मुनाले अहिलेसम्म छोरीको एउटै खेल हेरेकी छैनन् । ‘खेल्दा लडेको, चोटपटक लागेको दृश्यले मम्मीलाई साह्रै दुख्छ,’ रुविनाले भनिन्, ‘त्यसैले अहिलेसम्म मेरो खेल हेर्ने आँट गर्नुभएको छैन ।’
विराटनगर — अहिलेसम्मै छोरी रुविनाले खेलेको क्रिकेट हेर्ने साहस जुटाउनै सकेकी छैनन् आमा मुना क्षेत्रीले । सायद छोरी लडेको, घाइते भएको दृश्यले पीडाबोध हुन्छ उनलाई । त्यसैले छोरीको खेल–उपलब्धिबारे अक्सर बेखबर रहन्छिन्, आमा मुना ।
तर, रुविना मलेसियाको एसीसी महिला प्रिमियर कपमा (फागुन १ गते) खेलेपछि भने मुनाले नै ‘सरप्राइज’ दिइन् । ‘आमाले खेल हेरिनन्’ सोच्दै सधैंझैं त्यो साँझ आमाको हालखबर सोध्न नेपालमा फोन गरेकी थिइन् रुविनाले । ‘मम्मी के गर्दै हुनुहुन्छ ?’ प्रश्न सोध्न नपाउँदै मुनाले भनिन्, ‘बधाई छ छोरी, बधाई ।’ आमाको मन चोर्ने पारामा रुविनाले पनि सोधिन्, ‘केको बधाई हो र मम्मी ?’
‘हन्ड्रेड हानिस् रे नि त !’
मलेसियामा रुविनाले शतक हानेको खबर कतारमा पसिना बगाइरहेका श्रमिक दाजु पवनले आमा मुनालाई सुनाइसकेका रहेछन् । त्यो दिन आमाको ‘बधाई’ रुविनाका लागि ‘अनमोल उपहार’ भयो । डेढ दशकदेखि नेपाली महिला क्रिकेट खेलिरहेकी रुविनाले १२ वर्ष त कप्तानी नै सम्हालिन् । तर, मुनाले अहिलेसम्म छोरीको एउटै खेल हेरेकी छैनन् । ‘खेल्दा लडेको, चोटपटक लागेको दृश्यले मम्मीलाई साह्रै दुख्छ,’ रुविनाले भनिन्, ‘त्यसैले अहिलेसम्म मेरो खेल हेर्ने आँट गर्नुभएको छैन आमाले ।’
कतिसम्म भने टीभीमा त छोरीको खेल हेरिनन्/हेरिनन्, स्थानीय मैदानमा खेल्दा पनि त्यो खेल हेर्न मुना कहिल्यै गइनन् । कारण, मोबाइलमा लाइभ हेर्दा पनि झस्किन्छिन् उनी । तर, आमाछोरीको स्नेही सम्बन्ध–रेखामा र बितेर गएका रमाइला दिनमा रोचक कथा पनि छन् । जस्तो रुविना अहिले खेल–उचाइको जुन विन्दुमा छिन्, त्यसमा आमा मुनाको प्रेरणा, माया र प्रार्थना बिर्सिने हो भने छोरीको यो सफलता–कथा अपूरो रहनेछ । रुविनालाई क्रिकेट खेल्न मुनाले कति सहयोग गरिन् ? त्यसको कुनै हिसाब छैन । ‘धेरै सपोर्ट भयो, नत्र यहाँसम्म कसरी पुग्न सक्थें र म,’ झ्यालको बाफिलो सिसा पुछिरहेकी आमातिर पुलुक्क हेरेपछि रुविनाले भनिन्, ‘आमा नै मेरो सबथोक हो ।’
***
मलेसियामा भर्खरै सकियो एसीसी महिला प्रिमियर कप । त्यो खेल–उत्सवमा संसारैभर ‘भाइरल’ भइन् रुविना, माल्दिभ्सविरुद्ध शतक प्रहारपछि । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ऐतिहासिक शतक बनाएपछि आमाको सम्झनामा उनले मैदानमा घुँडा टेकिन् र नेपालमा भएकी आमा मुना क्षेत्रीको सम्झना गरिन् । अघिल्लो वर्ष फ्रेन्चाइजी खेल्न हङकङ पुगेका बेला ५ विकेट लिँदा पनि उनले उसैगरी आमा सम्झिएकी थिइन् ।
खासमा पूर्वकप्तान रुविनाले एक दशकपछि मलेसियामै कीर्तिमान दोहोर्याइन् । सन् २००९ मा भएको टी–२० महिला क्रिकेटमा रुविनाले सिंगापुरविरुद्धको खेलमा एकै ओभरमा लगालग ५ विकेट लिएर ऐतिहासिक रेकर्ड कायम गरेकी थिइन् । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय जुनै तहको उपलब्धि हासिल गर्दा पनि उनले सम्झिने पहिलो नाम हो– आमा मुना क्षेत्री ।
