस्सी पूरा गर्दा नगर्दै उनी संगीतको बाहुपाशमा परिसकेका थिए । अमेरिकी विश्वविद्यालयबाट आई–२० पाएपछि उतै जाने तयारी गरिरहेका नवीन कसरी नेपालमै अडिए त भन्ने कथा त्यसैको प्रमाण हो । ‘घट्टेकुलोमा धाप भन्ने ठाउँ थियो । हामी त्यहाँ क्रिकेट खेल्थ्यौं । एक दिन क्रिकेट खेलेर फर्किएपछि त्यसै पल्टिरहेको थिएँ । कताकताबाट मनमा के–के कुरा खेल्यो । ‘आँखा तिमीलाई पाउँछु म धेरै धेरै’ भन्ने हरफ आयो । केटाहरूलाई सुनाउन पनि लाज लाग्यो । काकाको छोरा सम्बित भट्टराईलाई त्यसलाई पूरा गर्न दिएँ । त्यसपछि कम्पोज गरेर त्यत्तिकै राखें,’ उनले भने, ‘पछि मामाघर गएका बेलामा बहिनीहरू र मामालाई सुनाएँ । मामाले रेकर्ड गर भनेर पैसा दिनुभयो । अनि रेकर्ड गराएँ ।’

उनका अनुसार त्यो समयमा गीत रेकर्ड गर्न १५ सय रुपैयाँ जति लाग्थ्यो । उनलाई मामा किशोर बाँस्कोटाले २५ सय रुपैयाँ दिएका थिए । ‘अहिलेजस्तो डिजिटल सिस्टम थिएन । एनलग सिस्टमबाट टेपमा रेकर्ड गरिन्थ्यो । रेकर्ड गरेपछि एफएमहरूलाई दिएँ । तर कसैले बजाएनन्,’ उनले त्यतिबेला गीत बजाउन हुने कठिनाइबारे सुनाए, ‘पहिलोपटक कान्तिपुर एफएममा दिनेश डीसी दाइले बजाउनुभयो । त्यसपछि प्रनिलले मेरो घर खोज्दै आएर त्यो गीत हिट्स एफएमबाट बजाउन माग्यो । त्यसपछि बिस्तारै यो गीत हिट भयो ।’

उनका अनुसार पिंक फ्लोइड र स्याबोथ सुनेर लामो कपाल पालेर हर्ड रक बजाइरहेका बेला एक जना साथीले दार्जिलिङका सुरेशकुमार क्षेत्रीको गीत सुनाएपछि भने उनको संगीत सुनाइ र गवाइको बाटो मोडिएको थियो । ‘आँखामा तिमीलाई’ हिट भएपछि नवीनको औपचारिक संगीत यात्रा सुरु भयो । उनलाई आफू धार्मिक स्वभावको नलागे पनि त्यो पहिलो गीत भने भगवान्ले नै उपहार दिएजस्तो लाग्छ । ‘मलाई त्यतिबेला मदर नेचरले नै गरी खा भनेर दिएको हो जस्तो लाग्छ । किनभने, त्यो आत्मादेखि नै आएको धुन थियो । संगीतको कुनै ज्ञान थिएन । त्यत्तिकै बोलहरू मनमा आए, धुनमा गुनगुनाएँ । भाइले गीत पूरा गर्‍यो । हार्मोनियम माइलाले संगीत संयोजन गरिदिनुभयो । र, गीत तयार भयो,’ उनले भने, ‘त्यसपछि हो मैले संगीत पढ्ने निर्णय गरेर काठमाडौं विश्वविद्यालयमा भर्ना भएको ।’

दोस्रो गीत ‘सम्झना तिम्रो’ भने दबाबै दबाबका बीच बनाएको उनले बताए । ‘एउटा गीत हिट भएपछि सबैले अर्को गीत कहिले आउँछ भन्न थाले । ‘सम्झना तिम्रो’ पनि एक हरफ लेखेर कम्पोज गरेर राखेको थिएँ । स्टुडियोमा संयोजन भइरहँदा अर्को कोठामा बसेर त्यो गीत पूरा गरेर दिनभरिमा रेकर्ड गरेर बेलुका त एफएमहरूलाई क्यासेट दिइसकेको थिएँ,’ उनले भने, ‘त्यो धुन र शब्द कसरी आयो म भन्नै सक्दिनँ ।’ त्यसपछिको अर्को गीत थियो– साँझपख एकान्तमा... ।

What's always new in solitude

नवीनका तीनवटै गीत ब्याक टु ब्याक हिट भए । तर त्यतिबेलासम्म उनमा संगीतको औपचारिक ज्ञान भने थिएन । तैपनि, उनले सिर्जना गरेका संगीतले लाखौंको मुटुलाई तरंगित बनाइरहे । उनी त्यसलाई प्राकृतिक कला भन्न रुचाउँछन् । ‘मैले सोफामा, पलङमा पल्टिएर बनाएको गीतमा मान्छेले आफूलाई रिलेट गरेको देख्दा अहिले पनि अजीव लाग्छ,’ उनले भने । नवीनको भनाइमा संगीत पढ्न थालेपछि आफूले बनाएर गाएका गीतहरूलाई सैद्धान्तिक रूपमा विश्लेषण गर्दा कुनै कमजोरी देखिएन । त्यसलाई उनी प्रकृतिले माध्यम बनाएर धुन सिर्जना गराएको प्रमाणका रूपमा बुझ्छन् । ‘आत्माबाट आएको धुनलाई तिखार्नका लागि सैद्धान्तिक ज्ञानले सहयोग गर्दो रहेछ । मलाई अहिले पनि त्यही लाग्छ । सैद्धान्तिक रूपमा जोडघटाउ गरेर बनाएको धुन प्राविधिक रूपमा त उत्कृष्ट होला । तर, त्यसमा आत्मा हुँदैन,’ उनले भने, ‘संगीत भनेको आत्माकै झन्कार हो । त्यो प्रकृतिले नै दिनुपर्छ । त्यसमा दुईमत छैन ।’

प्रकृतिको सिद्धान्तलाई सबैले मान्नैपर्ने धारणा राख्ने नवीन संगीतको सिद्धान्तलाई भने आफ्नो हिसाबमा चलाउन पाइने बताउँछन् । ‘मेरो ३० वर्षको अनुभवमा प्रकृतिको सिद्धान्त अडिग हुन्छ तर संगीतका सिद्धान्त भनेको बहुआयामिक हुन्छन्,’ उनले भने, ‘त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सर्जकको प्रेरणा, ज्ञान र अनुभवमा भर पर्छजस्तो लाग्छ ।’

गानामा मिठास ल्याउनका लागि हरेक हरफको अन्तिममा हुने स्वर शब्द वा ‘भवेल’ लाई ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘हरफको अन्तिम शब्द पुरुष हो कि महिला याद गर्नुपर्छ । त्यहीअनुसार कुन शब्दलाई कुन तरिकाबाट गाउने भनेर सोच्यो भनेर मेलोडी सुनिन्छ,’ उनले आफ्नो अनुभव सुनाए । उनका अनुसार काठमाडौं विश्वविद्यालयमा पढ्दै गर्दा उनले संगीत प्रवीण नरराज ढकालका छोरा प्रभुराज ढकालसँग शास्त्रीय संगीत सिके । डा. ग्रेट म्याथससँग पश्चिमा संगीतको ज्ञान लिए र गितार बजाउन भने ड्यानियल बर्जसँग सिके । ‘म अहिले पनि हरेक दिन बिहान रियाज गर्छु । गुरुले त्यतिबेला क्यासेटमा भरेर दिएको तानपुराको रेकर्डिङलाई मैले डिजिटाइज गरेको छु । त्यसैमा रियाज गर्छु,’ उनले भने, ‘युवा हुँदा त आफूमा भएको इनर्जीले नै पनि गाउन सकिने रहेछ । तर, अहिले उमेर भएपछि रियाजले नै गर्दा सजिलो बनाउने रहेछ । त्यसैले रियाज त गर्नुपर्छ । मनमा भएको तरंगलाई बाहिर सरल तरिकाले गाउन रियाज चाहिन्छ ।’ उनी आफूलाई राग भूपाली र यमन मन पर्ने बताउँछन् ।