***
बुबा बित्दा रुविना एक वर्षकी मात्रै थिइन् । बाबुको अनुहार कस्तो थियो ? थाहा छैन उनलाई । हुर्किंदै जाँदा माला लगाएर भित्तामा टाँगिएको फोटो–फ्रेममा एक तस्बिर देखिन्, त्यसपछि भेउ पाइन्– त्यो तस्बिर बुबाको हो । सन् १९९० को दशकतिर सीमान्त बजार काँकडभिट्टाकी मुना बस्नेत बिहे गरेर बिरानो सहर मणिपुर पुगिन् । पुगनपुग १७ वर्षकी किशोरी ७ कक्षा पढ्दै थिइन् । परिवारले छोरीको हात माग्न आएका कुटुम्बलाई खाली हात फर्काउन चाहेनन् । अनि पढ्दै गरेकी छोरी पुगिन्, मणिपुरका नेपालीभाषी पदमबहादुर बेलबासको घरमा ।
जिन्दगी ठीकठाकै चल्दै थियो । बिहेको ५ वर्ष नबित्दै अचानक बिते, बैंकर श्रीमान् । दुधे लालाबाला हुर्काइरहेकी कलिली मुनालाई पति वियोगले ठूलै बज्रपात पर्यो । झन्डै मानसिक रोगी नै भइन् । तर, सम्हालिइन् । नसम्हालिउन् पनि कसरी ? साना लालाबाला हुर्काउनु जो थियो । पति वियोगपछि मुनाको काँधमा आइलाग्यो ठूलो बोझ– दुई बालबच्चा हुर्काउने र सासूससुरा स्याहार्ने । वियोगको वर्ष दिनसम्म त जसोतसो घरै बसिन् । त्यसपछि भने ‘पतिको सहर’ उनलाई साँच्चै बिरानो लाग्न थाल्यो । त्यहाँ मन अडिएन, बर्खान्तपछि लालाबाला च्यापेर मेची तरिन् र आइपुगिन् माइतीघर ।
***
मुनाको संघर्ष–कथा बल्ल सुरु हुन्छ । डेराको बसाइ । पर्याप्त खर्चबर्च अभाव । नानीहरू हुर्काउने बोझ । समाजको कुदृष्टि । यस्ता अनेक तनावसँग पौंठेजोरी खेल्नुपर्यो मुनाले । पतिको पेन्सनबापत आउने मासिक ३ हजार २ सय भारुले दुई बच्चाको लालनपालन, शिक्षादीक्षासँगै रासनपानीको बन्दोबस्ती गर्नु चुनौतीपूर्ण थियो । माइतीको छत्रछाया भए पनि जीवन धान्न धौ–धौ थियो । यसो पो गर्दा होला कि ? उसो पो गर्दा होला कि ? सबै विकल्प खोजिन्, तर सफलता र सुखको घामले चियाएन उनको जिन्दगीमा ।
एक पटक विदेशिने झोक पनि चल्यो । तर, अबोध छोराछोरीका अनुहारले बाटो छेक्यो । उनीसँग बल–बैंस सबै थियो । छोराछोरीको भविष्य केन्द्रमा राखेर संघर्षका धुले बाटो हिँडिरहिन् । ‘मम्मीले हामीलाई हुर्काउन, बढाउन, पढाउन र अहिले यो अवस्थासम्म ल्याउन गरेको संघर्षको कथा सिनेमा भन्दा कम छैन,’ घरको भित्तातिर नियालेपछि भावुक हुँदै रुविनाले भनिन्, ‘मम्मीले सबभन्दा ठूलो संघर्ष त यो समाजसँगै गर्नुपर्यो ।’
एकल महिलालाई हेर्ने पितृसत्ताको नजरिया उबेला झन् खराब थियो । मुनाले पनि पुरुषहरूको ‘गिद्धेनजर’ सधैं सामना गर्नुपर्यो । तर, ‘नबिराउनु नडराउनु’ भनेझैं उनले न बिराइन्, न डराउनैपर्यो । ‘म कतै चुकिनँ, सधैं एक्लै संघर्ष गरिरहें,’ गम्भीर भावमा बोलिन् मुना । आमाको संघर्षको फेहरिस्त रुविनालाई थाहा छ । ‘आमाको संघर्षले हामीलाई पनि संघर्षशील बन्न प्रेरित गर्यो,’ रुविना भन्छिन् । पेन्सनबाट आउने रकमले घर व्यवहार धान्थिन् । दुःख त थियो नै, तर भोकै चाहिँ बस्नुपरेन । ‘त्यही अप्ठेरोले मलाई पनि मिहिनेती र संघर्षशील बन्न सिकाएको हो,’ पुराना दिन स्मरण गर्छिन् रुविना, ‘सानो छँदा दुःख नपाएको भए मैले के संघर्ष गर्न जान्नु ?’