What's always new in solitude

आजको दिनमा भारतीय संगीत विश्वभर नै यति धेरै रुचाइनुमा उनीहरूले संगीतमा प्रयोग गर्ने रागले गर्दा नै भएको नवीनको तर्क छ । ‘भारतीयहरूले रागलाई कमर्सियल्ली कसरी प्रयोग गर्ने भन्ने सिकिसकेका छन् । हामीकहाँ त्यो छैन । राग भन्यो भने राग नै मात्र गाउँछन् र मोडर्न भन्यो भने पूरै पश्चिमा मात्रै हुन्छ,’ उनले भने, ‘उनीहरूले रक–पपमा पनि रागको प्रयोग गर्न सिकेका छन् ।’ उनका अनुसार कुनै पनि प्रकारको संगीतलाई शास्त्रीय रागको जगमा बनाउन सके त्यो धेरै युगसम्म बाँचिरहन्छ । ‘मेरो ‘रात बित्यो हेर तिमीलाई सम्झेर’ गीत राग भूपालीमा आधारित छ,’ उनले भने, ‘त्यसमा अन्य गीतभन्दा छुट्टै मिठास पाउँछु ।’ उनका अनुसार नेपाली संगीतमा कसैको नक्कल गर्ने स्वभाव अलि बढी हाबी भएजस्तो आफूलाई लागेको उनी बताउँछन् ।

‘सुरु सुरुमा त्यस्तै हो । सबैतिरबाट हेर्‍यो, सुन्यो, टिप्यो । अनि त्यसमा अलिकति आफ्नो स्टाइलको रंग भर्‍यो,’ उनले भने, ‘तर, पछि अनुभव बढ्दै गएपछि आफैंलाई ग्लानि हुन्छ । मलाई त्यस्तो लाग्छ ।’ सर्जकले सबै ठाउँको सबै प्रकारका संगीतहरू सुन्नुपर्ने नवीन बताउँछन् । उनका भनाइमा विभिन्न प्रकारको संगीत सुनेपछि नै सर्जकलाई सिर्जना गर्न प्रेरणा मिल्छ । ‘कसैको नक्कल गर्ने भनेको होइन । तर, जति धेरै संगीत सुन्यो त्यति नै दायरा फराकिलो हुँदै जान्छ र मन, मस्तिष्क र आत्मालाई धुन सिर्जना गर्न सहज हुन्छ,’ उनले भने । उनका भनाइमा कुनै पनि सर्जकले सिर्जना गर्दा आफ्नो त्यो कला एउटा युगका लागि समर्पित गर्ने उद्देश्यका साथ गर्नुपर्छ । ‘आफूले बनाएको संगीत होस्, चित्रकला होस्, कविता होस् त्यो युगका लागि वा आउने युगका लागि उपभोग्य हुन सक्ने स्तरको छ या छैन भनेर प्रश्न गर्नुपर्छ,’ उनले भने, ‘त्यो प्रश्नको सही उत्तर आफूले आफैंलाई दिन सक्नु नै सच्चा सर्जकको अब्बल हुनुको प्रमाण हो । आफैंलाई ठगेर कला सिर्जना हुँदैन । कलाले सधैं कुराउँछ, धैर्य हुन सिकाउँछ । जसले धैर्य गर्न सक्छ, ऊ अगाडि बढ्छ ।’

कला जीविकोपार्जनको माध्यम भए पनि त्यसलाई सर्जकले व्यापारिक वस्तुमा मात्रै सीमित गर्न नहुने नवीनको भनाइ छ । ‘त्यही कला अमर र कालजयी हुन्छ, जसमा आत्मा हुन्छ,’ उनले भने, ‘नभए त विश्वभरमा कति धेरै संगीत बनिरहेका हुन्छन्, ती सबै अमर हुनुपर्ने हो नि ।’ कलाकार आफ्नो कलाप्रति सन्तुष्ट छ भने उसले कहिल्यै दुःखी हुनु पर्दैन । ‘संगीतमा लागेकामा मलाई कुनै पछुतो छैन र मैले गरेको काममा गुनासो पनि छैन । त्यसैले म खुशी छु,’ उनले भने, ‘मेरा त्यतिबेलाका धेरै सहकर्मी यो क्षेत्रमा अहिले छैनन् । उनीहरूको आफ्नो गुनासो र संघर्ष छ । म जे छु ठीक छु ।’