***
बच्चैदेखिको हो– रुविनाको क्रिकेटमोह । घरमा पुरानो श्यामश्वेत टीभी थियो । त्यही टीभीमा आउने भारत, पाकिस्तान, अस्ट्रेलिया आदि देशबीचको क्रिकेटमा उनी घण्टौं बिताउँथिन् ।
छोरीले क्रिकेट मात्रै हेरेको देख्दा मुनालाई रिस उठ्थ्यो । भन्थिन्, ‘किन नपढेको ?’ कहिलेकाहीं त गालीको वर्षै चल्थ्यो छोरीमाथि । तर, आधा रातसम्मै टीभीमा क्रिकेट हेरेर सुत्दा पनि रुविनाको पढाइमा खासै असर परेन । रुविनाको रिजल्ट राम्रै आएको देख्दा मुना चकित हुन्थिन् ।
५/६ वर्षको उमेरमा प्लास्टिकको (टीटी) बलबाट क्रिकेटसँग चिनापर्ची भयो रुविनाको । डेढ वर्ष जेठो दाजु पवनसँग घरमै क्रिकेट सिकिन् । केही समयपछि टोलका दाइहरूसँग मिलेर टेनिस बलसँग पनि नयाँ साइनो जोडिन् । स्टिज बल देख्न एकाडेमी नै भर्ना हुनुपर्यो । ‘म त्यो बेला बलिङ राम्रो गर्दिरैछु,’ रुविनाले दुई दशकअघिका दिन सम्झिइन्, ‘दाइहरूले मलाई सधैं बलिङ गर्न लाउँथे, चोट लाग्ला भनेर ब्याटिङ गर्न चैं दिन्नथे ।’
डेरा अघिल्तिर एउटा मैदान थियो । मैदान नजिकैको एउटा घर–मालिकले अजंगको कुकुर पालेका थिए । खेल्दा कहिलेकाहीं बल त्यहाँ पुग्थ्यो । बल लिन जाने साहस कसैको थिएन । त्यसैले त्यो मैदानलाई सबै भन्थे– कुकुर स्टेडियम । दाइहरूसँग अभ्यास गर्दागर्दै रुविना खेल्न थालिन् । सुरुमै हात घुमाएरै बलिङ गर्थिन्, त्यो देखेर केटाहरू चकित हुन्थे । पैसाको बाजीदेखि भाले कपसम्म खेलिन् । उनी मात्रै केटी थिइन्, अरू सबै केटा । गाउँले दर्शक अचम्मै मानेर हेर्थे । कतिपय त रुविनाकै खेल हेर्न मैदान पुग्थे । किनभने उनीसँग केटाहरूको भन्दा राम्रो बलिङ गर्ने क्षमता थियो । ‘त्यो बेला नै टेनिसबाट फास्ट बल फ्याँक्थे,’ रुविनाले भनिन्, ‘मेरो बल खेल्न दाइहरू नै डराउँथे ।’
रुविनाको बडी ल्याङवेज केटाको झैं थियो । केटीहरूले सानामा खेल्ने भाँडाकुटी, पुतली उनले खेलिनन् । त्यसमा मनै गएन रे ! सोझै क्रिकेट रोजिन् । त्यही क्रिकेट उनको जिन्दगीको द्वार बन्यो । छोरीले केटाहरूसँग क्रिकेट खेलेकै कारण धेरै पटक मुनालाई ‘समाज’ ले कठघरामा उभ्यायो– छोरी भएर पनि छोरासँग क्रिकेट खेल्ने ? झन्डै रोकिएकी रुविना ! समाजको दबाब झेल्न नसकेर मुनाले एक पटक रुविनालाई क्रिकेट खेल्न नजान भनिन् । तर, क्रिकेटप्रतिको हुटहुटी रोकिएन । पछि मुना छोरीकै पक्षमा उभिइन् । ‘समाजले के भन्ला, के गर्ला सोचिनँ,’ मुनाले भनिन्, ‘समाजले भन्दै गर्छ तिमी खेल्न नछाड भन्दै छोरीलाई ढाडस दिएँ ।’
अहिले यही समाजले ‘रुविना जस्तै बन्नुपर्छ’ भन्दा मुनालाई सुखबोध हुन्छ । आमालाई धन्यवाद टक्य्राउँछिन् रुविना । भन्छिन्, ‘आमाले समाजको चुनौती सामना नगरेको भए आज म कता हुन्थें ? कता ?’ समाजलाई सुनेको भए रुविनाको क्रिकेट–सपना चकनाचुर हुने थियो । आमा मुनाले रुविनाको रुचि बुझेर जुन निर्णय गरिन्, त्यसले छोरीको जीवन कायाकल्प गर्यो । टोलतिर ‘भाइरल’ भइसकेको थियो– रुविनाको खेल । क्रिकेट भनेपछि खाना खान पनि बिर्सिन्थिन् उनी । एक दिन मुनाका कान्छा भाइ गोपाल बस्नेतले दिदीलाई भने, ‘भान्जीको क्रिकेट क्रेज अनौठो छ, यिनलाई तुरुन्त एकाडेमी हाल्दिनुपर्छ है ।’ भाइको कुरा पहिले त मुनालाई पत्यार लागेन । तर, टोलका सबैले भनेपछि मुनाले ‘होला नि त’ भन्ने भावमा एकाडेमी भर्ना गर्ने निधो गरिन् ।
थोरै रकम जोहो गरेर बल, ब्याट किनिदिइन् । पूर्वक्रिकेटर मनोज कटुवालले भर्खरै सञ्चालन गरेका थिए, लर्ड बुद्ध क्रिकेट एकाडेमी । त्यहींबाट रुविनाले क्रिकेटका आधारभूत ज्ञानकौशल सिकिन् । स्थानीय वीरु श्रेष्ठबाट थप प्रशिक्षण लिइन् । ‘मलाई क्रिकेट सिकाउने मान्छे वीरु श्रेष्ठ नै हुनुहुन्छ,’ उनी सगौरव भन्छिन्, ‘उहाँको एक्लो प्रयत्नले म आज यो ठाउँसम्म आइपुगेकी हुँ ।’
त्यतिबेलासम्म रुविनालाई ‘केटीको पनि क्रिकेट हुन्छ’ भन्ने हेक्कै थिएन । उनी त रमाइलोका लागि खेल्थिन् । रुविनाले आमाबाट सिकेका धेरै विषयमध्ये संघर्ष र धैर्य महत्त्वपूर्ण हुन् । आफूले गरेको काममा एकदमै इमान्दार र अनुशासित हुनुपर्छ भन्ने आमाको गुरुमन्त्र सधैं सम्झिरहन्छिन् । संघर्षबिनाको जीवनको कुनै मजा नै छैन भन्ने लाग्छ रुविनालाई । जति जोखिम उति मजा भन्ने लाग्छ उनलाई । रुविनाकी आमा ५० वर्ष भइन् । ‘आफ्नो खुसी त्यागेर हाम्रा लागि आमाले सेक्रिफाइज गर्नुभयो,’ रुविना भन्छिन्, ‘सबैका आमा यस्तै त हुँदा हुन् नि !’
***
रुविनाको बुझाइमा ‘आमा सुखदुःखको साथी’ हुन् । भन्छिन्, ‘मेरो आइडल नै आमा हो । जन्माउने, हुर्काउने, कठोर बन्न सिकाउने मिहिनेती बनाएर यहाँसम्म पुर्याउने श्रेय आमालाई नै ।’ आमाले उनलाई कहिल्यै निराश बनाइनन् । सधैं ढाडस दिइराखिन् । एक समय रुविना नैराश्यताको गहिरो दहमा डुबुल्की मार्दै गर्दा त्यो दहबाट फुत्त निकालेकी थिइन् आमाले । नेपाली महिला क्रिकेटको भविष्यको चिन्ताले कोभिडअघि झन्डै डिप्रेसनको सिकार भएकी रुविनाकी मुल ओखती आमा नै हुन् ।
क्रिकेट छाड्ने मुडमा पुगेकी रुविनालाई थम्थम्याइन् आमाले । ‘यत्रो वर्ष त क्रिकेटलाई दिइस्, अब एक/दुई वर्ष पर्खी भनेर धैर्य गर्न ममीले नै सिकाउनुभयो,’ रुविनाले भनिन्, ‘अब क्रिकेट छाड्छु भन्दा मम्मीले नै छाड्न दिनुभएन ।’ हरेक अभिभावक छोराछोरीको रुचिप्रति गम्भीर हुनुपर्छ भन्ने लाग्छ रुविनालाई । जसरी उनकी आमाले उनको रुचि बुझिन् र आज क्रिकेटमार्फत प्रसिद्धि आर्जन गरिन्, त्यसैगरी हरेक छोराछोरीका आ–आफ्ना रुचि हुन्छन्, त्यसलाई सम्बोधन गर्नु अभिभावकको जिम्मेवारी हो भन्छिन् । ‘आमा–बाले आफ्ना नानीहरूको रुचि बुझ्नु जरुरी छ,’ रुविनाको अनुभव छ, ‘पढाइ मात्रै सबथोक हैन, खेललगायतका अतिरिक्त क्रियाकलापमा पनि भविष्य छ । पैसा कमाउनु मात्रै सबथोक हैन । सामाजिक प्रतिष्ठा पनि महत्त्वपूर्ण हो ।’
कलिलैमा दुःखको सुमेरु पर्वत बोकेर होला मुनालाई सानातिना दुःखले नछोएको छैन । कठोर बन्न बाध्य पारेको । रुविनाकी आमालाई जीवनप्रति कुनै गुनासो छैन । दुःख देखाउने बानी छैन । विगत सम्झेर रुने, निराश हुने फुर्सद छैन । आमाको आँखाबाट आँसु कसरी बग्छ ? त्यसको जवाफ रुविनासँग छैन । ‘आमाको आँसु अहिलेसम्म मैले देखेकै छैन,’ आमाका आँखा नियाल्दै भन्छिन् रुविना, ‘आमालाई आँसु आउन ठूलै विध्वंस हुनुपर्छ ।’
मुना सधैं हंसमुख, सधैं सकारात्मक । ‘अल इज वेल’ उनको थेगो नै हो । उनलाई ठूलठूला कुराले होइन, ससाना कुराले खुसी तुल्याउँछ । दीनदुःखी, समाजमा हेपिएका, पिल्सिएका मान्छेहरूप्रति सधैं सेवाभाव दर्शाउँछिन् । ‘घर आएका भोकालाई भोजन र नाङ्गालाई आङ ढाकेर पठाउनुहुन्छ,’ रुविनाले भनिन्, ‘आमाले नै सिकाएर होला म पनि भोका, नाङ्गा र समस्यामा परेका मान्छेहरू देख्नै सक्दिनँ, भित्रैबाट सहयोग गर्ने रुचि जाग्छ ।’
क्रिकेटबाट रुविनाले ‘नेम र फेम’ आर्जन गरिरहेकै छिन् । नयाँ कीर्तिमान बनाइरहेकै छिन् । क्रिकेटको कप्तानीबाट हालै अलग भएकी रुविनालाई अरू २/४ वर्ष देशका लागि खेल्ने मन छ । आमा र दाजुबाट पनि तत्काल क्रिकेट छाड्ने दबाब छैन ।
रुविना–मुना करिब २९ वर्षे डेरा जीवन टुंग्याएर महिना दिनअघि मात्रै नयाँ घरमा सरेका छन् । त्यो लामो र पट्यारलाग्दो डेरा–जिन्दगीका धेरै स्मृति–कथा छन् । डेरामा बसुन्जेल आमासँग रुविनाको एउटै प्रश्न हुन्थ्यो, घर कहिले बनाउने ? अब त नयाँ घर पनि बनिसक्यो । घरमा रुविनाको पचास प्रतिशत लगानी छ, आमा–छोराको पच्चीस/पच्चीस । ‘खासमा मेरी मम्मी असल व्यवस्थापक पनि हुनुहुन्छ,’ रुविनाले हाँसो–मिश्रित भावमा भनिन् ।
घर बनेपछि रुविनाको प्रश्न–सिलसिला टुंगिएको छ, आमाको भने नयाँ प्रश्न जन्मिएको छ, ‘बिहे कहिले गर्छौ छोरी ?’