अहिले प्रविधिले संगीत सिर्जनालाई पहिलेको तुलनामा सहज बनाए पनि त्यसले आत्मीयभाव भने भर्न सकिरहेको छैन । ‘अहिले पनि महँगोभन्दा महँगो रेकर्डिङ एनलग प्रणालीको भल्बमा हुन्छ । त्यसमा मिठास जीवित रहन्छ,’ नवीले भने, ‘सबै डिजिटाइज हुँदा सुन्दा राम्रो सुनिए पनि त्यसले मनलाई छुँदैन ।’

अहिले संगीत एउटा कोठामा सिर्जना गरेर त्यहीँबाट सार्वजनिक गर्न सजिलो छ । त्यो संगीतमा मिठास पनि छ तर शाब्दिक रूपमा भने ती मृतप्रायः छन् । ‘मैले सबैको भनेको होइन । तर कुनै गीत सुन्दा शब्दकोश नै अगाडि लिएर बस्नुपर्ने अवस्था पनि हुनु हुँदैन,’ उनले भने, ‘त्यही गीत हिट हुन्छ, जसको शब्द, संगीत र गायकी नदीजसरी बगिरहेको हुन्छ ।’ कला कहिल्यै स्थिर नहुने नवीनको तर्क छ । ‘पानी पनि धेरै समय स्थिर भयो भने गनाउन थाल्छ । त्यसैले कुनै पनि कला स्थिर हुनु हुँदैन । तर कहाँ कतिखेर ठहराव चाहिन्छ, त्यो भन्ने हेक्का राख्नुपर्छ ।’

What's always new in solitude

१५ वर्षपछि नवीन पुनः अमेरिका यात्राको तयारीमा छन् । अहिलेको जेनेरेसनलाई आफ्नो सिर्जना सार्वजनिक गर्नका लागि कसैको चाकरी गर्नुपर्दैन । तर, यो अवस्थालाई दुरुपयोग गरेर प्रदूषण फैलाउनु पनि हुँदैन । ‘सामाजिक सञ्जालले सर्जकलाई आत्मनिर्भर बनाइरहेको छ । तर सँगै त्यसले सर्जकलाई एक्लाइ पनि रहेको छ । त्यसको ब्यालेन्स मिलाउन जान्नुपर्छ,’ उनले भने, ‘म पनि त्यही ब्यालेन्स मिलाउने प्रयत्नमा छु ।’

आजको दिनमा गीत बनाउने, धुन भर्ने, बजाउने र रेकर्डिङ गर्ने र रिलिज पनि गर्ने काम द्रुत गतिमा चलिरहेको छ । तर, प्रायः गीत जुन द्रुत गतिमा आउँछन् र सुनिन्छन्, त्यही द्रुत गतिमा हराएर पनि जान्छन् । ‘मान्छेले गाएको हो भन्नका लागि त त्यसमा कहीँकतै केही कमजोरी पनि हुनुपर्छ । संगीत कहिल्यै पनि सम्पूर्ण रूपमा पर्फेक्ट हुँदैन । त्यो मेसिनले मात्रै बनाउन सक्छ,’ उनले भने, ‘मेसिनले पर्फेक्ट बनाएको संगीतभन्दा मान्छेले आफ्नै तरिकाले गाएको र बनाएको संगीतमा आत्मा हुन्छ । त्यो कायम राख्नुपर्छ ।’

नवीनका अनुसार आजको दिनसम्म र आजको युगमाझ पनि आफूलाई सान्दर्भिक बनाइराख्न त्यही भावनाले साथ दिएको छ । ‘मैले कहिल्यै पनि संगीतमा आवश्यकताभन्दा बढी प्रविधिको प्रयोग गरिनँ । मलाई अहिले पनि स्टेजमा गीत गाउँदा ब्यान्ड नै चाहिन्छ,’ उनले भने, ‘बिनाब्यान्ड रेकर्डिङ बजाएर गाउँदा न सुन्नेलाई मजा आउँछ, न गीत गाउनेलाई । गीत–संगीत भनेको आनन्द प्राप्तिको माध्यम पनि हो ।’

What's always new in solitude

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully